श्रीमद्भगवद्गीता अष्ट अध्याय
अर्जुन उवाच
सम्पादन गर्नुहोस्
किं तद्ब्रहम किमध्यात्म किं कर्म पुरुषोत्तम ।
अभिधूतं च किं प्रोक्रमधिदैवं किमुच्यते ।। १ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्अर्जुन उवाच (अर्जुनले भने) पुरुषोत्तम (हे पुरुषोत्तम) तत् (त्यो) ब्रह्म (ब्रह्म) किम् (के हो) अध्यात्मम् (अध्यात्म) किम् (के हो) च (तथा) कर्म (कर्म) किम् (के हो) अधिभूतम् (अधिभूत) किम् (कसलाई) प्रोक्तम् (भनिएको हो) अधिदैवम् (अधिदेव) किम् (कसलाई) उच्यते (भनिएको हो) ।
हे पुरुषोत्तम, त्यो ब्रह्म के हो ? अध्यात्म के हो ? कर्म के हो , अभिधूत कसलाई भनिएको हो ? र अधिदैव कसलाई भनिएको हो ?१।।
अधियज्ञ कथं कोऽत्र देहेऽस्मिन्मधुसूदन ।
प्रयाणकाले च कथं ज्ञेयोऽसि नियतात्मभिः ।।२।।
पदच्छेद र शब्दार्थ– मधुसूदन (हे मधुसूदन) अधियज्ञ (अधियज्ञ) कथम् (कस्तो छ) कः (को हो) अस्मिन् (यस) अत्र (यहाँ) देहे (देहमा) नियत आत्मभिः (इन्द्रिय निग्रह गर्नेहरुको) प्रयाणकाले (प्रयाणकालमा) च (तथा) कथम् (कसरी) ज्ञेयः असि (ज्ञेय हुनुहुन्छ) ।
हे मधुसूदन, यहां अधियज्ञ को हो ? यस शरीरमा कसरी छ ? र युक्तचित्त भएकाहरुलृ अन्तसमयमा कसरी जान्न सक्छन् ?२।।
व्याख्या
सम्पादन गर्नुहोस्भगवान् श्रीकृष्णलाई अर्जुनले अध्याय आठको पहिलो र दोस्रो श्लोकमा आठवटा प्रश्न गरेका छन् । भगवान्ले तेस्रो र चौथो श्लोकमा सारमा उत्तर दिएर पूरै अध्यायमा त्यसैको व्याख्या गर्नु भएको छ ।
योगेश्वर श्रीकृष्णको जीवनमा आठका धेरै संयोग छन् ।
निम्नलिखित आठ प्रश्नको उत्तरका साथ यो अध्याय समाप्त भएको छ –
१. ब्रह्म के हो ?
२. अध्यात्म के हो ?
३. कर्म के हो ?
४. अधिभूत कसलाई भनेको हो ?
५. अधिदैव कसलाई भनिएको हो ?
६. अधियज्ञ भनेर कसलाई बुझिन्छ ?
७. यस शरीरमा त्यो कहाँ, कसरी छ ?
८. अन्तिम अवस्थामा यसलाई कसरी जान्न सकिन्छ ?
श्रीभगवानुवाच
सम्पादन गर्नुहोस्
अक्षरं ब्रह्म परमं स्वभावोऽध्यात्ममुच्यते ।
भूतभावोद्भवकरो विसर्गः कर्मसञ्ज्ञितः ।।३।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्श्रीभगवान् उवाच (भगवानले भन्नु भयो)
अक्षरम् (जुन अक्षर, अविनाशी छ) ब्रह्म परमम् (परमब्रह्म) स्वभावः (आफ्नो मूलस्वरुप) अध्यात्मम् (अध्यात्म) उच्यते (भनिएको छ) भूतभाव (प्राणीहरु) उद्भवकरः (उत्पन्न गर्ने) विसर्गः (क्रिया) कर्मसञ्ज्ञितः (कर्म नामले जानिन्छ) ।
जुन अक्षर अर्थात् अविनाशी तत्त्व छ, त्यही परम ब्रह्म हो । आफ्नो मूल स्वरुपलाई नै अध्यात्म भनिन्छ । अविनाशी तत्त्वबाट प्राणी उत्पन्न गर्ने क्रिया नै कर्म भनेर बुझिन्छ ।।३।।
अधिभूतं क्षरो भावः पुरुषश्चाधिदैवतम् ।
अधियज्ञोऽहमेवात्र देहे देहभृतां वर ।।४।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्देहभृताम् वर (देहधारीमा श्रेष्ठ, अर्जुन) अधिभूतम् (अधिभूत) च (तथा) क्षरः (नाशवान्) भावः (पदार्थ, कुरा) पुरुषः (हिरण्यमय पुरुष) अधिदैवतम् (अधिदैव हो) अधियज्ञः (अधियज्ञ) अत्र (यस) देहे (देहमा) अहम् एव (म नै हूँ) ।
विनाश हुने सबै पदार्थ अधिभूत हुन्। हिरण्यमय पुरुष अधिदैव हो । हे देहधारीहरुमा श्रेष्ठ, यहाँ यस शरीरमा म (वासुदेव) नै अधियज्ञ हूँ ।।४।।
अन्तकाले च मामेव स्मरन्मुक्त्वा कलेवरम् ।
यः प्रयाति स मद्भावं याति नास्त्यत्र संशयः ।।५।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्च (तथा) अन्तकाले (अन्तकालमा) माम् एव (मलाई नै) स्मरन् (स्मरण गरेर) मुक्त्वा (छोडेर) कलेवरम् (शरीर) यः (जसले) प्रयाति (प्राप्त गर्छ) सः (उसले) मत् भावम् (मेरो स्वरुप) याति (प्राप्त गर्छ) अत्र (यसमा) संशयः (संशय) न अस्ति (छैन) ।
अन्तकालमा जसले मलाई नै स्मरण गर्दै शरीर त्याग गर्छ, त्यो साक्षात् मेरो स्वरुपलाई प्राप्त गर्छ । यसमा कुनै संशय छैन ।। ५ ।।
व्याख्या
सम्पादन गर्नुहोस्अर्जुनका प्रश्न आठवटा भए तापनि यसका उत्तर भने सातवटा छन् । एउटा उत्तर यी सातवटैमा अदृश्य रुपमा विद्यमान छ ।
भगवानले दिएका सात उत्तर यस प्रकार छन्–
१.कहिल्यै नाश नहुने कुरा नै ब्रह्म हो ।
२.आफ्नो मूलस्वरुपलाई अध्यात्म भनेर बुझिन्छ ।
३. भूत प्राणी उत्पन्न हुने क्रियालाई कर्म भनेर बुझिन्छ ।
४. उत्पत्ति विनाश हुने सबै पदार्थ अधिभूत हुन् ।
५. हिरण्यमय पुरुष नै अधिदैव हो ।
६. यस शरीरमा म (वासुदेव) नै अधियज्ञ हूँ, जो अदृश्य रुपमा स्थित छ ।
७. तत्त्व ज्ञानीले अन्तकालमा मलाई (ईश्वरलाई) स्मरण गर्दै शरीर त्याग गर्छ ।
यद्यपि ब्रह्मको कुनै स्वरुप छैन, कुनै व्याख्या छैन, वर्णन गर्न पनि सकिँदैन तथापि विभिन्न विद्वानले यसको वर्णन गर्ने प्रयास गरेका छन् । उनीहरुले ब्रह्मलाई निर्गुण–निराकार, सगुण–निराकार, सगुण–साकार, वेद, ॐकार, मूलप्रकृति, ब्रह्मकर्म इत्यादि रुपमा वर्णन गरेका छन्।
स्वामी विवेकानन्दले भनेका छन्, अद्वैत वेदान्तले ब्रह्मलाई एकातिर असीम र अनन्त भन्दछ भने अर्कातिर त्यसैलाई सान्त र ससीम पनि भन्दछ । त्यसैले यसको अवधारणा बनाउनु अत्यन्त कठिन छ । जुन असीम छ त्यो ससीम कसरी भयो ? यसको व्याख्या कुनै सिद्धान्तको आधारमा गर्न गाह्रो छ । तर के कुरा सही छ भने देश, काल, र निमित्तको कारणले ब्रह्मले जगत्को रुप लिन्छ । यदि हामी देश, काल, र निमित्तको सीमाबाट जगततर्फ फर्केर हेर्छौं भने जुन देखिन्छ त्यो ब्रह्म कै छाया हो तर त्यसलाई हामीले जगत् भन्छौं । देशकाल भन्दा माथि रहेर हेर्छौं भने त्यो ब्रह्म हो ।
जब देश, काल, र निमित्तको परिधिमा पुगिन्छ त्यस बेला जे अनुभव गरिन्छ त्यो जगत् हो। तर जब देश, काल र निमित्तको परिधिभन्दा माथि पुगिन्छ अनि ब्रह्मको अनुभव हुन्छ । त्यस बेला देश, काल, निमित्त सबै स्थिर भइदिन्छन् ।
ब्रह्म कहिल्यै नाश नहुने, अविनाशी तत्त्व हो । त्यो तत्त्व भनेको परमात्मा नै हो। अर्को अर्थमा अर्थमा त्यस ब्रह्मलाई चिनाउने अक्षर वा शब्द हो– ॐ । देवनागरी लिपिका स्वर– अ, आ, इ, ई तथा व्यञ्जन क, ख, ग, घ तथा दुवैको मिश्रितस्वरुप क, का, कि, की इत्यादि यी सबैलाई अक्षर भनिन्छ ।
अधिको अर्थ हो अधिक, अझ बढी । आत्म, भूत, दैव, यज्ञमा अधि शब्द थप्नाले यी शब्दको अर्थ विशिष्ट हुन गएको छ । आफ्नो मूलभाव नै अध्यात्म हो । अधि आत्मको अर्थ हो सर्वोच्च आत्म । स्वयंको सर्वोच्च स्वरुप । यस दृष्टिले जीवात्मा नै अध्यात्म हो । यस स्वरुपलाई गीतामा शाश्वत, अमृत र आत्यन्तिक आनन्द स्वरुप (१४.२७) अर्थात् सत्, चित् र आनन्द स्वरुप भनिएको छ ।
सत् स्वरुप– मानिसको चाहना हो म सधैं बाँचिरहूँ । सधैं बाँच्ने जुन चाहना हो यो नै सत्य पदार्थ हो ।
चित् पदार्थ– हामी जड भएर होइन, चैतन्य (चित्) भएर बाँच्न चाहन्छौं ।
आनन्द पदार्थ– सत् र चित यी दुई कुराले मात्र हामी सन्तुष्ट हुँदैनौं । हामी सुख र आनन्द चाहन्छौं ।
यस बाहेक हामी सधैं स्वतन्त्र रहन चाहन्छौं, त्यो मोक्षस्वरुप हो । तर यस भन्दा पनि आश्चर्यको कुरा के हो भने हामी चाहन्छौं सबै हाम्रा वशमा रहुन् । यसलाई ईशस्वरुप भनिन्छ । कोही नास्तिक होस् वा आस्तिक यी पाँच कुरा चाहन्छ । ईश्वर भाव नास्तिकका मनमा पनि हुन्छ भन्ने मानिन्छ । त्यसैले वैदिक दर्शनमा नास्तिकको अर्थ केवल वेद नमान्ने हो ।
