श्रीमद्भगवद्गीता तृतीय अध्याय


ज्यायसी चेत्कमर्णस्ते मता बुद्धिर्जनार्दन ।
तत्किं कर्मणि घोरे मां नियोजयसि केशव ।। १।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

अर्जुन उवाच (अर्जुनले भने)
ज्यायसी (बढी श्रेष्ठ छ) चेत् (यदि) कमर्णः (कर्मभन्दा) ते मता (तपाईंको मतमा) बुद्धिः (समत्व बुद्धि, ज्ञान) जनार्दन (हे जनार्दन) तत् (भने) किम् (किन) कर्मणि घोरे (घोर कर्ममा) माम् नियोजयसि (मलाई नियोजित गर्नु हुन्छ) केशव (हे केशव)।
अर्जुनले भने–
हे जनार्दन, यदि तपाईंको मतमा कर्मभन्दा साम्य बुद्धि श्रेष्ठ छ भने हे केशव, (युद्धरुपी) घोर कर्ममा मलाई किन लगाउनु हुन्छ ? १ ।।
व्यामिश्रेणेव वाक्येन बुद्धिं मोहयसीव मे ।
तदेकं वद निश्चित्य येन श्रेयोऽहमाप्नुयाम् ।।२।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

व्यामिश्रेणेव (मिश्रित, विरोधाभासी) वाक्येन (वाक्यले) मे (मेरो) बुद्धिम् (बुद्धि) मोहयसि इव (मोहमा फँसाउनु हुन्छ) निश्चित्य (निश्चित) तत् (त्यो) एकम् (एउटा) वद (भन्नुहोस्) येन (जसबाट) अहम् (मैले) श्रेयः (कल्याण) आप्नुयाम् (प्राप्त गर्न सकूँ) ।
विरोधाभासी वाक्यहरु अर्थात् कहिले ज्ञान र कहिले कहिले कर्मको प्रशंसा गरेर हजुरले मेरो बुद्धिलाई किन मोहमा फँसाउनु हुन्छ ? त्यसैले निश्चित गरेर त्यो एक कुरा भन्नुहोस्, जसबाट मैले वास्तवमा कल्याण प्राप्त गर्न सकूँ ।। २ ।।

अर्जुनले प्रश्न गर्छन्–
‘हे जनार्दन, यदि तपाईंको विचारमा कर्मभन्दा साम्य बुद्धि श्रेष्ठ छ भने युद्ध रुपी यस घोर कर्ममा मलाई किन प्रेरित गर्नु भएको छ ? हजुरको कुरामा विरोधाभास भएन र ?’ यहाँ साम्य बुद्धिको अर्थ हो ज्ञान, सन्तुलित मन, मस्तिष्क र बुद्धि । अर्जुनको संकेत अध्याय दुईका ती श्लोक (२.३१–३४ र २.६१–६४) तर्फ छ जहाँ भगवान् कृष्णले भन्नु भएको छ, ‘युद्ध गर्नु तिम्रो स्वधर्म मात्र होइन बाध्यता पनि हो ।
तिमीले आफूले निहुँ खोजेर युद्ध गरेको होइन । आक्रामक युद्ध गरेको होइन, आइपरेको युद्ध सामना गरेको हो । यस्तो युद्धलाई युद्धशास्त्रको भाषामा सुरक्षात्मक युद्ध भनिन्छ । यस्तो सुरक्षात्मक युद्धको सामना गर्नुभन्दा कल्याणकारक कर्म तिम्रालागि अरु केही छैन । क्षत्रियका अगाडि आइपरेको स्वधर्मयुद्धरूपी कर्तव्य तिमीले पूरा गरेनौ भने स्वधर्म र कीर्ति दुवैलाई गुमाउने छौ ।’
यसका साथै भगवान् कृष्णले यसो पनि भन्नु भएको छ, ‘सम्पूर्ण इन्द्रियलाई संयत गरेर आफ्नो मन, बुद्धि मलाई समर्पण गर ।’ यो सुनेर अर्जुन अलमलिएको बुझिन्छ । त्यसैले उनी भन्छन्, ‘एउटा यस्तो निश्चित कुरा भन्नु होस्, जुन मेरालागि कल्याणकारक होस् ।’
हुन त, भगवान् कृष्णले दोस्रो अध्यायमा सबै कुरा स्पष्टसँग भनिसक्नु भएको छ । त्यो बुझेको भए गीताको तेस्रो अध्याय चाहिने थिएन । तर अर्जुनले कुरा बुझेनन् । उनले नबुझ्नु हाम्रालागि लाभदायक बन्यो । गीता अझ अगाडि बढ्यो । यसमा ज्ञानमार्ग र कर्ममार्गको अझ विस्तृत व्याख्या हुन पायो ।

श्रीभगवानुवाच

सम्पादन गर्नुहोस्

लोकेsस्मिन्द्विविधा निष्ठा पुरा प्रोक्त मयानघ ।
ज्ञानयोगेन साङ्ख्यानां कर्मयोगेन योगिनाम् ।।३।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

अनघ (हे निष्पाप अर्जुन) अस्मिन् (यस) लोके (लोकमा) द्विविधा (दुई प्रकारका) निष्ठा (निष्ठा छन्) पुरा (उहिल्यै, सुरु देखि) मया (मद्वारा) प्रोक्त (बताइएको छ) ज्ञानयोगेन (ज्ञानयोगको) साङ्ख्यानाम् (सांख्यहरुलाई) कर्मयोगेन (कर्मयोगको) योगिनाम् (योगीहरुलाई)।
हे निष्पाप अर्जुन, यस संसारमा दुई प्रकारका निष्ठा छन् भन्ने कुरा सुरुमा नै बताएको छु। ज्ञानयोगको सांख्यहरुलाई र कर्मयोगको योगीहरुलाई ।। ३ ।।

मैले यी दुई निष्ठाबारे सुरुमा नै बताएको छु । पुराको अर्थ हो सुरुमा अर्थात् अध्याय दुईमा गीताको उपदेशको सुरुमा । जीवनका दुई मार्ग छन्– निवृत्ति मार्ग, र प्रवृत्ति मार्ग । प्रवृत्तिको अर्थ हो सांसारिक जीवनमा सक्रिय रहनु र निवृत्तिको अर्थ हो सांसारिक जीवनको सक्रियता त्याग गर्नु । यी दुवै पथ बिलकुल फरक देखिन्छन् । समस्त कर्मको त्याग गरेर ज्ञानका अन्तरंग साधनको अभ्यास मात्र गर्नुलाई वेदमा निवृत्ति मार्ग भनिएको छ । सांख्यमतको यस मार्गलाई गीतामा ज्ञानयोग भनिएको छ । अर्को मार्ग प्रवृत्तिमार्ग हो । विहित कर्मलाई नत्यागीकन केवल तिनीहरुका परिणामको आशा त्याग गरेर सुख दुःख, लाभहानि, जयपराजय आदिमा समबुद्धि राख्नु प्रवृत्तिमार्ग हो । योगीहरुको यस मार्गलाई गीतामा कर्म मार्ग भनिएको छ ।
अर्को शब्दमा निष्ठा केवल दुईवटा छन्— ज्ञाननिष्ठा र कर्मनिष्ठा । भक्ति र उपासना केवल ज्ञानको साधन हो स्वतन्त्र निष्ठा होइन । जसरी कुनै यात्रु बजारसम्म पुग्नका लागि एउटा वाहनको प्रयोग गर्छ त्यसै गरी ज्ञानको उपयोग निष्ठाका लागि हो । बजारमा पुगेपछि वाहन निरर्थक भए जस्तै निष्ठा प्राप्त भए पछि ज्ञान पनि व्यर्थ हुन्छ । गीताको यस श्लोकले के पनि स्पष्ट गर्छ भने निष्ठा साध्य हो र योग साधन हो ।
अकबरले आफ्नो जन्मोत्सवमा अनेक पीर फकीर बोलाएको थियो त्यसमध्ये एउटालाई उसले विशेष सम्मान गथ्र्यो । आशीर्वाद लिनेहरुको भीड देखेर बीरबल हाँस्यो ।
यो देखेर अकबर क्रोधित भयो– ‘किन हाँसेको ? पीर फकीरको आशीर्वाद फलदायी हुँदैन?’
बीरबल– ‘सरकार, आशीर्वाद होइन आस्था फलदायी हुन्छ । हामीले मूर्ति पूजा गर्छौं तर त्यस मूर्तिले गर्दा होइन, मूर्ति माथिको आस्थाले मनोकामना सिद्ध हुन्छ भन्ने मान्दछौं ।’

