श्रीमद्भगवद्गीता दशौ अध्याय

श्रीभगवानुवाच

सम्पादन गर्नुहोस्


भूय एव महाबाहो शृणु मे परमं वचः ।
यत्तेऽहं प्रीयमाणाय वक्ष्यामि हितकाम्यया ।। १ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

श्रीभगवान् उवाच (श्रीभगवानले भन्नु भयो)
महाबाहो (हे महाबाहु अर्जुन) मे (मेरा) परमम् वचः (परम वचन) शृणु (सुन) यत् (जुन) ते (तिमीलाई) अहम् (मैले) प्रीयमाणाय (अतिशय प्रेम गर्ने हुनाले) हित (कल्याण) काम्यया (कामना लागि) भूय एव (फेरि पनि) वक्ष्यामि (भन्छु)।
श्रीभगवानले भन्नु भयो –
हे महाबाहु, मेरा परम वचनलाई सुन, तिमीलाई अतिशय प्रेम गर्ने हुनाले मैले तिम्रो कल्याणका लागि फेरि पनि यो श्रेष्ठ कुरा भन्दैछु ।।१।।

हे अर्जुन, मेरा परम वचन सुन । यस अध्यायको वचन सामान्य होइन, परम वचन हो । यस अध्यायमा भगवानले उपदेश दिनु भएको छैन बरु आफ्ना विभूतिहरु बताउँदै हुनुहुन्छ। विभूतिहरुको यो जानकारी नै परम वचन हुन् । त्यसले हरेक अवस्थामा यस अध्यायको पाठ फलदायक मानिएको छ ।
अध्याय १० एक विशिष्ट अध्याय हो जसले के बताउँछ भने हामीमा बोल्ने शक्ति कहाँबाट प्राप्त हुन्छ ।
पद्म पुराणमा भएको कथा यस प्रकार छ– एउटी अप्सरालाई दुर्वासाले कुनै कुरामा असन्तुष्ट भएर शाप दिए । यस शापको कारण ऊ बोल्न नसक्ने भई । शापित अप्सरालाई सुतपा ऋषिले गीता अध्याय १० पाठ गरेर सुनाए पछि ऊ शाप मुक्त भई र फेरि बोल्न थाली । त्यसैले यो अध्याय बोल्ने शक्ति दिने अध्याय हो ।
गीताका विभिन्न अध्यायको नियमित पाठ विभिन्न ग्रहका प्रभावलाई न्यूनीकरण गर्न लाभदायक मानिएको छ । उदाहरणका लागि, अध्याय एकको पाठ शनिको प्रभावले गर्दा मानसिक विषाद सम्बन्धी पीडा कम गर्न लाभदायक छ । यसै गरी ग्रहगोचर अनुसार अध्याय दुईको पाठ ज्ञान प्राप्त गर्ने बाधा हटाउन, अध्याय तीनको पाठ बौद्धिक शंका समाधान गर्न, अध्याय चारको पाठ स्थायी भावको विकास गर्न, अध्याय पाँचको पाठ धर्म र कर्मको मानसिक द्वन्द्वलाई समाधान गर्न, र अध्याय छको पाठ कर्म सुरु गर्ने सम्बन्धी दुविधा हटाउन लाभदायक मानिन्छ । अनेक समस्याहरुले जेलिएकोमा मुक्ति पाउन अध्याय सातको पाठ लाभदायक छ भने मृत्युको भयले सताइरहँदा अध्याय आठको नियमित पाठ लाभदायक छ ।
आफ्नो क्षमता अनुरुप काम गर्न नसक्नेलाई अध्याय नौको पाठले शक्ति दिन्छ । मनको अस्थिरता हटाई एकाग्र हुन अध्याय ११, भाग्य फलित गराई मन स्थिर गराउन अध्याय १२, मनमा अशान्ति र आइपर्ने दुष्प्रभाव कम गर्न अध्याय १३ र आध्यात्मिक उन्नतिलाई फलदायी बनाउन अध्याय १४ को पाठ लाभदायक छ । पूर्वजन्मको उपलब्धिलाई निरन्तरता सहित यस जन्ममा अझ उच्च आध्यात्मिक उन्नति प्राप्त गर्न अध्याय १५ को पाठ उपयोगी छ । आफ्ना गलतीले कुनै काम बिग्रेको भए अध्याय १६ को पाठले सुधार हुन्छ । तर अध्याय १० सबै प्रकारका जातकलाई फलदायक बताइएको छ ।
यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने गीताको अनुष्ठान पक्ष गौण पक्ष हो र ज्ञान पक्ष प्रमुख हो । ज्ञान प्राप्त भए पछि अन्य कुरा त्यसको पछि आफैं आउँछन् । त्यसैले सन्तहरुले गीताको पाठ ज्ञानका लागि गर्ने सुझाव दिएका छन् ।


न मे विदुः सुरगणाः प्रभवं न महर्षयः ।
अहमादिर्हि देवानां महर्षीणां च सर्वशः ।।२।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

सुरगणाः (देवताहरुले) न महर्षयः (महर्षिहरुले) मे (मेरो) प्रभवम् (प्रभाव) न विदुः (जान्दैनन्) हि (किनभने) अहम् (म) देवानाम् (देवताहरुको) महर्षीणाम् च (तथा महर्षिहरुको) सर्वशः (सबै प्रकारले) आदिः (आदि कारण हूँ) ।
देवताहरु र महर्षिहरुले मेरो प्रभाव जान्दैनन् किनभने देवता र महर्षिहरुको सबै प्रकारले आदिकारण म हूँ।।२।।


यो मामजमनादिं च वेत्ति लोकमहेश्वरम् ।
असम्मूढः स मत्र्येषु सर्वपापैः प्रमुच्यते ।। ३ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

यः (जसले) माम् (मलाई) अजम् (अजन्मा) अनादिम् च (तथा अनादि) वेत्ति (जान्दछ) लोकमहेश्वरम् (लोकहरुको सर्वोच्च ईश्वर) असम्मूढः (मोहरहित) सः (त्यो) मत्र्येषु (मनुष्यहरुमा) सर्वपापैः (सबै पापहरुबाट) प्रमुच्यते (मुक्त हुनजान्छ) ।
जसले मलाई जन्मरहित, अनादि र सबै लोकहरुको महेश्वर भनी तत्त्वले जान्दछ मानिसहरुमा श्रेष्ठ त्यही ज्ञानी मानिस मोहरहित भएर सबै पापहरुबाट मुक्त हुनजान्छ ।।३।।

जसरी ब्रहमका लागि ॐ को उच्चारण गरिन्छ । त्यसै गरी यहाँ भनिएको ‘म’ देवकीको पुत्रका लागि होइन, परमात्माका लागि हो । नेपाली भाषाको म तथा अंग्रेजीको आई (I) दुवैमा केही समानता छन् । दुवै अक्षर हुन् तर शब्दको रुपमा व्यवहार गरिन्छ । नेपाली वर्णमालामा यस वर्णलाई म राम्रो म भन्ने चलन छ । अङ्ग्रेजीमा म कालागि प्रयुक्त आई सधैं ठूलो (क्यापिटल) लेखिन्छ । ईश्वर वाचक ही (God) लेख्दा पजि त्यसको पहिलो अक्षर पनि ठूलो लेखिन्छ । सृष्टिमा राम्रो भनेको केवल ईश्वर हो, शिवतत्त्व । त्यसै गरी ईश्वरका अगाडि अरु सबै साना छन्, फुच्चे छन् । गीतामा भनिएको अहम्, नेपालीको म र अंग्रेजीको आई यी सबैले सोही ईश तत्त्वलाई नै सङ्केत गर्छन् ।
जो देवता र महर्षिहरुको पनि आदि कारण हो त्यसलाई उनीहरुले जान्न सक्दैन । बालक जन्माउने कारण आमा हो । बालकलाई आफ्ना जन्मको विवरण थाहा थाहा हँुदैन । यस कुराको जानकारी उसले आमासंग लिन्छ । आफ्नो जन्म सम्बन्धी उसको जानकारी द्वितीयक जानकारी हुन्छ, प्राथमिक होइन । सबै जानकारी प्राथमिक विधिबाट प्राप्त गर्न पनि सकिंदैन। अरुबाट प्राप्त जानकारीहरुमा कमजोरी हुने निकै सम्भावना हुन्छ ।
ईश्वरको बारेमा प्राथमिक जानकारी न देवताहरुलाई छ न महर्षिहरुलाई । ईश्वरभन्दा पहिला कोही पनि उपस्थित हुनसक्दैन, त्यसैले ईश्वरको बारेमा प्राथमिक जानकारी कसैलाई हुँदैन। यस कुरालाई स्पष्ट गर्न भगवान श्रीकृष्णले भन्नु हुन्छ– ‘मेरो प्रकटीकरण देवता र महर्षिहरुले समेत जान्दैनन् ।’
प्राणीहरुको उत्पत्ति हुनुअघि पृथ्वीको उत्पत्ति भयो । पृथ्वीको उत्पत्ति हुनु अघि सूर्यको उत्पत्ति भयो । सूर्य अघि जे थियो त्यसैको नाम परमात्मा भनी बुझ । त्यसैले परमात्मा अजन्मा हो। जसले ईश्वरलाई अजन्मा, अनादि र सबै लोकको सर्वोच्च ईश्वर भनी यथार्थ रुपमा जान्दछ त्यो मनुष्यहरुमा श्रेष्ठ पनि हो र ज्ञानवान् पनि हो । मुक्त पनि उही नै हो ।


बुद्धिर्ज्ञानमसम्मोहः क्षमा सत्यं दमः शमः ।
सुखं दुःखं भवोऽभावो भयं चाभयमेव च ।।४।।
अहिंसा समता तुष्टिस्तपो दानं यशोऽयशः ।
भवन्ति भावा भूतानां मत्त एव पृथग्विधा ।।५।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

बुद्धिः (बुद्धि) ज्ञानम् (ज्ञान) असम्मोहः (मोहको अभाव) क्षमा (क्षमा) सत्यम् (सत्य) दमः (इन्द्रिय संयम) शमः (मनको निग्रह) सुखम् (सुख) दुःखम् (दुख) भवः (उत्पत्ति) अभावः (विनाश) भयम् (भय) च अभयम् (र अभय) एव च (तथा) अहिंसा (अहिंसां समता (समता) तुष्टिः (सन्तोष) तप (तपस्या) दानम् (दान) यशः अयशः (यश, अयश) भावा (भावहरु) भूतानाम् (प्राणीहरुको) पृथग्विधा (विविध प्रकारका) मत्त ः एव (मबाट नै) भवन्ति (उत्पन्न हुन्छन्) ।
बुद्धि, ज्ञान, असम्मोह, क्षमा, सत्य, दम, शम, सुख, दुख, उत्पत्ति, विनाश, भय, अभय, अहिंसा, समता, सन्तोष, तप, दान, यश, अयश इत्याद प्राणीहरुको (शारीरिक र बौद्धिक) विविध प्रकारका भाव मबाट नै उत्पन्न हुन्छन् ।।४–५।।

बुद्धि, ज्ञान आदि समस्त उच्च बौद्धिक सम्पत्ति म बाट उत्पन्न हुन्छन् । आधुनिक विज्ञानले पनि मानिसको बौद्धिक क्षमतालाई एक सीमासम्म प्राकृतिक सम्पत्ति हो । गीताको तर्क पनि यही हो । सबै प्रकारका मानसिक शक्तिको स्रोत पनि प्रकृति र ईश्वर नै हो । चाहे त्यो तर्क वितर्क गर्ने शक्ति होस्, चाहे निश्चय गर्ने शक्ति होस् । यथार्थ ज्ञान, र विवेक, इन्द्रिय दमनको शक्ति, मोहबाट मुक्ति हुने शक्ति यी सबै ईश्वरबाट प्राप्त हुन्छन् ।
उत्पत्ति होस् कि प्रलय, सुख होस् कि दुख, भय होस् कि अभय, सन्तोष होस् कि ताप, यश होस् कि अपयश सबै भाव ईश्वरबाट प्राप्त हुन्छन् । ईश्वरभन्दा बाहेक केही हुनै सक्दैन ।
यस दृष्टिले गीता एक क्रान्तिकारी विचार हो । यसले राम्रो जति ईश्वरको र नराम्रो जति शैतान जस्तो कुनै खराब शक्तिको मान्दैन । उसले सबै कुराको स्रोत ईश्वरलाई मान्छ । त्यसो भए खराब ईश्वरले किन उत्पन्न गर्छ ?
जानकारहरु भन्छन्– ईश्वरको लीला, उसको इच्छा । जरुरी भएरै उसले बनाए होला । सृष्टि चलाउन काम, क्रोध आदि सबै कुरा चाहिन्छ । यसको अति पो नराम्रो हो उचित मात्रा त सबै चाहिन्छ । सृष्टि संचालन कामले, अन्यायको प्रतिकार क्रोधले नै हुनसक्छ ।


महर्षयः सप्त पूर्वे चत्वारो मनवस्तथा ।
मद्भावा मानसा जाता येषां लोक इमा प्रजाः ।।६।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

महर्षयः सप्त (सात महर्षि) पूर्वे चत्वारो (त्यस अघिका चार) मनवः तथा (तथा चौध मनुहरु) मानसा ः (र मानसिक संकल्पबाट) जाता ः (उत्पन्न भएका) मद्भावाः (मेरा भावहरु) येषाम् (यिनैबाट) लोक (संसार) इमा ः (यी) प्रजाः (प्राणीहरु उत्पन्न भए) ।
सात महर्षि, त्यस अघिका चार (सनत्कुमार) तथा (चौध) मनुहरु, यी सबै मेरो मानसिक संकल्पबाट उत्पन्न भएका मेरा भावहरु हुन् । यिनैबाट संसारका सबै प्राणीहरु उत्पन्न भएका हुन् ।।६।।