अध्यात्मको अर्को अर्थ हो आत्मा र परमात्माको सम्बन्ध, यसको मुख्य कुरा हो– जीव। यसलाई शास्त्रकारहरुले घडाभित्रको आकाश भनी सम्बोधित गरेका छन् ।
अधिभूतको अर्थ हो त्यो पदार्थ, जसबाट सम्पूर्ण प्राणी उत्पन्न हुन्छन् र विनाश हुन्छन्, अर्थात् यो नाशवान् छ । वास्तवमा परमात्मा र प्रकृतिको संयुक्त स्वरुपबाट निर्मित जगत्को स्वरुप, संसारका समस्त पदार्थ र प्राणीहरु अधिभूत हुन् । प्राणीहरुको श्रेष्ठता नै त्यस भित्र परमात्माको प्रभावले गर्दा हो ।
अधियज्ञ भनेको म आफैं हुँ, यस भनाईमा दुईवटा प्रश्नको उत्तर निहित छ– अधियज्ञ के हो? र कहाँ कसरी छ ? अधियज्ञको अर्थ हो श्रेष्ठतम यज्ञ, सर्वोच्च यज्ञ हो । सृष्टि र प्रलय अर्थात् प्राणीको उत्पत्ति र विनाशको चक्र नै विशाल यज्ञ हो । बादलले पानी पार्नु, सूर्यले ताप र प्रकाश दिनु, वृक्षले फूल र फल दिनु यी सबै अधियज्ञका स्वरुप हुन् । यो विशाल सृष्टिको सवयंचालिता नै अधियज्ञ हो ।
अधियज्ञको अर्को अर्थ पनि छ, त्यो हो सर्वप्रधान यज्ञको अभिकर्ता । स्पष्टतः परमात्मा नै यज्ञको अभिकर्ता हो । केवल दुई भेद निर्गुण र सगुण गर्ने हो भने ब्रह्म परमात्माको निर्गुण स्वरुप हो भने अधियज्ञ उसैको सगुण स्वरुप हो । देहधारीको दृष्टिले, शरीरको सक्रियता अधियज्ञ हो किनभने शरीरको सक्रियता यस भित्रको शक्तिले गर्दा हो ।
अधिदैवको अर्थ हो– देवताहरुमा सर्वश्रेष्ठ । अर्काे शब्दमा अधिष्ठात्री देव नै अधिदैव हो । उपनिषद्मा यसलाई हिरण्यमय पुरुष पनि सम्बोधन गरिएको छ । सोही अर्थमा यहाँ अधिदैवको अर्थ हिरण्यमय पुरुषलाई बताइएको छ ।
कर्मको सामान्य अर्थ हुन्छ नित्य, नैमित्तिक र काम्य कर्म । यहाँ भनिएको कर्म विशेष कर्म हो । सृष्टिको यस विशाल क्रियालाई यहाँ कर्म भनिएको छ । यदि अधियज्ञ सृष्टिको स्थिर चित्र हो भने कर्म त्यसैको गतिशील (भिडियो) चित्र हो ।
कर्मको अर्को अर्थ पनि छ । जीवात्मा र परमात्माको कार्यात्मक सम्बन्धलाई पनि कर्म भनिन्छ । कोठा भित्रको आकाश बाह्य आकाशको एक अंश हो । अन्तरिक्ष नभए कोठाको आकाश प्राप्त हुन सक्दैन । हामी ईश्वरको अंश होइनौं भनेर मान्नु र सो अनुसार कर्म गर्न खोज्नु अस्वाभाविक कर्म हो ।
अर्जुनलाई यहाँ एउटा विशेष सम्बोधन छ, त्यो हो देहधारीहरुमा श्रेष्ठ । अर्जुन यसरी देहधारीमा श्रेष्ठ किन बने ? यहाँ जुन कुरा भनिएको छ, ती असाधारण कुरा हुन् । जसले यस्ता कुराहरु सुन्न पाउँंछ, ऊ श्रेष्ठ हुन जान्छ ।
यी आठ प्रश्नको भगवानले दिएका उत्तरलाई उदाहरणद्वारा स्पष्ट गर्न सकिन्छ –
प्रश्न | उत्तर | उदाहरण |
---|---|---|
ब्रह्म के हो ? | अविनाशी, निर्गुण, निराकार | जल |
अध्यात्म के हो ? | जीवात्मा | पानीको थोपा |
कर्म के हो ? | प्राणीको उत्पत्ति र नाश हुने क्रिया | वर्षा |
अधिभूत को हो ? | उत्पत्ति र नाश हुने सबै पदार्थ, जगत् | हिउँ, असिना |
अधिदैव को हो? | देवताहरुका पनि सृष्टि कर्ता | बादल |
अधियज्ञ कसलाई बुझिन्छ? | यज्ञ कर्म प्रवर्तक र फलदाता | बाफ |
यस शरीरमा त्यो कसरी छ? | अव्यक्त परमात्मा (वासुदेव) | सर्वत्र, वायु रुपमा अदृश्य |
अन्तिम अवस्थामा कसरी जान्न सकिन्छ ? | चिन्तनको केन्द्र बिन्दु ईश्वरमा स्थिर राखेर, तत्त्व ज्ञानद्वारा | बाफ, जल, हिउँ, बादल सबै उही हो भन्ने कुरा नै तत्त्व ज्ञान |
१. ब्रह्म के हो ?
उत्तर– मानौं ब्रह्माण्डमा सर्वत्र भएको जल ब्रह्म हो ।
२. अध्यात्म के हो ?
उत्तर– पानीको थोपा ।
३. कर्म के हो ?
उत्तर– वर्षाको क्रिया जसबाट जल कण निर्माण हुन्छ ।
४. अधिभूत भनेको को हो ?
उत्तर– बरफ । पानीबाट बरफ बन्छ र बरफ रुपान्तर भई पानी बन्छ ।
५. अधिदैव कसलाई भनिएको हो ?
उत्तर– बादल । बादल नै वर्षाको प्रमुख कारक हो ।
६. अधियज्ञ भनेर कसलाई बुझिन्छ ?
उत्तर– जलबाट बाफ बन्ने क्रिया नै अधियज्ञ हो ।
७. यस शरीरमा कसरी अवस्थित छ ?
उत्तर– त्यो परमात्माको अव्यक्त शक्तिको रुपमा भित्रै त्यसै गरी अवस्थित छ जसरी सर्वत्र वायुमा जल कण अदृश्य हुन्छ ।
८. यसलाई प्रयाणकालमा कसरी जान्न सकिन्छ ?
उत्तर– प्रत्येक साँसमा ईश्वर अनुभव गर्ने तत्त्वज्ञानीले प्रयाण कालमा स्वतः जान्दछ ।
यं यं वापि स्मरन्भावं त्यजत्यन्ते कलेवरम् ।
तं तमेवैति कौन्तेय सदा तदभावभावितः ।।६
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्वा (अथवा) कौन्तेय (हे कौन्तेय) यम् यम् (जुन जुन) अपि (पनि) भावितः (भावित, भरिएको हुन्छ) तम् तम् (सोही) स्मरन् भावम् (भाव स्मरण गर्छ) त्यजति (त्याग गर्छ) अन्ते (अन्तमा) कलेवरम् (शरीर) सदा (सदा) तत् भाव (सोही भाव) एव (नै) एति (प्राप्त गर्छ, मिल्न जान्छ)।
अथवा हे कौन्तेय, जीवन भर सधैं त्यही भावले भरिएको हुँदा, मानिसले जुन जुन भावको स्मरण गर्दै अन्तकालमा शरीर त्याग गर्छ, सोही भावमा मिल्न जान्छ ।।६।।
व्याख्या
सम्पादन गर्नुहोस्मानिस रुँदै किन जन्मन्छ ? यसको कारण बताउँदै ओशोले भनेका छन्, शरीर छोड्ने बेलामा मानिस रोइरहेका हुन्छन् त्यसैले अर्को शरीर ग्रहण गर्दा पनि उनीहरु रोइरहेका हुन्छन् । शरीर त्याग गर्दा जसले हाँसीहाँसी त्याग गर्न सक्छ, यदि उसले अर्को जन्म लियो भने ऊ रुने छैन, हाँस्ने छ । तुलसीदासको बारेमा के प्रसिद्ध छ भने जन्म हुँदा उनी हाँसेका थिए । जोरोस्टरको जन्मको कथामा पनि भनिएको छ, जन्म लिएको बेलामा उनी खित्का छोडी हाँसेका थिए । स्वर्गद्वारी प्रभुले जन्म लिंदा उनी रोएका थिएनन् भन्ने जनश्रुति छ ।
यदि हामी साँझमा कुनै भाव लिएर निदाउँछौं भने बिहान उठ्दा जुन विचार सबभन्दा पहिला मनमा आउँछ त्यो हिजो साँझको अन्तिम भाव नै हुन्छ । जसले जीवन भर परमात्माको भाव मनमा लिएको हुन्छ केवल उसले मात्र मर्ने बेलामा ईश्वर स्मरण गर्न सक्छ । अन्तिम समयमा मानिसको नियमित बानी मात्र प्रकट हुनसक्छ । यता मर्ने बेलामा जुन भाव हुन्छ अर्को जन्म लिने बेलामा त्यही भावबाट प्रारम्भ हुन्छ ।
बेलामा मानिसले अचानक परमात्माको स्मरण गर्न सक्दैन । जीवनभर जुन भाव लिएको हुन्छ केवल त्यही भाव मर्ने बेलामा हुन्छ । जङ्गबहादुरको बेलायत भ्रमण बारेको किंवदन्ती छ । बेलायतकी महारानीले जंगबहादुरको सम्मानमा रात्रिभोज दिइन् । रात्रिभोजमा आफ्नो वैभव प्रकट गर्न सबैलाई सुनको थालमा खाना दिइन्थ्यो। तर आश्चर्य प्रत्येक भोजमा एउटा सुनको थाल हराउँथ्यो ।
यसको कारण पत्ता लगाउन रानीले पालेहरुलाई लुकेर हेर्न लगाइन् ।
उनीहरुले के देखे भने जङ्गबहादुरले खाना खाए पछि थाल उचालेर झ्याङमा फालिदिए ।
सबैलाई अत्यन्त आश्चर्य भयो । अनि उनीहरुले जङ्गबहादुरलाई थाल फाल्ने कारण सोधे। जङ्गबहादुरले तुरुन्त जवाफ दिए– ‘हामी कहाँ एक पटक खाएको थालमा फेरि खाने चलन छैन ।’
यो भनाई टपरीका लागि थियो । तर बेलायतकी महारानी चकित भइन् । नेपालको राजाले प्रत्येक दिन सुनको नयाँ थालमा खाने ?