अकबर– ‘फकीरको शक्तिभन्दा उसमाथिको आस्था ठूलो भन्ने कुरा प्रमाणित गर्न सक्छौ ?’
बीरबल– ‘समय आएपछि गर्नेछु ।’
एक दुई दिन पछि राजदरबारबाट अकबरको एउटा जुत्ता हरायो । त्यसलाई जति खोजे पनि भेटिएन । पछि अकबरले त्यो घटना बिस्र्यो । यस बीचमा बीरबलले शहरभन्दा केही पर एकान्तमा एउटा चिहान बनाउन लगायो ।
एउटा मुसलमानलाई त्यहाँको रेखदेख गर्ने नौकरी दिएर राख्यो र भन्यो– ‘यस फकीरको चिहानलाई सिद्ध पीठ बताउनु र यहाँ आएर दर्शन गर्नेहरुले चिताएको पुग्छ भन्ने कुरा खूब प्रचार गर्नु।’
विस्तारै शहरभरि यो कुरा फैलिंदै गयो । मानिसहरु त्यहाँ आएर भाकल गर्न थाले । जंगलमा मंगल हुन गयो ।
दरबारसम्म यसको चर्चा पुग्यो । कुनै दरबारीले यतिसम्म भने– ‘सरकार हजुरका बुबा हुमायूँलाई परेका अप्ठ्यारा यिनै पीरको दर्शनले सल्टिने गर्थे । यी पीरको नाम यकीनशाह हो ।’
पीर भनेको पाको उमेरको यस्तो सूफी सन्त हो जसमा गहन आध्यात्मिक ज्ञान हुन्छ ।
एक दिन बिहान उठ्दा उसको मनमा यकीनशाहको स्थानमा जान मन लाग्यो । अकबरले बीरबललाई लिएर त्यहाँ पुग्दा त्यहाँ निकै भीड थियो ।
अकबरले गएर पीरको चिहानलाई श्रद्धापूर्वक प्रणाम गर्यो । बीरबलले प्रणाम नगरेकोमा रिसाएर अकबरले भन्यो– ‘तिमीले पनि प्रणाम गर ।’
बीरबल– ‘प्रणाम त गर्छु सरकार । तर हजुरले पीरभन्दा आस्था ठूलो हो भन्ने कुरा मान्नु पर्छ ।’
अकबर– ‘होइन । पीर नै ठूलो हुन्छ । लौ हेर । आज मैले के माग्छु भने मेवाडको राजालाई जित्न सकूँ । यो मेरो प्रार्थना हो र मेरो भाकल पूरा भयो भने मखमलको चादर चढाउने छु। अगरबत्ती बाल्ने छु र गरीबहरुलाई दान गर्ने छु ।’
अकबर र बीरबल यस्तै कुरामा वादविवाद गरिरहेका थिए । एकजना सिपाही घोडा दौडाउँदै आयो ।
अकबरको अगाडि आएर सिर निहुराएर भन्यो– ‘सम्राटको जय होस् । राजकुमार सलीमबाट के खबर आएको छ भने मेवाडको राजालाई युद्धमा जितेर त्यस राज्यमा हाम्रो झण्डा फर्फराउँदैछ ।’
अकबरले भन्यो– ‘देख्यौ बीरबल, पीरको शक्ति ? भाकल गर्ना साथ मेरो इच्छा पूरा भयो ।’
बीरबल– ‘सरकार, हजुरको यस पीरमा श्रद्धा भएर भाकल गर्नु भएको हो । त्यसैले पीरभन्दा आस्था नै ठूलो हो ।’
बीरबलको कुरा सुनेर अकबरलाई रिस उठ्यो– ‘ए सिपाही, तरवार ल्याएर यस अटेरीको टाउको छिनालिदेउ ।’
राजाको क्रोध देखेर बीरबल तर्स्यो । राजाको क्रोधलाई नियन्त्रित गर्न तुरुन्त घुँडा टेकेर बस्यो र प्रार्थना गर्यो– ‘हे यकीनशाह पीर, मेरो ज्यान बच्यो भने मैले यसमा मिठाई चढाउँछु र चिहानमाथि ठूलो मकबरा बनाइदिने छु ।’
अकबरको रीस शान्त भयो– ‘पीरमा शक्ति हुन्छ भन्ने कुरा मान्नु पर्यो कि नाईं ?’
बीरबलले सहमतिको स्वरमा भन्यो– ‘हो, पीर साहबको शरणमा जानै पर्यो ।’
यति भन्दै चिहानमा रहेको ढुङ्गा झिक्यो र त्यहाँ भित्रबाट एउटा पोको निकाल्यो । त्यस पोकामा राजा अकबरको एउटा जुत्ता रहेछ ।
अकबरले देख्ना साथ भन्यो– ‘अरे, यो त त्यही जुत्ता हो जुन केही दिन अघि हराएको थियो।’
बीरबलले भन्यो– ‘त्यो जुत्ता चोरेर मैले नै ल्याएको थिएँ । यहाँ राखेको नै मैले आफ्नो श्रद्धाको महानता पुष्टि गर्नका लागि हो ।’
अब अकबरलाई विश्वास भयो– ‘आस्थामा शक्ति हुँदो रहेछ ।’
मानिसहरुले चढाएको थुप्रै धनसम्पत्ति जम्मा भएको थियो । बीरबलले त्यहाँ एउटा ठूलो दरगाह बनाइदियो ।
अर्जुनलाई अनघ सम्बोधन पनि महत्त्वपूर्ण छ । अनघको अर्थ हुन्छ निष्कलङ्क, निष्पाप, सुन्दर, र सुरक्षित । चिकित्सकका अगाडि रोग नलुकाउने रोगी अनघ हुन्छ । यस्ता रोगीका रोगको उचित निदान हुन्छ । गुरुका अगाडि आफ्नो अज्ञानलाई नलुकाउने शिष्य अनघ हुन्छ। अज्ञान स्वीकार गर्ने शिष्यको अज्ञान गुरुले नष्ट गरिदिन्छ । आज्ञाकारी सन्तान अनघ हुन्छ। यस्ता सन्तानको आयु, विद्या, यश, र धनमा वृद्धि हुन्छ ।
भगवान् श्रीकृष्णले अर्जुनको अज्ञान पूर्णतया नष्ट गर्नका लागि नै गीतोपदेश दिइरहनु भएको छ । प्रत्येक योग्य गुरुलाई के कुरा राम्ररी थाहा हुन्छ भने कुनै पनि समस्याको केवल एउटा समाधान हुँदैन । उपलब्ध सबै समाधान शिष्यको अगाडि राखिदिएमा उसलाई समाधान प्राप्त गर्न सजिलो हुन्छ तर गुरुले साथै के पनि जानेको हुन्छ भने कुन शिष्यलाई कुन समाधान सबभन्दा उचित हुन्छ ।
गणितमा एउटा सिद्धान्त छ– रेखीय प्रोग्रामिङ्ग । यसमा कुनै समस्या समाधानका अनेक सम्भावित बिन्दु तथा क्षेत्रहरु हुन्छन् । त्यसमध्ये परिस्थिति अनुरुप कुनै एक छनौट गर्ने स्वतन्त्रता हुन्छ । भगवान श्रीकृष्णले अर्जुनको मोह हटाउनका लागि ज्ञान, कर्म, भक्ति अनेक सम्भावित बिन्दु र क्षेत्र प्रस्तुत गर्दै हुनुहुन्छ । यी सबै बताएर अर्जुनलाई उसका लागि योग्य मार्ग के हो सो पनि गीतामा बताउनु भएको छ ।


नकर्मणामनारम्भान्नैष्कर्म्यं पुरुषोऽश्नुते ।
न च सन्न्यसनादेव सिद्धिं समधिगच्छति ।।४।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

कर्मणाम् (कर्महरु) अन–आरम्भात् आरम्भ नगरिकन) नैष्कम्र्यम् (निष्कर्मता) पुरुषः (मानिस) न अश्नुते (प्राप्त गर्न सक्दिन) च (तथा) सन्न्यसनात् एव (केवल कर्मत्यागले) सिद्धिम् (सिद्धि) न समधिगच्छति (प्राप्त हुँदैन) ।
कर्मको सुरुआत गर्दै नगरिकन कुनै मानिसले निष्कर्मता अर्थात् कर्मत्यागलाई प्राप्त गर्न सक्दैन । केवल कर्महरुको प्रारम्भलाई त्याग गर्नाले मात्र सिद्धि प्राप्त हुँदैन ।।४।।

यस अध्यायको सुरुमा अर्जुनले कुनै कर्म नगरीकनै त्यसलाई घोर कर्म भन्न भ्याएका छन् । त्यसैलाई सम्बोधन गर्दै भगवान् श्रीकृष्णले भन्नु हुन्छ– ‘गर्दै नगरेको कर्म राम्रो वा नराम्रो हुँदैन ।’
नैष्कम्र्यताको अर्थ क्रियाहीनता वा अकर्मण्यता होइन । केवल भाव वा ध्यानले प्राप्त मुक्तिलाई भगवान् श्रीकृष्णले नैष्कम्र्यता भन्नु भएको छैन । नैष्कम्र्यता प्राप्त गर्न पनि पहिले कर्म गर्नु पर्छ । काम नै नगर्नु भनेको त अल्छी हुनु हो । ज्ञानीले पनि कर्म गर्छ, गर्नु पर्छ । ज्ञानी भनेको अकर्मण्य वा अल्छी होइन । त्यसैले केवल कर्मको त्यागले कोही ज्ञानी बन्न सक्दैन ।


न हि कश्चित् क्षणमपि जातु तिष्ठत्यकर्मकृत् ।
कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणै ।।५।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

जातु (कोही पनि) कश्चित् (कुनै) क्षणम् अपि (क्षण मात्र पनि) अकर्मकृत् (कर्म नगरिकन) न हि तिष्ठति (बस्नै सक्दैन) हि (किनभने) सर्वः (सबैलाई) प्रकृतिजैः (प्रकृतिबाट उत्पन्न) गुणै ः (गुणहरुले) अवशः (विवश भएर, इच्छा नभए पनि) कर्म (कर्म) कार्यते (गराउँछन््) ।
कोही पनि मानिस केही पनि नगरी क्षण मात्र पनि बस्न सक्दैन । किनभने इच्छा नभए पनि सबैलाई प्रकृतिबाट उत्पन्न गुणहरुले केही न केही कर्म गराएरै छोड्छन् ।।५।।


कर्मेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन् ।
इन्द्रियार्थान्विमूढात्मा मिथ्याचारः स उच्यते ।।६।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