सृष्टि विस्तारको जुन कुरा पुराणका कथाहरुमा विस्तारपूर्वक छ, यहाँ अत्यन्त छोटकरीमा बताइएको छ ।
सुरुका चार– सृष्टिकर्ता ब्रह्माले सृष्टि अघि बढाउन सुरुमा सनक, सनन्दन, सनातन र सनत्कुमार यी चारलाई उत्पन्न गरे । तर यिनीहरुले सृष्टि गर्न मानेनन् । बचपनमा नै संन्यास लिए र भगवद्भक्तिमा रमाउन थाले । त्यसैले ब्रहमाजीले सृष्टि विस्तार गर्न सप्त ऋषि उत्पन्न गर्नु पर्यो ।
सुरुका चार कसलाई भनिएको छ यस बारेमा टीकाकारहरुमा मतभिन्नता देखिन्छ । शंकराचार्यले चारवटा सावर्णिमनुको नाम उल्लेख गरेका छन् । कोमल गीतामा वासुदेव, संकर्षण, प्रद्युम्न र अनिरुद्र आदि सुरुका अवतारलाई उल्लेख गरिएको छ । स्वामी रामसुखदास आदि अधिकांश अनुवादकहरुले सनकादि ऋषिलाई नै उहिलेका चारको रुपमा उल्लेख गरेका छन् । यस अनुवादमामा यसै मतलाई अनुसरण गरिएको छ ।
सात महर्षि – कम्पुचिया, थाइल्याण्ड, लाओस, ग्रीस आदि संस्कृतिहरुमा विशिष्ट ज्ञान प्राप्त व्यक्तिलाई ऋषि भन्ने गरिन्छ । त्यसैले दिव्य ज्ञान र गहन अन्तर्दृष्टि हुने व्यक्तिलाई ऋषि भनिन्छ । सबै वर्णका मानिसलाई समान व्यवहार गर्ने गुणलाई ऋषि गुण भनिन्छ । ऋषिको एउटा अर्थ हो कठोर साधना पश्चात् सत्यको साक्षात्कार गर्ने व्यक्ति ।
यस आधारमा देवर्षि, राजर्षि, ब्रह्मर्षि आदिको उल्लेख पाइन्छ । ऋग्वेदका मन्त्रहरुमा गार्गी, अपाला, घोषा, लोपामुद्रा आदि ३० वटा ऋषिकाहरु तथा ४०० ऋषिहरुको नाम पाइन्छ । दीर्घायु, मन्त्रकर्ता, दिव्यदृष्टियुक्त, र गोत्र प्रवर्तक सातजना विशेष ऋषिहरुलाई सप्तर्षि भनिन्छ । ब्रह्माका मानस पुत्र सप्तर्षिहरुको नाम यस प्रकार छ– अंगिरा, अत्रि, क्रतु, मरीचि, पुलस्त्य, पुलह, र वशिष्ठ ।
अंगिरालाई अग्निको आविष्कारक मानिन्छन् देवगुरु बृहस्पति तथा ऋषि कर्दम यिनका सन्तान थिए । जसबाट सृष्टि विस्तार भएको छ । अत्रि र उनकी पत्नी अनसूया पुराण प्रसिद्ध छन् । रामायणमा सीतालाई सती धर्मको उपदेश अनसूयाले दिएको उल्लेख छ ।
क्रतु एक तेजस्वी ऋषि थिए । सूर्यका साथमा हिंड्ने साठी हजार बालखिल्य ऋषि समूह यिनका सन्तान हुन भनिएको छ । पुराणमा यिनका कथाहरु पाइन्छन् ।
मरीचिको सन्तान विस्तारका कथा पुराणमा प्रसिद्ध छन् । महर्षि कश्यप मरीचिका सन्तान हुन् । जसबाट विभिन्न जाति प्रजातिको विस्तार भएको हो ।
पुलस्त्यको प्रसिद्धि ज्ञान र तपस्यामा रहेको छ । पराशर यिनका प्रमुख शिष्य हुन् । महर्षि अगस्त्यलाई यिनको सन्तान बताइएको छ । रावणलाई पुलस्त्यको नाति भनिएको छ ।
पुलहलाई ऋषि सनन्दनका शिष्य बताइएको छ । यिनका शिष्य गौतम ऋषि हुन् । यिनका दुई पत्नीबाट सन्तान विस्तारको कथा पुराणहरुमा छ ।
वसिष्ठ ऋषिको तप र सहनशीलता प्रसिद्ध छ । उनकी पत्नी अरुन्धतीलाई पुराणहरुमा साध्वी र पतिव्रता बताइएको छ । भगवान् रामका कुलगुरुको रुपमा प्रसिद्ध वसिष्ठलाई अणिमा, लघिमा आदि आठवटै सिद्धि प्राप्त थिए ।
मनुहरु– लोक उत्पन्न भए पछि केही समय सबैले धर्मानुसार आचरण गरे । तर पछि लोभ र मोहको वशीभूत भएर अनुचित आचरण गर्न थाले । बलियाले निर्धामाथि गरेको अत्याचार रोक्न ब्रह्माजीले नीतिको ग्रन्थ पैतामह तन्त्र रचना गरी मनुलाई राजा बनाए । हरेक मन्वन्तरमा यस्तो एउटा मनु राजा नियुक्त हुन्छन् । यी १४ वटा छन्– स्वायम्भु, स्वारोचिष, उत्तम, तामस, रैवत, चाक्षुष, वैवस्वत्, सावर्णि, ब्रह्मसावर्णि, दक्षसावर्णि, धर्मसावर्णि, रुद्रसावर्णि, देवसावर्णि, र इन्द्रसावर्णि ।
मानव समाजको वर्तमान स्वरुप निर्धारित हुनुमा सनकादि ऋषि, सप्तर्षि, र मनुको ठूलो योगदान छ ।


एतां विभूतिं योगं च मम यो वेत्ति तत्त्वत ः ।
सोऽविकम्पेन योगेन युज्यते नात्र संशयः ।।७।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

यः (जसले) मम (मेरा) एताम् (यी) विभूतिम् (विभूति) च (तथा) योगम् (योगको सामथ्र्य) वेत्ति तत्त्वतः (यथार्थरुपमा जान्दछ) सः (त्यस मानिस) अविकम्पेन (अविचलित, स्थिर) योगेन (योगले) युज्यते (युक्त हुन्छ, प्राप्त गर्छ) अत्र (यसमा) न संशयः (संशय छैन) ।
जसले मेरा यी विभूति तथा मेरो योगको सामथ्र्यलाई यथार्थरुपमा जान्दछ, त्यस मानिसले स्थिर योग अवश्य प्राप्त गर्छ, यसमा कुनै संशय छैन ।।७।।


अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते ।
इति मत्वा भजन्ते मां बुधा भावसमन्विताः ।। ८ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

अहम् (म) सर्वस्य (सबैको) प्रभवः (उत्पत्ति स्थान हूँ) मत्तः (मबाट नै) सर्वम् (सबै कुरा) प्रवर्तते (उत्पन्न हुन्छन्) इति मत्वा (यस्तो जानेर) बुधा ः (ज्ञानीहरु) भावसमन्विताः (श्रद्धा भाव लिएर) माम् (मेरो) भजन्ते (भजन, आराधन गर्छन्)।
म सम्पूर्ण संसारको उत्पत्ति स्थान हूँ । मबाट सबै पदार्थ उत्पन्न हुन्छन् यस प्रकार जानेर ज्ञानी पुरुषहरुले श्रद्धाभाव युक्त भई मेरो भजन गर्छन् ।।८।।

यथार्थ ज्ञान कसरी हुन्छ ? विश्वास र आस्थाको आधारमा । नर्वेमा जब पहिलो बैंक, वाणिज्य बैंक, स्थापना भयो । ग्राहकहरुले त्यसमा आआफ्नो रकम जम्मा गर्न थाले । तर जसले त्यो पहिलो बैंक स्थापना गरेको थियो उसले बैंक खुलेको तेस्रो दिन मात्र आफ्नो रकम आफ्नै बैंकमा जम्मा गर्यो । सुरुका दुईदिन उसले अरु मानिसलाई कुर्‍यो । अरुले धन जम्मा गरेपछि उसलाई विश्वास भयो अब बैंक चल्छ । यथार्थ ज्ञानको अभावमा आफैंलाई नै विश्वास नभई धेरै कार्यहरु गरिएका हुन्छन् । त्यसैले श्रद्धाभाव ज्ञानीको आधार हो ।
जसले मेरो यस विभूतिको विस्तार र योगको सामथ्र्यलाई यथार्थमा जान्दछ त्यो अविचलित भक्तियोगले युक्त हुन्छ यसमा कुनै संशय छैन । उसले के पनि जान्दछ भने मबाट नै उत्पत्ति र विनाश हुन्छ ।


मच्चित्ता मद्गतप्राणा बोधयन्तः परस्परम् ।
कथयन्तश्च मां नित्यं तुष्यन्ति च रमन्ति च ।। ९ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

मत् चित्ताः (चित्त ममा लगाएको) मद्गतप्राणाः (मलाई प्राणसरह मान्ने) परस्परम् (एक आपसमा) बोधयन्तः (बोध युक्त हुँदै ) च (तथा) माम् (मेरो) कथयन्तः (कथा भन्दै ) च (र) तुष्यन्ति (सन्तुष्ट रहन्छन्) च (तथा) नित्यम् (सदा) रमन्ति (रमाइरहन्छन्) ।
जसको चित्त ममा जोडिएको छ, मलाई प्राणसरह मान्ने यस्ता भक्तहरु एक आपसमा बोधयुक्त हुँदै, मेरो कथा भन्दै, र त्यसैमा सन्तुष्ट रहन्छन्, तथा सदा रमाइरहन्छन् ।।९।।

बोधयुक्त अर्थात् कुरा बुझ्ने मानिसहरु मलाई भजन गर्छन् भन्नुको अर्थ हो आराधना गर्दा उनीहरुलाई यस शक्ति प्रति विश्वास छ । यस विश्वासले गर्दा भजन र आराधनको आनन्द अपूर्व हुनजान्छ ।
ममा चित्त भएका, मलाई प्राणसरह मान्ने (भक्त) एक आपसमा यो जानकारी गराउँदै, यिनै कुरा गर्दै निरन्तर सन्तुष्ट हुन्छन् तथा ममा नै रमाउँछन् । यस्ता भक्तलाई मैले त्यो तत्त्वज्ञानको बुद्धि दिन्छु जसबाट उनीहरुले मलाई प्राप्त गर्छन् ।
यस ज्ञानदीपको उज्यालो बुद्धिले उनी भित्रको अज्ञान अन्धकार कसरी नष्ट हुन जान्छ भन्ने कुरा अगाडिका श्लोकमा बताइएको छ ।


तेषां सततयुक्तानां भजतां प्रीतिपूर्वकम् ।
ददामि बुद्धियोगं तं येन मामुपयान्ति ते ।।१० ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

सतत (निरन्तर) तम् (तिनीहरु) युक्तानाम् (संयुक्त भएर) प्रीतिपूर्वकम् (प्रेमपूर्वक) भजताम् (भजन गर्नेलाई) तेषाम् (ती भक्तहरु) बुद्धियोगम् (तत्त्वज्ञानरुपी योग) ददामि (दिन्छु) येन (जसबाट) ते (उनीहरुले) माम् (मलाई) उपयान्ति (प्राप्त गर्छन्)।
निरन्तर ममा संयुक्त भएर प्रीतिपूर्वक भजन गर्ने ती भक्तलाई मैले यस्तो तत्त्वज्ञानरुप योग दिन्छु जसबाट उनीहरुले मलाई नै प्राप्त गर्छन् ।।१०।।


तेषामेवानुम्पार्थमहमज्ञानजं तमः ।
नाशयाम्यात्मभावस्थो ज्ञानदीपेन भास्वता ।।११ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

तेषाम् (उनीहरुमा) अनुम्पार्थम् (अनुग्रह गर्नका लागि) अहम् (मैले) एव (नै) अज्ञानजम् (अज्ञानजनित) ज्ञानदीपेन (ज्ञानरुप बत्तीले) भास्वता (उज्यालो) आत्मभावस्थः (अन्तःकरण भित्र रहेको) तमः (अन्धकारलाई) नाशयामि (नष्ट गरीदिन्छु) ।
उनीहरु माथि अनुग्रह गर्नका लागि नै उनीहरुको अन्तःकरणमा बसेर मैले उज्यालो ज्ञानरुप बत्तीले उनीहरुको अज्ञानजनित अन्धकारलाई नष्ट गरीदिन्छु ।।११।।

गीतामा भनिएको बुद्धियोग सांसारिक शिक्षा दिएर प्राप्त हुने बुद्धि होइन । यो सांसारिक बुद्धिको विपरीत हो । सांसारिक शिक्षालाई शास्त्रहरुमा उल्टो बिम्ब भनिएको छ । जस्तो पोखरीमा उभिएको मानिसले आफ्नो बिम्ब देख्छ ठीक त्यस्तै । बिम्ब आफ्नैै हो तर उल्टो। यस्तो बुद्धिले दुख बढ्छ । यो केवल सूचनाको थुप्रो हो । पढेको अज्ञानी । यो ज्ञान होइन । शील, समाधि र यस पछि प्राप्त हुने प्रज्ञालाई यहाँ बुद्धियोग भनिएको छ । अज्ञान र ज्ञानमा के अन्तर छ ? अज्ञानले जसलाई संसार देखिन्छ ज्ञानले त्यसैलाई परमात्मा देखिन्छ ।

परं ब्रह्म परं धाम पवित्रं परमं भवान् ।
पुरुषं शाश्वतं दिव्यमादिदेवमजं विभुम् ।। १२ ।।


आहुस्त्वामृषयः सर्वे देवर्षिर्नारदस्तथा ।
असितो देवलो व्यासः स्वयं चैव ब्रवीषि मे ।।१३ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

अर्जुन उवाच (अर्जुनले भने)
भवान् (तपाईं) परम् ब्रह्म (परम ब्रह्म) परम् धाम (परम धाम) पवित्रम् परमम् (परम पवित्र) ऋषयः सर्वे (सबै ऋषिहरु) देवर्षिः नारदः (देवर्षि नारद) तथा असितः (तथा असित) देवलः (देवल) च (तथा) व्यासः (व्यास) पुरुषम् (पुरुष) शाश्वतम् (सनातन) दिव्यम् (दिव्य) आदिदेवम् (आदिदेव) अजम् (अजन्मा) विभुम् (सर्वव्यापी) आहुः (भन्छन्) त्वाम् (तपाईं) स्वयम् एव (आफैंले पनि) मे (मलाई) ब्रवीषि (भन्नु भएको छ ) ।
अर्जुनले भने –
तपाईं परम ब्रह्म, परम धाम र परम पवित्र हुनुहुन्छ । देवर्षि नारद, ऋषि असित, देवल तथा व्यासले पनि तपाईंलाई शाश्वत पुरुष, दिव्य, आदिदेव, अजन्मा, र सर्वव्यापी भन्दछन् । स्वयं तपाईं आफैंले पनि मलाई त्यही भन्नु भएको छ् ।।१२–१३।।


सर्वमेतदृतं मन्ये यन्मां वदसि केशव ।
न हि ते भगवन् व्यक्तिं विदुर्देवा न दानवाः ।। १४।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

केशव (हे केशव) माम् (मलाई) यत् (जुन) वदसि (भन्नु भएको छ) सर्वम् एतत् (यो सबै) ऋतम् (सत्य) मन्ये (मानेको छु) हि (किनभने) भगवन् (हे भगवन्) ते (तपाईंको) व्यक्तिम् (व्यक्तित्व, लीला) देवाः (देवताले) न दानवाः (वा दानवले) न विदुः (विदित छैन) ।
हे केशव, तपाईंले मलाई जुन कुरा भन्नु भएको छ ती सबैलाई मैले सत्य मानेको छु किनभने हे भगवन्, तपाईंको यो व्यक्तित्वलाई देवता वा दानव कसैलाई पनि विदित छैन।।१४।।

ज्यामितिको एउटा तथ्य छ त्यो के भने कुनै दुई बिन्दुलाई सबभन्दा छोटो दूरीले मिलाउने हो भने एक सरल रेखा प्राप्त हुन्छ । तर त्यो सरल रेखा हामीलाई चाहिएको रेखा हो कि होइन भन्ने बुझ्न त्यसको तेस्रो बिन्दु पनि जाँच गरिन्छ । यदि त्यो तेस्रो बिन्दु पनि त्यसै रेखामा छ भने त्यो सरल रेखा ठीक छ अन्यथा गलत छ । त्यसैले नीति स्मृति ग्रन्थहरुको के मान्यता रहेको छ भने तीनवटा स्रोतबाट यदि एउटै जानकारी प्राप्त हुन्छ भने त्यो भरपर्दो जानकारी हुन्छ अन्यथा शङ्का रहन्छ ।
अर्जुनले पनि तीन तीनवटा स्रोतबाट प्राप्त जानकारीलाई समन्वय गर्दै छन् । पहिलो, नारद, असित, व्यास र देवताहरुले ईश्वरलाई शाश्वत, दिव्यपुरुष, आदिदेव, अजन्मा र सर्वव्यापी भनेका छन् । दोस्रो, स्वयं भगवान् कृष्णले त्यही कुरा भनिरहनु भएको छ । तेस्रो, स्वय अर्जुनलाई पनि के लाग्छ भने ईश्वर परम ब्रह्म, परम धाम र परम पवित्र हुनुहुन्छ, । तीन तीनवटा स्रोतको एउटै जानकारी भए पछि अब अर्जुनलाई के विश्वास भयो भने उनले जे बुझिरहेका छन्, त्यो यथार्थ छ ।


स्वयमेवात्मनात्मानं वेत्थ त्वं पुरुषोत्तम ।
भूतभावन भूतेश देवदेव जगत्पते ।।१५।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