यो कथा सत्य नहुन पनि सक्छ । तर यसले के कुरा बताउँछ भने जसलाई जे बानी लागेको हुन्छ उसले सधैं त्यही गर्छ ।
अन्तिममा आउने विचार सामान्य हुँदैन विशेष हुन्छ । बडो महत्त्वपूर्ण हुन्छ र सत्य हुन्छ । संसारका प्रायः सबै कानूनमा मानिसको अन्तिम भनाईलाई विशेष मानिन्छ र डेथ स्टेटमेन्टलाई सत्य प्रमाणका स्वरुपमा स्वीकार गरिन्छ । अन्तकालमा जुन जुन भावको स्मरण गर्दै मानिसले शरीर त्याग गर्छ, त्यो त्यो स्वरुप प्राप्त गर्छ ।
यस सम्बन्धमा जडभरतको कथा मीठो कथा छ । उनी तपस्यारत थिए । शिकारीबाट जीवन रक्षाका लागि भाग्दै गरेकी एउटी हरिणीलाई देखे । घाइते र गर्भिणी हरिणीले जोडले हामफाल्दा बच्चा जन्मेर खोलोमा खस्यो । आफू घाइते भएकोले हरिणी मरी। मृगशावकको दुर्दशा देखेर दुखित भरतले त्यसलाई ल्याएर पाल्न थाले । अब उनको साधना मोडियो । परमात्म चिन्तन गरिरहेका उनले मृग शावकको चिन्तन गर्नाले अर्को जन्ममा उनी मृग भएर जन्म लिए । अनि परमतत्त्वको चिन्तनलाई निरन्तरता दिंदै अन्तमा उनी मुक्त भए ।
नास्तिक अजामिलको कथा प्रसिद्ध छ जसले अन्तिम समयमा आफ्नो छोराको नाम लिएर ईश्वरलाई प्राप्त गर्यो । उसको छोराको नाम नारायण थियो । छोराको नाम लिंदा भगवान् नारायण स्मरण आउँदो रहेछ ।
अर्को कथा छ शिशुपालको। शिशुपाल भगवान् श्रीकृष्णसंग द्वेष राख्थ्यो । त्यसैले सधैं अपशब्द भनिरहन्थ्यो । त्यसैले उसकी आमाले भगवान् श्रीकृष्णलाई शिशुपालको रक्षा गर्न अनुरोध गरेकी थिई । अनि भगवानले एउटा आश्वासन के दिनु भएको थियो भने एक शयवटा अपशब्दसम्म केही गर्ने छैन । राजसूय यज्ञमा भगवान् श्रीकृष्णलाई युधिष्ठिरले उच्च सम्मान दिएपछि उसलाई त्यो सहन भएन । अनि उसले अपशब्द प्रयोग गर्न थाल्यो । शयवटा अपशब्द भगवानले शान्तिपूर्वक र बिना कुनै उद्विग्नता सुन्नु भयो थप एक अपशब्द बोल्नासाथ सुदर्शन चक्रले उसको शिरच्छेदन गर्नु भयो । मृत्यु हुँदा बित्तिकै एउटा तेजपुञ्जको रुपमा ऊ बैकुण्ठलोक पुग्यो ।
सबैले आश्चर्य माने । यस्तो पापी यति छिटो मुक्ति प्राप्त गर्ने ? अनि भगवान् श्रीकृष्णले एउटा मनोवैज्ञानिक उत्तर दिनु भएको छ– ‘उसले मसंग कति द्वेष गर्थ्यो भने उसलाई निरन्तर मेरो मात्र स्मरण रहन्थ्यो । त्यसैले ऊ मुक्त भयो ।’
प्रायः मानिसहरुले मित्रको तुलनामा शत्रुहरुको बढी चिन्तन गरिरहन्छन् ।
तस्मात्सर्वेषु कालेषु मामनुस्मर युध्य च ।
मय्यर्पितमनोबुद्धिर्मामेवैष्मयसंशयम् ।।७
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्तस्मात् (त्यसैले) सर्वेषु कालेषु (सबै कालमा, सदा सर्वदा) माम् (मलाई) अनुस्मर (स्मरण गर) च (अनि) युध्य (युद्ध गर) मयि (ममा) अर्पित (अर्पण गरेको) मनोबुद्धिः (मन बुद्धिले युक्त भई) माम् (मलाई) असंशयम् (यसमा संशय छैन, अवश्य नै) एष्यसि (प्राप्त गर्ने छौ)।
त्यसैले, सदा सर्वदा मेरो स्मरण गर अनि युद्ध गर । ममा अर्पण गरेको मन बुद्धिले युक्त भएपछि मलाई अवश्य नै प्राप्त गर्ने छौ ।।७ ।।
व्याख्या
सम्पादन गर्नुहोस्सदा सर्वदा मलाई स्मरण गर अनि युद्ध गर, यसरी एक दिन तिमीले मलाई अवश्य प्राप्त गर्ने छु । यो भनाई अर्जुनका लागि हो तर प्रत्येक व्यक्तिले हरेक कालमा यस अर्तिको उपयोग गर्नसक्छ । जीवनरुपी संघर्षमा सफल हुनका लागि यो मूल मन्त्रहो । ईश्वरलाई सम्झना गर्ने अनि जीवनमा आई परेको प्रत्येक संघर्षको सामना गर्ने ।
सदा सर्वदा ईश्वरको स्मरण कसरी हुन सक्छ ? यो कुरा आउने श्लोकमा बताइएको छ ।
अभ्यासयोगयुक्तेन चेतसा नान्यगामिना ।
परमं पुरुषं दिव्यं याति पार्थानुचिन्तयन् ।।८।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्पार्थ (हे पार्थ) न अन्यगामिना (अन्य कतै नजाने) चेतसा (चित्तले) अभ्यास योगयुक्तेन (अभ्यासयोगले युक्त, अभ्यास गरेर) अनुचिन्तयन् (निरन्तर चिन्तन गर्दै) अनुचिन्तयन् (चिन्तन, ध्यान गरिरहनाले) परमम् (परम) पुरुषम् दिव्यम् (दिव्यपुरुष, हिरण्यमय पुरुष, परमात्मा) याति (प्राप्त हुन्छ)।
हे पार्थ, चित्तलाई अन्यत्र जान नदिई अभ्यासयोगले युक्त भई मनले निरन्तर त्यस परमपुरुषको ध्यान चिन्तन गरिरहनाले दिव्य पुरुषकै प्राप्ति हुन्छ ।।८।।
व्याख्या
सम्पादन गर्नुहोस्सदा सर्वदा ईश्वर स्मरण गर्न निरन्तर अभ्यास चाहिछ । अभ्यासयोगको अर्थ हो प्रसन्नता वा खिन्नता नलिइकन कार्य गर्नु ।
अभ्यासयोग किन आवश्यक छ ? ज्ञानी छु वा अज्ञानी छु दुवै मान्यता हुन् । यी दुवै मिथ्या हुन् । निद्राबाट बिउँझना साथ ज्ञानी हुन जाने हो । यसको अर्थ के हो भने जो निद्रामा थियो उही जागेको हो । ज्ञान त्यहीं थियो तर निष्क्रिय । सन्त पुरुषहरुको काम निदाएकालाई बिउँझाउनु हो । ज्ञान दिनु भनेको जाग्रत गराउनु हो । ज्ञान त प्रत्येकसँग हुन्छ नै । त्यसैले अभ्यासयोग अनुरुप कर्म गर्न भनिएको हो ।
चित्तलाई एकाग्र गरेर अभ्यासको सहायताले निरन्तर त्यस दिव्य पुरुषको ध्यान गरिरहने हो भने उसको प्राप्ति हुन्छ ।
कविं पुराणमनुशासितार
मणोरणीयांसमनुस्मरेद्य ।
सर्वस्य धातारमचिन्त्यरुप
मादित्यवर्णं तमसः परस्तात् ।।९।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्कविम् (सर्वज्ञ) पुराणम् (पुरातन, अनादि) अनुशासितारम् (नियामक, सबलाई अनुशासनमा राख्ने) अणोः अणीयांसम् (परमाणुभन्दा पनि सानो) यः (जसले) सर्वस्य (सबलाई) धातारम् (धारण गर्छ) अचिन्त्यरुपम् (अचिन्त्य रुप छ) आदित्यवर्णम् (आदित्य जस्तो तेज छ) तमसः (अन्धकारभन्दा) परस्तात् (धेरै पर छ) अनुस्मरेत् (स्मरण गरोस)।
त्यो सर्वज्ञ छ, पुरातन छ, सबलाई अनुशासनमा राख्छ, सूक्ष्म अणुभन्दा पनि सूक्ष्म छ । सबलाई धारण गर्छ । अचिन्त्यरुप छ । त्यो तमस्भन्दा धेरै पर छ । सूर्यजस्तो तेज छ । अभ्यास योगमा यसरी स्मरण गर्नु पर्छ ।।९।।
प्रयाणकाले मनसाऽचलेन,
भक्त्या युक्तो योगबलेन चैव ।
भ्रुवोर्मध्ये प्राणमावेश्य सम्यक्
स तं परं पुरुषमुपैति दिव्यम् ।।१०।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्प्रयाणकाले (अन्तकालमा) अचलेन (स्थिर गरिएको) मनसा (मनले) भक्त्या (भक्ति गरेर) योगबलेन (योगबलले) युक्तः (युक्त भई) च एव (तथा) भ्रुवोःमध्ये (दुवै भृकुटीको बीचमा) प्राणम् (प्राणलाई) सम्यक् (राम्ररी) आवेश्य (राखेर) सः (त्यो मानिस) तम् (त्यही) दिव्यम् (दिव्य) परम् पुरुषम् (परम पुरुष, परमात्मामा) उप–एति (प्राप्त गर्छ, जान्छ)।
जुन मानिसले अन्तकालमा योगको बलले युक्त भएर दुवै भृकुटीको बीचमा प्राणलाई राम्ररी राखेर स्थिर गरिएको मनले त्यस दिव्य पुरुषलाई स्मरण गर्दछ, त्यो मानिस त्यही दिव्यरुप परम पुरुष, परमात्मामा मिल्छ ।। १० ।।
व्याख्या
सम्पादन गर्नुहोस्जसले सर्वज्ञ, अनादि, सबलाई अनुशासनमा राख्ने, सूक्ष्म अणुभन्दा पनि सूक्ष्म, सबलाई धारण गर्ने, अचिन्त्यरुप, सूर्य जस्तो तेज भएको र तमस् भन्दा धेरै पर रहेको परमात्माको स्मरण गर्छ । उसले त्यस अनुशासनकर्तालाई अनुभव गर्छ । अनुशासितारम् को अर्थ हो ईश्वर एक नियम हुन् । जसले त्यस नियमको उल्लंघन गर्छ उसले सजायँ पाउँछ । त्यो दिव्य परम् पुरुष अनादि र सर्वज्ञ मात्र होइन अनुशासितारम् पनि छ ।