यः (जसले, जुन मानिसले) कर्मेन्द्रियाणि (कर्मेन्द्रियहरु) संयम्य (रोकेर, नियन्त्रण गरेर) मनसा (मनले) स्मरन् आस्ते (चिन्तन गरिरहन्छ) इन्द्रिय अर्थान् (इन्द्रियका विषय) सः (त्यस) विमूढ आत्मा (मूढ बुद्धिलाई) मिथ्याचारः (मिथ्याचारी) उच्यते (भनिन्छ)।
जुन मानिसले कर्मेन्द्रियलाई रोकेर मनले इन्द्रियका विषयलाई चिन्तन गरिरहन्छ, त्यस मूढ बुद्धिलाई मिथ्याचारी भनिन्छ ।।६।।

कुनै पनि मानिस केही नगरी क्षणभर मात्र पनि बस्न सक्दैन । काम गर्नु प्राणीको स्वभाव हो । जुन मूढ बुद्धि मानिसले कर्मेन्द्रियलाई रोकेर मनले इन्द्रियका विषयलाई चिन्तन गरिरहन्छ र आफूलाई कर्मयोगी ठान्दछ, त्यो मिथ्याचारी हो । मिथ्याचार भनेको पूर्वतर्फ लक्ष्य प्राप्त गर्न पश्चिम दिशाको यात्रा गर्नु सरह हो । भ्रष्टाचार भनेको सही बाटोबाट विचलित हुनु, तथा मिथ्याचार भनेको गलतबाटोलाई जानेरै स्वीकार गर्नु ।
इन्द्रियको वशमा परेर जीवन बिताउनेलाई गीतामा मूढ भनिएको छ । मूढको सामान्य अर्थ हो– बेहोश, निदाएको, मोहित व्यक्ति । उसलाई होशै छैन तर बाँचेको छ । किन बाँचेको त्यो पनि थाहा छैन । ऊ हिंड्छ, डुल्छ, खान्छ, उठछ, बस्छ तर मेशीनले चलाए झैं । कुनै रोबोट चले जस्तो । यसै जीवन बिताउँदै एक दिन काल पनि आउँछ तर उसले थाहा नै पाउँदैन । ऊ कति बेहोश छ भने जीवनका दुखलाई सुख मानेर बाँचेको हुन्छ ।
करीब करीब सबै मानिस यसै भ्रान्तिमा बाँचेका छन् । जसलाई सोध्यो उसैले भन्छ– सबै राम्रो छ । आनन्दमा छु । परमात्माको कृपा छ ।
नियमित चिकित्सकीय परीक्षणका लागि पालोमा बसेको मानिसलाई कसैले सोध्य¬ो – के छ? सञ्चै हुनुहुन्छ ? भने उसले यन्त्रवत् जवाफ दिन्छ– सञ्चै छ ।
मानिसलाई थाहा नै छैन उनीहरुले के बोलिरहेका छन् । सबै बेहोशीमा बाँचिरहेका छन् । तर मनले इन्द्रियलाई नियन्त्रणमा राखेर अनासक्तिपूर्वक कर्मेन्द्रियद्वारा कर्मयोगको आचरण जसले गर्छ, त्यो व्यक्ति श्रेष्ठ हुन्छ । तिमीले पनि तोकिएका कर्महरु गर । यसैलाई होशपूर्ण क्रिया भन्न सकिन्छ ।
गीताले स्पष्ट रुपमा भन्छ, ‘कर्म नगर्नुभन्दा कर्म गर्नु असल छ । कर्म नगरेमा त जीवन निर्वाह पनि चल्दैन ।’ भनाइ पनि छ– काम गर्ने दुखले जोगी भएँ, जोगी भएको भोलिपल्ट भोकै भएँ ।


यस्त्विन्द्रियाणि मनसा नियम्यारभतेऽर्जुन ।
कर्मेन्द्रियैः कर्मयोगमसक्तः स विशिष्यते ।।७।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

तु (तर) अर्जुन (हे अर्जुन) यः (जसले) इन्द्रियाणि (इन्द्रियहरु) मनसा (मनले) नियम्य (नियन्त्रण गरेर, नियममा राखेर) असक्तः (अनासक्तिपूर्वक) कर्मेन्द्रियैः (कर्मेन्द्रियद्वारा) कर्मयोगम् (कर्मयोग) आरभते (आरम्भ गर्छ) स ः (त्यो) विशिष्यते (विशिष्ट छ) ।
तर हे अर्जुन, जसले मनले इन्द्रियहरुलाई नियन्त्रणमा राखेर अनासक्तिपूर्वक कर्मेन्द्रियद्वारा कर्मयोगको आरम्भ गर्छ, त्यो व्यक्ति विशिष्ट हुन्छ अर्थात् त्यो नै कर्मयोगी हो ।।७।।


नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्यकर्मणः ।
शरीरयात्रापि च ते न प्रसिद्ध्येदकर्मणः ।।८।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

नियतम् (तोकिएका, नियत गरिएका) कर्म (कर्म) कुरु (गर) त्वम् (तिमीले) अकर्मणः (कर्म नगर्नु भन्दा) कर्म (कर्म गर्नु) ज्यायः (श्रेष्ठ छ) हि (किनभने) ते (तिम्रो) शरीरयात्रा (जीवनयात्रा, जीवननिर्वाह) अपि (पनि) च (तथा) अकर्मणः (कर्मत्याग गर्दा) न प्रसिद्ध्येत् (सिद्ध हुने छैन, चल्ने छैन) ।
तिमीले पनि आफूलाई तोकिएका कर्महरु पूरा गर किनभने कर्म नगर्नुभन्दा कर्म गर्नु श्रेष्ठ छ । कर्म त्याग गर्दा त तिम्रो जीवन निर्वाह पनि चल्नेछैन ।।८।।

के मानिस कुनै कर्म नगरिकन बस्न सक्छ ? के गरेको छस् ? भनेर सोध्दा मानिसहरुले उत्तर दिने गर्छन्– आराम गरेको छु । आरामलाई पनि कर्मको उदाहरण दिएर बताउने गरिन्छ । फेरि यो जगत जुन जुन प्रकृतिले निर्मित छ, सोही गुण अनुसार सक्रिय भइ छोड्छ। पानीको गुण ओरालोमा बग्नु हो, त्यसैले पानी बगिहाल्छ । हावा बढी घनत्वबाट कम घनत्वतर्फ आफैं बहन्छ, त्यसलाई कसैले बहाउनु पर्दैन । आगोको सानो झिल्को पनि अक्सिजन पाउनासाथ दन्किहाल्छ । हरिणका बथानमा हुर्केको डमरुले परिस्थिति आउनासाथ बाघको हिँसक रुप देखाउने छ किनभने यो उसको स्वधर्म हो । अर्जुनले युद्ध गर्दिन भनी देखाएको व्यवहार पनि टिकाउ हुने छैन, किनभने अर्जुनको स्वधर्म क्षत्रिय हो । यस गुणले युद्धमा धकेलिहाल्ने छ ।
मानिसको स्वाभाविक सक्रियता उसको तीन गुणमा भर पर्छ– सत्त्व, रज र तम । यी तीन गुणको वृद्धि अनुसार सबै सक्रिय हुन्छन् । हो, भित्र भित्र सक्रिय हुँदा हुँदै पनि कसैले बाह्य निष्क्रियता देखाउन सक्छन् । कोही मौनी बसेर, कोही आँखा चिम्लेर ध्यानी बनेका हुन्छन्। तर उनीहरुले मनभित्र नाना कुरा खेलाइरहेका हुन्छन् ।
यसरी बाहिर बाहिर उपवास गर्ने र मनमा लड्डु खान पाइएन भनेर चिन्ता गर्नेहरुलाई भगवान् श्रीकृष्णले मूढ भन्नु भएको छ । ब्रह्मचर्यको ढोंग गर्ने र सुन्दर युवतीको कल्पनामा बारम्बार डुब्नेभन्दा यसलाई स्पष्ट स्वीकार गर्ने कम अपराधी हुन् । खराब गर्नेहरु भन्दा खराब मात्र सोचिरहनेहरु अझ खराब हुन्छन् । ढोंग गर्नेहरुलाई भगवान् श्रीकृष्णले मिथ्याचारी भन्नु भएको छ ।
गीताले अनासक्तिपूर्वक कर्मयोगको आचरण गर्नुलाई सर्वोत्तम मानेको छ । पत्नी र सन्तानको जिम्मेवारीबाट भागेर जङ्गलमा गई तपस्या गर्नेभन्दा निःस्पृहतापूर्वक गृहस्थ आचरण गर्ने मानिस श्रीकृष्णको दृष्टिमा श्रेष्ठ छ । त्यसैले भन्नु हुन्छ– ‘तिमीले पनि तोकिएका कर्म गर। कर्म नगर्नुभन्दा कर्म गर्नु श्रेष्ठ हो । ’
कर्म नगरेमा त जीवन निर्वाह पनि चल्दैन । जङ्गलको राजा सिंह हो । उसंग सबै डराउँछन्। तर उसले पनि उद्यम गरेन भने खरायो आफैं मुखमा आएर छिर्दैन । ढोका अगाडि खोलो बगे तापनि पानी खानका लागि त्यहाँसम्म त पुग्नै पर्छ । बत्ती बाल्नका लागि कम्तीमा स्वीच थिच्ने काम त गर्नै पर्छ ।
त्यसैले भगवान् श्रीकृष्णले विवेकयुक्त मनले इन्द्रियलाई संयम राखी बाह्य इन्द्रियद्वारा कर्म गर्नेलाई पुरुषार्थी र श्रेष्ठ भन्नु भएको छ । बाह्य इन्द्रियलाई रोकेर मनभित्र इन्द्रियका सबै व्यापार गर्नेलाई पुरुषार्थहीन भन्नु भएको छ । कर्मयोगको आश्चर्यजनक अर्थ यही नै हो ।
संसारको कुनै वस्तुमा बन्धन छैन, त्यस वस्तुमा रहेको आसक्ति नै मुख्य बन्धन हो । यो जानेर आसक्तिरहित भई कर्म गर्नु पर्छ ।
संसारमा सबैले केही न केही अधिकार लिएर आएका हुन्छन् । यस अधिकार अनुसारको कर्तव्यलाई गीतामा नियत कर्म भनिएको छ । यस्तो नियत कर्म त्याग गर्नेलाई गीतामा कर्तव्यहीन भनिएको छ । कर्म गर्नाले यी आपत्ति र दोषहरु कुनै पनि हुँदैनन् । आफ्नो कर्तव्यपालन पनि हुन्छ । यसबाट लोकशिक्षा र जगतको स्थिति समेत हुन्छ ।