भूतभावन (प्राणीहरु उत्पन्न गर्ने) भूतेश (भूतेश) देवदेव (देवताहरुका पनि देव) जगत्पते (जगत्का मालिक) पुरुषोत्तम (हे पुरुषोत्तम) त्वम् (तपाईंले) स्वयम् (आफैं) एव (नै) आत्मना आत्मानम् (आफैंले आफैंलाई) वेत्थ (जान्नु हुन्छ) ।
प्राणीहरु उत्पन्न गर्ने, हे भूतेश, देवका पनि देव, जगत्का मालिक, हे पुरुषोत्तम, तपाईं आफैले मात्र आफूलाई जान्नु हुन्छ ।। १५ ।।


वक्तुमर्हस्यशेषेण दिव्या ह्यात्मविभूतयः ।
याभिर्विभूतिभिर्लोकानिमांस्त्वं व्याप्य तिष्ठसि ।।१६।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

हि (किनभने) याभिः (जुन जुन) विभूतिभिः (विभूतिहरुद्वारा) इमान् (यी सब) लोकान् (लोकहरुमा) त्वम् (तपाईं) व्याप्य (व्याप्त गरेर) तिष्ठसि (स्थित हुनुहुन्छ) आत्म (आफ्ना) दिव्याः विभूतयः (दिव्य विभूतिहरुलाई) अशेषेण (बाँकी नराखी, विस्तारपूर्वक) वक्तुम् (भन्न) अर्हसि (योग्य हुनुहुन्छ, सक्नुहुन्छ) ।
किनभने जुन जुन विभूतिहरुद्वारा यी लोकमा व्याप्त गरेर स्थित हुनुहुन्छ । तपाईंले मात्र आफ्ना दिव्य विभूतिहरुलाई विस्तारपूर्वक भन्न सक्नुहुन्छ (कृपया मलाई बताउनु होस्) ।।१६।।

ईश्वरलाई स्वयं ईश्वरबाहेक कसले राम्ररी जान्न सक्छ । ईशवरलाई उनका विभूतिको संकेतले चिन्न मानिसहरुले सक्छन्, त्यसैले ती विभूतिहरु नै बताइदिन अर्जुनले अनुरोध गरेका छन् । अनन्तको सीमा अनन्तले मात्र बुझ्न सक्छ । ससीमले असीमको बारेमा कदापि जान्न सक्दैन । परमहंस रामकृष्णले एउटा उदाहरण भन्ने गर्थे– एउटा चीनीको पुतली समुद्रको गहिराई नाप्न हिंड्यो । जब ऊ गहिराईमा पुग्यो ऊ आफैं बिलायो ।


कथं विद्यामहं योगिंस्त्वां सदा परिचिन्तयन् ।
केषु केषु च भावेषु चिन्त्योऽसि भगवन्मया ।।१७ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

योगिन् (हे योगिन्) अहम् (मैले) त्वाम् (तपाईंलाई) सदा (सदा, सर्वदा) परिचिन्तयन् (चिन्तन गर्दै) कथम् (कसरी) विद्याम् (जान्न सक्छु) च (अनि) भगवन् (हे भगवन्) केषु केषु (कुन कुन) भावेषु (कुरामा, भावमा) मया (मेरा लागि) चिन्त्यः (चिन्तनमा आउने) असि (हुनुहुन्छ) ।
हे योगिन्, मैले निरन्तर चिन्तन गर्दै तपाईंलाई कसरी जान्न सकूँला ? अनि हे भगवान् कुन कुन पदार्थ र भावमा तपाईंको चिन्तन गरुँ ?१७ ।।


विस्तरेणात्मनो योगं विभूतिं च जनार्दन ।
भूयः कथय तृप्तिर्हि शृण्वतो नास्ति मेऽमृतम् ।।१८ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

जनार्दन (हे जनार्दन) आत्मनः (आफ्नो) योगम् (योग शक्ति) च (र) विभूतिम् (विभूति) भूयः (फेरि) विस्तरेण (विस्तारपूर्वक) कथय (भन्नुहोस्) अमृतम् (यी अमृतमय वचन) शृण्वतः (सुनेर) मे (मलाई) तृप्तिः (तृप्ति) हि (नै) न अस्ति (हुँदैन) ।
हे जनार्दन, आफ्नो योग शक्ति र विभूतिलाई फेरि विस्तारपूर्वक भन्नुहोस् किनभने अमृतमय यी वचन जति सुने पनि मलाई तृप्ति हुन सकेको छैन ।। १८ ।।

हे योगेश्वर, मैले निरन्तर चिन्तन गर्दै तपाईंलाई कसरी चिन्न सक्छु ? कुन पदार्थमा देख्न सक्छु? कुन भावमा देख्न सक्छु ? यस भनाईले अर्जुनमा सत्यको साक्षात्कार गर्ने जिज्ञासा अत्यन्त तीव्र भइसकेको बुझिन्छ । पानी बाफ बन्नलाई ठिक्क परे जस्तो । साथै अर्जुनले भनेका छन्– हे जनार्दन, तपाईंका यी अमृतमय वचन जति सुन्यो उति अतृप्ति बढेको छ । अर्जुनको यो अतृप्ति किन छ ? किनभने ज्ञानका कुराले अतृप्ति बढाउँछ । ज्ञानका कुरा अलि अलि बुझ्न थाले पछि रुचि बढ्छ । जति रुचि बढ्छ उति अतृप्ति बढ्छ । अध्याय एकमा कसैका कुरा सुन्न पनि तयार नभएका अर्जुनले अब आएर भगवान् कृष्णका कुरा अलि अलि बुझ्न थालेको देखिन्छ ।

श्रीभगवानुवाच
सम्पादन गर्नुहोस्

हन्त ते कथयिष्यामि दिव्या ह्यात्मविभूतयः ।
प्राधान्यत कुरुश्रेष्ठ नास्त्यन्तो विस्तरस्य मे ।।१९।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

श्रीभगवान् उवाच (श्रीभगवानले भन्नु भयो)
कुरुश्रेष्ठ (हे कुरुवंशका श्रेष्ठ) हन्त (अब) ते (तिमीलाई) मे (मेरा) दिव्या (दिव्य विभूति) प्राधान्यत (मुख्य मुख्य) कथयिष्यामि (भन्ने छु) हि (किनभने) आत्मविभूतयः (मेरा विभूतिहरु) विस्तरस्य (विस्तारको) अन्तः (अन्त) न अस्ति (छैन) ।
श्रीभगवानले भन्नु भयो –
हे कुरुश्रेष्ठ, अब मेरा दिव्य विभूतिहरु मध्ये तिमीलाई मुख्य मुख्य मात्र भन्ने छु । किनभने मेरो विभूतिका विस्तारको अन्त्य छैन अर्थात् बताएर सकिने छैन।।१९।।


अहमात्मा गुडाकेश सर्वभूताशयस्थितः ।
अहमादिश्च मध्यं च भूतानामन्त एव च ।।२० ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

गुडाकेश (हे गुडाकेश) सर्वभूताशय (सबै प्राणीहरुको अन्तःकरणमा) स्थितः (रहने) आत्मा (आत्मा) अहम् (म हूँ) भूतानाम् (प्राणीहरुको) आदिः च मध्यम् च अन्त एव (आदि, मध्य र अन्त) च (पनि) अहम् (म हूँ) ।
हे गुडाकेश, सबै प्राणीहरुको अन्तःकरणमा रहने आत्मा म हूँ । अनि सबै भूतप्राणीको आदि, मध्य र अन्त पनि म नै हूँ ।।२०।। व्याख्या
श्रीभगवानले भन्नु हुन्छ– हे कुरुश्रेष्ठ, मेरो विभूतिहरुको अन्त नै छैन, बताएर सकिँदैन । त्यसैले खास खास विभूतिबारे संकेत गर्छु । सर्वप्रथम, तिमी भित्र होस् कि अरु भित्र, प्रत्येक प्राणीमा स्थित उसको स्वत्व म परमात्मा नै हूँ । यति मात्र होइन सबैको प्रारम्भ अर्थात् बीज, उसको मध्य अर्थात् अस्तित्त्व र त्यसको घटबढ, र अन्तमा त्यो जहाँ गएर मिसिन्छ अर्थात् समाप्ति म नै हूँ ।


आदित्यानामहं विष्णुर्ज्योतिषां रविरंशुमान् ।
मरीचिर्मरुतामस्मि नक्षत्राणामहं शशी ।।२१ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

आदित्यानाम् (आदित्यहरुमा) अहम् (म) विष्णुः (विष्णु हूँ) ज्योतिषाम् (ज्योतिहरुमा) अंशुमान् (किरणहरुलेयुक्त) रविः (सूर्य हुँ) मरीचिः (मरीचिहरुमा) मरुताम् अस्मि (मरुत् हुँ) नक्षत्राणाम् (नक्षत्रहरुमा) शशी (चन्द्रमा) अहम् (म हूँ) ।
आदित्यहरुमा म विष्णु, ज्योतिहरुमा किरणहरुलेयुक्त सूर्य हुँ । मरुतहरुमा म मरीचि र नक्षत्रहरुमा म चन्द्रमा हुं ।।२१।।

आदित्यहरुमा विष्णु हूँ । हरेक सृष्टिमा एउटा सूर्य जन्मन्छ भन्ने मानिएको छ, यस दृष्टिले वर्तमान सूर्य अर्थात् विष्णु नै सबभन्दा पछिल्लो सूर्य हो । सूर्य जीवनीशक्तिको प्रतीक हो । त्यसैले सूर्यहरुमा परमात्माको अंश विष्णु नामक सूर्यमा छ । त्यो सूर्य जुन ज्योतिहरुमा पनि किरणहरुले युक्त छ ।
बाह्र महिनाका १२ अधिष्ठाता सूर्य हुन्छन्– अंशु, अर्यमा, इन्द्र, जयन्त, वरुण, त्वष्टा, धाता, पूषा, भग, भास्कर, मित्र, र विष्णु । मरुतहरुमा मरीचि हूँ । मरीचिको अर्थ हुन्छ– प्रकाश किरण, मृगतृष्णा, हावाको तेज । वायुपुराणमा मरुत्को संख्या ४९ मानिएको छ । यस मध्ये गीतामा मरीचिलाई प्रमुख भनिएको छ । तर जयदयाल गोयन्दकाले भनेका छन्– ‘मरीचि नामको उल्लेख कहीं पनि पाईंदैन । तसर्थ सबै मरुत्गणका तेजको सामूहिक स्वरुपलाई यहाँ मरीचि भनिएको हो ।’ अर्को शब्दमा मरीचिको अर्थ पवन देव हो ।
नक्षत्रहरुमा म चन्द्रमा हूँ । चन्द्रमाको परिपथमा जेजति ताराहरुको संयुक्त स्वरुप देखिन्छ, त्यसलाई नक्षत्र भनिन्छ । उदाहरणका लागि अश्विनी नक्षत्रमा तारामण्डलको आकृति घोडा जस्तो छ । भरणीका ताराहरुको आकृति त्रिकोण तथा मृगशिराको आकृति मृगको शिर जस्तो मानिएको छ । यिनै तारापुञ्जका आधारमा चन्द्रमाको परिपथ निर्धारित हुन्छ । त्यसैले चन्द्रमालाई नक्षत्रको अधिपति भनिएको हो । यस परिपथमा नक्षत्रको कुल संख्या २७ मानिन्छ।


वेदानां सामवेदोऽस्मि देवानामस्मि वासवः ।
इन्द्रियाणां मनश्चास्मि भूतानामस्मि चेतना ।।२२ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

वेदानाम् (वेदहरुमा) सामवेदः (सामवेद) अस्मि (हूँ) देवानाम् देवताहरुमा) वासवः (इन्द्र) अस्मि (हूँ) च (तथा) इन्द्रियाणाम् (इन्द्रियहरुमा) मनः (मन) अस्मि (हूँ) भूतानाम् (प्राणीहरुमा) चेतना (चेतना) अस्मि (हूँ) ।
वेदहरुमा सामवेद, देवताहरुमा इन्द्र, इन्द्रियहरुमा मन, र प्राणीहरुमा म चेतना हूँ ।। २२ ।।

वेदहरुमा सामवेद म हूँ । हुन त, गीता ९.१७ मा ऋक्, साम, र यजु तीनै वेद म हूँ भनिएको छ तर यहाँ के उल्लेख छ भने कुनै एक वेद भन्नु पर्यो भगवानलाई सामवेद ठान्नु । सामवेदका अधिकांश मन्त्र ऋग्वेदबाट लिइएका हुन् । ऋग्वेद लयात्मक गीत हो भने सामवेद लयात्मक र संगीतात्मक दुवै हो । यहाँनिर अर्को ध्यान दिनु पर्ने कुरा के हो भगवान शिवको एक नाम सामगानप्रिय हो । यो नाम नै भगवान् कृष्णलाई पनि प्रिय छ ।
देवताहरुमा म इन्द्र हूँ । ऋग्वेदमा मुख्यतः इन्द्रको गुणगान गाइएको छ । हिन्दु पोलिटीका लेखक के पी जायसवालका अनुसार इन्द्र एक पद हो । देवताहरुले आफूमध्येबाट कुनै एक जनालाई शासनको अभिभारा सुम्पने परम्परा भएकोले त्यस पदमा पुग्नेलाई नै इन्द्र भनिन्छ। यसरी आफू सरहको एक जनालाई शासनाधिकार दिने पदीय व्यवस्था इन्द्र हुनु हो ।
इन्द्रियहरुमा मन हूँ । इन्द्रिय शब्द इन्द्रबाट बनेको छ । जसको अर्थ हो मालिक । यो मालिक जेबाट प्रकट हुन्छ त्यो इन्द्रिय हो । मन अनियिन्त्रित भएकोले अर्जुनका हात गोडा शिथिल भएका हुन् । मन सबै ज्ञानेन्द्रियहरुका संवेदनाको अनुभवकर्ता हो । उदाहरणका लागि गन्धको ज्ञानेन्द्रिय नाक हो । यदि मन दुखी छ भने यसले बास्ना थाहा पाउँदैन । त्यसैल इन्द्रियलाई केवल द्वार भनिन्छ ।
प्राणीहरुमा म चेतना हूँ । जीवित प्राणीको एक मुख्य विशेषता नै चेतना हो । सानो भुसुनादेखि हात्ती भित्र रहेको चेतनामा ईश्वरको वास छ ।
रुद्राणां शंकरश्चास्मि वित्तेशो यक्षरक्षसाम् ।
वसूनां पावकश्चास्मि मेरुः शिखरिणामहम् ।। २३ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

रुद्राणाम् (रुद्रहरुमा) शंकरः (शंकर) च (तथा) यक्षरक्षसाम् (यक्ष र राक्षसहरुमा) वित्तेशः (वित्तको स्वामी, कुबेर) अस्मि (हूँ) वसूनाम् (वसुहरुमा) पावकः (पाक) च (तथा) शिखरिणामहम् (पर्वत शिखरहरुमा) मेरुः (सुमेरु) अस्मि (हूँ)।
रुद्रहरुमा शंकर, यक्ष र राक्षसहरुमा वित्तको स्वामी, वसुहरुमा पावक र पर्वत शिखरहरुमा सुमेरु पर्वत हूँ ।


पुरोधसां च मुख्यं मां विद्धि पार्थ बृहस्पतिम् ।
सेनानीनामहं स्कन्दः सरसामस्मि सागरः ।।२४।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

पार्थ (हे पार्थ) मुख्यम् (मुख्य) पुरोधसाम् च (तथा पुरोहितहरुमा) बृहस्पतिम् (बृहस्पति) माम् (मलाई) सेनानीनाम् (सेनापतिहरुमा) अहम् (म) स्कन्दः (स्कन्द) सरसाम् (जलाशयहरुमा) सागरः (सागर) अस्मि (हुँ) ।
हे पार्थ, पुरोहितहरुमा मुख्य बृहस्पति मलाई बुझ । सेनापतिहरुमा म स्कन्द र जलाशयहरुमा म सागर हूँ ।।२४।।