यस प्रकारको स्वरुपलाई राम्ररी चिन्तन गर्दै मनलाई स्थिर गरी आँखी भौंको बीचमा प्राणलाई ठीक तरीकाले राखेर त्यस दिव्य पुरुष अर्थात् ब्रह्मलाई निरन्तर ध्यान गर्छ, त्यो मानिस सोही दिव्य पुरुषलाई प्राप्त गर्छ , मिसिन्छ । यसका लागि उसले योगको बल उपयोग गर्नु पर्छ । प्राणलाई ठीक तरीकाले राख्ने शक्ति योगको बलले अर्थात् यम, नियम, प्रत्याहार, धारणा, ध्यान आदिका विधिले प्राप्त हुन्छ ।
यदक्षरं वेदविदो वदन्ति विशन्ति यद्यतयो वीतरागाः ।
यदच्छन्तो ब्रह्मचर्यं चरन्ति तत्ते पदं सङ्ग्रहेण प्रवक्ष्ये ।।११
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्वेदविदः (वेदजान्नेले) यत् (जसलाई) अक्षरम् (अविनाशी) वदन्ति (भन्दछ्न्) वीतरागाः (वीतरागी) यतयः (यतिहरु) यत् (जसमा) विशन्ति (प्रवेश गर्ने, ध्यान गर्ने ) इच्छन्तः (इच्छा गर्दै) ब्रह्मचर्यम् (ब्रह्मचर्यको ) यत् (जसले) चरन्ति (आचरण गर्छन्) तत् (त्यस) पदम् (परमपबारे) सङ्ग्रहेण (सङ्क्षेपमा) ते (तिमीलाई) प्रवक्ष्ये (वर्णन गर्छू ) ।
वेद जान्नेले जसलाई अविनाशी भन्दछन्, वीतरागी यति जसमा प्रवेश गर्ने इच्छा गर्छन् र ब्रह्मचर्यको आचरण गर्छन्, त्यस परमपदको बारेमा संक्षेपमा तिमीलाई वर्णन गर्छू ।। ११ ।।
व्याख्या
जो वास्तवमा ज्ञानी छन् उनले परमात्माको बारेमा बताउँदा के भन्छन् ? यति– सन्न्यासीले के सन्देश दिन्छन् ? ब्रह्मको जस्तो आचरण गर्नेले कस्तो उदाहरण प्रस्तुत गर्छ ? यही कुरा यस श्लोकले व्याख्या गरेको छ ।
जसरी बाह्य जगतका लागि काम गर्ने उपकरण अन्तर्जगत्मा काम लाग्दैन, त्यसै गरी संसारका लागि काम गर्ने उपकरण परमात्माका लागि काम लाग्दैन । संसारका लागि विचार काम लाग्छ भने परमात्माका लागि भाव काम लाग्छ । यो अन्तर ठीक त्यस्तै हो जस्तो प्रयोगशालामा जाँच्न राखेको रगत र शरीरको रगतमा हुन्छ । जाँच गर्न राखेको रगत मुर्दा हुन्छ जबकि शरीरको रगत जीवित र चलायमान हुन्छ ।
हुन त, इन्द्रियातीत अनुभवलाई बताउन धेरै गाह्रो छ । तर ज्ञानीले जसरी बताउन सक्छ, त्यो वेदवित्को भनाई हो । ज्ञानीले ज्ञानको भाषामा ईश्वरलाई अनादि, अनन्त, वा अविनाशी भन्छ ।
वेदवितको अर्थ हो वेद जान्ने ।
वेद विश्वको सबभन्दा प्राचीन साहित्य हो । वेद भन्नासाथ हामीले चार वेद, ऋक्, साम, यजु, र अथर्वलाई बुझ्छौं । वेद र वेदमूलक स्मृतिहरूको अध्ययन बिना हामी आफ्ना आचार, विचार, धार्मिक, आर्थिक र सामाजिक मान्यता, र परम्परागत आस्था बुझ्न सक्दैनौं । साहित्य, संगीत, कला, विज्ञान, अध्यात्म आदिलाई स्पष्ट बुझ्ने आधार वेद नै हुन् । वेदबाट नै आरण्यक र उपनिषद् निकालिएको भनिएको छ । उपनिषद् अन्तिम ग्रन्थ भएकोले तिनीहरुलाई वेदान्त पनि भनिन्छ । चार उपवेदलाई पनि वेदको भाग मानिन्छ । आज जे जति ज्ञान हामीसँग उपलब्ध छ, उपनिषद, पुराण, स्मृति, अर्थशास्त्र, धर्मशास्त्र, कामशास्त्र, मोक्ष शास्त्र, विज्ञान, प्रविधि र उपलब्धि सबै, त्यो वेदको विस्तार हो । त्यसैले भोल्तेयरले भनेका छन्, ‘मानव समाजका लागि वेदभन्दा उत्कृष्ट अर्को उपहार छैन ।’ यो कुरा बुझ्नेलाई वेद जान्ने वेदवित् भनिन्छ ।
वेदवितकोअर्को अर्थ पनि छ । हामीले प्राप्त गर्ने ज्ञानलाई दुई भागमा विभाजन गर्न सकिन्छ। एक, त्यो ज्ञान जसलाई इन्द्रियको प्रयोगले जानिन्छ । वास्तवमा प्रयोगशालामा जुन ज्ञान प्राप्त हुन्छ, त्यो इन्द्रिय आधारित हुन्छ । त्यसैले त्यो विज्ञान हो । तर जुन ज्ञान इन्द्रियभन्दा पनि परको साधनाले जानिन्छ, त्यो वेद हो, ज्ञान हो । जसले यो अनुभव गरेर जान्ने ज्ञानी नै वेदवित् हो ।
वीतरागीले जसमा प्रवेश गर्ने इच्छाले ब्रह्मचर्यको जस्तो आचरण गर्छ । वीतरागीको अर्थ हो जसलाई कुनै कुरासंग मोह पनि छैन र कुनै कुराको वैराग्य पनि गरेको छैन । राग र विराग दुवैभन्दा पर जो हुन्छ त्यसलाई वीतरागी भनिन्छ । यस्ता मानिसलाई यति पनि भनिन्छ । यतिको सर्वोत्कृष्ट उदाहरण हुनुहुन्छ भगवान् शिव । सधैं प्रियतमा पार्वती साथ भइकन पनि भगवान् शिव सन्न्यासी हुनुहुन्छ । तीन कुरा साथमा छन्– शिवशक्ति र संन्यास। शिवको यो परिवार विश्वमा सबभन्दा अनौठो र समन्वयकारी परिवार हो । पार्वतीलाई उत्कृष्ट वस्त्र अलंकारले सुसज्जित, कपाल कोरेकी, मुकुट पहिरेकी सुन्दरतम नारी । भगवान् शिवलाई वस्त्रहीन भनिएको छ । भगवान् शिवको नकोरिएको कपाल कति जटायुक्त छ भने त्यसमा तीव्र बहाव भएकी गङ्गा समेत अल्झिएर बसेकी छन् । सिरमा द्वितीयाको पवित्र जून छ ।
शिवको परिवारका प्रत्येक सदस्य एक अर्काका शत्रु देखिन्छन् । बाघ र साँढे, मूसो र सर्प, सर्प र मयूर सबै एक अर्काका शत्रु नै हुन् र पनि हुन् एउटै परिवारका । वास्तवमा सम्पूर्ण सृष्टि र समाजको यथार्थ यही नै हो । विपरीत तत्त्वहरुको आपसी क्रिया र समन्वय नै समाज संरचना र विकासको आधार हो । यस्तो विपरीततामा जो बाँच्न सक्छ उही यति हो । यसैलाई सर्भाइभल अफ् द फिटेस्ट भनिन्छ ।
यतीश्वर शिवलाई सबै प्रकारको ज्ञानका आदि कारण र स्रोत मानिएको छ । ज्योतिषमा प्रत्येक राशिमा नौवटा अक्षर हुन्छन् । यसरी बारह राशिका सबै नामका १०८ अक्षर हुन्छन्। ब्रह्माको प्रथम अक्षर ब, विष्णुको प्रथम अक्षर वि का लागि राशि निर्धारित छन् तर शङ्करको श कुनै पनि राशिमा पर्दैन । उनी यतीश्वर हुन् । उनी ज्योतिषभन्दा माथि छन् ।
भोगीलाई जुन समस्या हुन्छ त्यागीलाई त्यस्तै प्रकारको समस्या हुन्छ । एउटा सुनको सिंहासन बाहेक अन्यत्र बस्दै बस्दैन अर्को सुनको सिंहासनमा बस्दै बस्दैन, भुईंमा मात्र बस्छ। त्यागीलाई त्यागको त्यत्तिकै गर्व छ जति सम्राटलाई सुनका सिंहासनको । तर वीतरागी यी दुवैभन्दा फरक हुन्छ । उसलाई सुनको आसन दियो भने पनि बसिदिन्छ। खाली जमीन देखाइदियो भने पनि बसिदिन्छ । दुवै स्थानमा समान आनन्दले बस्छ। वीतरागी यस्तो मानिस हो जसलाई मोक्ष पनि चाहिंदैन । त्यसैले वीतरागीले परमात्माको स्वरुप अनुभव गर्छ ।
यस्ता वीतरागीले पनि त्यस परमात्मा प्राप्तिका लागि ब्रह्मचर्यको आचरण गर्छन् । ब्रह्मर्यको एउटा अर्थ हो ब्रह्मचर्य आश्रममा प्रवेश गरेको अवस्था । यस्तै अर्को एउटा प्रचलित अर्थ के हो भने जसले विवाह गरेको छैन । तर यस श्लोकमा भगवान्ले भन्नु भएको ब्रह्मचर्यको आचरण भनेको के हो ? यो कुरा आउने श्लोकमा व्याख्या गरिएको छ ।
सर्वद्वाराणि संयम्य मनो हृदि निरुध्य च ।
मूर्ध्न्यायात्मनः प्राणमास्थितो योगधारणाम् ।। १२ ।।
ओमित्येकाक्षरं ब्रह्म व्याहरन्मामनुस्मरन् ।
यः प्रयाति त्यजन्देहं स याति परमां गतिम् ।।१३।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्सर्वद्वाराणि (इन्द्रियका सबै ढोकाहरुलाई) संयम्य (संयम गरेर) च (तथा) मनः हृदि (मनलाई हृदयमा) निरुध्य (निरोध गरेर, रोकेर) आत्मनः (आफ्नो) प्राणम् (प्राणलाई) मूध्र्नि (मस्तकमा) आधाय (स्थापित गर्दै) योगधारणाम् (समाधियोगमा) आस्थितः (राम्ररी स्थित भई) ओम् (ओम्कार) एक (एक) अक्षरम् (अक्षर, अविनाशी) ब्रह्म (ब्रह्म) इति (यस प्रकार) व्याहरन् (जप गर्दै, व्यवहार गर्दै) माम् (मेरो) अनुस्मरन् (स्मरणगर्दै) यः (जसले) देहम् (देह) त्यजन् (त्यागेर) प्रयाति (जान्छ) सः (उसले) परमाम् गतिम् (परम गति) याति (प्राप्त गर्छ, जान्छ) ।