यज्ञार्थात्कर्मणोsन्यत्र लोकोsयं कर्मबन्धनः ।
तदर्थं कर्म कौन्तेय मुक्तसङ्गः समाचर ।।९।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

यज्ञ अर्थात् (यज्ञका लागि गरिने) कर्मणः (कर्म) अन्यत्र (बाहेकका अन्य कर्मले) अयम् (यो) लोकः (लोक) कर्मबन्धनः (कर्मबन्धनमा बाँधिएको छ) तत् अर्थम् (त्यसैले) कौन्तेय (हे कौन्तेय) मुक्तसङ्गः (आसक्तिबाट मुक्त भएर) कर्म (कर्म) समाचर (राम्ररी आचरण गर्दै जाउ) ।
यज्ञका लागि गरिने कर्म बाहेकका अन्य कर्मले यो लोक बाँधिएको छ । त्यसैले हे कौन्तेय, यज्ञका लागि गरिने कर्महरु पनि आसक्तिरहित भएर राम्ररी कर्म गर्दै जाउ ।।९।।

निरुक्तमा यज्ञ शब्दका तीन अर्थ हुन्छन्– १. देव पूजा, २. दान र ३. सामूहिकता ।
मानव जातिका समस्याको समाधान यज्ञमा नै निर्भर छ । महाभारत र रामायणको अध्ययनबाट के स्पष्ट हुन्छ भने त्यस कालमा राजकीय स्तरबाट यज्ञ गराइन्थ्योे । राजाले राज्यारोहण गर्दा, सन्न्यास लिंदा, तथा ठूलो राजकीय उपलब्धि हुँदा यज्ञ हुने गर्थे । प्राचीन कालमा जुन यज्ञ संचालन हुन्थ्यो त्यसमा हुने राष्ट्रिय सम्पत्ति निर्धन वर्गमा हस्तान्तरण हुन जान्थ्यो ।
महाभारतमा के स्पष्ट लेखेको छ भने ब्राह्मण र पुरोहितलाई दिएर बचेको धन क्षेत्री, वैश्य, शूद्र र म्लेच्छलाई दिनु । ऋत्विकहरुलाई दिने दानको सार्थकता कुन कुरामा हुन्थ्यो भने उनीहरुले राजधानी भन्दा धेरै टाढा एकान्त स्थलहरुमा आश्रम संचालन गरेका हुन्थे ।
त्यहाँ सितिमिति राज्य पुग्न सक्दैनथ्यो । त्यहाँ अनेकौं शिष्यहरुलाई उनीहरुले निःशुल्क शिक्षा प्रदान गरेका हुन्थे । यज्ञ अवधि भर गरीब र भिक्षावृत्ति गर्नेहरुलाई अन्न वस्त्र दिने गरिन्थ्यो। यज्ञसंग जुन कथा वाचन गरिन्थ्यो त्यो शिक्षा प्रदान गर्ने एक अनौपचारिक तर ज्यादै सशक्त माध्यम हुन्थ्यो । यी कथाहरुमा नैतिक र चारित्रिक ज्ञान प्रदान गर्नुका साथै नागरिकहरुलाई कर्तव्य प्रति जागरुक बनाउने काम हुन्थ्यो । अर्को शब्दमा, आजको युगमा मानिसहरुलाई दिइने विविध जानकारीको जुन महत्त्व विद्युतीय संचार (इलेक्ट्रोनिक मेडिया) जस्ता संचार माध्यमहरुको छ त्यही महत्त्व विगतमा यज्ञ र कथा महोत्सवहरुको हुने गर्थ्यो ।
भगवान् कृष्णका अनुसार, यज्ञका लागि जति कर्महरु गरिन्छ, ती सबै स्वार्थ र आसक्तिरहित भएर सम्पन्न गर्नु पर्दछ ।


सहयज्ञाः प्रजाः सृष्ट्वा पुरोवाच प्रजापति ।
अनेन प्रसविष्यध्वमेष वोsस्त्विष्टकामधुक् ।। १० ।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

पुरा (सुरुमा, धेरै अघि) सहयज्ञाः (यज्ञको साथमा) प्रजाः सृष्ट्वा (प्रजाको सृष्टि गरेर) उवाच प्रजापति (प्रजापतिले भन्नु भयो) अनेन (यस अज्ञद्वारा) प्रसविष्यध्वम् (उन्नति होस्, वृद्धि होस्) एष ः (यो यज्ञ) वः (तिमीहरुलाई) इष्टकामधुक् (चिताएको भोग दिने) अस्तु (होस्) ।
धेरै अघि अर्थात् सृष्टिको शुरुमा यज्ञको साथमा प्रजालाई सृष्टि गरेर प्रजापति अर्थात् ब्रह्माजीले के भन्नु भएको थियो भने यस यज्ञले तिमीहरुको उन्नति होस्, यस यज्ञले तिमीहरुलाई चिताएको भोग दिने होस् ।। १० ।।


देवान्भावयतानेन ते देवा भावयन्तु वः ।
परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ ।।११।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

अनेन (यस यज्ञबाट) देवान् (देवताहरुको) भावयत (उन्नति होस्) ते (ती) देवा ः (देवताहरु) भावयन्तु (उन्नति गरुन्) वः (तिनीहरु) परस्परम् (परस्पर) भावयन्तः (उन्नति गर्दै) परम् (परम्, उच्चतम) श्रेयः (कल्याण, हित) अवाप्स्यथ (प्राप्त गर) ।
यस यज्ञबाट देवताहरुको उन्नति होस् । ती देवताहरुले तिमीहरुको उन्नतिमा सहयोग गरुन्। यसरी परस्पर एकले अर्काको उन्नति गर्दै दुवैथरीले परम् कल्याण प्राप्त गर ।। ११ ।।


इष्टान्भोगान्हि वो देवा दास्यन्ते यज्ञभाविताः ।
तैर्दत्तानप्रदायैभ्यो यो भुङ्ते स्तेन एव सः ।।१२।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

यज्ञभाविताः (यज्ञद्वारा सन्तुष्ट, यज्ञले उन्नति गरिएका) देवाः (देवताहरुले) वः (तिमीहरुलाई) इष्टान् भोगान् (इच्छित भोग) हि (निश्चय नै) दास्यन्ते (दिने छन्) तैः (तिनीहरुले, देवताहरुले ) दत्तान् (दिएका भोग) एभ्यः (उनीहरु) अप्रदाय (नदिइकन) यः (जसले) भुङ्ते (भोग गर्छ) सः (त्यो) स्तेन (चोर) एव (नै हो) ।
यज्ञद्वारा सन्तुष्ट भए पछि देवताहरुले तिमीहरुलाई इच्छित भोग दिने छन् । तिनीहरुले दिएका भोग उनीहरुलाई समर्पण नगरीकन केवल खालि आफूले मात्र भोग गर्छ, त्यो देवताको भाग खाने भएकोले, त्यो चोर नै हो ।।१२।।