एकादश रुद्रहरुमा प्रमुख शंकर, यक्ष र राक्षसहरुमा कुबेर, वसुहरुमा पावक र पर्वत शिखरहरुमा सुमेरु हूँ । मत्स्यपुराण (११३.१२–१८) मा नल, निषध, हिमवान्, सुमेरु, हेमकूट, र शृंगवान सात पर्वत शिखर मध्ये मेरुलाई केन्द्रमा बताइएको छ । बृहस्पति सूत्र (३.५३) मा मेरु पर्वतलाई जम्बु द्वीपको केन्द्रमा सुमेरु पर्वत भएको उल्लेख छ । जल प्रलयकालमा मानिस जोगिन सक्ने एक मात्र पर्वत शिखर सुमेरुलाई भनिएको छ । सुमेरुको प्रतीकात्मक अर्थ पनि छ । ध्यानको अन्तिम अवस्थामा पुगिने सहस्रार चक्रलाई पनि मेरु शिखर भनिन्छ। [१]
विश्वका सबै सभ्यताहरुमा पर्वतहरुलाई पवित्र मानिएको छ । उदाहरणका लागि मानसरोवरको कैलाश, नेपालको सगरमाथा, जापानको फुजि पहाड, मक्काको नूर, इजरायलको ट्याबोर आदि पवित्र पर्वतहरु मानिएका छन् ।
बाइबिलमा पनि जल प्रलयबाट बच्न नोहले नौकाको सहारा लिएर एउटा सबभन्दा अग्लो पहाडमा जीवन बचाएको कथा पाइन्छ । यस कथालाई यहुदी, क्रिस्तान इस्लाम सबै धर्मग्रन्थमा महत्त्वपूर्ण स्थान दिइएको छ ।
रुद्रहरुमा प्रमुख शंकर हूँ । रुद्र संहारको प्रतीक हो । रुद्र ११ वटा छन् जुन यस प्रकार छन्– अजैकपाद, अपराजित, अहिर्बुध्न्य, ईश, ऋत, त्रयम्बक, पिनाकी, महेश्वर, वृषाकपि, शम्भु, र हवन । शंकरलाई रुद्रहरुमा प्रमुख भनिएको छ ।
यक्ष र राक्षसहरुमा कुबेर म हूँ । कुबेरलाई किन्नरको राजा पनि भनिन्छ । तर गीतामा कुबेरलाई देवताहरुका वित्तको रक्षक बताइएको छ । त्यसैले नेपालको मुद्रामा कुबेरको चित्र अंकित गरिएको हुन्छ ।
वसुको अर्थ हो वैभव, धन, र शक्ति । अग्निको ताप, जलको भिजाउने शक्ति र वायुको सुकाउने शक्तिलाई पनि वसु भनिन्छ । वसु आठवटा छन्– अनल, अनिल, धर, ध्रुव, प्रत्यूष, प्रभास, सावित्र, र सोम । वसुहरुमा पावक अर्थात् अग्नि (गीता १०.२३) लाई प्रमुख शक्ति भनिएको छ । यिनीहरुलाई पृथ्वीवासी देवता पनि मानिएको छ । भीष्म स्वयं एक शापित वसु थिए ।
पुरोहितहरुमा मुख्य पुरोहित बृहस्पति मलाई बुझ । देवगुरु बृहस्पतिलाई केवल गुरु पनि भनिन्छ किनभने उनले गुरु शिष्य सम्प्रदाय प्रारम्भ गरेका हुन् ।
महाभारतमा गुरु बृहस्पतिले इन्द्रलाई व्यवहार सम्बन्धी जुन उत्कृष्ट ज्ञान दिएका छन्, त्यसबाट गुरु बृहस्पतिको महत्ता थाहा हुन्छ । उनको ज्ञानलाई सम्मान दिन सप्ताहको एउटा वारलाई उनको नाम दिइएको छ ।
सेनानीहरुमा स्कन्द म हूँ । स्कन्दलाई देवताहरुको सेनापति भनिन्छ । जसले असुरहरु माथि विजय प्राप्त गर्ने युद्धको नेतृत्व गरेका थिए । तारकासुरलाई ब्रह्माको के वरदान थियो भने ऊ भगवान् शंकरको पुत्रबाट मात्र मर्न सक्छ । तर शंकर काम विजय गरेर तपस्यारत थिए। देवताहरुले महादेवलाई प्रसन्न गराई कामदेवको मद्दतले शिवलाई वैराग्यबाट विरत बनाए। यस पछि उनको जन्म भएको हो । उनले सधैं युद्धको नेतृत्व गरे । आफ्नो लागि केही चाहेनन् र अन्तमा युद्धको त्याग गरेर तपस्यारत भए ।
दक्षिण भारतमा स्कन्दका प्रशस्त मन्दिरहरु पाइन्छन् । उनलाई मुरुगन वा सुब्रह्मण्यम पनि भनिन्छ । इन्डोनेशिया र बालीमा पनि कार्तिकेयका मूर्ति पाइन्छन् ।
जलाशयहरुमा सागर हूँ । सागरको सानो रुप पोखरी हो भने पोखरीको विशालतम रुप सागर हो । उदाहरणका लागि क्यास्पीयन समुद्र वास्तवमा एक विशाल पोखरी हो जुन रुस युरेशिया महादेश भित्र रहेको छ । गोसाईं कुण्ड जलाशयको सानो रुप हो ।


महर्षीणां भृगुरहं गिरामस्म्येकमक्षरम् ।
यज्ञानां जपयज्ञोऽस्मि स्थावराणां हिमालयः ।।२५।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

महर्षीणाम् (महर्षिहरुमा) अहम् (म) भृगुः (भृगु) गिराम् (वाणीमा) एकम् अक्षरम् (एक अक्षर) अस्मि (हूँ) यज्ञानाम् (यज्ञहरुमा) जपयज्ञः (जपयज्ञ) स्थावराणाम् (स्थावरहरुमा) हिमालयः (हिमालय) अस्मि ( हूँ) ।
महर्षिहरुमा भृगु म हूँ । वाणीमा एकाक्षर ॐ म हूँ । यज्ञहरुमा जपयज्ञ म हूँ । स्थावरहरुमा हिमालय म हूँ ।। २५ ।।

सप्तर्षि मध्येका एक महर्षि भृगुलाई शिल्पशास्त्रका रचयिता र ज्योतिष सिद्धान्त प्रवर्तक भनिन्छ । उनले ब्रह्मा, विष्णु र भगवान् शिवको परीक्षा गरेका थिए भनिएको छ । यस परीक्षाबाट उनले ब्रह्माको पूजा नहुने, शिवको लिंग रुपमा मात्र पूजा हुने तथा विष्णुलाई श्रेष्ठतम देवको रुपमा पूजा हुने घोषणा गरेका थिए भनिएको छ ।
वाणीमा एक अक्षर हूँ । ॐ नाश नहुने भएकोले परम अक्षर हो । ॐ भित्र सबै भाषा पर्ने भए पनि यो शब्द अक्षर, शब्द वा भाषा सबैभन्दा यो फरक छ । यस एक अक्षरबाट वेद, उपवेद, ब्राह्मण उपनिषद्, दर्शन, र वेदका छ अंगको विस्तार भएको छ अर्थात् यसैबाट आजसम्मको विद्या र विज्ञानको विकास भएको छ । त्यसैले यो सर्वोच्च अक्षर पनि हो ।

 
चित्र १०.१ ओंकार तथा ज्ञानको विस्तार


जप यज्ञ म हूँ । नाम संकीर्तन, सस्वर पाठ गर्नु, हातमा माला लिएर त्यस आधारमा होंठ चलाएर हल्का साँसमा जप गर्नु र मानसिक जप गर्नु जप यज्ञका उदाहरण हुन् । यसमध्ये जप यज्ञको विशिष्ट उदाहरण हो– मनमनै निरन्तर जप गर्नु । एकाग्रतापूर्वक यस्तो जप गर्नु फलदायक बताइएको छ । जप यज्ञलाई जसले पनि जुनसुकै अवस्थामा गर्न सक्छ ।
स्थावरहरुमा हिमालय । हिमालय विश्वको सर्वोच्च शिखर भएको हिमशृङ्खला मात्र होइन, यो सबैभन्दा सुन्दर र विशिष्टतायुक्त छ । सबभन्दा बढी स्थिर छ । पृथ्वीको सबभन्दा पुरानो पहाडमध्ये मानिन्छ ।


अश्वत्थ सर्ववृक्षाणां देवर्षीणां च नारदः ।
गन्धर्वाणां चित्ररथः सिद्धानां कपिलो मुनिः ।।२६।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

अश्वत्थ (पीपलको वृक्ष) सर्ववृक्षाणाम् (सम्पूर्ण वृक्षहरुमा) देवर्षीणाम् च नारदः (तथा देवर्षिहरुमा नारद), गन्धर्वाणाम् चित्ररथः (गन्धर्वहरुमा चित्ररथ) सिद्धानाम् कपिलो मुनिः सिद्धहरुमा कपिलमुनि हूँ) ।
सम्पूर्ण वृक्षहरुमा पीपलको वृक्ष तथा देवर्षिहरुमा नारद हूँ, गन्धर्वहरुमा चित्ररथ, र सिद्धहरुमा म कपिलमुनि हूँ ।।२६।।


उच्चैःश्रवसमश्वानां विद्धि माममृतोद्भवम् ।
ऐरावतं गजेन्द्राणां नराणां च नराधिपम् ।।२७।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

अश्वानाम् (अश्वहरुमा) अमृत उद्भवम् (अमृत मन्थनबाट उत्पन्न) उच्चैःश्रवसम् (उच्चैःश्रवा नाम गरेको) (ऐरावत) गजेन्द्राणाम् (श्रेष्ठ हात्तीहरुमा) ऐरावतम् च (तथा) नराणाम् (मानिसहरुमा) नराधिपम् (नराधिप, राजा) माम् विद्धि (मलाई जान) ।
अश्वहरुमा अमृतमन्थन गर्दा निस्केको उच्चैःश्रवा मलाई जान, श्रेष्ठ हात्तीहरुमा ऐरावत मानिसहरुमा म नराधिप हूँ ।। २७ ।।


आयुधानामहं वज्र धेनूनामस्मि कामधुक् ।
प्रजनश्चास्मि कन्दर्पः सर्पाणामस्मि वासुकिः ।।२८।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

आयुधानाम् (हतियारमा) अहम् (म) वज्र (वज्र) अस्मि (हूँ) धेनूनाम् (गाईहरुमा) कामधुक् (कामधेनु) च (तथा) प्रजन ः (प्रजननका लागि) कन्दर्पः (कामदेव) अस्मि (हूँ) सर्पाणाम् (सर्पहरुमा) वासुकिः (वासुकी) अस्मि (हूँ) ।
हतियारमा म वज्र हूँ, गाईहरुमा कामधेनु, र प्रजननका लागि कामदेव हूँ । सर्पहरुमा म वासुकी हूँ ।। २८ ।।


अनन्तश्चास्मि नागानां वरुणो यादसामहम् ।
पितृणामर्यमा चास्मि यमः संयतामहम् ।। २९ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

नागानाम् (नागहरुमा) अनन्तः (अनन्त, शेष) अस्मि (हुँ) यादसाम् (जलचरहरुमा) वरुणः (जलदेवता वरुण) पितृणाम् (पितृहरुमा) च (तथा) अहम् (म) अर्यमा (अर्यमा) च (तथा) संयताम् (हुकुम चलाउनेहरुमा) अहम् (म) यमः (यमराज) अस्मि (हूँ) ।
नागहरुमा म अनन्त नाग हूँ, जलचर प्राणीहरुमा वरुण तथा पितृहरुमा अर्यमा हूँ, हुकुम चलाउने अर्थात् शासन गर्नेहरुमा यमराज म नै हूँ ।।२९।।


प्रह्लादश्चास्मि दैत्यानां कालः कलयतामहम् ।
मृगाणां च मृगेन्द्रोऽहं वैनतेयश्च पक्षिणाम् ।।३० ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

च (तथा) दैत्यानाम् (दैत्यहरुमा) प्रह्लादः (प्रह्लाद) अस्मि (हूँ) कलयताम् (कलन गर्नेहरुमा, हिसाबराख्नेहरुमा) कालः (काल) च (तथा) मृगाणाम् (पशुहरुमा) मृगेन्द्रः (सिंह) अहम् (म) च (र) पक्षिणाम् (पक्षीहरुमा) वैनतेयः (विनता पुत्र गरुड) अहम् (म हूँ) ।
दैत्यहरुमा म प्रह्लाद हूँ तथा कलन अर्थात् हिसाब गर्नेहरुमा काल (समय) हूँ, पशुहरुमा सिंह, र पक्षीहरुमा विनतापुत्र गरुड म हूँ ।। ३० ।।

