श्रीमद्भगवद्गीता पृष्ठभूमि
दुर्योधनले पाण्डवहरुको राज्यलाई जुआमा कपटपूर्ण तरिकाले जितेपछि शर्त अनुसार उनीहरुले १२ वर्ष वनवास र एक वर्ष अज्ञातवास भोगे । यस पछि पनि दुर्योधनले पाण्डवलाई बिना युद्ध राज्य फिर्ता नदिने अडान राख्यो । फलस्वरुप दुवै पक्षले युद्धका लागि सेना जम्मा गरे तथा युद्ध भूमिको रुपमा कुरुक्षेत्र रोजेर युद्धका नियमहरु बनाए । निर्धारित दिनमा युद्ध सुरु भयो । युद्ध भूमिमा अर्जुनलाई अचानक मोह भए पछि भगवान् श्रीकृष्णले आकस्मिक परिस्थितिको सामना गर्दै अर्जुनलाई जुन उपदेश दिनु भयो । त्यो श्रीमद्भगवद्गीता वा गीता वा गीता उपनिषदको नामले विख्यात छ । गीतालाई विद्वानहरुले ज्ञान, भक्ति र कर्म तीन खण्डमा विभाजन गर्दछन् । यसका सुरुका छ अध्यायलाई ज्ञानयोग, सातदेखि १३ अध्यायलाई भक्तियोग र अन्तिम छ अध्यायहरुलाई कर्मयोग भनिन्छ । यसमा अनुष्टुप छन्दको अधिक प्रयोग भएको छ । स्तुति आदि पद्यमा अन्य छन्दको पनि प्रयोग गरिएको छ । यसका प्रत्येक अध्यायको नाम त्यसका अन्तमा लेखिएको छ । यसमा एकेश्वरवाद, कर्म योग, ज्ञानयोग, भक्ति योगको अध्याय क्रम अनुसार सुन्दर ढंगले चर्चा भएकोछ । यसमा नित्य आत्मा को निरूपण गरिएकोछ। यसलाई मोक्ष ग्रन्थ पनि भनिएको छ ।
पृष्ठभूमि
सम्पादन गर्नुहोस्
वैशम्पायनले परीक्षित पुत्र जनमेजयलाई सर्पयज्ञमा सुनाएको घटना जान्ने जिज्ञासा भएका शौनकादि अठासी हजार ऋषिहरुलाई सूतले ज्ञानको यस विशाल भण्डारलाई हस्तान्तरण गरेको कुरा महाभारतमा वर्णित छ । त्यसैले वर्तमानमा उपलब्ध महाभारत सूत र शौनकको वार्तामा आधारित छ ।
राजा दुष्यन्त र शकुन्तलाको सन्तान भरतका वंशहरुको कथा भएकोले यसको नाम सुरुमा जयभारत थियो पछि यसको वृहद् आकारले महाभारत प्रसिद्ध भयो ।
श्रीकृष्णको यो उपदेश सबैका लागि सुलभ हुनुमा पाण्डु पुत्र अर्जुनका साथै दिव्यदृष्टि प्राप्त सञ्जय, श्रोता धृतराष्ट्र, रचयिता व्यास, लेखक गणेश, सम्पादक वैशम्पायन, कथा सुन्ने शौनक आदि ऋषि, कथा वाचक सूत, र जिज्ञासा गर्ने राजा जनमेजय सबैको योगदान छ ।
भगवान् श्रीकृष्ण
सम्पादन गर्नुहोस्गीता पाठ गर्नु अघि निम्नलिखित श्लोक भन्ने गरिन्छ । जसमा सुरुमा भगवान् श्रीकृष्ण र नरश्रेष्ठ अर्जुनलाई नमस्कार गर्ने कुरा बताइएको छ-
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यमसं ततो जयमुदीरयेत् ।
गीताका उपदेशक र देवता मात्र होइन गीताको मुख्य विषय नै भगवान् श्रीकृष्ण हुन् । भगवान् कृष्ण अनेक अर्थमा अनुपम छन् । महाभारतका सबै पात्र कि गोरा छन् कि काला तर कृष्णलाई नीलो रंगको मानिन्छ ।