सबै इन्द्रियका ढोकाहरुलाई संयम गर्दै (इन्द्रियलाई बाहिरबाट हटाएर) मनलाई हृदयमा निरोध गरी प्राणलाई मस्तकमा स्थापित गरेर समाधि योगमा गई जसले ओम् यस एकाक्षरीको जप र मेरो स्मरण गर्दै देह त्याग गर्छ, उसले परम गति ( ब्रह्ममा मिसिने मुक्ति) प्राप्त गर्छ ।।१२–१३।।
व्याख्या
सम्पादन गर्नुहोस्इन्द्रियका द्वारहरु संयम गरेर तथा मनलाई हृदय देशमा निरोध गरेर प्राणलाई मूध्र्नि (मस्तक अर्थात् सहस्रार) मा स्थापित गरेर परमात्म स्वरुप ओम् एकाक्षरी यस ब्रह्मको उच्चारणका साथ मेरो स्मरण गर्दै देहलाई त्याग गरेर जान्छ । उसले परम गति प्राप्त गर्छ ।
सहस्रारमा पुग्नका लागि आन्तरिक र बाह्य संयम गरेर परब्रह्मको धारणामा आफूलाई निरन्तर केन्द्रित गर्नु पर्छ । यस क्रममा सात चक्र क्रमशः विकसित हुँदै जान्छन् भनिएको छ । निम्न्लिखित चित्रमा सात चक्र तथा सहस्रार देखाइएको छ ।
प्रथम– मूलाधार चक्र, मानवदेहको गुह्यदेश र लिङ्गमूलको बीचको त्रिकोण भागमा स्थित
दोस्रो – स्वाधिष्ठान चक्र
तेस्रो – मणिपूर चक्र (नाभि)
चौथो – अनाहत चक्र (हृदय )
पाँचौं– विशुद्धि चक्र
छैठौं– आज्ञा चक्र
सातौं– सहस्रार चक्र
जब चेतना पशु र मानवका बीचको हुन्छ, त्यो मूलाधार चक्रको अवस्था हो । खानु, सन्तान जन्माउनुमा केन्द्रित मानिस यस अवस्थामा रहन्छ । दोस्रो चक्रले मानव चेतना उन्नत अवस्थामा जान्छ र मानिसको व्यक्तित्व विकास प्रारम्भ हुन्छ । उसमा सौन्दर्यबोध र प्रेमका भावनाहरु विकसित हुन्छन् । मणिपूर चक्रको अवस्था प्राप्त गर्दा स्पष्टता, आत्मविश्वास, आनन्द, ज्ञान, बुद्धि र सही निर्णय लिने क्षमता आर्जन हुन जान्छ । अनाहत चक्रमा ध्यान एकाग्र हुँदा बलियो संकल्प शक्ति उदय हुन्छ । विशुद्धि चक्रमा पुगेपछि बल्ल आध्यात्मिक अनुभव हुन थाल्छ । आज्ञा चक्र तृतीय नेत्र वा दिव्य चक्षुको चक्र हो । यसलाई गुरु चक्र पनि भनिन्छ । इडा, पिंगला, सुषुम्ना तीनवटा नाडी यस ठाउँमा आएर मिल्छन् । यस अवस्थामा भएको व्यक्ति बल्ल उपदेशको अधिकारी हुन्छ । सहस्रार चक्र सर्वोच्च चक्र हो । यस अवस्थामा पुग्ने व्यक्तिले उपदेश आदि गर्दैन । ऊ निरन्तर मौन रही समाधिको अवस्थामा हुन्छ ।
सरल शब्दमा, जबसम्म मानिस पशुवत् हुन्छ र केवल भोजन र मैथुनको मात्र चिन्तन गर्छ त्यस बेला उसको नाभि र सो मुनिको चक्र मात्र जाग्रत मानिन्छ । विस्तारै उसको विचार क्षमता विकास हुंदै गएर पछि ऊ अझ माथिल्लो चक्रमा प्रवेश गर्छ । विचार उच्च स्तरमा पुग्नु नै कुण्डिलिनी जागरण हुनु हो । तन्त्रशास्त्र अनुसार, साधनाको क्रममा विस्तारै ऊर्जा माथि जाने गति फरक फरक हुन्छन् । जसलाई पिपीलिका (कमिला) गति, मण्डूक (भ्यागुता) गति, सर्पगति, विहङ्ग गति, र वानर गति भनिन्छ ।
हृदय देश भन्नाले नाभिदेखि कण्ठसम्मको क्षेत्र हो । यसमा मणिपूरभन्दा माथि र विशुद्धिभन्दा तलको क्षेत्र पर्छ, जसलाई अनाहत् चक्र भनिन्छ । जब मानिसको स्वाँस, स्वासमा प्रभुको नाम उच्चारण हुन थाल्छ, त्यो अनाहत क्षेत्र विकसित भएको अवस्था हो ।
यहाँ भनिएको व्याहरन्को अर्थ हो साँसमा ओम्को स्वाभाविक ध्वनि निस्कनु जान्छ । ओम् भन्नुको अर्थ हो अन्तिम समयमा आआफ्नो साधना अनुरुप ॐ, शिव, राम कुनै नाम जप गर्न सक्छन् । यो साधकको साधनामा भर पर्छ ।
अनन्यचेताः सततं यो मां स्मरति नित्यशः ।
तस्याहं सुलभः पार्थ नित्ययुक्तस्य योगिनः ।।१४।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्पार्थ (हे पार्थ) अनन्यचेताः (अनन्यचित्त भएर) नित्यशः (नित्य) सततम् (निरन्तर, अविच्छिन्न) यः (जसले) माम् (मलाई) स्मरति (स्मरण गर्छ) तस्य (त्यस) नित्ययुक्तस्य (नित्ययुक्त) योगिनः (कर्मयोगीका लागि) अहम् (म) सुलभः (सुलभ छु, सजिलै प्राप्त छु) ।
हे पार्थ, अनन्यचित्त भएर जसले नित्य निरन्तर मलाई स्मरण गर्छ त्यस नित्ययुक्त कर्मयोगीका लागि म सजिलै प्राप्त छु ।।१४।।
मामुपेत्य पुनर्जन्म दुःखालयमशाश्वतम् ।
नाप्नुवन्ति महात्मानः संसिद्धिं परमां गताः ।। १५ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्माम् (मलाई) उपेत्य (प्राप्त गरेकाले) परमाम् (परम) संसिद्धिम् (सिद्ध) गताः (पाएका) महात्मानः (महात्माहरुले) पुनर्जन्म (पुनर्जन्म) न आप्नुवन्ति (प्राप्त गर्दैनन्) दुःखालयम् (दुखको घर) अशाश्वतम् (क्षण भंगुर)।
मलाई प्राप्त गरेकोले परम सिद्धि पाएका महात्माजनको पुनर्जन्म हुँदैन, यो पुनर्जन्म नै दुखहरुको मुख्य घर तथा अनित्य पनि हो ।। १५ ।।
व्याख्या
सम्पादन गर्नुहोस्सहस्रारमा पुग्ने साधना एक कठिन मार्ग हो । त्यसैले भगवान् श्रीकृष्णले सरल मार्ग बताउँदै भन्नु भएको छ–‘जसले अनन्यचित्त भएर नित्य निरन्तर मलाई स्मरण गर्छ त्यसले पनि परमात्मा प्राप्त गर्छ ।’
अनन्यचेता, अर्को कोही छैन यस्तो चेतना, जस्तो पतिव्रता स्त्रीले पतिका लागि, जस्तो आज्ञाकारी पुत्रले पिताका लागि र गुरुभक्त शिष्यले गुरुका लागि गर्छ । यसैलाई अन्य स्थानमा अव्यभिचारिणी बुद्धि भनिएको छ ।
यस संसारलाई दुखको आलय भनिन्छ । जसरी पुस्तकालयमा पुस्तक मात्र प्राप्त हुन्छ, वस्त्रालयमा केवल वस्त्र प्राप्त हुन्छ, भोजनालयमा केवल भोजन मात्र प्राप्त हुन्छ त्यसै गरी यो संसार दुखालय हो । दुखालयमा गए पछि केवल दुख मात्र प्राप्त गर्न सकिन्छ ।
वास्तवमा संसारमा देखिने जति पनि इन्द्रेणी छ, त्यसको कारण वासना हो । वासना हुनेहरुले क्षणिक सुख प्राप्त गरे जस्तो मान्छन् । झिलिक्क इन्द्रेणी देखिन्छ अनि फेरि सुनसान अन्धकार। झिलिक्क देखिएको त्यो क्षणिक सुख दीर्घकालिक दुखमा रुपान्तरण हुनजान्छ ।
खडानन्दले बाटोमा हिडेकी सुन्दर युवतीलाई आँखा च्यातेर फर्की फर्की हेरेको देखेर साथीले कुहिनाले हान्दै भन्यो– खडु, के गरेको ? घरमा श्रीमती छ, छोराछोरी छन् भन्ने बिर्स्यौ?
खडानन्दले भन्यो– त्यही सम्झीरहेका छु– धिक्कार छ मलाई, म विवाहित छु ।
संसारको दुख देखेर चिन्ता हुने मानिसको कमी छैन । समाजको चालामाला देखेर राति निद्रा लाग्दैन भन्ने मानिस हुन्छन् तर जसका लागि उनी चिन्तित छन् उनीहरु आरामले निदाएका हुन्छन् । त्यसैले संसारलाई दुखालय भनिएको हो । कोही धन नभएर दुखी छन् । कोही त्यो धन आर्जनका लागि दुखी छन् । कोही आर्जन गरेको जोगाउनलाई दुखी छन् । कोही धन भएर पनि दुखी छन् । कोही भएको धन खर्च हुन लाग्यो भनेर दुखी छन् कोही धन खर्च गरिदिने नभएर दुखी छन् ।
खडानन्द एउटा मानसिक अस्पतालमा गएको थियो । त्यहाँ उसले एक जना अत्यधिक विक्षिप्त युवक देख्यो । उसले आफ्नो शरीरका कपडा च्यात्दै थियो र कसैको नाम लिएर कराउँदै थियो । अस्पतालका चिकित्सकलाई सोध्यो– यसलाई के भएको हो ?
चिकित्सकले भन्यो– यसले एउटी युवतीलाई मायाँ गथ्र्यो । त्यसले अर्को धनी व्यापारी युवक रोजेर उसँग विवाह गरी । अनि यसले मानसिक सन्तुलन गुमायो ।
अलि पर गए पछि अर्को विक्षिप्त देखा पर्यो । त्यसले आफूलाई नङ्ले चिथोरिरहेको थियो। भित्तामा टाउको ठोकिरहेको थियो र अस्पतालका कर्मचारीले त्यसलाई समातेर राखेका थिए।
खडानन्दले आश्चर्यचकित भएर सोध्यो– यो को हो ?