भगवान् श्रीकृष्णले ईश्वरको शक्तिलाई बुझाउन ठीक त्यसै गरी संकेत गर्नु भएको छ, जसरी कसैले औंलोले सूर्यतर्फ ईशारा गर्छ । वृक्षहरुमा म पीपल हूँ ।
पीपललाई धार्मिक र स्वास्थ्यका दृष्टिले सर्वोत्तम मानिएको छ। पीपल मुख्यतः दक्षिण एशियामामा पाइने वृक्षको प्रजाति हो । यसलाई हिन्दु, बौद्ध र जैन धर्ममतहरुमा ठूलो सम्मान प्राप्त छ । बुद्धले यसैको मुनि समाधि पाएको हुनाले यसलाई बोधिवृक्ष पनि भनिन्छ । शीतलता प्रदान गर्ने दृष्टिले पनि यो वृक्ष विशेष छ । आयुर्वैदिक दृष्टिले पनि यसको विशेष महत्त्व छ । नेपालमा बर तथा पीपल लगाइ दिएर चौपारी लगाउने काम गर्दा विशेष पुण्य प्राप्त हुन्छ भन्ने मान्यता रहिआएको छ ।
देवर्षिहरुमा नारद ऋषि श्रेष्ठ नारदलाई वेद र उपनिषद्का मर्मज्ञ, देवताहरुद्वारा सम्मानित, इतिहास पुराणका विशेषज्ञ, न्याय र धर्मका तत्त्वज्ञ, शिक्षा, व्याकरण, आयुर्वेद, ज्योतिषका विद्वान, सङ्गीत विशारद, प्रभावशाली वक्ता, नीतिज्ञ र बृहस्पति जस्ता महाविद्वान्का शङ्काहरुको समाधान दिनसक्ने क्षमता भएका, सर्वहितकारी र सजिलै सर्वत्र पुग्न सक्ने व्यक्ति भएको बताइएको छ । नारदलाई देवर्षि भनिन्छ । भागवतमा उनलाई दासीपुत्र बताइएको छ । चार वर्षमा नै उनी सन्न्यासी भए । मानव इतिहासमा यति सानो उमेरमा सन्न्यासी भएको यो मात्र उदाहरण हो । उनले रचना गरेको नारद स्मृतिको आधारमा नेवारीमा लेखिएको मानव न्याय शास्त्र विश्वको सबभन्दा पुरानो लिखित कानूनको पुस्तक मानिन्छ ।
गन्धर्वहरुमा म चित्ररथ हूँ । गन्धर्वहरुका राजा चित्ररथलाई दिव्य संगीत विद्यामा पारंगत बताइएको छ । सिद्धहरुमा म कपिलमुनि हूँ । धर्म, ज्ञान र एैश्वर्यका श्रेष्ठ गुण सम्पन्न सबै मानिसहरुलाई सिद्ध भनिन्छ । यी सिद्धहरुमा कपिलमुनि सर्वश्रेष्ठ छन् ।
अश्वहरुमा उच्चैःश्रवा तथा श्रेष्ठ हात्तीहरुमा ऐरावत हूँ । उच्चैश्रवाः अर्थात् लामा कान भएको घोडा तथा ऐरावतको अर्थ हुन्छ श्रेष्ठतम हात्ती, यसलाई पुराणमा सेतो रंगको बताइएको छ ।
महाभारत कथा अनुसार यी दुवै अमृत मन्थनबाट प्राप्त रत्न हुन् । त्यसैले श्रेष्ठ छन् । समुद्र मन्थनबाट प्राप्त घोडा र हात्ती दुवै पशुरत्न देवताहरुको राजा इन्द्रलाई प्रदान गरिएको थियो । ठुल्ठूला युद्धमा मानव समाजलाई यी घोडा र हात्ती दुवैले निकै सहयोग पुर्‍याएका छन् ।
[२]
गाईहरुमा म कामधेनु हूँ । कामधेनु पनि समुद्र मन्थ्नबाट प्राप्त गरिएको हो र यसलाई स्प्तऋषिहरुलाई उपहार दिइएको हो । कामधेनु यस्ती गाई हुन् जसले आफ्ना सेवकको सबै इच्छा पूरा गर्छिन । मानव समाजको समग्र विकासमा गाईको ठूलो योगदान मानिन्छ । गाईवस्तुका लागि प्रयोग हुने अंग्रेजी शब्द क्याटलबाट नै क्यापिटल (अर्थात् धन वा पूँजी) शब्द बनेको मानिन्छ । त्यसैले प्राचीन अर्थव्यवस्थालाई स्मृतिकारहरुले कृषिगोरक्षवाणिज्य नामकरण गरेका छन् ।
मानिसहरुमा नराधिप अर्थात् राजा हूँ । धर्म, अर्थ, र कामको उपलब्धिका लागि शान्ति सुरक्षायुक्त राज्य चाहिन्छ । यसको निर्धारक राज्यको सर्वोच्च कार्यकारी राजा हुन्छ ।
अकबरले बीरबललाई सोधे – बीरबल सबै वस्तुहरुको मूल्य हुन्छ । त्यसैले मलाई मेरो मूल्य पनि जान्ने इच्छा भयो ।
बीरबलले भने – हस् । मैले हजुरको मूल्य जाँच गर्ने व्यवस्था मिलाउँछु ।
उसले आगराका सबै व्यापारीहरुलाई बोलाएर दरबारमा भने – बादशाह अकबरलाई आफ्नो मूल्य जान्ने इच्छा भयो । तपाईंहरुले त्यो पत्ता लगाइदिन पर्यो ।
व्यापारीहरु हडबडाए । अन्तमा सबैले सल्लाह गरेर भने – सरकार, कोषमा भएका सबै सुनका सिक्काहरु एउटा कोठामा राख्नुहोस् अनि हामीले पत्ता लगाउँछौं ।
टकसारका कर्मचारीहरुले सबै सुनका सिक्का कोठामा थुप्रो लगाए ।
दुई तीन दिन कोशिश गरे पछि उनीहरुले अकबरलाई बोलाएर एउटा सिक्का देखाउँदै भने– सरकार हजुरको मूल्य यही हो ।
अकबरले रिसाएर भने– मेरो मूल्य जम्मा एउटा सिक्का ?
व्यापारीले भने– सरकार यो सिक्का मामूली छैन । यसलाई हामी सबै व्यापारीहरुले तीन दिनसम्म तौलेर अलग गरेका हौं । हेर्दा अरु सिक्का जस्तै छ तर यसको तौल अलिकति बढी छ । त्यसै गरी तपाईं अरु जस्तै देखिए पनि फरक हुनुहुन्छ, जसलाई केवल पारखीहरुले पत्ता लगाउन सक्छन् ।
मनुस्मृति, कौटिलीय अर्थशास्त्र लगायत राजधर्मका ग्रन्थहरुमा राजा जितेन्द्रिय, प्रजाको सुखमा आफ्नो सुख सम्झने, धर्मको रक्षक, निर्धोको सुरक्षा र दुष्टलाई दण्ड दिने, योग क्षेमको संस्थापक बताइएको छ ।
हतियारहरुमा कठोरतम हतियार वज्र म हूँ देवताहरुको राजा इन्द्रको हतियार वज्र हो । यसलाई हतियारहरुमा कठोरतम मानिएको छ । यसमा दधिचिका तप र त्यागको शक्ति समेत मिसिएको कथामा उल्लेख छ ।
प्रजननका लागि म कन्दर्प अर्थात् कामदेव हूँ । यो शब्द कम् र दर्पले बनेको छ । कम् को अर्थ हो प्रेम र दर्पको अर्थ भरिपूर्ण । प्रजननका लागि कन्दर्पको अर्थ हो सृष्टिको आधार । जीवशास्त्रमा जीव निरन्तताको स्थायी आधार प्राणीमा रहेको काम भाव बताइएको छ । पशु पक्षी सबै ऋतुकालमा प्रेमले पूर्ण भएका हुन्छन् । भमराले फूलसँग गरेको भरिपूर्ण प्रेमले नै त्यसमा फल लाग्छन् । गीता ७.११ अनुसार कन्दर्पमा ईश्वरीय अंश हुनका लागि यो धर्मको अविरुद्ध हुनु पर्छ ।
सर्पहरुमा वासुकी र नागहरुमा अनन्त नाग अर्थात् शेष नाग हूँ । नाग र सर्प दुवै सरिसृपहरुमा गीतामा अन्तर गरिएको छ । पानीमा बस्नेलाई नाग र जमीनमा पनि बस्नेलाई सर्प भनिएको छ । सर्प र नागलाई ईश्वरको रुप बताएर गीताले इकोसिस्टममा सर्पको महत्त्व स्पष्ट गरेको छ भन्न सकिन्छ । जलचर प्राणीहरुमा वरुण म हूँ । वरुणको अर्थ हो पानी । जलचरको अस्तित्व जसरी वरुणमा भर भर पर्छ , त्यसै गरी सृष्टिको अस्तित्व ईश्वरमा भर पर्छ ।
पितृहरुमा म अर्यमा हूँ । पितृको संख्या सात बताइएको छ– कव्यवाह, अनल, सोम, यम, अर्यमा, अग्निस्वात्त, बर्हिषद् । यसमा अर्यमा प्रमुख बताइएका छन् । गीता ११.२२ मा पितृलाई ऊष्मपा भनिएको छ ।
नियममा राख्नेहरुमा यमराज म हूँ । बार्हस्पत्य अर्थसूत्रमा भनिएको छ– दण्ड दिँदा राजाले यमराजको रुप लिन्छ । यमराज सर्वोच्च दण्डधारक हुन् ।
युवराज भोजका पिताको मृत्यु पछि उनका काकाले बालक भोजको हत्या गरेर आफू राजा हुने षडयन्त्र गरे । जंगलमा गएर भोजको सिर काटेर रगताम्य तरबार देखाउन वधिकहरुलाई अह्राए ।
बालक भोजले एउटा कविता लेखेर आफ्ना काकालाई दिन भने । त्यसमा लेखिएको थियो– संसारमा अनेक ठूला राजा भए । उनीहरु आए, गए । उनीहरुको राजपाठ यहीं रह्यो । तर हजुर अलि विशेष हुनुहुन्छ । सायद मृत्यु पछि यस राजपाठलाई साथमा लिएर जानु हुन्छ होला ।
यो पढे पछि काकालाई आफ्नो गलती थाहा भयो । भतिजा भोजलाई राजमहल ल्याउन भने ।
अरु सबै नियामक यमराजको शक्तिले कार्य गर्छन् ।
दैत्यहरुमा म प्रह्लाद हूँ । दितिका सन्तान दैत्य हुन् । त्यस कुलका प्रह्लाद न्यायप्रिय, धर्मपरायण र सत्यको पक्षमा अडिगको रुपमा विख्यात छन् ।
कालको पनि कलन गर्ने म हूँ । कलनम् को मूल धातु हो कल् । यसको अर्थ हुन्छ हिसाब राख्नु, गन्नु, अवलोकन गर्नु, सहन गर्नु, वा समाउनु । त्यसैले यहाँ कलनको अर्थ हो ठीक बेठीक, पाप पुण्य हिसाब राख्नु र सो अनुसारको फल प्रदान गर्नु । भूत, वर्तमान र भविष्य तीनै कालको हिसाब किताब गर्ने । गीता ११.३२ मा यसैलाई महाकाल शब्द प्रयोग गरिएको छ ।
पशुहरुमा सिंह म हूँ । सिंहको बारेमा एउटा उक्ति प्रसिद्ध छ– सिंहको कसैले अभिषेक वा संस्कार गर्दैन । सिंह आफैंले आफूलाई जंगलको राजा घोषित गरेको हुन्छ ।
पक्षीहरुमा गरुड म हूँ । गरुडलाई पक्षीहरुको राजा भनिन्छ । गरुडले अन्य पक्षीहरुको रक्षा गरेको कथा पञ्चतन्त्रमा दिइएको छ । गरुडका अनेक विशेषता हुन्छन् । आफ्ना बच्चालाई अग्लो बाट खसालेर उड्न सिकाउँछ, वृद्ध भए पछि नंग्रा र चुच्चो भाँचेर फेरि युवावस्था प्राप्त गर्छ ।


पवनः पवतामस्मि रामः शस्त्रभृतामहम् ।
झषाणां मकरश्चास्मि स्रोतसामस्मि जाह्नवी ।।३१।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

पवनः (पवित्र गर्नेहरुमा) पवताम् (वायु) अस्मि (हूँ) शस्त्रभृताम् (शस्त्रधारीमा) रामः (राम) अहम् (हूँ) झषाणाम् (माछाहरुमा) मकरः (गोही) अस्मि (हूँ) च (तथा) स्रोतसाम् (जलस्रोतहरुमा) जाह्नवी (गंगा) अस्मि (हूँ) ।
पवित्र गर्नेहरुमा म वायु, शस्त्रधारीहरुमा राम, माछाहरुमा मकर (गोही), र नदिका मुहानहरुमा गंगा हूँ ।।३१।।

वायुले वातावरणको स्वच्छता कायम राख्छ । यति मात्र होइन वायुले शरीरको रगत स्वच्छ बनाउँछ र स्वास्थ्य रक्षा गर्छ । त्यसैले पवित्र गर्नेहरुमा वायु भनिएको हो । माछाहरुमा गोही हूँ । गीतामा झ अक्षर को सम्बन्धमा विशेष कुरा के भने यो केवल एक ठाउँमा, झषाणाम् मा प्रयोग भएको छ ।
शस्त्रधारीहरुमा राम । मर्यादा पुरुषोत्तम राम र भगवान् कृष्ण दुवैलाई भगवान् विष्णुको अवतार भनिन्छ । रामले शस्त्र धारण गरेको अन्याय र दुष्कृत्यबाट साधुजनको रक्षाका लागि हो भनिएको छ ।
नदिहरुमा गंगा हूँ । कुनै पनि पवित्र नदीलाई गंगा भनिन्छ । भागीरथी गंगाको पवित्रताको व्याख्या महाभारत र केही पुराणमा वर्णित छ । यस गंगालाई भगीरथले स्वर्गबाट पृथ्वीमा अवतरण गराएका थिए । तर अवतरण गर्नका लागि भगवान् शिवले गंगालाई आफ्नो सिरमा थाप्नु परेको थियो । आज पनि भगवान् शिवको सिरमा गंगा नदी बनाइन्छ ।
संसार भरि पवित्र नदीहरुको विवरण पाइन्छ । गङ्गा बाहेक यमुना, सरस्वती, नर्मदालाई भारतमा पवित्र मानिन्छ । नेपालमा गण्डकी, बागमती, पेरुमा उरुम्बा, जोर्डानमा जोर्डान, सं रा अमेरिकामा कोलम्बिया नदी, न्युजी ल्यान्डमा ह्वाङ्ग नुई पवित्र नदी मानिएका छन् ।


सर्गाणामादिरन्तश्च मध्यं चैवाहमर्जुन ।
अध्यात्मविद्या विद्यानां वादः प्रवदतामहम् ।।३२।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

सर्गाणाम् (सृष्टिको) आदिः अन्तः च मध्यम् च (आदि, मध्य र अन्त) एव (नै) अहम् (म) अर्जुन (हे अर्जुन) अध्यात्मविद्या (अध्यात्मविद्या) विद्यानाम् (विद्याहरुमा) प्रवदताम् (विवाद समाधानमा) वादः (वाद) अहम् (म हूँ) ।
हे अर्जुन, सृष्टिको आदि, मध्य र अन्त म नै हूँ । विद्याहरुमा अध्यात्मविद्या हूँ । विवाद समाधानमा वाद म हूँ ।।३२।।

विवाद समाधानमा वाद म हूँ ।तर्कका तीनवटा विधि मानिन्छ– वाद, जल्प र वितण्डा । अर्काको कुरालाई कुतर्क प्रस्तुत गरी गलत सिद्ध गर्नुलाई वितण्डा भनिन्छ । आफ्नो कुरालाई मात्र सही सिद्ध गर्न उचित अनुचित सबै तर्क प्रयोग गर्नुलाई जल्प भनिन्छ । तर तत्त्व निर्णयका लागि सम्मानपूर्वक छलफल गरेर धैर्यसाथ निष्कर्ष प्राप्त गर्नुलाई वाद भनिन्छ । जल्प र वितण्डाले क्रोध र द्वेष बढाउँछन् भने वादले सम्मानपूर्वक समस्या समाधान प्रदान गर्छ ।
विद्याहरुमा अध्यात्म विद्या हूँ । विद्याको सोझो अर्थ हो विज्ञान । यो विद् धातुबाट बनेको छ। जसको अर्थ हुन्छ ठीक ठीक जानकारी प्राप्त गर्नु । कुनै घटना किन भयो त्यसको सम्यक् जानकारी । वेद र विद्याको मूल धातु एउटै हो । ज्ञान र दर्शनलाई पनि विद्या भनिन्छ। विद्याको उद्देश्य असत्यबाट सत्यतिर, अन्धकारबाट उज्यालो तिर, तथा मृत्युबाट अमरतातिर लैजानु हो । यसले अर्थ, काम, धर्म, र मोक्ष प्रदान गर्छ । त्यसैले विद्याले मुक्ति पनि प्रदान गर्छ । गीता ब्रह्मविद्या हो ।
कौटिलीय अर्थशास्त्रमा दिइएको दर्शनको परिभाषा पनि ब्रह्मविद्यासँग मिल्छ, यस अनुसार


प्रदीपः सर्वविद्यानामुपायः सर्वकर्मणाम् ।
आश्रयः सर्वधर्माणां शश्वदान्विीक्षिकी मता ः।। १.२.१२ ।।
यो (आन्वीक्षिकी) विद्याले सबै विद्यालाई प्रकाशित गर्छ (बुझाउँछ), सबै कामहरुको उपाय बताउँछ, र सबै धर्मको आश्रयदाताको रुपमा छ ।


अक्षराणामकारोऽस्मि द्वन्द्वः समासिकस्य च ।
अहमेवाक्षयः कालो धाताहं विश्वतोमुखः ।। ३३ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

अक्षराणाम् अकारः (अक्षरहरुमा अकार) च (तथा) द्वन्द्वः समासिकस्य (समासमा द्वन्द्व) अहम् एव (म नै) अक्षयः कालः (अक्षय काल) अहम् (म) विश्वतोमुखः (विश्वतोमुख) धाता (विधाता, कर्मफलको विधान गर्ने) अस्मि (हूँ)।
म अक्षरहरुमा अकार हूँ । समासमा द्वन्द्व हूँ । अक्षय काल र विश्वतोमुख धाता म नै हूँ ।।३३।।