यज्ञको प्रारम्भिक स्वरुप सृष्टिका साथ प्रारम्भ भएको हो जसको आविष्कार ब्रह्माजीले गरेको मानिएको छ । पुरुष सूक्त १०.९० मा सृष्टिको विकास क्रम र मानव समाजको उत्पत्तिको बारेमा बताउँदै के भनिएको छ भने सृष्टिको शुरुमा यज्ञ र प्रजालाई संगै उत्पन्न गरी जगतको रचयिता ब्रह्माले भन्नु भएको थियो–‘यस यज्ञबाट तिमीहरुले वृद्धि पाउनु । किनभने यस यज्ञले तिमीहरुले चिताएको पुग्ने छ । यस यज्ञबाट इन्द्रादि देवताहरुको पनि वृद्धि हुनेछ । उनीहरुले पानी वर्षाएर तिमीहरुको उन्नतिमा सहयोग गर्नेछन् । अन्नादि उत्पादनले तिम्रो समृद्धि हुनेछ । यज्ञद्वारा सन्तुष्ट भएका देवताहरुले दिएका स्त्री पुत्र आदि इच्छित भोग तिमीहरुलाई प्राप्त हुने छन् । यसरी एकले अर्काको उन्नति गर्दै तिमीहरु सबैले परम कल्याण प्राप्त गर्ने छौ ।’
मानव जातिको समस्याको हल पनि सामूहिक शक्ति र संगठनशीलतामा नै भर पर्छ । एकाकी व्यक्तिवादी र असंगठित मानिसहरु दुर्बल र स्वार्थी हुन जान्छन् । यज्ञले मानव समाजलाई संगठित गरेर दुर्गुणहरुबाट बचाउने काम गर्छ ।
पुरुष सूक्तमा जस्तै गीताकारले के मान्दछन् भने प्रजापिताले मानव जातिको कल्याणका लागि नै यज्ञ विधान गरेका हुन् । यसको सांकेतिक अर्थ के पनि हो भने सामूहिकताको भावना मानव जातिको अस्तित्व जति पुरानो छ । यदि मानव जातिले यज्ञ भावनामा आफूलाई जोडेको हुँदैनथ्यो भने दुर्बलताले गर्दा वन्य जीव जन्तुहरुसंग प्रतिस्पर्धा गर्न नसक्दा उहिल्यै मानिसको अस्तित्व समाप्त भइसक्थ्यो । भविष्यमा पनि यदि प्रगति गर्नु छ भने त्यसको पनि आधार यही यज्ञ नै हुने छ ।
अन्न उत्पादन प्राृकतिक शक्तिको योगदानले गर्दा प्राप्त हुन्छ । त्यसैले दैवीय शक्तिहरुलाई उचित सम्मान गरेर मात्र भोजन अन्न ग्रहण गर्नु मानव समाजको कर्तव्य हो । जसले केवल आफ्नो उदर पूर्तिका लागि अन्न पकाउँछन् तिनीहरु आफैं पनि पापी हुन् र पापको नै अन्न खाने गर्छन् । परिश्रम गरी आर्जन गरेको भोजन बाँडेर खाने क्रियालाई नै यज्ञ अवशिष्ट अन्न भनिएको हो ।
वैदिक यज्ञमा मन्त्रहरुको उच्च स्वरमा वाचन गरिन्छ । मन्त्रमा अनेक प्रकारका शक्ति हुन्छन्। अक्षरको विभिन्न संयोगबाट विभिन्न शब्द बन्छन् र शब्दहरुको विभिन्न संयोगबाट वाक्य र मन्त्रहरु बन्छन् । हामीलाई के थाहा छ भने विभिन्न शब्द र वाक्यहरुको प्रभाव पनि भिन्न भिन्न श्रोताहरुमा भिन्न भिन्न प्रकारको हुन्छ । ठीक त्यसै गरी भिन्न भिन्न मन्त्रहरुको उच्चारणले भिन्न भिन्न प्रकारका ध्वनि तरंगहरु निस्कन्छन् र तिनीहरुले विश्व व्यापी प्रकृतिमा सूक्ष्म जगतमा तथा प्राणीहरुको स्थूल र सूक्ष्म शरीरुहरुमा गहिरो प्रभाव पार्दछन्।
यज्ञ आधुनिक विज्ञानको उद्गम बिन्दु पनि हो । आधुनिक विज्ञानको आधार गणित हो र गणितको एक महत्त्वपूर्ण शाखा ज्यामितिको आविष्कार यज्ञवेदीबाट भएको हो ।
महान् वैज्ञानिक आइन्स्टाइनले स्पष्ट शब्दमा भनेका छन्– ‘हामी वैदिक ऋषिमुनिहरु प्रति ऋणी छौं । किनभने उनीहरुले गणितको आविष्कार गरेका हुन् । गणितको प्रयोग बिना आजको भौतिक विज्ञानले उचाइ प्राप्त गर्न सक्दैनथ्यो ।’
सुप्रसिद्ध जीव वैज्ञानिक थोमस हग्बेनले भनेका छन्– ‘वैदिक ऋषिहरुले विश्वलाई शून्य दिए जसले वर्तमान गणित विकसित हुनसक्यो ।’


यत्रशिष्टाशिनः सन्तो मुच्यन्ते सर्वकिल्बिषै ः ।
भुञ्जते ते त्वघं पापा य ेपचन्त्यात्मकारणात् ।।१३।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

यज्ञशिष्ट (यज्ञ गरेर बचेको) अशिनः (खाने, भोग गर्ने) सन्तः (श्रेष्ठ, सन्त) मुच्यन्ते (मुक्त हुन जान्छन्) सर्वकिल्बिषैः (सबै पापहरुबाट) भुञ्जते (भोग गर्छन्) ते (तिनीहरु) तु (तर) अघम् (पाप) पापाः (पापीलोग) ये (जुन) पचन्ति (पकाउँछन्) आत्मकारणात् (आफ्नो उदर पूर्तिका लागि) ।
यज्ञ गरेर शेष बचेको कुरा भोग गर्ने सन्त पुरुषहरु सबै पापहरुबाट मुक्त हुन्छन् । तर जसले यज्ञ नगरेर केवल आफ्नो उदर पूर्तिका लागि अन्न पकाउँछन्, त्यस्ता पापीहरुले पाप नै खान्छन् ।। १३ ।।

पाप भनेको दुर्गुण र दुष्कर्म हो । यज्ञलाई पापनाशक पनि भनिन्छ अर्थात् यसबाट कुबुद्धि कुविचार दुर्गुण र दुष्कर्मले विकृत भएको मन मस्तिष्कमा शुद्धता आउँछ । यज्ञ नगरी खानु भनेको सृष्टिको भावना विपरीत अरु सबैलाई बेवास्ता नगरी केवल आफ्नो उदरपूर्ति गर्नु हो । यसरी उदरपूर्ति गर्नेहरुले केवल पाप मात्र खान्छन् ।
यज्ञ भनेको त्याग, बलिदान र शुभ कर्म हो । आफूलाई मन पर्ने खाने कुरा तथा सुगन्धित र पौष्टिक वस्तुहरुलाई यज्ञमा प्रवाहित गरेर अग्नि र वायुको माध्यमले सारा संसारको कल्याणका लगि वितरण गरिन्छ । यज्ञद्वारा जुन शक्तिशाली तत्व वायुमण्डलमा प्रसारण गरिन्छ त्यस बाट हावामा घुमिरहेका असंख्य रोग र कीटाणुहरु सहजै नष्ट हुन जान्छन् । यज्ञमा कति शक्ति छ भने यसले यज्ञ गर्ने होस् वा नगर्ने सबै मानिसहरुको सुरक्षा गर्न सक्छ । यति मात्र होइन यज्ञले पशु पक्षी कीट पतंग र रुख बिरुवाका आरोग्यको पनि रक्षा हुन जान्छ । यज्ञका अनेक भौतिक फाइदाहरु पनि हुन्छन् । यज्ञद्वारा असाध्य रोगहरुको निवारण हुन्छ । पुराणमा यज्ञ गराएर असाध्य रोगहरु निको बनाइएका घटनाहरु विस्तृतरुपमा उल्लेख छ । यज्ञले मानसिक शान्ति हुन्छ । दूषित कुरामा शुद्धता आउँछ । यसरी यज्ञमय वातावरण प्रदूषण घटाउने अचूक उपाय पनि हो ।


अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसंभवः ।
यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः।।१४।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

भूतानि (प्राणीहरु) अन्नात् (अन्नले) भवन्ति (उत्पन्न हुन्छन्) पर्जन्यात् (वर्षाबाट, मेघबाट) अन्नसंभवः (अन्न उत्पन्न हुन्छ) यज्ञात् (यज्ञबाट) भवति (हुन्छ) पर्जन्यः (वर्षा) यज्ञः (यज्ञानुष्ठान) कर्म (कर्मबाट) समुद्भवः (उत्पन्न हुन्छ) ।
सारा प्राणीहरुको उत्पत्ति अन्नबाट हुन्छ । अन्नको उत्पत्ति मेघबाट अर्थात् वर्षाबाट हुन्छ, वर्षाको उत्पत्ति यज्ञबाट हुन्छ तथा यज्ञानुष्ठान कर्मबाट उत्पन्न हुन्छ ।।१४।।


कर्म ब्रह्मोद्भवं विद्धि ब्रह्माक्षर समुद्भवम् ।
तस्मात्सर्वगतं ब्रह्म नित्यं यज्ञे प्रतिष्ठितम् ।।१५।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

कर्म (कर्म) ब्रह्म (ब्रह्मबाट, प्रकृतिबाट) उद्भवम् (उत्पन्न हुन्छ) ब्रह्माक्षरम् (परम अक्षर, परब्रह्म) समुद्भवम् (उत्पन्न भएको) विद्धि (जान) तस्मात् (त्यसैले) सर्वगतम् (सर्वव्यापी) ब्रह्म (ब्रह्म) नित्यम् (नित्य) यज्ञे (यज्ञमा) प्रतिष्ठितम् (प्रतिष्ठित छ)।
कर्मको उत्पत्ति ब्रह्मबाट अर्थात् प्रकृतिबाट हुन्छ । त्यस ब्रह्मको उत्पत्ति अविनाशी परमात्मा अर्थात् परब्रह्मबाट भएको छ भन्ने जान । यसले के सिद्ध हुन्छ भने सर्वव्यापी परम अक्षर परमात्मा सदा यज्ञमा प्रतिष्ठित छ ।। १५ ।।