चिकित्सकले भन्यो– यो त्यही धनी व्यापारी हो, जुनसंग त्यस युवतीले विवाह गरेकी थिई ।
यस दुखालयमा कसैले सुख प्राप्त गर्दैन । केही समयका लागि सुखको भ्रम भने हुन सक्छ।
आब्रह्मभुवनाल्लोकाः पुनरावर्तिनोऽर्जुन ।
मामुपेत्य तु कौन्तेय पुनर्जन्म न विद्यते ।।१६
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्अर्जुन (हे अर्जुन) आब्रह्म भुवनात् (ब्रह्मलोक पर्यन्त) लोकाः (सबै लोकहरु) पुनःआवर्तिनः (त्यसलाई प्राप्त गरे पछि छोड्नु पर्ने) तु (तर) कौन्तेय (हे कौन्तेय) माम् (मलाई) उपेत्य (प्राप्त गरेर) पुनर्जन्म (पुनर्जन्म) न विद्यते (हुँदैन) । हे अर्जुन, ब्रह्मलोक पर्यन्त सबै लोकहरु पुनरावर्ती छन् तर हे कौन्तेय, मलाई प्राप्त गरेपछि पुनर्जन्म हुँदैन ।। १६ ।।
व्याख्या
सम्पादन गर्नुहोस्मृत्युपछिका स्वर्ग र नर्कको कल्पना हिन्दु मात्र होइन, बौद्ध, जैन, यहुदी, इसलाम, क्रिस्तान सबै मत सम्प्रदायमा स्वीकार गरिएको छ । यहाँ ‘आब्रह्मभुवनाल्लोका’ को अर्थ हो ब्रह्मलोकसम्म, मृत्यु पछि प्राप्त हुने अनेक लोकहरु, एउटा लोकको कुरा होइन कैयौं लोक। पुराण ग्रन्थहरुमा माथिका सात र तलका सात लोक गरेर चौध लोक मानिएको छ । माथिका सातलोक हुन्– भू (पृथ्वी), भुव, स्व, मह, जन, तप, सत्यलोक वा ब्रह्मलोक । पृथ्वीदेखि तलका सातलोक मानिन्छन् तल, अतल, वितल, सुतल, तलातल, रसातल, र पाताल । तलका सातलोक सबै दुखका लोक हुन् । माथिका सात लोक सुखका लोक हुन् । यहाँ माथिका सुखलोक तर्फ संकेत गर्दै भनिएको छ, सात सात लोकको सुख पनि क्षणिक छ किनभने फर्किनै पर्छ । ज्ञान नहुनु नै पुनरावर्ती हुनु हो ।
परमानन्द प्राप्त गर्नु, ब्रह्म लोक पुग्नु, अमर हुनु र पुनर्जन्म नहुनु यी सबैको निहितार्थ एउटै हो । त्यसैले मामुपेत्य तु कौन्तेय पुनर्जन्म न विद्यते गीताको यो श्लोकार्ध बडो महत्त्वपूर्ण मानिन्छ । पुनर्जन्म हुँदैनको अर्थ हो सम्पूर्ण मुक्ति, सम्पूर्ण आनन्द । गीतामा पुनर्जन्मलाई दुखको घर भनेको छ । कृष्णमूर्तिको भाषामा पुनर्जन्म न विद्यतेको अर्थ हो– द फस्र्ट एन्ड लास्ट फ्रीडम– अन्तिम मुक्ति, साधारण मुक्ति होइन ।
जसले मुक्ति प्राप्त गर्छन्, उनीहरुले कालको पनि उल्लंघन गर्छन् ।
सहस्रयुगपर्यन्तमहर्यद्ब्रह्मणो विदुः ।
रात्रिं युगसहस्रान्तां तेऽहोरात्रविदो जनाः ।।१७।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्सहस्रयुगपर्यन्तम् (एक हजार युगको) ब्रह्मणः (ब्रह्मको) यत् (जुन) अहः (दिन ) युगसहस्रान्ताम् ( तथा एक हजार युगको) रात्रिम् (रात) विदुः (जान्दछन्) ते (तिनी) जनाः (मानिसहरु) अहोरात्रविद ः (अहोरात्रविद् हुन्) ।
ब्रह्माको एक दिन एक (कल्प) हजार युगको हुन्छ र एक रात (लय) एक हजार युगको हुन्छ भन्ने कुरा जसले जान्दछन् उनीहरु अहोरात्रका ज्ञाता हुन् ।।१७।।
अव्यक्ताद्व्यक्तयः सर्वाः प्रभवन्त्यहरागमे ।
रात्र्यागमे प्रलीयन्ते तत्रैवाव्यक्त सञ्ज्ञके ।।१८।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्अह ः (दिन) आगमे (आउँदा, सुरु हुँदा) अव्यक्तात् (अव्यक्तबाट) सर्वाः व्यक्तयः (सबै व्यक्त पदार्थ, चराचर कुराहरु) प्रभवन्ति (उत्पन्न हुन्छन्) रात्रि आगमे (ब्रह्माको रात सुरु हुँदा) तत्र (त्यहीं) अव्यक्त सञ्ज्ञके एव (अव्यक्त रुपमा) प्रलीयन्ते (लीन हुन्छन, प्रवेश गर्छन््) ।।
ब्रह्माजीको दिन सुरु हुँदा अव्यक्त प्रकृतिबाट सबै व्यक्त पदार्थ अर्थात् चराचर कुराहरु उत्पन्न हुन्छन् र ब्रह्माजीको रात सुरु हुँदा त्यसै अव्यक्तमा प्रवेश गर्छन् जहाँबाट ती वयक्त भएका थिए ।। १८ ।।
व्याख्या
सम्पादन गर्नुहोस्केवल समयको बिन्दु ९उयष्लत या तष्mभ० को बारेमा जान्ने मानिसलाई बुद्धिमान भनिन्छ । यदि कसैलाई सम्पूर्ण समय, भूत, वर्तमान, भविष्य, को पूर्ण ज्ञान छ भने त्यसलाई सबै कुराको ज्ञान हुन्छ ।
चाणक्यले समयको निश्चित बिन्दुको बारेमा भनेका छन्–
गीताको सम्पूर्ण समयमा मानिसको जीवनकाल मात्र छैन, एक युगको कुरा मात्र पनि छैन, हजारौं युगको कुरा छ, एउटा सृष्टिको सम्पूर्ण कुरा छ ।
गीतामा समयको यस विशालतम नापको बारेमा चर्चा गर्दै भनिएको छ– ‘ब्रह्माको एक दिन एक हजार युगको हुन्छ र एक रात एक हजार युगको हुन्छ भन्ने कुरा जसले जान्दछन् उनीहरु ब्रह्माको अहोरात्रका ज्ञाता हुन् ।’ ब्रह्माको एक दिनमा सृष्टि र स्थिति हुन्छ भने रातमा लय हुन्छ । यी सबै कुरा जान्नेलाई अहोरात्रविद् भनिएको छ ।
ब्रह्माको दिनलाई कल्प र रातलाई लय भनिन्छ । वर्तमान कल्पलाई श्वेतवाराह कल्प भनिन्छ । ब्रह्माको एक दिनमा एक हजार चतुर्युग हुन्छन् । यो अवधि सृष्टि र यसको सञ्चालनको हो । यति नै समयको रात हुन्छ । यस अवधिमा परुलय हुन्छ, सृष्टि वा यसको सञ्चालन भन्ने केही हुँदैन । यो अरबौं वर्षको हुनु नै ब्रह्मवित् हुनु हो ।
प्राचीन ग्रन्थहरुमा काल गणनाको एक विशेष पद्धति पाइन्छ । जुन घडी, पला, प्रहर, दिन, अहोरात्र (रातदिन), पक्ष, मास, अयन, वर्ष (सामान्य वर्ष), र युगको अवधारणामा आधारित छ । चार युग मानिएका छन् । यस अनुसार कलियुगमा ४३२००० सामान्य वर्ष हुन्छ । यसको दोब्बर द्वापरमा, तेब्बर त्रेतामा र चार दोब्बर सत्य युगमा हुन्छ । यो सब मिलाएर एक चतुर्युग हुन्छ ।
चार अरब ३२ करोड वर्षको समयलाई कल्प भनिन्छ । र यसलाई ब्रह्माजीको एक दिन मानिन्छ । त्यत्ति नै अवधिको ब्रह्माको एक रात हुन्छ । जसलाई प्रलय भनिन्छ । अहिले श्वेतवाराह कल्प चलिरहेको छ । अर्थात् ब्रह्माजीको ५१ औं वर्षको पहिलो दिन चलिरहेको छ । त्यसका १३ घडी, ४२ पल, ३ विपल, र ४३ प्रतिविपल बितिसकेका छन् ।
एक कल्पमा एक हजार चतुर्युग हुन्छन् । सत्य, त्रेता, द्वापर, कलि गरी चार युग हुन्छन्। जसमा १४ मन्वन्तर हुन्छन् ।
वर्तमान वैवस्वत् मन्वन्तरका ७१ महायुगमध्ये २८ सत्ययुग, २८ त्रेता, २८ द्वापर तथा २७ कलियुग बितसिकेका छन् । वि.सं. २०८० सम्म २८ औं कलियुगको प्रथम चरणका ५१२४ वर्ष बितिसकेका छन् ।
एक मन्वन्तरमा ७१ चतुर्युग हुन्छन् । प्रत्येक युगमा सन्ध्या र सन्ध्यांश हुने गर्छ । एक कल्पका वर्ष मिसाउँदा ब्रह्माजीको एक दिन भयो । ब्रह्माजीको एक दिनमा आजसम्म १९७२९४९११८ वर्ष बितेका छन् तथा २३४७०५०८८२ वर्ष बाँकी छन् ।
भूतग्रामः स एवायं भूत्वा भूत्वा प्रलीयते ।
रात्र्यागमेऽवशः पार्थ प्रभवत्यहरागमे ।। १९।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्पार्थ (हे पार्थ) सः (त्यो) भूतग्रामः (भूतप्राणीको समुदाय) अयम् एव (यसमा नै) भूत्वा भूत्वा (बारम्बार उत्पन्न भएर) रात्रि आगमे (रात हुनासाथ) प्रलीयते (लीन, प्रलय हुनजान्छ) अहः (दिन) आगमे (सुरु हुनासाथ) अवशः (बाध्य भएर, प्रकृतिको वशमा परेर) प्रभवति (पुन जन्म हुन्छ ।
हे पार्थ, त्यो भूतप्राणीको समुदाय नै यसमा बारम्बार उत्पन्न भईरहन्छ । प्रकृतिको वशमा परेर नचाहेर पनि बाध्य भई रात हुनासाथ लीन अर्थात् प्रलय हुनजान्छ र दिन सुरु हुनासाथ फेरी जन्म हुन्छ अर्थात् सृष्टि हुन्छ ।। १९ ।।
परस्तस्मात्तु भावोऽन्योऽव्यक्तोऽव्यक्तात्सनातनः ।
यः स सर्वेषु भूतेषु नश्यत्सु न विनश्यति ।। २०।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्तु (तर) तस्मात् (त्यस) अव्यक्तात् परः (अव्यक्तभन्दा पर) यः(जुन) अन्यः (अर्को) सनातनः (सनातन) अव्यक्तः (अव्यक्त) भावः (भाव, पदार्थ छ) सः (त्यो) सर्वेषु (सबै) भूतेषु (प्राणीहरु, सबै कुरा) नश्यत्सु (नाश हुँदा पनि) न विनश्यति (नष्ट हुँदैन) ।