अक्षरहरुमा अकार हूँ । भाषा विज्ञानको दृष्टिले पहिलो अक्षर (उच्चारण) त्यो हुनुपर्छ, जसको उच्चारणले मुख खुल्छ । अ, उ र मले बनेको ॐकारको पहिलो अक्षर अ हो । यस दृष्टिले पहिलो उच्चारण, आदि अक्षर, अ हो । नेपाली भाषाका स्वर र व्यञ्जन मात्र होइन, अंग्रेजी र उर्दूको प्रथम अक्षर पनि अ नै हो । को अल्फाबेटको पहिाले अक्षर ए, ऊर्दूको कायदाको पहिलो अक्षर अगिलपथ यी सबै अककर नै हुन् । यो भनेर भगवान्ले आफूलाई प्रत्येक कुराको आदि कर्ता घोषणा गर्नु भएको छ ।
देवनागरीमा अ को अझ अर्को महत्त्व पनि छ, अ अक्षर प्रत्येक व्यञ्जन वर्णमा लुकेको हुन्छ । जसरी हरेक अक्षर भित्र अ लुकेको छ, त्यसै गरी ईश्वरको प्रत्येक वस्तु भित्र लुकेको छ । अक्षरमा अकार हूँ भन्नुको रहस्य यही हो ।
अग्नि पुराणको एकाक्षर कोष अध्याय ३४८ अनुसार अ भगवान् विष्णुको नाम हो । अन्य अक्षरहरुमा क्रमशः आ ले ब्रह्मा, इ ले काम र अर्थ, ई ले लक्ष्मी, उ ले शिव, ऊ रक्षक वाचक, ऋ शब्दको वाचक, ऋ अदिति, लृ दिति र कुमार कार्तिकेत, ए देवीको, एै योगिनीको, ओ ब्रह्माको औ महादेवको, अं कामको वाचक हो । अः ले श्रेष्ठता व्यक्त गर्छ । यसै गरी क देखि क्ष सम्म प्रत्येक अक्षर कुनै न कुनै देवताको प्रतीक हो ।
समासमा द्वन्द्व हूँ । समास एक व्याकरणीय अवधारणा हो । दुईवटा शब्द जोडिन गए भने त्यसलाई समास भएको भनिन्छ । संस्कृत भाषामा अव्ययी भाव, तत्पुरुष, द्वन्द्व, र बहुब्रीही गरी चार प्रकारका समास हुन्छन् । प्रथम पदलाई बढी महत्त्व दिने समासलाई अव्ययी भाव भनिन्छ, जस्तै प्रतिदिन । तत्पुरुषमा पछिल्लो पदलाई विशेष महत्त्व दिइन्छ– जस्तै वनवास। बहुब्रीहिमा दिइएका शब्दभन्दा फरक अर्थ प्रधान हुन्छ, जस्तै देवकीनन्दन (अर्थात् वासुदेव) ।दुवै पदलाई बराबर महत्त्व दिने समासलाई द्वन्द्व भनिन्छ, जस्तै मातापिता, राम–श्याम, ब्रह्म–जगत । द्वन्द्व समासमा भनिएका दुवै शब्दलाई जता राखेर भने पनि अर्थ उही हुन्छ ।
द्वन्द्वको अर्को अर्थ पनि छ । दुई विपरीत । जीवन दुई विपरीतको संयोग हो । भगवान् शिवको परिवारमा यसको उदाहरण पाइन्छ । मुसो, सर्प र गरुड मात्र होइन गोरु र सिंह पनि शिव परिवारका सदस्य हुन् । प्रत्येक एक अर्काको विपरीत छ । यिनै विपरीत शक्तिको मेलबाट जीवनमा सन्तुलन आउँछ ।
कालको पनि काल, अक्षय काल, विश्वतोमुख र कर्मफलको विधान कर्ता म नै हूँ । कालको पनि काल, समयको पनि कलन गर्ने अक्षय काल मात्र होइन, सर्वत्र, सबैको कर्मफल अनुसारको फल दिने विधाता पनि म नै हूँ । विश्वतोमुखको अर्थ हो जताततै मुख भएको । यस संसारमा जे छ त्यस प्रत्येक कुरामा ईश्वर छ ।


मृत्युः सर्वहरश्चाहमुद्भवश्च भविष्यताम् ।
कीर्तिः श्रीर्वाक्च नारीणां स्मृतिर्मेधा धृतिः क्षमा ।। ३४ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

च (तथा) अहम् (म) सर्वहरः (सबैको नाश गर्ने) मृत्युः (मृत्यु) च (तथा) भविष्यताम् (भविष्यमा) उद्भवः (उत्पन्न हुने कारण हूँ) नारीणाम् (नारीहरुमा) कीर्तिः (कीर्ति) श्रीः (श्री), वाक् (वाक्, वाणी) च (तथा) स्मृतिः (स्मृति) मेधा (मेधा) धृतिः (धृति), क्षमा (क्षमा हूँ) ।
म सबैको नाश गर्ने मृत्यु र भविष्यमा उत्पत्तिको कारण म हूँ । नारीहरुमा कीर्ति, श्री, वाक्, स्मृति, मेधा, धृति, र क्षमा हूँ ।।३४।।

भगवान् श्रीकृष्णले आफूलाई सबै कुराको समाप्तिको कारण मात्र होइन भविष्यमा उत्पत्तिको कारण पनि आफूलाई बताउनु भएको छ । आधुनिक चिकित्सा विज्ञानले पनि के कुरा स्वीकार गरेको छ भने मृत्यु नाश गर्ने मात्र होइन भावी उत्पत्तिको कारक तत्त्व पनि हो ।
नारीहरुका सात गुण म हूँ । नारीहरुमा कीर्ति, श्री, वाक्, स्मृति , मेधा, धृति र क्षमा हूँ । व्याकरणका दृष्टिले समेत यी सबै शब्द स्त्रीलिंगी हुन् । यी सबै स्त्रैण गुण हुन् ।
नारी गुणको अर्थ हो नारीसौन्दर्यको त्यो गुण जसमा नारी पूर्णरुपमा व्यक्त हुन्छ । यहाँ बताइएका गुण नारी सुन्दरताका पूर्वीय अवधारणा हुन् । बाह्य सौन्दर्यलाई सुन्दरताको गौण पक्ष मानिएको छ ।
कीर्तिको अर्थ हो यश, प्रसिद्धि, अनुग्रह, अनुमोदन । कीर्तिले नारी सौन्दर्यको सबभन्दा महत्त्वपूर्ण जुन भावलाई व्यक्त गर्छ, त्यो हो मातृ भाव । आचार्य रजनीशले भनेका छन्– पुरुषमा काम वासना तिरोहित हुँदा ब्रह्मचर्य फलित हुन्छ भने स्त्रीमा वासना तिरोहित हुँदा कीर्ति फलित हुन्छ । स्त्रीको ब्रह्मचर्य पुरुषको भन्दा फरक हुन्छ ।
स्त्रीमा भएको मातृत्व भाव नै उसको कीर्ति गुण हो । देवीको पूजा गर्दा भन्ने गरिन्छ– या देवी सर्व भूतेषु मातृरुपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमोनमः । महात्मा गान्धीले मातृत्वलाई नारी को वास्तविक सौन्दर्य भनेका छन् । नारीहरुको पूर्णता मातृत्वमा नै निहित हुन्छ ।
श्रीको अर्थ हो तेज । लक्ष्मी, सौन्दर्य, लालित्य, सम्मान, अर्थ, काम, र धर्मको समन्वयलाई पनि श्री भनिन्छ । श्री गुण नारी
सौन्दर्यको त्यो गुण हो जसले नारी को तेज व्यक्त हुन्छ । जतिसुकै विकसित भए तापनि मातृत्व भावमा नारीत्व बाँकी नै रहन्छ । तर जुन बेला नारीले आफू नारी भएको पनि बिर्सन्छन्, अनि त्यसलाई नारी सौन्दर्यको श्री गुण भनिएको हो । मीरामा यस्तो गुण विकसित भएको थियो । योगमायाका निर्गुण भजनमा यस गुणको रुपरेखा देख्न पाइन्छ । त्यसैले भगवान् कृष्णले भन्नु हुन्छ, नारीहरुमा म श्री हूँ ।
नारी सुन्दरताको अर्को गुण हो वाक् । वाक् संस्कृतको वच् शब्दले बनेको छ जसको अर्थ हो वाणी, कुरा, अथवा भाषा । जुन वचन सत्य, प्रिय र हितकारक हुछ, त्यो मात्र वाणी हो। तर यहाँ वाक्को अर्थ वाकपटुता वा कुराकानी होइन, मौन हो । सुन्दरतम वाणी नबोलीकन व्यक्त हुन्छ । जब वाणी पूर्णतया शान्त हुन्छ, अनि सुन्दरतम ऋचा तयार हुन्छन् ।
भामतीको जीवन यस गुणको उदाहरण हो । वाचस्पती मिश्रको विवाह सानैमा विवाह भएको थियो । पढाई सकेर घर फर्किएपछि उनले वेदान्त दर्शनको प्रमुख ग्रन्थ ब्रह्मसूत्रको टीका लेख्न सुरु गरे ।
टीका लेख्न सुरु गर्नु अघि उनले आमालाई आफ्नो टीका पूरा नभएसम्म कसैले अवरोध नगरोस् भनी अनुरोध गरे । उनकी वृद्धा माताले बुहारी भामतिलाई छोराको काममा सहयोग गर्न निर्देश दिइन् । भामतिले सासुको आज्ञा अनुसार लेखन कार्यमा पतिलाई सम्पूर्ण सहयोग गर्न थालिन् । ब्रह्मसूत्रको टीका लेख्दै गर्दा कति एकाग्र हुन पुगे भने उनीलाई रात दिन केही थाहा थिएन । कसले सेवा गरिरहेको छ, त्यो पनि थाहा थिएन । यसरी टीका लेख्दा ३० वर्ष भयो ।
एक रात टीका लेख्दालेख्दै बत्तीको तेल सकियो साथै वाचस्पती मिश्रको टीका पनि समाप्त भयो । बत्ती निभे पछि वाचस्पतीलाई लेख्नमा बाधा परेको ठानी श्रीमती दुखी भइन् र अरु काम छोडेर दियोमा तेल हाल्न थालिन् ।
भर्खरै काम समाप्त गरेका लेखकले ग्रन्थबाट टाउको उठाएर अगाडि उभिएकी महिलालाई हेरेर सोधे– देवी तिमी को हौ?
भुईंमा हेरिरहेकी भामतिले भनिन् देव– म तपाईंकी पत्नी हुँ।
यो सुनेर वाचस्पती मिश्र गहिरो निद्राबाट ब्युझिएँ । फेरि सोधे – देवी, तिम्रो नाम के हो?
उनले लजाउँदै भनिन्– मेरो नाम भामति हो ।
उनको त्याग र सेवाबाट वाचस्पति मिश्र कति प्रभावित भए भने उनले तुरुन्तै कलम समाते र ३० वर्षको अथक परिश्रमपछि पूरा भएको त्यस अद्भूत पुस्तकको आवरणमा लेखे ‘भामती’।
त्यस दिन पछि ब्रह्मसूत्रको चर्चा गर्दा जुनबेला वाचस्पतिको तपस्या र साधनाको चर्चा संसारमा गरिन्छ भामतिका अद्भुत त्यागको कथा पनि सँगै हुने गरेको छ ।
नारी सौन्दर्यको अर्को गुण हो स्मृति । स्मृतिको अर्थ हो सम्झना गर्नु, प्रतिस्मरण वा चिन्तन गर्नु। मानिसको बौद्धिक क्षमता स्मृतिमा भर पर्छ ।
यहाँ निर ध्यान दिनु पर्ने कुरा के हो भने नारी को स्मृति पुरुषको भन्दा फरक हुन्छ । नारीको स्मृतिमा पूर्णता हुन्छ तर पुरुषको स्मृति पूर्ण हुँदैन, आंशिक हुन्छ । सन्तान अचानक कुनै दुर्घटनामा परेमा जहाँ र जस्तो अवस्थामा भए पनि आमालाई स्वतः सन्तानको स्मृति हुन्छ । यो अनुभव पिताको रुपमा पुरुषलाई हुँदैन ।
मेधाको अर्थ हो प्रज्ञा वा बुद्धि । स्मृतिमा अन्तर भएकोले नारीबुद्धि र पुरुषबुद्धि फरक हुन्छ। पुरुष बुद्धि तार्किक हुन्छ । आक्रामक हुन्छ । स्त्रैण बुद्धिमा प्रेम हुन्छ । समर्पण हुन्छ । त्यसले भक्ति गुण स्त्रैण हो । यस गुणले गर्दा भक्तिको क्षेत्रमा नारीहरु पुरुषभन्दा अगाडि छन् । धृतिको अर्थ हो धैर्य, आत्मसंयम, दृढता वा स्थिरता । पुरुषको शारीरिक शक्ति बढी हुन्छ तर मानसिक सहन शक्तिमा नारीहरु बढी हुन्छन् ।
संयम र धैर्यको गुण नारीहरुको विशेष गुण हो । नारीको धैर्य अनन्त हुन्छ । यस असीम धैर्य र स्मृतिले गर्दा नारीले दुख एक्लै बेहोर्न सक्छन् । जबकि पुरुषले एक्लै दुख बेहोर्न सक्दैन । भनिन्छ, दुख परेमा नारीले एक्लै सहन गर्छन् तर जब सुख आइपर्छन् उनीहरुले पुरुष खोज्छन् । तर पुरुष यसको विपरीत हुन्छ । दुख पर्दा पुरुषले नारीको साथ खोज्छ र सुख हुँदा उसले एक्लै भोग्न चाहन्छ । यस धैर्य गुणले गर्दा नै नारीले सन्तानको पालन पोषण गर्न सक्छन् ।
खडानन्दले एक दिन बच्चा हेर्नु पर्यो । श्रीमतीलाई बजारमा सामान किन्नु थियो । बाटोमा घुमाउन थाल्यो । आमा नभए पछि बच्चा रुन थाल्यो । खडानन्दले त्यसलाई फुलाउने फकाउने कोशिश गर्यो । तर बच्चा मान्दैन, रोएको रोयै छ । थाके पछि अन्तमा खडानन्दले फकाउन थाल्यो– हे खडानन्द शान्त, शान्त । हेर्, भनेको मान ।
बाटोमा हिँडिरहेकी एक वृद्धालाई खडानन्दको परेशानी देखेर दया लागेछ । बच्चालाई हेरेर सोधिन्– कति मायालु बच्चा रहेछ । बाबाले भनेको किन नमानेको हो बाबु खडानन्द?
खडानन्दले टाउको समाएर भन्यो– बाबुको हैन, मेरो नाम हो खडानन्द । जति फकाउँदा पनि नमाने पछि रिसले मैले आँखा देखेको छैन । यहीं बाटोमा पछारुँ कि जस्तो भएर रीस उम्लिरहेको छ । अब यसलाई फकाउने पालो सकियो । अब मैले आफैंलाई फकाउन थालेको छु हे खडानन्द शान्त भई जा ।
क्षमा गुण पनि नारी सौन्दर्यको विशेष गुण हो । क्षम् शब्दबाट क्षमा बनेको छ । यसको अर्थ हो अनुमति दिनु, क्षमा गर्नु, धैर्य, सहिष्णुता, सहनशीलता ।
कुरुक्षेत्रमा अश्त्थामाले रातिमा द्रौपदीका पाँच पुत्रको टाउको काटेपछि, सन्तानको मृत शरीर देखेर द्रौपदी शोकमग्न भएर विलाप गर्छिन् । उनको विलाप सुनेर भीमले अश्वत्थामालाई समातेर ल्याउँछन् र द्रौपदीका अगाडि अश्वत्थामाको टाउको काट्न तयार हुन्छन् ।
द्रौपदीले रोक्दै भन्छिन्– मेरा पुत्रको मृत्युमा जसरी मैले विलाप गरिरहेकी छु, त्यसै गरी अश्वत्थामाकी आमाले पुत्रका लागि विलाप गरेको मैले देख्न सक्ने छैन । यसलाई मैले क्षमा गरें । द्रौपदीलाई स्त्री पूर्णताको प्रतीक मानिन्छ ।