कृष्णको जन्म जेलमा भएको हो । उनको जन्म हुनु धेरै अघि आठौं गर्भको रुपमा धराको अन्याय र अत्याचार नाश गर्न ईश्वरको अवतार हुने आकाशवाणी भएको घटना भागवत कथामा उल्लेख छ । आठौं गर्भ ज्यादै विशेष भएकोले सातौं गर्भमा त्यसको पूर्व तैयारी गरिएको थियो । तर कृष्णलाई आठौं सन्तान भन्न मिल्दैन । जीवित जन्मको दृष्टिले उनी सातौं सन्तान हुन् । तर गर्भको दृष्टिले भने उनी आठौं गर्भ हुन् । यसरी भगवान कृष्ण एक असाधारण गर्भ र असाधारण जन्म थिए ।
भगवान कृष्णको जीवनमा दम्भ, अहंकार, र अनिर्णयको सानो गन्ध पनि कहीं पाईंदैन। पाण्डवका हितैषीको रुपमा प्रत्येक चरणमा उनीहरुलाई निर्णायक भइ सहयोग गरेको पाइन्छ। त्यसैले कृष्णको मृत्यु हुनासाथ उनीहरु निरीह बने ।
नरश्रेष्ठ अर्जुन
सम्पादन गर्नुहोस्गीताका मुख्य जिज्ञासु अर्जुन हुन् । अर्जुनको जन्म धृतराष्ट्रका भाई पाण्डुकी जेठी पत्नी कुन्तीका कान्छा सन्तानको रुपमा भएको हो । एउटा ऋषिको शापले गर्दा पाण्डु स्त्री प्रसंग गर्न असमर्थ थिए । त्यसैले कुन्तीले ऋषि दुर्वासाबाट प्राप्त मन्त्रहरुको प्रयोग गरेर देवताहरु आह्वान गरिन् । यसबाट उनले पाण्डुका लागि आफ्नो गर्भबाट युधिष्ठिर, भीम र अर्जुन तथा माद्रीको गर्भबाट नकुल र सहदेवलाई जन्म गराएकी थिइन् । मन्त्र परीक्षणको क्रममा कुन्तीले विवाह नहुंदै जन्माएको सन्तान कर्ण हुन् । इन्द्रद्वारा उत्पन्न गराइएकोले अर्जुनको एउटा नाम ऐन्द्रि पनि हो ।
गीताको यो विकीपुस्तक
सम्पादन गर्नुहोस्
गीता एक यस्तो ग्रन्थ हो जसमाथि लाखौं प्रवचन, हजारौं भाष्य, टीका, र अनुवाद छन् । सामाजिक सञ्जालमा विभिन्न भाषाका गीता रोजेर पढ्न पाइन्छ । युट्युबमा यसका श्रव्य दृश्य र केवल श्रव्य सामग्री पनि उत्तिकै छन् । ब्रेललिपिमा समेत यो उपलब्ध छ । जसले जुन भाषा र प्रविधिमा बुझ्न सक्छ उसलाई सोही भाषा र प्रविधिमा गीता उपलब्ध छ । र पनि लेख्ने क्रम रोकिएको छैन ।
वर्तमानमा गीतालाई यसरी उपलब्ध गराउनुमा ओरिएन्टल पुस्तकालयको योगदान छ । जहां सुखथङ्करको नेतृत्वमा महाभारतका पाण्डुलिपिहरु संकलन, सम्पादन, र प्रकाशनको श्रमसाध्य कार्य गरिएको थियो । सो क्रममा नेपालबाट पाण्डुलिपि संकलन गरिएको थियो भन्ने उल्लेख पाइन्छ । तर सुखथङ्करको जीवनकालमा आदिपर्व मात्र प्रकाशित हुनसक्यो । उनको मृत्युपछि डा. राधाकृष्णनले सम्पूर्ण महाभारत सार्वजनिक गरेका हुन् । पछिल्लो चरणमा गीता र