तर त्यस अव्यक्तभन्दा पर अझ अर्को सनातन अव्यक्त कुरा छ, त्यो कस्तो छ भने सबै कुरा नष्ट हुँदा पनि , त्यो नष्ट हुँदैन ।।२०।।
अव्यक्तोऽक्षर इत्युक्तस्तमाहुः परमां गतिम् ।
यं प्राप्य न निवर्तन्ते तद्धाम परमां गतिम् ।। २१।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्तम् (त्यसलाई) अव्यक्तः (अव्यक्त) अक्षर (अक्षर) इति (यस प्रकार) उक्तः (भनिन्छ) आहुः (भनिन्छ) परमाम् गतिम् (परम गति) यम् (जसलाई) प्राप्य (प्राप्त गरेर) न निवर्तन्ते (फर्कन पर्दैन) तत् (त्यसैलाई) परमाम् गतिम् (परम गति) धाम (परम धाम भनिन्छ) ।
त्यस अव्यक्तलाई अक्षर पनि भनिन्छ । त्यसैलाई परम गति पनि भनिन्छ । र जसलाई प्राप्त गरेर फर्केर आउँदैन त्यसलाई मेरो परम धाम भनिन्छ ।।२१।।
व्याख्या
सम्पादन गर्नुहोस्सबै चराचर भूतप्राणी ब्रह्माको दिनको सुरु हुँदा अव्यक्तबाट उत्पन्न हुन्छन् र ब्रह्माको रात्रि सुरु हुँदा त्यसै अव्यक्त (शून्य) मा प्रवेश गर्छन् । यो प्रक्रिया बारम्बार भई रहन्छ । व्यक्त अव्यक्तमा रुपान्तर हुन्छ र त्यो अव्यक्त पुनः व्यक्तमा रुपान्तरण हुनजान्छ ।
त्यो शक्ति अव्यक्तभन्दा पनि अव्यक्त छ ।
गुरु नानक भन्छन्– ‘मनरुपी लेखकले मोह जलाएर बनेको मसीद्वारा बुद्धिरुपी कागजमा प्रेमरुपी कलमले सत् असत्को विचार लेख । त्यस प्रभुको नाम लेख जो विश्वाधार छ ।’
बुद्धि, प्रेम, सत्, असत्भन्दा जुन पर छ । त्यसैलाई विश्वाधार भनिन्छ । त्यसैलाई सनातन अव्यक्त, अक्षर, परमधाम वा परम् गति पनि भनिन्छ ।
पुरुषः स परः पार्थ भक्त्या लभ्यस्त्वनन्यया ।
यस्यान्तःस्थानि भूतानि येन सर्वमिदं ततम् ।। २२ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्पार्थ (हे पार्थ) तु (तर) यस्य (जसको, जुन परमात्माको) अन्तःस्थानि (भित्र) भूतानि (भूत प्राणी) येन (जसबाट) सर्वम् इदम् (यो समस्त जगत्) ततम् (छ, परिपूर्ण छ) सः (त्यो) परः (परम्) पुरुषः (पुरुष) अनन्यया भक्त्या (अनन्य भक्तिले) लभ्यः (प्राप्त हुन्छ)
।
हे पार्थ, जुन परमात्मा भित्र सबै भूत प्राणी छन् । जसबाट यो समस्त जगत् छ, त्यो परमपुरुष अनन्य भक्ति अर्थात् एकाग्र भक्तिले प्राप्त हुन्छ ।।२२।।
व्याख्या
सम्पादन गर्नुहोस्फेरी फर्केर आउन नपर्ने स्थानलाई परमधाम भनिन्छ । त्यो नै परमात्मा पनि हो । त्यो सबै भूतप्राणीमा परिपूर्ण छ (गीता ९.४) । जसरी बरफ, हिउँ, असिना, कुहिरो, शीत, नदी, पोखरी यी विभिन्न वस्तुहरुमा जल नै सबैमा परिपूर्ण व्याप्त छ । त्यसै गरी यस संसारका प्राणीहरुमा विविध रुपमा उही ईश्वरीय शक्ति विद्यमान छ ।
यो कुरा कि त ज्ञानले जानिन्छ जस्तो आदि गुरु शंकराचार्यले जाने कि अनन्य भक्तिले जानिन्छ जस्तो चैतन्य प्रभुले जाने । गीतामा यस कुरालाई कर्मयोगले पनि जानिन्छ भनिएको छ ।
जीवनका दुई तरिका हुन्छन् ज्ञानको तरिका र अज्ञानको तरिका । बालकृष्ण समले भनेका छन्– ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ ।
रमण महर्षिलाई एक युवकले सोध्यो– ‘ईश्वर छ ?’
रमण– ‘छ ।’
युवक– ‘कहाँ बस्छ ?’
रमण– ‘दिमागमा बस्छ ।’
जुन अव्यक्त छ, जुन परमधाम छ, ईश्वरको परमधाम त्यही हो । अन्यत्र कुनै लोकमा होइन।
यत्र काले त्वनावृत्तिमावृत्तिं चैव योगिनः ।
प्रयाताः यान्ति तं कालं वक्ष्यामि भरतर्षभः ।। २३।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्भरतर्षभः (हे भरतर्षभ) वक्ष्यामि (भन्छु) तु (तर) यत्र काले (जुन समयमा) प्रयाताः (मृत्यु भएका) योगिनः (कर्मयोगीहरु) अनावृत्तिम् (फेरि फर्कंदैनन्) च इव (अनि) तम् (त्यस) कालम् (कालको) आवृत्तिम् (फर्केर) यान्ति (जान्छन्) ।
हे भरतश्रेष्ठ, अब मैले तिमीलाई त्यो काल भन्छु जुन कालमा कर्मयोगीको मृत्यु हुँदा फेरि फर्केर आउँदैनन्, अनि जुन कालमा मरण हुँदा जन्म लिन फर्केर आउँछन् ।।२३।।
अग्निर्ज्योतिरहः शुक्लः षण्मासा उत्तरायणम् ।।
तत्र प्रयाता गच्छन्ति ब्रह्म बह्मविदो जनाः ।।२४।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्ज्योतिः अग्नि (ज्योतिर्मय अग्नि) अहः (दिन) शुक्लः (शुक्ल पक्ष) षण्मासाः उत्तरायणम् (उत्तरायणका) (छ महिना) तत्र (त्यस बेला) प्रयाता (प्रयाण गर्ने, मरेर जाने) बह्मविदः जनाः (ब्रह्मवित् योगी जन) ब्रह्म (ब्रह्ममा) गच्छन्ति (जान्छन्) ।
ज्योतिर्मय अग्नि अर्थात् ज्वाला, दिन, शुक्ल पक्ष र उत्तरायणका छ महिनाको मार्गमा गएका ब्रह्मवित् योगी ब्रह्ममा पुग्छन् अर्थात् फर्केर आउँदैनन् ।।२४।।
धूमो रात्रिस्तथा कृष्णः षण्मासा दक्षिणायणम् ।
तत्र चान्द्रमसं ज्योतिर्योगी प्राप्य निवर्तते ।। २५ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्धूमः (धुवाँ) तथा (तथा) रात्रिः (रात्रि) कृष्णः (कृष्ण पक्षका देवता) षण्मासा दक्षिणायणम् (दक्षिणायनका छ महिना हुन्) तत्र (त्यस मार्गबाट) चान्द्रमसम् ज्योतिः (चन्द्रमाको ज्योति, चन्द्रलोक) प्राप्य (प्राप्त गरेर) योगी (कर्मयोगीले) निवर्तन्ते (फर्केर आउँछ)।
धूवाँ तथा रात्रि, कृष्ण पक्ष र दक्षिणायनका छ महिनाको मार्गमा गएको अर्थात् मृत्यु भएको कर्मयोगी चन्द्रमाको ज्योति अर्थात् चन्द्रलोक प्राप्त गर्छ र पुण्यको अंश सकिएपछि फेरी फर्केर जन्म लिन आउँछन् ।। २५ ।।
शुक्लकृष्णे गती ह्येते जतः शाश्वते मतेः।
एकया यात्यनावृत्तिमन्ययावर्तते पुनः ।। २६ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्जगतः (जगतका) शुक्लकृष्णे (शुक्ल र कृष्ण ) एते (यी दुई प्रकारका) गती (मार्ग) हि (नै) शाश्वते (शाश्वत) मतेः (मानिएका छन्) एकया (एउटा मार्गबाट) याति (जाने) अनावृत्तिम् (फेरी फर्केर आउनु पर्दैन) अन्यया (अर्को मार्गबाट जाने) पुनः (फेरी) आवर्तते (फर्केर आउनु पर्छ) ।
जगतका शुक्ल (प्रकाशमय) र कृष्ण (अन्धकारमय) अर्थात् देवयान र पितृयान यी दुई मार्ग शाश्वत मानिएका छन् । पहिलो मार्गबाट जानेहरुले फेरि फर्केर आउनु पर्दैन, तर अर्को मार्गबाट जानेहरु फेरि फर्केर आउनु पर्छ ।। २६ ।।
व्याख्या
सम्पादन गर्नुहोस्प्रयाणकालको क्षण बडो महत्त्वपूर्ण हुन्छ । यस अन्तिम क्षणको सोपान कस्तो छ यसले मानिसको मुक्ति निर्धारण गर्छ । मृत्युको क्षणका पाँच सोपान मानिएका छन् प्रथम सोपान शरीरको अग्नि, दोस्रो सोपान त्यस अग्निको ज्योति, तेस्रो सोपान समय– दिन वा रात, चौथो सोपान शुक्ल पक्ष वा कृष्ण पक्ष, र पाँचौं सोपान उत्तरायणका छ महिना वा दक्षिणायनका छ महिनामध्ये कुनै एक ।
पुराणहरुमा पितृको एक दिन र एक रात एक महिनाको मानिएको छ । शुक्ल पक्ष दिन र कृष्ण पक्ष रात हो । पितृहरु कृष्ण पक्षमा सक्रिय हुने हुँदा कृष्ण पक्षमा नै पितृ पक्ष हुन्छ । देवताहरुको दिन उत्तरायण र रात दक्षिणायन भनिएको छ । देवताहरु जागा रहने भएकोले उत्तरायणमा शुभकार्य फलदायक हुन्छन् भनिएको छ । त्यसैले उत्तरायणलाई देवयान पनि भनिन्छ ।
मृत्युपछिका दुई मार्ग बताउँदै गीतामा मुक्तिका दुई मार्ग बताइएको छ– ज्योति मार्ग र धूममार्ग । एउटा अपुनरावृत्ति मार्ग, र अर्को पुनरावृत्ति मार्ग । एउटाबाट गएको फेरि आउँदैन। अर्को मार्गबाट गएको फेरि फर्किन्छ ।
एउटा ज्ञानीको मार्ग हो अर्को योगीको मार्ग हो । वास्तवमा, पुनरावृत्ति भनेको मुक्तिको प्रयासलाई दिइएको एक अवसर हो । फुटबल खेलको जीत हार छुट्टयाउन पेनाल्टी किक हान्ने अवसर दिए जस्तो । यदि यस अवसरलाई चुकियो भने बन्धनको लामो चक्र सुरु हुन्छ, निरन्तर बन्धन । उत्तरायण मार्गबाट गएकाहरु फर्कनु पर्दैन तर दक्षिणायनको मार्गबाट गएकाहरु फेरि फर्कनु पर्छ ।