बृहत्साम तथा साम्नां गायत्री छन्दसामहम् ।
मासानां मार्गशीर्षोऽहमृतूनां कुसुमाकरः ।।३५।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

तथा (तथा) साम्नाम् (गायन गर्ने योग्य श्रुतिहरुमा) बृहत्साम (बृहत्साम) छन्दसाम् (छन्दहरुमा) गायत्री (गायत्री) अहम् (म हूँ) मासानाम् (महिनाहरुमा) मार्गशीर्ष (मंसिर) ऋतूनाम् (ऋतुहरुमा) कुसुमाकरः (वसन्त) अहम् (म हूँ) ।
तथा गायन गर्ने योग्य श्रुतिहरुमा म बृहत्साम, छन्दहरुमा गायत्री, महिनाहरुमा मंसिर, ऋतुहरुमा वसन्त हूं ।।३५।।

वेदहरुमा सामवेद संगीतमय वेद हो । त्यसैले यसका मन्त्रहरुलाई सामगान भनिन्छ। सामवेदलाई संगीतका साथमा गाउनु पर्ने विधान छ । जसले मधुर स्वरले गायन गर्न सक्छ सामवेदको वास्तविक अधिकारी पनि त्यही व्यक्ति मानिन्छ । यसको बृहत् साम मन्त्रमा देवताहरुको राजा इन्द्रसँग अत्यन्त संगीतमय विधिले विजयको कामना गरिएको छ-
त्वमिद्धि हवामहे सातौ वाजस्य कारवः ।
त्वां वृत्रेष्विन्द्र सत्पतिं नरस्त्वां काष्ठास्वर्वतः ।।
हे इन्द्ररुप परमेश्वर, हामीले अन्नवृद्धिका लागि तपाईंको स्तुति गर्छौं । शत्रुबाट आक्रान्त हुँदा सारा प्रयास गर्दा पनि जब हार हुन थाल्छ अनि विवेकशील मानिसहरुले पनि तपाईंको प्रार्थना गर्छन् ।
गीतामा भगवान् श्रीकृष्णले छन्दोबद्ध मन्त्रहरुमा आफूलाई गायत्री मन्त्र बताउनु भएको छ। गायत्री एक छन्द हो जसमा आठ आठ अक्षरका तीन पंक्ति हुन्छन् । विश्वामित्र रचित गायत्री मन्त्र प्रसिद्ध छ ।
गायत्री मन्त्र यस प्रकार छ –
१. ॐ
२. भूः र्भुवः स्वः
३. तत् सवितुः वरेण्यं
४. भर्गो देवस्य धीमहि
५. धियो यो नः प्रचोदयात् ।
तत् सवितुः वरेण्यं । भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात् । यी तीनवटा पद यसको मुख्य भाग हो।
गायत्री मन्त्र कुनै पनि समयमा जप गर्न सकिन्छ, समयको बन्देज छैन । स्नान गर्दा भने गायत्री मन्त्रको विशेष महत्त्व छ । यसबाट मनको चंचलता, व्याकुलता एवं अस्थिरता शान्त हुन्छ । कम्तीमा एकमाला अर्थात् १०८ पटक जप्ने प्रावधान छ । नसेकमा आधा अर्थात् ५४ पटक, यो पनि नसकेमा केवल २७ पटक जप गर्न सकिन्छ । यसको न्यूनतम जप संख्या १० बताइएको छ । जल आचमन र प्राणायाम पूर्वक गरिने जपलाई विधिपूर्वकको जप भनिन्छ ।
इमानुएल कान्टले भनेका छन्– ‘मलाई दुई कुरासंग डर लाग्छ । स्टारी हेभेन (तारामण्डल भएको आकाश) र मोरल कन्शेन्स (विवेक) । अँधेरी रातमा आकाशका अनगन्ती तारा हेरेर मेरो मनलाई जिज्ञासा हुन्छ, तिमी को हौ, जसको आदेशमा यो सारा ब्रह्माण्ड सञ्चालित छ । बालकले भकुण्डो खेलाए झैं यो ब्रह्माण्ड खेलाउँदै छौ । मैले कुनै अनुचित कार्य गरें भने कसैले मलाई भित्रैबाट ठाडै आदेश दिन्छ । त्यो म भित्रै छ र मभन्दा ठूलो छ । मलाई अनुशासनमा राख्छ । मलाई अह्राउँछ ।’
इमानुएल कान्टका यस अनुभूतिको उत्तर गायत्री मन्त्रमा निहित छ । जसले भूः भुवः स्वः समस्त ब्रह्माण्डका त्यस देवताको वरणीय तेजको ध्यान गर्दछ जो हाम्रा बुद्धिको प्रेरणाकर्ता पनि हो ।
गायत्री मन्त्रको मनन गरेमा जीवनमा हठ, घृणा, स्पर्धा र विरोधको स्थान रहँदैन । गायत्रीको महिमाबाट उत्तेजित भाव शान्त हुन्छ र दिव्य एवं मृदुल भावको विकास हुन्छ ।
महिनाहरुमा मंसिर हूँ । कुनै समयमा चान्द्रमासको आधारमा यो महिना वर्षको प्रारम्भ पनि थियो कि? तर यसभन्दा पनि रोचक कुरा के हो भने, मंसिर महिना दक्षिणायनमा पर्छ ।
दक्षिणायनमा कुनै पनि धार्मिक कृत्यलाई शुभ मानिंदैन । तर गीताले मंसिर महिनालाई ईश्वरीय विभूति मानेकोले यस महिनामा शुभ कृत्य गर्ने छूट पनि छ। यसलाई ज्योतिषीय फलादेशमा गीताको प्रभाव भन्न सकिन्छ । मंसिर महिनामा गीतोपदेश दिइएको थियो भन्ने आधारमा नै मंसिर महिनामा पर्ने मोक्षदा एकादशीलाई गीता जयन्ती मानिन्छ ।


द्यूतं छलयतामस्मि तेजस्तेजस्विनामहम् ।
जयोऽस्मि व्यवसायोऽस्मि सत्त्वं सत्त्वतामहम् ।।३६ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

अहम् (म) छलयताम् (छल गर्नेहरुमा) द्यूतम् (जुआ) अस्मि (हूँ) तेजस्विनाम् (तेजस्वी मानिसहरुको) तेजः (तेज) जयः (जीत) व्यवसायः (संकल्प, उद्यम) अस्मि (हूँ) सत्त्वताम् (सत्पुरुषको) सत्त्वम् (सतोगुणी शक्ति) अहम् (म) अस्मि (हूँ) ।
म छल गर्नेहरुमा जुआ, तेजस्वी मानिसहरुको तेज, विजयशाली मानिसहरुको जीत , अठोट गर्नेहरुको संकल्प (अथवा उद्यमशील मानिसहरुको उद्यम) तथा सत्पुरुषको सतोगुणी शक्ति हूँ ।। ३६ ।।

भगवान् कृष्णले जुआको खेलमा म छल हूँ भन्नु भएको छ । महाभारत कालमा यो खेल कति प्रिय थियो भन्ने कुरा दुई दुई पटक भएको जुआबाट पनि थाहा हुन्छ । जुआलाई एक यस्तो खेल मानिन्छ जसमा छल गर्न सिपालु हुनु पर्छ । छल गर्नुलाई ईश्वरको प्रतीकमा गीतामा उल्लेख गर्नुको अर्थ के हो भने जुआमा पनि जुन विजयको शक्ति हो त्यो ईश्वरबाट नै प्राप्त हुन्छ ।
अकबरको दरबारमा अरब देशको एक ठूलो घोडा व्यापारी आयो । कुरा गर्नमा धेरै सिपालु त्यस व्यापारीले भन्यो– राजा अकबरको दरबारमा राख्ने लायकका असल अरबी घोडा ल्याइदिन्छु तर घोडा धेरै महँगा छन् ।
अकबर सारै खुशी भयो । भन्यो– ठीक छ । १० घोडालाई कति पैसा चाहिन्छ ?
घोडा व्यापारीले एक लाख असर्फी माग्यो ।
अकबरले असर्फी दिन लगाए । व्यापारी अरबतिर लाग्यो । त्यसपछि धेरै समयसम्म केही खबर आएन ।
एक दिन अकबरलाई लहड चलेछ– बीरबल आगराका सबभन्दा मूर्खको नामको सूची बनाउन सक्छौ ?
बीरबलले तत्काल नाम लेखेर ल्याए । अकबरले त्यो नाम पढ्न थाले । सबभन्दा माथि आफ्नो नाम देखेर रिसाए– मेरो नाम किन ?
बीरबल– नाम ठेगाना धितो केही नभएको एक अनजानलाई एक लाख असर्फी दिनेलाई सबभन्दा माथि नराखेर भयो त ?
अकबरले तर्क गरे– यदि व्यापारी घोडा लिएर आयो भने ?
बीरबल– हजुरको नाम काटेर त्यस ठाउँमा उसको नाम लेख्छु । सित्तैमा पाएको पैसा पनि लिन नसक्ने त्यो भन्दा ठूलो मूर्ख को होला ?
जुआको प्रसंगमा उद्धवले भगवान् श्रीकृष्णलाई सोधे– भगवन्, तपाईंले युधिष्ठिरलाई जिताउन पनि सक्नु हुन्थ्यो तर जिताउनु भएन ।
भगवान् श्रीकृष्णले भन्नु भयो– उद्धव, दुर्योधनले जुआ खेलमा विवेक प्रयोग गर्यो । आफूले जित्न नसक्ने भएकोले उसले शकुनिलाई खेलायो । तर युधिष्ठिरले मलाई जुआ खेल भएका ठाउँमा आउन पनि दिएनन् । उनले मलाई साक्षी नराखेकोले म त्यहाँ थिइन ।
तेजस्वी मानिसहरुको जुन तेज, विजयशालीहरुको जीत म हूँ । जीतको जुन ऐश्वर्य हो त्यो ईश्वरको विभूति हो । यसको परिपूरक वाक्यांशहरु जीतको चाहना गर्नेहरुको नीति म हूँ (१०.३८), तथा ईश्वर जहाँ छन् त्यहाँ अवश्य विजय हुन्छ (१८.७८) ।
सात्त्विक मानिसको सात्त्विक शक्ति, र अठोट गर्नेहरुको विवेकपूर्ण संकल्प अथवा उद्यमीहरुको उद्यम पनि म नै हूँ । अर्का शब्दमा ईश्वर व्यक्तिमा मात्र होइन भावमा पनि छन् ।


वृष्णीनां वासुदेवोऽस्मि पाण्डवानां धनञ्जयः ।
मुनीनामप्यहं व्यासः कवीनामुशना कविः ।। ३७ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

वृष्णीनाम् (वृष्णिवंशमा) वासुदेवः (वासुदेव कृष्ण) अस्मि (हूँ) पाण्डवानाम् (पाण्डवहरुमा) धनञ्जयः (धनञ्जय अर्जुन) मुनीनाम् अपि (तथा मुनिहरुमा) अहम् (म) व्यासः (वेदव्यास) कवीनाम् (कविहरुमा) उशना कविः (शुक्राचार्य म हूँ)।
वृष्णिवंशमा वासुदेव अर्थात् कृष्ण, पाण्डवहरुमा धनञ्जय अर्थात् अर्जुन, मुनिहरुमा वेदव्यास, कविहरुमा शुक्राचार्य म हूँ ।।३७।।

वृष्णि वंशमा वासुदेव कृष्ण र पाण्डवहरुमा धनञ्जय हूँ ।
परमहंस रामकृष्णलाई नरेन्द्रदत्तले सोध्यो– ईश्वर छन् ।
रामकृष्णले भने– छन् ।
विवेकानन्द– तपाईंले देख्नु भएको छ ? मलाई देखाउन सक्नुहुन्छ ?
रामकृष्ण – मैले त तिमीलाई भन्दा पनि राम्रो गरी देखिरहेको छू ।
विवेकानन्द– मलाई देखाउन सक्नुहुन्छ ?
रामकृष्ण – तिमीले देख्न सक्ने भए तिमीलाई पनि देखाइदिन्थें । त्यसलाई देख्न तिमीले मायाको पर्दा हटाउनु पर्छ ।
भगवान् कृष्णले अर्जुन भित्रको ईश्वर पनि देखिरहेका छन् । अर्जुनले पनि मायाको पर्दा हट्ना साथ कृष्ण भित्रको ईश्वर देख्न सक्छन् । मुनिहरुमा व्यास हूँ ।
वेदको विभाजन गरेकोले उनको नाम व्यास वा वेद व्यास हो । पराशर ऋषि र योजनगन्धाका पुत्र कृष्णद्वैपायन व्यासको अन्य नाम बादरायण र पाराशर पनि हो । तर उनको प्रचलित नाम भने वेद व्यास हो । महाभारत लगायत सम्पूर्ण पुराण र उपपुराणका रचयिता व्यास मानिएका छन् । पुराण कथाको वाचक बस्ने स्थानलाई आज पनि व्यास पीठ भनिन्छ । त्यसैले व्यास एक परम्परा पनि हो । अर्थशास्त्र, धर्मशास्त्र, कामशास्त्र र मोक्षशास्त्रबारे जे बोलिन्छ वा लेखिन्छ त्यो वेद व्यासका वाणीको पुनरुक्ति मात्र हो ।
शुक्रका पिताको नाम भृगु र माताको नाम उशन् भएकोले यिनको नाम भार्गव र उशना पनि प्रसिद्ध छ । महादेवबाट उनलाई शुक्र नाम प्राप्त भएको कथा महाभारतमा पाइन्छ । शुक्रको अर्थ हो तेज । उनको सुन्दरता, ज्ञान र ऐश्वर्यको सर्वत्र प्रशंसा गरिएको छ ।
सप्ताहको एउटा दिनलाई शुक्रवार भनी नामकरण गरिएकोले उनको प्रभाव स्पष्ट हुन्छ । शुक्रका आर्थिक, राजनैतिक, र धार्मिक विचारहरुलाई शुक्रनीति भनिन्छ । महर्षि दयानन्द सरस्वतीले शुक्रनीतिलाई नीतिको सर्वाधिक महत्त्वपूर्ण ग्रन्थ मानेका छन् । संजीवनी विद्याको ज्ञान केवल असुर गुरु शुक्रलाई थियो । त्यसैले देवताहरु निर्बल र दैत्यहरु बलशाली थिए । बृहस्पतिले आफ्ना पुत्र कचलाई सञ्जीवनी विद्या सिक्न शुक्रकहाँ पठाएको कथा महाभारतमा छ ।
कविहरुमा उशना म हूँ । असुरहरुले शुक्रका सुझाव अनुसार राज्य गर्दा उनीहरुको नगरी इलावर्त निकै विकसित थियो । आफ्नै गुरु प्रति अविश्वास र शंका गर्नाले असुरहरुको अवनति सुरु भएको हो ।
शुक्रलाई आफ्नो पक्षमा ल्याउन देवराज इन्द्रले आफ्नी पुत्री जयन्तीको विवाह शुक्रका साथ गरीदिएका थिए तर शुक्रले दैत्यको पक्ष छोडेनन् । दैत्यराज बलिले शुक्रको सुझाव अस्वीकार गरेकोले असन्तुष्ट भई शुक्रले त्यो स्थान छोडी आफ्ना पौत्र और्वले राज्य गरेको ठाउँमा बसाईं सरेका थिए । डा. टीकाराम पन्थीले वर्तमान अरब देशको स्थापना और्वले गरेको उल्लेख गरेका छन् ।