प्राणीहरुको प्रत्यक्ष उत्पत्ति अन्नबाट हुन्छ किनभने उपभोग गरिएको अन्नबाट रगत र वीर्य बन्छ र प्राणी उत्पत्तिको आधार रगत र वीर्य नै हो । अन्नको उत्पत्तिको आधार मेघ हो जसले जल वर्षाउँछ । मेघको आधार यज्ञ हो । त्यसैले यज्ञ क्रिया सृष्टिको चक्र (इकोसिष्टम) को प्रतीक पनि होर त्यसको एक भाग पनि हो । प्रकृतिको स्वभाव र यज्ञ को स्वभाव एउटै छ । वैदिक मान्यता के छ भने अग्निमा विधिपूर्वक दिइएको आहुति सूर्यसंगै सम्बन्धित हुन जान्छ र सूर्यको आधारमा नै वर्षा हुन्छ । वर्षा भनेको अन्नको आधार हो र प्राणीहरुको जीवन अन्नमा भर पर्छ ।
खडानन्द शहरबाट धेरै समय पछि गाउँमा पुग्यो । गाउँमा स्वस्थ मानिस देखेन । सबै दुब्ला पातला र कुपोषित देखिन्थे । उसले हजुरबालाई यसको कारण सोध्यो ।
हजुरबाले उत्तर दिए– ‘खाना पकाउने दाउरा छैनन् ।’
अनि खडानन्दले सोध्यो– ‘राम्ररी नपाकेको खाना खाएकोले यस्तो भएको हो ? ’
हजुरबाले उत्तर दिए– ‘होइन, वन नभएर, दाउरा नभएको । ’
खडानन्दले फेरि सोध्यो– ‘पकाएर खान पाइएन ? ’
हजुरबाले कुरा बुझाए– ‘दाउरा नभएकोले गोबरका गुईंठा बनाएर खाना पकाउनु पर्छ । खेतमा गोबर मल नहाले पछि खेतमा उब्जनी घट्यो । उब्जनी घटनाले पोषण कम भयो।’
प्रत्येक क्रिया संसारमा अरुका लागि हुन्छ । यही यज्ञ हो ।
प्रकृतिको स्वभाव नै यज्ञ परम्परा हो । समुद्रले बादलहरुलाई उदारतापूर्वक जल प्रदान गर्छ। बादलले समुद्रतट देखि मरुभूमिसम्म, समथर तराइदेखि अग्लो पहाडसम्म र एकदेश देखि अर्को देशसम्म परिश्रमपूर्वक त्यो पानी बोकेर लिएर जान्छ । खोलाहरुले पानीलाई बगाएर एक ठाउँदेखि अर्को ठाउँसम्म पुर्याउने काम गर्छन् । रुख बिरुवाले आफ्नो अस्तित्व दान गरेर अरुलाई बचाइ रहेका हुन्छन् । फूल र फल पनि अरुका लागि बाँचेका हुन्छन् । सूर्य, चन्द्र, नक्षत्र, वायु आदिको क्रियाशीलता उनको आफ्नो लागि होइन अर्काका लागि नै हो । शरीरको प्रत्येक अङ्गले आफ्नालागि होइन पूरै शरीरका लागि काम गरेको हुन्छ । यस संसारमा जता हेरे पनि यज्ञ वृत्तिमा नै आधारित क्रियाकलाप देख्न पाइन्छ ।
ऋत्विक र यजमानको संयुक्त काम नै यज्ञ कर्म हो र त्यस कर्मले जसको उत्पत्ति हुन्छ त्यस अपूर्व रुप कर्मले सबैको उन्नति हुँदै जान्छ । यसरी एउटा क्रिया अर्कोसँग सम्बन्धित भई सबै उन्नतिशील हुँदै जानु नै यज्ञ कर्म समुद्भव हो ।


एवं प्रवर्तितं चक्रं नानुवर्तयतीह यः ।
अघायुरिन्द्रियारामो मोघं पार्थ स जीवति ।।१६।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

एवम् (यस प्रकार) प्रवर्तितम् (प्रचलित) चक्रंम् (सृष्टि चक्र) न अनुवर्तयति (आचरण गर्दैन) इह (यस लोकमा) यः (जसले) अघायु ः (पाप आयु) इन्द्रियारामो (इन्द्रिय लम्पट) मोघम् (व्यर्थमा) पार्थ (हे पार्थ) सः (त्यो) जीवति (बाँच्छ) ।
यस प्रकार सृष्टि चक्र आधारित छ । तर जो यस प्रचलित चक्र अनुसार आचरण गर्दैन, त्यस पाप आयु इन्द्रियलम्पटको जीवन व्यर्थ छ ।।१६।।