महाभारत सर्वसुलभ हुनुमा गीताप्रेसका प्रकाकशनको भूमिका रहेको छ । गीताप्रेसले उत्तर र दक्षिण क्षेत्रका पाण्डुलिपिहरुको पुनः सम्पादन, अनुवाद र प्रकाशन गरेर सम्पूर्ण महाभारत प्रकाशित गरेको छ । टी भी धारावाहिकले पनि महाभारतलाई सबैले बुझ्ने भाषामा घर घर पुर्याउन सहयोग गरेका हुन् । अब विकिपिडिया र विकिपुस्तकहरुले यही काम गरिरहेका छन् । जसमा धेरै लेखकहरुले स्वैच्छिक योगदान गरिरहेका छन् ।
गीता दर्शनको शास्त्र हो । जसले आफ्नो समयका सबै दर्शनको अभूतपूर्व समन्वय गरेको छ । तथापि के भन्न सकिन्छ भने गीताको प्रस्तुति काव्यात्मक र सरल छ । यसको अर्थ बुझ्न संस्कृतको सामान्य ज्ञान भए पुग्छ ।
सन्त महात्माहरुको प्रवचन, गीताका टीकाकारहरुको व्याख्या, अडियो, भिडियो इत्यादिका आधारमा व्याख्या प्रस्तुत गरिउको छ जसको उल्लेख सन्दर्भमा गर्ने प्रयास गरिएको छ । तथापि सबै सन्दर्भ समेट्न असम्भव जस्तै भएको छ । प्रयोग गरिएका रेखाचित्र मौलिक हुन् । चित्रहरु भने इन्टरनेटका विभिन्न स्रोतहरुबाट संकलन गरिएका छन् । जसमध्ये गुगलको गीता इमेजेज, विकीपेडिया, गीताप्रेस गोरखपुर तथा इस्कोन सोसाइटीबाट प्रकाशित पुस्तक तथा नेट सामग्रीबाट साभार गरिएका छन् ।
गीताका विभिन्न संस्करणमा केही श्लोकमा पाठान्तर पाइन्छ । त्यसैले यस विकीपुस्तकमा व्याख्याका लागि गीता प्रेसबाट प्रकाशित गीता शाङ्कर भाष्यका श्लोकलाई आधार मानिएको छ ।
जसरी अग्निलाई बत्ती बालेर तथा गण्डकीलाई जल चढाएर प्रसन्न गराइन्छ । भगवान् कृष्णका यी वाणी यस पुस्तककको रुपमा उहाँलाई नै समर्पण गर्दछु ।
डा. बाबुराम ज्ञवाली
brgewali_2008@yahoo.com
अध्यायहरू बनाउने वा सम्पादन गर्ने
सम्पादन गर्नुहोस्- श्रीमद्भगवद्गीता गीता महात्म्य
- श्रीमद्भगवद्गीता प्रथम अध्याय
- श्रीमद्भगवद्गीता द्वितीय अध्याय
- श्रीमद्भगवद्गीता तृतीय अध्याय
- श्रीमद्भगवद्गीता चतुर्थ अध्याय
- श्रीमद्भगवद्गीता पञ्चम अध्याय
- श्रीमद्भगवद्गीता षष्ठ अध्याय
- श्रीमद्भगवद्गीता सप्तम अध्याय
- श्रीमद्भगवद्गीता अष्ट अध्याय
- श्रीमद्भगवद्गीता नव अध्याय
- श्रीमद्भगवद्गीता दशौ अध्याय
- श्रीमद्भगवद्गीता एकादश अध्याय
- श्रीमद्भगवद्गीता द्वादश अध्याय
- श्रीमद्भगवद्गीता त्रयोदश अध्याय
- श्रीमद्भगवद्गीता चतुर्दश अध्याय
- श्रीमद्भगवद्गीता पञ्चदश अध्याय
- श्रीमद्भगवद्गीता षोडश अध्याय
- श्रीमद्भगवद्गीता सप्तदश अध्याय
- श्रीमद्भगवद्गीता अष्टादश अध्याय
- श्रीमद्भगवद्गीता/विशेष योगदानकर्ताहरू