दण्डोदमयतामस्मि नीतिरस्मि जिगीषताम् ।
मौनं चैवास्मि गुह्यानां ज्ञानं ज्ञानवतामहम् ।। ३८।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

दमयताम् (शासन गर्नेको) दण्डः (दण्ड, शक्ति) अस्मि (हूँ) जिगीषताम् (विजिगिषुको, महत्त्वाकांक्षीहरुको) नीतिः अस्मि (नीति हूँ) च एव (तथा) गुह्यानाम् (गोपनीय भावहरुमा) मौनम् (मौन) अस्मि (हूँ) ज्ञानवताम् (ज्ञानवानको) ज्ञानम् (ज्ञान) अहम् (म हूँ) ।
शासन गर्नेहरुको दण्ड, जित्ने इच्छा (महत्त्वाकांक्षी) मा नीति, गोपनीय भावहरुमा मौन, ज्ञानवानको ज्ञान म नै हूँ ।। ३८ ।।

जिगीषु शब्द जि बाट बनेको छ जसको अर्थ हुन्छ राज्य जित्नु, उच्च महत्त्वाकांक्षा राख्नु अथवा श्रेष्ठताको चाहना लिनु । त्यसैले उच्च लक्ष्य लिएर त्यसलाई कार्यरुप दिन इच्छुक हुनु नै विजिगीषु हुनु हो, चाहे त्यो दिग्विजयको चाहना होस् वा आफैंलाई जित्ने लक्ष्य । दुवै अवस्थामा जिगीषु गुणवान्, इष्टमित्र सम्पन्न हुनु पर्छ । साथै बाटोमा आइपर्ने बाधा अवरोधको सामना गर्न ऊ तत्पर हुनुपर्छ । उच्च लक्ष्य प्राप्त गर्ने संकल्प लिए पछि सो अनुसार हिँड्नका लागि तय गरिएको आचरण, चालचलन, र व्यवहार नै नीति हो ।
दिग्विजयको चाहना गर्ने राजाको नीतिलाई कौटिलीय अर्थशास्त्रमा यस प्रकार बताइएको छ– काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यको त्याग, विद्वानहरुसँगको सङ्गत्, वृद्धहरुको सम्मान, इन्द्रिय संयमद्वारा परस्त्री, परद्रव्य, र हिंसावृत्तिको त्याग, कुसमयमा सुत्नु, चञ्चलता, असत्य भाषण, ठाडोपन तथा यी सबै बानी भएका मानिसहरुसँगको सम्बन्ध त्याग गर्नु, अधर्म आचरण, अनर्थ व्यवहारको त्याग गर्दै अप्राप्त कुराको प्राप्ति र प्राप्तको निरन्तर सुरक्षा र वृद्धि गर्नु पर्छ ।
दण्डधरहरु (शासन गर्ने) को दण्ड अर्थात् शक्ति हूँ । जुन शक्तिले सानो भुसुना देखि विशाल ग्रह सबैलाई अनुशासनमा राख्छ त्यो दण्डको शक्ति हो । बलियाले निर्धा माथि अत्याचार गर्न नसकोस् यसका लागि दण्ड उत्पत्ति भएको भनिएको छ ।
महाभारतमा उचित दण्डनीति भएको राज्यमा सत्य युगको वास हुन्छ भनिएको छ । उचित दण्ड व्यवस्था गर्दै मनु र कौटिल्य दुवैले भनेका छन्– उग्र दण्ड गर्दा समाज तर्सिन्छ तथा नरम दण्डनीति छ भने कसैले पनि राज्य व्यवस्थालाई टेर्दैन । उचित दण्ड व्यवस्थाले देशमा सबैको उन्नति हुन्छ ।
महाभारत शान्ति पर्व १२१.१५–१६ दण्डको स्वरुप यस्तो बताइएको छ–
नीलोत्पलदलश्यामश्चर्तुदंष्ट्रश्चतुर्भुज ः ।
अष्टपान्नैकनयनः शंकुकर्णोध्र्वरोमवान् ।।
जटी द्विजिह्वस्ताम्रास्यो मृगराजतनुच्छदः ।
एतद् रुपं विभभर्त्युग्रं दण्डो नित्यं दुराधर ः ।।
नीलकमल जस्तो श्याम कान्ति भएको शरीर, चार दाह्रा र चार भुजा भएको आठ गोडा भएको, अनेक नेत्र भएको शंकु (किलो) जस्तो कान भएको, रौं ठाडा पारेको, सिरमा जटा भएको, दुई जिब्रा भएको, बाघको छालाले शरीर ढाकेको र अनुहारको रंग तामा जस्तो भएको यस दुर्धर्ष दण्डले सधैं उग्ररुप धारण गरेको हुन्छ ।
गोपनीय भावहरुमा मौन हूँ । राजनीति र सुरक्षा नीतिका दृष्टिले अनधिकृत व्यक्तिलाई कुनै जानकारी नबताउनु पनि मौन रहनु हो । यस्तो गोपनीयता उचित अवसरमा अधिकृत व्यक्तिलाई जानकारी गराइन्छ । तीन चार व्यक्तिसँग जटिल समस्याको बारेमा मन्त्रणा गर्नुलाई पनि गोपनीय मानिन्छ । व्यक्तिगत दृष्टिले गोपनीयताको अवधारणा अझै फरक छ । शुक्रनीतिमा भनिएको छ– आयु, धन, घरको रहस्य, गुरुमन्त्र, मैथुन, दान, मान, अपमान एवं औषधि यी नौ कुरा कसैलाई बताउनु हुँदैन् । यस प्रकारको गोपनीयताले आफूलाई र अरुलाई सुखी र सफल बनाउँछ ।विचार गरिएको कामलाई मूर्तरुप दिने समय नहुँदासम्म, आफ्ना मनोभाव अरुलाई थाहा हुन नदिने कामलाई मौन रहनु वा गोपनीयता राख्नु भनिन्छ।
तर गीता (१७.१६) मा मौनलाई मानसिक तपस्याको रुपमा परिभाषित गरिएको छ । यस अन्तर्गत मनको प्रसन्नता, मानसिक संयम र शुद्ध भाव पर्दछन् । यस प्रकारको तपस्याबाट जुन दिन मनले पनि कुराकानी गर्न छोड्छ, त्यस मौनबाट ईश्वर प्राप्त हुन्छ । त्यस दिन जुन कुराको प्राप्ति हुन्छ, त्यसलाई गोप्य राख्नु पर्छ । बताउनु हुँदैन ।
भगवान् बुद्धलाई जब ईश्वर छन् कि छैनन् भनी प्रश्न गरिन्थ्यो उनी मौन भइदिन्थे । जसरी प्रेमको गहनतम क्षणमा वाणी समाप्त हुन्छ त्यसै गरी ईश्वरसँगको साक्षात्कार मौनको गहनतम क्षणमा प्राप्त हुन्छ ।
जुन ज्ञानले व्यक्तिलाई धैर्यवान्, उत्साही, हर्ष र शोकमा समभाव तथा आफूलाई विराटको एक अंशको रुपमा देख्ने शक्ति दिन्छ । म ज्ञानवानको सोही ज्ञान हूँ ।


यच्चापि सर्वभूतानां बीजं तदहमर्जुन ।
न तदस्ति विना यत्स्यान्मया भूतं चराचरम् ।।३९।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

च अपि (अनि) अर्जुन (हे अर्जुन) यत् (जुन) सर्वभूतानाम् (सबै प्राणीहरुको) बीजम् (उत्पत्तिको कारण) तत् (त्यो) अहम् (म नै हूँ) यत् (जुन) भूतम् (प्राणी) चर अचरम् (चल र अचलमा) मया विना (मेरो बिना) स्यात् (होस्) तत् (त्यस्तो) न अस्ति (केही छैन) ।
अनि हे अर्जुन, सबै भूतको उत्पत्तिको मूल कारण (बीज) पनि म नै हूँ । चल, अचल र प्राणीहरुमा त्यस्तो केही छैन, जो म बिनाको होस् ।।३९।।


नान्तोऽस्ति मम दिव्यानां विभूतीनां परन्तपः ।
एष तूद्देशतः प्रोक्तो विभूतेर्विस्तरो मया ।। ४० ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

अन्तः न अस्ति (अन्त छैन) मम (मेरा) दिव्यानाम् विभूतीनाम् (दिव्य विभूतिहरुको) परन्तपः (परन्तप) एषः तु (तर यो) विभूतेः (विभूतिहरुको) विस्तरः (विस्तार) मया (मैले) उद्देशतः (साङ्केतिक रुपमा, दिग्दर्शनका लागि) प्रोक्तः (भनेको हूँ) ।
हे परन्तप, मेरा दिव्य विभूतिहरुको अन्त छैन । यो वर्णन मैले दिग्दर्शनका लागि मात्र भनेको हूँ ।।४०।।


यद्ययद्विभूतिमत्सत्त्वं श्रीमदूर्जितमेव वा ।
तत्तदेवावगच्छ त्वं मम तेजोंऽशसम्भवम् ।।४१।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

यत् यत् (जुन जुन) विभूतिमत् (ऐश्वर्यमय) श्रीमत् (कान्तिमय) एव वा (अथवा) ऊर्जितम् (ऊर्जावान्) सत्त्वम् (अस्तित्व, रहेको छ) तत् तत् एव (त्यो त्यो नै) त्वम् (तिमी) मम (मेरो) तेजः अंश–सम्भवम् (तेज र अंशबाट उत्पन्न) अवगच्छ (जान) ।
जुन जुन कुरामा ऐश्वर्यमय, शोभायुक्त वा ऊर्जायुक्त छ । त्यो सबै मेरा तेजको अंशबाट उत्पन्न भएको तिमीले जान ।। ४१ ।।

सबै कुराको बीज ईश्वर हो । फलफूलका बीजको बारेमा एक आश्चर्यजनक तथ्य के हो भने सारा बिरुवा बीजबाट निस्कन्छ । अनि आफैं सार रुपमा बीजमा गएर बस्छ । बिरुवा बीजबाट निस्केर बढ्छ, ठूलो भए पछि त्यो फुल्छ, फल्छ । त्यो सबै बीजका लागि नै हो । जरा पनि बीजका लागि हो। पात पनि फलका लागि हो । फूल पनि फलका लागि हो । फल जसरी फलेको हुन्छ उसले बीजको सुरक्षा गरेको हुन्छ । बीज कारण पनि हो र परिणाम पनि अर्थात् सबै कुराको सार ईश्वर हो ।
यहाँ अर्जुनले अध्याय सातमा बताइएका १७ वटा विभूति तथा अध्याय नौ र १० मा बताइएका ११९ वटा विभूतिहरु तर्फ संकेत गर्दैछन् । यसका साथै अध्याय १० को अन्तमा भनिएको वाक्य यो सारा सृष्टि मेरो एक अंश मात्र हो भन्ने तर्फ पनि संकेत गरिएको छ । उद्देशको अर्थ हो संकेतमा । वर्षाका धाराहरु बरु गन्न सकिएला तर ईश्वरका विभूतिहरु गनि साध्य छैन । हरेक ऐश्वर्यमय, शोभायुक्त तथा तेज र ऊर्जायुक्त वस्तु वा घटनामा ईश्वरको झलक देख्नु पर्छ । यसरी ईश्वरका रुपको सम्झना गर्नाले मात्र पनि ईश्वरसँग निकटता प्राप्त हुनेछ ।
ईश्वरको भक्ति प्राप्त गर्न मन्त्रका रुपमा श्लोक ४०को पाठ गर्नु लाभदायक मानिएको छ ।


अथवा बहुनैतेन किं ज्ञातेन तवार्जुन ।
विष्टभ्याहमिदं कृत्स्नमेकांशेन स्थितो जगत् ।। ४२ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

अर्जुन (हे अर्जुन) अथवा (अथवा) बहुना (धेरै) एतेन (यो सब) ज्ञातेन (जानेर) किम् (के गर्छौ) तव (तिमीले) अहम् (म) इदम् (यो) कृत्स्नम् (सम्पूर्ण) जगत् (जगत्लाई) एक अंशेन (एक अंशले) विष्टभ्य (व्याप्त गरेर) स्थितः (रहेको छु) ।
अथवा हे अर्जुन, तिमीले यो कुरा धेरै जानेर के गर्छौ । सारमा के भन्छु भने मैले आफ्नो एक अंशले सारा जगत्लाई नै व्याप्त गरेर रहेको छु ।। ४२ ।।

जसरी महाभारत ग्रन्थमा अनेक पर्व र अध्यायहरु छन्, सबै फरक फरक छन् तर समग्रमा सबै एउटै महाभारत हो । त्यसै गरी मानिसमा, गन्धर्वमा, राक्षसमा, पितृमा, देवताहरुमा, पशु पक्षीहरुमा, मूल प्रवृत्तिमा, वृक्षमा, नदीमा, नादमा, मन्त्रमा, अक्षरमा सर्वत्र ईश्वर छन्। सृष्टिको कण कणमा ईश्वर विद्यमान छन् । सारांश के हो जुन पदार्थ, दृश्य, व्यक्ति वा घटनामा ईश्वरीय शक्तिको अनुभव हुन्छ, त्यसैलाई ईश्वरको रुप सम्झन सक्नेले सर्वत्र ईश्वर देख्न सक्छ ।
ईश्वर भइकन पनि विभूतिहरुको व्याख्या गरेर भगवान् श्रीकृष्णले मपाईंत्व किन गर्नु भयो? यस बारेमा आचार्य रजनीशको भनाई मननीय छ । उनले भनेका छन्– समय, परिस्थिति र व्यक्ति अनुसार आफ्नो गौरव, महत्त्व र बडप्पन देखाउनु पनि पर्छ । कहिलेकाहीं यो आवश्यक भइदिन्छ ।


ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे विभूतियोगोनाम दशमोऽध्यायः ।।
श्रीमद्भगवद्गीता रुपी उपनिषद् यस ब्रह्मविद्या र योगशास्त्रमा श्रीकृष्ण र अर्जुनका संवादको विभूतियोगा नाम गरेको अध्याय दस समाप्त भयो ।।ॐ तत्सत् ।।

अधिकारी, कोमलनाथ, (वि.सं.२०१८), पञ्चरत्नगीता, कोमलगीता, नेपाली पद्यानुवाद र व्याख्या वाराणसी ः यशोदा प्रेस ।
आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।
ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।
ओशो, (सन् १९८०), गीता दर्शन , पूना ःरेबेल बुक्स ।
खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०५६), आत्मबोध, काठमाडौं ः खप्तड आश्रम समिति ।
गीताप्रेस, (वि.सं.२०६५), महाभारत आदि पर्व, गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६५), शुक सुधासागर, गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६५), वराहपुराण, गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६७), अग्निपुराण, गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६७), स्कन्दपुराण, गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस,(वि.सं.२०७१), हिन्दु संस्कृति अंक, गोरखपुर ः गीताप्रेस । गोयन्दका, जयदयाल, (वि.सं. २०७०),गीता तत्त्व विवेचनी, गोरखपुरः गीताप्रेस ।
पन्त, शंकरराज, (वि.सं. २०७८), श्रीरामकृष्णवचनसुधा, मुल लेखक श्री म, काठमाडौं ः रामकृष्ण आश्रम नेपाल ।
रामसुखदास, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता साधक संजीवनी, गोरखपुरः गीताप्रेस ।
विष्णुशर्मा, सन् १९७९, पञ्चतन्त्र सम्पादक श्यामाचरण पाण्डेय, वाराणसी ः मोतीलाल बनारसी दास ।
सन्त ज्ञानेश्वर, (वि.सं.२०७०), ज्ञानेश्वरी (गीता), https: GyaneshwariJnaneshwariGeeta जेठ ६ वि.सं.२०७३ मा इन्टरनेटबाट प्राप्त