सृष्टि चक्र अनुसार आचरण गर्नु भनेको के हो ? ओशो रजनीशले सृष्टिको चक्र अनुसार व्यक्तिको आचरणलाई आश्रम व्यवस्थासँग तुलना गरेका छन् । त्यस बेला परमायु १०० वर्ष मानेर मानिसको सम्पूर्ण जीवनलाई चार भाग, पहिलो ब्रह्मचर्य, दोस्रो गृहस्थ, तेस्रो वानप्रस्थ र चौथोलाई संन्यासमा विभाजन गरिएको थियो ।
सुरुका २५ वर्ष लाई ब्रह्मचर्य भनिएको छ । यो समय जीवनको ऊर्जा उर्लंदो हुन्छ । शरीर सशक्त हुन्छ, इन्द्रियहरु बलिया हुन्छन्, बुद्धि तेजिलो हुन्छ । पच्चीस वर्ष ब्रह्मचर्यको साधना किन गराइन्थ्यो भने विद्यार्थी कामवासनाबाट मुक्त भई जाओस्् । पच्चीस वर्ष हामीले विद्यार्थीलाई ब्रह्मचर्य साधनामा किन लगाइन्थ्यो भने अर्काे २५ वर्षको गृहस्थ आश्रममा ऊ काम उपभोगको गहिराईमा जान सकोस् । जसले कामको गहिराई प्राप्त गरेको छैन, त्यो काम भावबाट कहिल्यै बाहिर निस्कन सक्ने छैन । त्यसैले ब्रह्मचर्यका २५ वर्षको दोहोरो अर्थ थियो । एउटा अर्थ के थियो भने जब मानिसहरु संसारमा जाने छन्, त्यहाँ उनीहरुले इन्द्रिय सुख भोग्ने छन् । अर्को अर्थ थियो जब उनी वानप्रस्थ आश्रममा प्रवेश गर्ने छन् कामभावनाबाट मुक्त हुने छन् । जो काम अनुभवमा जति गहिरो जान्छ, उति सजिलो गरी इन्द्रियबाट मुक्त पनि हुन्छ । जब इन्द्रियका सबै अनुभव जानिन्छ अनि मानिसले के बुझ्छ भने प्राप्ति योग्य केही पनि रहेनछ । । जीवनको क्रम पनि त्यही हो । यो क्रम खण्डित भएमा मानिसले जीवनको चरम शिखर प्राप्त गर्न सक्दैन ।
ब्रह्मचर्य आश्रमसँग अर्को मनोवैज्ञानिक कुरा जोडिएको थियो । त्यो जोडिएको कुरा के हो भने सुरुका २५ वर्ष कडा अनुशासन र कठिन श्रमको समय हुनपर्छ ।
जीवनको नियम क्रम के हो भने जसको बचपन जति अनुशासित र श्रमपूर्ण हुन्छ, उसको बाँकी जिन्दगी त्यति नै सुखपूर्ण हुन जान्छ । जसको बचपन जति सुखपूर्ण हुन्छ, उसको शेष जीवन त्यति नै विषाद र दुखपूर्ण हुन्छ । बचपनमा जो गुन्द्रीमा सुतेको होला, बचपनमा जसले सुक्का रोटी खाएको होला, जिन्दगीले पछि जति कुरा दिए पनि त्यो भन्दा बढ्ता नै हुन्छ । सुख भन्ने कुरा तुलनात्मक हुन्छ । अब जिन्दगीले जे जति कुरा दिन्छ, त्यो केही बढी नै हुनेछ ।
पच्चीस वर्ष ब्रह्मचर्यका, कठिन श्रमका वर्ष थिए । पछिको जिन्दगी प्रति पल घट्दो श्रमको हुन्थ्यो । यो क्रम ठीक छ । प्रशस्त शारीरिक शक्ति हुँदा प्रशस्त श्रम गर्नै पर्छ । आजका केटाकेटीहरुले ज्यादै कम श्रम गर्छन् । बरु बुढाबुढीले धेरै श्रम गर्नु परेको छ । यो उल्टो क्रम हो । बुढाबुढी गोरु झैं जोतिएका छन् र केटाकेटीहरु काम नगरी सुखले बसेका छन् ।
पहिलो आश्रम, मानिसका जीवनको बिहानीमा, शक्तिको, शक्ति संचयको, प्रयोग र क्षमता विकासको समय हो, यो विश्रामको समय होइन । विश्रामको समय पछि विस्तारै आउँछ । आखिरी क्षण, जिन्दगीको सूर्यास्तको समय, विश्रामको क्षण हो । त्यसैले ७५ वर्ष पछि, संन्यासको आश्रममा पूर्ण विश्रामको व्यवस्था गरिएको छ, पूर्ण विश्राम । पहिलो २५ वर्ष पूर्ण श्रम, अन्तिम २५ वर्ष पूर्ण विश्राम । यी दुवैलाई जोड्ने जीवनका अरु दुई अवस्थाहरु थिए ।
ब्रह्मचर्य आश्रममा समाजीकरण प्रक्रिया पनि थियो । ब्रह्मचर्यका २५ वर्ष सहजीवन र समानताका थिए । सम्राटका छोराले पनि एउटा साधारण मानिसको सन्तानले जस्तै दाउरा खोज्थ्यो, गाई चराउँथ्यो, गोठाल्याईं गथ्र्यो, गुरुका गोडा मिच्थ्यो । त्यसैले यी समानताका वर्ष थिए । यस बेला जुन कुरा पनि हृदयमा प्रवेश गर्यो त्यो जीवनभर साथ रहन्थ्यो । त्यसैले त्यसबेलाको समाजमा असमानता देखिए पनि मानिसहरुको चित्तमा असमानता थिएन । मानिसहरुमा समानताको बहुलट्ठी तिर्खा पनि थिएन ।
एकातिरबाट हेर्दा जसलाई स्पर्धा भनिन्छ, त्यो यी २५ वर्षमा उत्पन्न हुनै पाउँदैनथ्यो । किनभने सबै समान थिए । त्यसैले आश्रम युगमा स्पर्धामुक्त र महत्त्वाकाङ्क्षा शून्य समाजको सिर्जना भएको थियो ।
अर्को आश्रम थियो गृहस्थको । यस समाजले मानिसलाई जति वैज्ञानिकताले स्वीकार गरेको छ, त्यति वैज्ञानिकतामा यस पृथ्वीमा अरु कसैले स्वीकार गरेको छैन होला । अचम्मको के कुरा हो भने २५ वर्ष कठोर ब्रह्मचर्य आचरण गरेका मानिसलाई गृहस्थ जीवनमा पठाइन्थ्यो। विवाहित र इन्द्रिय सुखमा प्रवेशको स्वतन्त्रता पनि थियो ।
तर जसले ब्रह्मचर्यको आनन्द जान्यो उसका लागि गृहस्थ जीवन भोग र तृष्णा हुँदैन, एक कर्तव्य हुन्छ । गृहस्थको कर्तव्य पूरा गरेपछि सहर्ष ब्रह्मचर्यमा फर्कन्छ । त्यसैले वासनाको जगतमा यात्रा गर्नु अघि ब्रह्मचर्यको अनुभव अनिवार्य छ । अन्यथा वासनाले मरुन्जेल, घाटमा पुगुन्जेल पनि छोड्ने छैन किनभने तुलनाको कुनै उपाय रहने छैन । शास्त्रले भनेका छन्, जसले सन्तानका लागि सम्भोग गर्छ, त्यो पनि ब्रह्मचारी नै हो ।
त्यस बेलाका समाज दार्शनिकले आश्रम व्यवस्थामा अझ एउटा गहिरो कुरा पत्ता लगाए । एउटै घरमा बाबुले र छोराले सन्तान जन्माउँछन् भने यो पिताको अपरिपक्वता हो । त्यो पिता पनि केटाकेटी हो जसले छोराछोरीले सन्तान जन्माउँदा आफूले पनि सन्तान जन्माउँछ। त्यसैले जुन दिन घरमा छोराले विवाह गर्छ, त्यसै दिन बाबुको वानप्रस्थ आश्रम प्रारम्भ हुन जान्थ्यो । वानप्रस्थको अर्थ हुन्छ, वनतिर मुख फर्काएको । अब घरैमा जंगलको तैयारी सुरु गर्ने बेला भयो । भर्खरै जंगल पुग्यो भने क्रममा बाधा पर्ने छ । अब २५ वर्ष पुगेका सन्तान आश्रमबाट घर फर्कने समय भएको छ । पिताले बाबुले २५ वर्ष गृहस्थको जे जति अनुभव जम्मा गर्यो, त्यो सन्तानलाई हस्तान्तण गर्न जरुरी हुन्छ, अन्यथा सन्तान अनुभवहीन हुनजानेछन् । अब पिताले घरको, ज्ञानको र सामाजिक अनुभवको सारा साँचो सन्तानलाई हस्तातरण गर्नु छ । यो नै वानप्रस्थी हुनु हो ।
अनि ७५ वर्षको उमेरमा उसका सन्तानका पनि सन्तान जंगलबाट घर फर्कने बेला हुन थाल्छ । छोराछोरी ५० वर्ष पुगिसक्छन्, अर्थात् सन्तानको वानप्रस्थ उमेर हुन्छ । जंगलजानका लागि अब बाबुले सबैसँग बिदा लिने बेला भयो । अब यो संन्यासी भयो किनभने यसका जीवनको सन्ध्याकाल आइपुग्यो । जीवनको घाम अस्ताउन थाल्यो । अबका २५ वर्ष प्रभु स्मरणका लागि हो । अझ महत्त्वपूर्ण कुरा, अब सन्न्यासको २५ वर्ष अवधिमा वानप्रस्थबाट जङ्गल गएको मानिस समाजबाट आएका केटाकेटीहरुको गुरु भएर बस्नु पर्छ । यर्हाँ ध्यान दिनु पर्ने कुरा के हो भने जुन समाजमा वृद्ध गुरु छैन, त्यस समाजमा गुरु नै छैन भने हुन्छ। आजको समाजमा विद्यार्थी र गुरुमा दुई चार वर्षको मात्र अन्तर छ । कहिलेकाहीं त्यो अन्तर पनि हुँदैन, कहिलेकाहीं त विद्यार्थी नै जेठो हुनसक्छ । यदि विद्यार्थीको उमेर गुरुको भन्दा बढी छ भने त्यो सम्बन्ध बन्न सक्दैन जुन ७५ वर्ष जीवनका सबै अनुभव बटुलेका मानिसले साना बालकहरुसँग जोड्न सक्छ ।
त्यस उमेरको गुरु जीवनको शिखर हुन्थ्यो जसको रोमरोममा जीवन र प्रौढताले आफ्नो छाप छोडेको छ । यस्तो ७०, ८० वर्ष वा त्यो भन्दा बढीको वृद्धको नजिकमा बस्दा स्वाभाविक रुपमा विद्यार्थीका मनमा आदर र पूज्य भाव उत्पन्न हुन्थ्यो । यस मान्छेमा कुनै वासना छैन त्यसैले त्यो पूजनीय लाग्छ, भगवान जस्तो लाग्छ । त्यसैले आश्रमका केटाकेटीले गुरु ब्रह्मा गुरु विष्णु भन्न सक्थे । जीवनको त्यस शिखरमा बसेको वृद्धको छेउमा बस्ने बालकले यदि उसलाई परमात्मा ठान्छ भने यसमा केही पनि अचम्म छैन ।
आश्रम कालमा के मानिएको थियो भने जबसम्म जीवनगत भेद छैन, तबसम्म गुरु शिष्य सम्बन्ध निर्माण हुन सक्दैन । गुरु शिष्य सम्बन्ध खाली सूचनामूलक होइन, अस्तित्वमूलक हो । गुरु हुनुपर्छ जीवनको अस्त र शिष्य हुनुपर्छ जीवन को उदय । यी दुवैका बीचमा ६०, ७० वर्षका अनुभवको अन्तर छ । यस अनुभवले, हिजोसम्मका विकार, क्रोध, काम, लोभ सबैबाट छुटकारा गराइदिन्छ । जब यस्ता मानिसका वरिपरि केटाकेटी जम्मा हुन्थे, उनीहरु जीवनको दान लिएर फर्कन्थे, चिर ऋणी भएर फर्कन्थे । यो चौथो आश्रम थियो जसलाई संन्यास भनिन्छ ।
त्यसैले गीताले भनेको छ– शास्त्रले बताएको यस प्रकारको सृष्टिको चक्र अनुसार जसले आचरण गर्दैन, त्यो इन्द्रिय लम्पट हो । त्यसको जीवन व्यर्थ छ ।


यस्त्वात्मरतिरेव स्यादात्मतृप्तश्च मानवः ।
आत्मन्यैव च सन्तुष्टस्तस्य कार्यं न विद्यते ।।१७।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

तु (तर) यः (जुन) मानवः (मानिस) आत्मरतिः एव (आफैंमा नै, अन्तरात्मामा रमाउने) स्यात् (हुन्छ) आत्मतृप्तः च (तथा आफैंमा, सन्तुष्ट, तृप्त) आत्मनि एव च (आत्मामा, आन्तरिक रुपमा, नै) सन्तुष्टः (सन्तुष्ट छ) तस्य (त्यसको) कार्यम् (कर्तव्य, गर्नु पर्ने) न विद्यते (केही हुँदैन) ।
तर जुन मानिस आफैंमा रमाउँछ, र आफैंमा तृप्त हुन्छ, आफैंमा सन्तुष्ट रहन्छ, उसका लागि गर्नु पर्ने केही पनि रहँदैन ।। १७ ।।

नैव तस्य कृतेनार्थो नाकृतेनेह कश्चन ।
न चास्य सर्वभूतेषु कश्चिदर्थव्यपाश्रयः।।१८।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

इह (यहाँ) कृतेन (कर्म अनुष्ठान गर्दा) तस्य (त्यसको) अर्थः (उद्देश्य) न एव (छैन) च (तथा) नअकृतेन (कर्मत्याग गर्दा पनि) कश्चन (कुनै प्रयोजन) न (छैन) अस्य (यसको) सर्वभूतेषु (सबै प्राणीहरु) कश्चिद् (कुनै पनि) अर्थ (स्वार्थ, उद्देश्य) व्यपाश्रयः न (सम्बन्ध छैन) ।
त्यस (तृप्त) को यस संसारमा न कुनै काम गर्नु पर्ने छ, न कुनै स्वार्थ छ, न अकृतेन (कर्मत्याग) मा नै कुनै उद्देश्य हुन्छ, तथा सबै प्राणीहरुमा पनि यसको कुनै स्वार्थ सम्बन्ध रहँदैन । (नाफाका लागि केही गर्ने र हानिका लागि नगर्ने भन्ने केही हुँदैन ।)।।१८।।