अग्नि देवतालाई ज्योतिको देवता भनिन्छ । सानो बत्तीदेखि विशाल अग्नि पिण्ड यी सबैको अग्नि एउटै हो । जसरी वरुण देवता भन्नाले एक थोपाको देवता पनि उनै हुन् र समुद्रको देवता पनि उनै हुन्, त्यसै गरी ज्योतिका देवता अग्नि हुन् । उनैलाई दिनका अधिकारी देवता भनिएको छ । उत्तरायणका छ महिना जब सूर्य प्रबल हुन्छ, अग्नि देवताको प्रभाव हुन्छ । त्यस समय अवधिलाई यहाँ ज्योति मार्ग भनिएको छ । यस अवधिमा मृत्यु हुने ब्रह्मवित् योगीले ब्रह्मलाई प्राप्त गर्छन् । ब्रह्मज्ञानी र ब्रह्मवित्मा थोरै अन्तर हुन्छ । त्यो के भने ब्रह्मज्ञानीले परमात्मालाई प्रत्यक्ष जान्दछ भने ब्रह्मवित्ले परमात्मालाई अप्रत्यक्ष जान्दछ ।
जसरी दिनको विपरीत रात र उज्यालोको विपरीत अँध्यारो हुन्छ, त्यसै गरी अग्निको विपरीत धुवाँ हो । यस विपरीत मार्गको कुरा पनि गीतामा भनिएको छ । धुवाँ र रात्रिलाई यहाँ दक्षिणायनको छ महिनाका देवता मानिन्छ । त्यस मार्गबाट जाने योगीले चन्द्रमाको ज्योति अर्थात् चन्द्रलोक प्राप्त गर्छ तर पुण्य सकिए पछि मत्र्यलोकमा फर्केर आउँछ ।
कर्क संक्रान्तिदेखि मकर संक्रान्तिसम्मका छ महिनालाई उत्तरायण र मकर संक्रान्तिदेखि कर्क संक्रान्तिसम्मका छ महिनालाई दक्षिणायन भनिन्छ । यसरी पृथ्वीका काल गणनाको दृष्टिले एक वर्ष देवताहरुको एक पूर्ण दिन हो । उत्तरायणका छ महिना देवलोकमा उज्यालो हुन्छन् । देवताहरु जागा रहने भएकोले यस अवधिमा शुभकार्य गर्नु उत्तम बताइएको छ । दक्षिणायनका छ महिना देवलोकमा राति हुन्छ । यस अवधिमा देवलोकका द्वार बन्द हुन्छन्। भीष्मको मृत्यु पछि उनको शाप पूरा हुने र पुनः उनी देवलोकमा नै जाने भएकोले उनले देवलोकमा उज्यालो हुञ्जेल प्रतिक्षाका लागि शरशैया गरे भनिएको छ । सिद्ध पुरुषहरुले निश्चित मार्ग रोज्न पनि सक्छन् । तर भक्तहरुलाई यो नियम लागू हुंदैन । उनीहरुलाई स्वर्गका द्वार कुनै बेलामा पनि खुला हुन्छन् ।
अग्नि र धूमको यसको एक साङ्केतिक अर्थ पनि छ । हिन्दु परम्परामा मृतकको अन्तिम संस्कार जलाएर गरिन्छ । जसलाई अग्नि दिनु भनिन्छ । मृतकलाई जलाउँदा आगो र धूवाँ दुवै निस्कन्छन् । यसैको आगो र धुवाँलाई आधार मान्दै शुक्ल गति र कृष्ण गति भन्ने चलन छ ।
ओशो रजनीशले फ्रायडियन मनोविज्ञानका दृष्टिले पनि दक्षिणायन मार्गलाई व्याख्या गरेका छन् । मानसिक चेतनालाई मोटामोटी दुई भागमा विभाजन गर्न सकिन्छ ज्ञानको मार्ग अर्थात् उत्तरायण र अज्ञानको मार्ग अर्थात् दक्षिणायन । उत्तरायणका छ महिनामा उज्यालोका देवताको वास हुन्छ । उज्यालोका देवता भनेको ज्ञानको त्यो स्थान हो जसमा विवेक, वैराग्य, शम, दम, तेज, प्रज्ञाका विचार हुन्छन् । त्यसैले उत्तरायणमा मृत्युलाई प्राप्त गर्ने फर्किंदैन । यो नै मुक्ति हो ।
मस्तिष्कको काम र अचेतनको भाग नै दक्षिणायन हो । दक्षिणायनका छ महिनामा धूम अर्थात् अन्धकारका देवताको वास हुन्छ । अन्धकारका देवता भनेको मस्तिष्कको त्यो अचेतने स्थान हो जसमा काम, क्रोध, लोभ, मोह, मद, मत्सर आदि विचार हुन्छन् । यस अवस्थामा मृत्यु हुनेहरु फेरि फर्कन्छन् ।
नैते सृती पार्थ जानन्योगी मुह्यति कश्चन ।
तस्मात्सर्वेषु कालेषु योगयुक्तो भवार्जुन ।। २७।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्पार्थ (हे पार्थ) एते सृती (यी दुई मार्गलाई) जानन् (तत्त्वले जानेर) योगी (कर्मयोगी) न मुह्यति (मोहित हुँदैन) कश्चन (कोही पनि) तस्मात् (त्यसैले) अर्जुन (हे अर्जुन) सर्वेषु कालेषु (सबै कालमा, निरन्तर) योगयुक्तः (योगयुक्त, कर्मयोगी) भव (होउ)।
हे पार्थ, यी दुई मार्गलाई तत्त्वपूर्वक जान्ने कोही पनि कर्मयोगी मोहित हुँदैन । त्यसैले हे अर्जुन, तिमी पनि सदा सर्वदा योगयुक्त अर्थात् कर्मयोगी होउ ।। २७ ।।
व्याख्या
सम्पादन गर्नुहोस्यी दुई मार्गलाई यथार्थ जान्न सक्यो भने योगी मोहित हुँदैन अर्थात् भ्रममा पर्दैन । भगवान्ले अर्जुनलाई भन्नु हुन्छ– ‘त्यसैले हे अर्जुन तिमी पनि सदा सर्वदा समबुद्धि रुप योगयुक्त होउ।’ योगयुक्तको अर्थ हो ठीक बीचमा बस्ने । कुनै मार्ग प्रति झुकाव, अभिनति नहुने ।’
खडानन्दका दुई पत्नी थिए । एक दिन जेठी श्रीमतीले सोधी– ‘बुढा, तिमीले कसलाई बढी माया गर्छौ ? मलाई कि कान्छीलाई ?’
खडानन्दले कान्छीलाई बढी माया गर्छु भन्न डरायो । भन्यो– दुवैलाई बिलकुल बराबर । न घटी, न बढी ।’
जेठीले फेरि सोधी – ‘त्यसो भए मरे पछि तिम्रो चिहान मेरो नजिक राख्छौ कि राख्दैनौ ?’
खडानन्दले भन्यो– ‘त्यसो गर्न कहाँ भयो र ? दुवैका चिहानको ठीक बीचमा मेरो चिहान राख्छु ।’
खडानन्दका दुवै स्त्रीहरु मरे । दुवैका चिहान बनाइयो । दुई चिहानको बिलकुल बीचमा खडानन्दका लागि ठाउँ सुरक्षित राखियो । खडानन्दको जब मर्ने बेला भयो उसले आफन्तीहरुलाई भन्यो– ‘मेरो चिहान यी दुवै पत्नीका चिहानको ठीक बीचमा राख्नु । मैले दुवैलाई के वचन दिएको छु भने मैले दुवैलाई बराबर माया गर्छु । तर मेरो अन्तिम इच्छा के छ भने मेरो मुख भने कान्छीको चिहानतिर फर्काइदिनु होला ।’
बिल्कुल मध्यमा हुन धेरै गाह्रो छ । जो निष्काम कर्मयोगी हुन्छ, त्यो मात्र मध्यमा अडिन सक्छ ।
वेदेषु यज्ञेषु तपःसु चैव,
दानेषु यत्पुण्य फलं प्रदिष्टम् ।
अत्येति तत्सर्वमिदं विदित्वा
योगी परं स्थानमुपैति चाद्यम् ।। २८।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्इदम् (यो सबै) विदित्वा (जान्नाले) वेदेषु (वेदमा) यज्ञेषु (यज्ञमा) तपःसु (तपमा) च एव (तथा) दानेषु (दानमा) यत् (जुन) पुण्यफलम् (पुण्यफल) प्रदिष्टम् (प्राप्त हुन्छ) योगी (कर्मयोगीले) तत् सर्वम (त्यो सबै) अत्येति (उल्लंघन गरेर) च (तथा) परम् (परको) आद्यम् (आद्य, सनातन) स्थानम् (स्थान) उप एति (प्राप्त गर्छ, पुग्छ) ।
यो भनिएको सबै तत्त्व जान्नाले वेद, यज्ञ, तप, तथा दानहरुमा जुन पुण्यफल प्राप्त बताइएको छ, कर्मयोगीले ती सबैलाई पार गरेर, त्यो भन्दा परको आद्य स्थान अर्थात् मुक्ति प्राप्त गर्छ ।। २८ ।।
व्याख्या
सम्पादन गर्नुहोस्वेदको अर्थ हो ब्रह्मको ज्ञान दिने शास्त्र । यज्ञको अर्थ हो आराधनाको निश्चित क्रिया । दानको अर्थ हो मन, वचन र कर्मले सर्वतोभावेन समर्पण । तपको अर्थ हो लक्ष्य प्राप्तिका लागि जुनसुकै कष्ट सहने तत्परता । यी आठवटा प्रश्नको उत्तर राम्ररी बुझ्ने कर्मयोगीले ती सबै कुरा त प्राप्त गर्छ जुन वेद जान्ने, यज्ञ गर्ने, दान गर्ने, र तपस्या गर्नेले प्राप्त गर्छ । साथै त्यसभन्दा पनि माथिको अवस्था अर्थात् परम स्थान प्राप्त गर्छ । जसले यति सबै जान्यो त्यो तपस्वी, ज्ञानी, यज्ञकर्ता, र वेदवित् मात्र होइन ब्रह्मवित् नै हुनजान्छ । जो ब्रहमवित् हो, त्यो नै ब्रह्म पनि हो ।
यस अध्यायमा कालको यति विशाल विभाजन गर्नुको निहितार्थ के हो भने हामीले जानेको जीवन अत्यन्त थोरै छ र हामीले नजानेको जीवन अति विशाल छ । जसले यस अनन्त विशालको निरन्तरताका अत्यन्त नगण्य अंशको रुपमा आफूलाई बुझ्यो त्यो मानिस वास्तवमा जान्ने हो ।
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे अक्षरब्रह्मयोगो नाम अष्टमोऽध्यायः ।।
श्रीमद्भगवद्गीता रुपी उपनिषद् यस ब्रह्मविद्या र योगशास्त्रमा श्रीकृष्ण र अर्जुनका संवादको अक्षरब्रह्मयोग नाम गरेको अध्याय आठ समाप्त भयो ।।ॐ तत्सत् ।।