जो मानिस आफैंमा सन्तुष्ट छ, उसका लागि केही गर्नु पर्ने छैन । किनभने उ तृप्त छ । पानीमा चीनी घोल्दा सुरुमा छिटो घोलिन्छ । विस्तारै थप्दा चीनी कम घोलिन्छ । एक समय यस्तो हुन्छ जब चीनीघोल संतृप्त हुन्छ । त्यस पछि चीनी घोलिंदैन । आफैंमा तृप्त मानिसले कुनै कुराको आकाङ्क्षा राख्दैन । त्यसैले उसको कुनै कार्यमा आफ्नो स्वार्थ हुँदैन । यसको अर्थ उसले केही पनि गर्दैन भन्ने होइन । उसले सबै कुरा गर्छ तर त्यस क्रियामा स्वार्थ हुँदैन । स्वार्थ नभए पछि उसले नाफा उद्देश्यका लागि केही पनि गर्दैन र हानि प्राप्त भएमा पनि असन्तुष्टि हुँदैन । उसले हानिको अवस्थालाई त्यति नै सहजरुपमा स्वीकार गर्छ जति नाफाको अवस्थालाई स्वीकार गर्छ । त्यसैले ऊ त्यस कर्ममा लिप्त हुँदैन भनिन्छ ।
जब कुनै मानिसले आफूभित्रको सुखलाई पूर्णतामा अनुभव गर्छ भने त्यस पछि उसलाई कसैले दुखी बनाउन सक्दैन । हामी भित्र दुख हामी आफैंले निर्माण गरेका हुन्छौं । अर्काले हामी भित्र दुख निर्माण गर्दैन । मानिसहरुले दुई प्रकारका दुखले गर्दा मन भित्र दुखको अनुभव गर्छन् । पहिलो, आफूलाई आइपरेको दुख, दोस्रो अर्काले पाएको सुख । अधिकांश मानिस अरुले सुख पाएको देखेर दुखी भइरहेका हुन्छन् । भनिन्छ, मानिसलाई कसैले हराउन सक्दैन, जबसम्म ऊ आफैंले भित्रबाट हार स्वीकार गर्दैन । यही कुरा सुखदुखका लागि लागु हुन्छ ।
पूर्ण सन्तुष्टिसम्म पुग्ने चरणहरुलाई विभिन्न तरिकाले व्याख्या गरिन्छ । पूर्ण सन्तुष्टिको अन्तिम भावभूमिमा पुगेपछि साधक पुनः जगत्मा फिर्ता हुन चाहँदैन । भगवान् बुद्ध समाधिको आनन्द प्राप्त भएपछि सातदिन त्यस आनन्दमा निमग्न भएका थिए । उनी समाधिबाट फिर्ता हुन चाहेका थिएनन् । पछि संसारमा फर्केर लोककल्याणका कार्य गर्नु पर्छ भन्ने मनमा संकल्प लिए पछि मात्र उनको समाधि टुटेको हो ।
योगवाशिष्ठका अनुसार, इन्द्रियभोगदेखि सहस्रारसम्म निम्नलिखित सात चरणहरु छन् –
१. शुभइच्छा,
२. सुविचार,
३.तनुमानस, मनको सूक्ष्म विश्लेषण गर्नु,
४.सत्त्वापत्ति, सत्यको ज्ञान वा साक्षात्कार,
५. असंसक्ति नसा,
६. पदार्थभाविनी,
७. तुर्यगा ।
चौथो अवस्थामा ब्रह्म साक्षात्कार, पाँचौंमा पुगे पछि मन नियन्त्रणमा हुन्छ । त्यस्तो अवस्था अनासक्तिको अवस्था हो । त्यसलाई ब्रह्मयोगी पनि भनिन्छ । छैठौंमा कर्मबाट मुक्ति हुन्छ र बाह्य पदार्थको ज्ञान हराउँछ । आत्मानन्दको अवस्था यही हो । सातौं अवस्था आत्मारामको अवस्था हुन्छ । गीतामा यस अवस्थालाई आत्मरति (३.१७) ऐकान्तिक सुख (१७.२७) भनिएको छ । पाँचौं अवस्थासम्म मात्र गुरु उपदेशको अवस्था रहन्छ । छैठौं पछि पूर्ण वीतरागी हुनजान्छ । विवेकानन्दका गुरु रामकृष्ण यस अवस्थामा पुगेका थिए ।


तस्मादसक्तः सततं कार्यं कर्म समाचर ।
असक्तो ह्याचरन्कर्म परमाप्नोति पूरुषः ।।१९।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

तस्मात् (त्यसैले) असक्तः (आसक्तिरहित भएर) सततम् (निरन्तर) कार्यम् (कर्तव्य) कर्म (कर्मलाई) समाचर (राम्ररी पूरा गर) हि (किनभने) असक्तः (अनासक्त भावले) कर्म (कर्म) आचरन् (गरेर) पूरुषः (मानिसले) परम (परम गति, परमात्म भाव) आप्नोति (प्राप्त गर्छ) ।
त्यसैले आसक्तिरहित भएर निरन्तर कर्तव्यकर्मलाई राम्ररी पूरा गर । किनभने अनासक्त भावले कर्म गर्दै जाँदा
मानिसले परम गति प्राप्त गर्छ ।। १९ ।।

कर्मणैव हि संसिद्धिमास्थिता जकादयः ।
लोकसङ्ग्रहमेवापि सम्पश्यन्कर्तुमर्हसि ।।२०।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

कर्मणा (आसक्तिरहित कर्मद्वारा) एव हि (नै) संसिद्धिम् (सिद्धि, परमसिद्धिमा) आस्थिताः (प्राप्त गरे) जनकादयः (जनक आदि ज्ञानीजन) लोकसङ्ग्रहम् (लोकशिक्षा) सम्पश्यन् (विचारका लागि, देखाउनका लागि) एव अपि (पनि) कर्तुम् (कर्म गर्नु) अर्हसि (उचित छ) ।
जनकादि ज्ञानी पुरुषले आसक्तिरहित कर्मद्वारा नै परमसिद्धि प्राप्त गरेका थिए । लोकशिक्षाका विचारले पनि तिमीले कर्म गर्नु उचित छ ।। २० ।।

त्यसैले आसक्तिरहित भएर निरन्तर कर्तव्यकर्मलाई राम्ररी पूरा गर किनभने अनासक्त भावले कर्म गर्दै जांदा मानिसले परमात्म भाव प्राप्त गर्छ । जनकादि ज्ञानी पुरुषले आसक्तिरहित कर्मद्वारा नै परमसिद्धि प्राप्त गरेका थिए । लोकशिक्षाका विचारले पनि तिमीले कर्म नै गर्नु पर्छ ।
योगीले कर्म त्याग गर्दैन, बरु कर्मले योगीको त्याग गर्छन् । भगवान् श्रीकृष्णले ज्ञानमार्ग र कर्ममार्गबाट सिद्धि प्राप्त गरेका व्यक्तिहरुको उदाहरण दिंदै भन्नु हुन्छ– ‘जनक आदि यस्तै कर्मयोगी हुन् ।’
जनक बाहेक पनि कर्मयोगी राजाहरुका उदाहरण पाइन्छन्, जस्तै, मनु, दिलीप, पृथु, मर्यादा पुरुषोत्तम राम इत्यादि । इतिहासमा पनि अनेक कर्मयोगी राजाहरुको विवरण पाइन्छ, जस्तै अजातशत्रु, मारकस औरेलियस, महेन्द्रमल्ल इत्यादि ।
राजा महेन्द्रमल्लको बारेमा के जनश्रुति प्रचलित छ भने उनले साँझमा दरबारमाथि बार्दलीमा बसेर चारैतिर हेर्थे । सबै घरबाट धुवाँ निस्केपछि बल्ल आफ्नो भान्सामा आगो बाल्थे । सबैका घरबाट धुवाँ निस्केपछि अब सबैका घर खाना पाक्यो भन्ने निश्चित भए पछि राजा महेन्द्रमल्लले खाना पकाउन सुरु गर्थे । त्यसैले महेन्द्रमल्ललाई प्रजाले खाए पछि खाने राजा उपनामले पनि सम्बोधन गरिन्छ।
यो बाटो लोक शिक्षाका लागि जरुरी छ भन्ने गीताको भनाई छ । जनकादि कर्ममार्गका पथिकले प्राप्त गर्ने निष्ठा पनि त्यही हो जुन शुकदेव, याज्ञवल्क्य आदिले ज्ञानमार्गबाट प्राप्त गरे ।

यद्यदाचरति श्रेष्ठस्तत्तत्देवेतरो जनः ।
स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते ।।२१।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

श्रेष्ठः (श्रेष्ठ पुरुषले) जुनजुन (यत् यत्) आचरति (आचरण गर्छ) देव इतरः (देव इतर, अन्य) जनः (मानिसहरुले) तत् तत् (त्यही त्यही गर्छन्) सः (उसले) यत् (जुन) प्रमाणम् (प्रमाण) कुरुते (स्थापित गर्छ) लोकः (लोक) तत् (त्यही) अनुवर्तते (अनुसरण गर्छ) ।
श्रेष्ठ पुरुषले जुनजुन आचरण गर्छ, अन्य मानिसहरुले त्यही त्यही गर्छन् । त्यसले जुन प्रमाण स्थापित गरीदिन्छ, सारा लोकले त्यही अनुसरण गर्छ ।।२१।।

श्रेष्ठ पुरुषहरुले जस्तो आचरण गर्छन्, अन्य मानिसहरुले त्यही अनुकरण गर्छन् । उनीहरुले गरेको काम प्रमाण मानिन्छ । उनीहरुले भनेको कुरा नियम बन्छ र लोकले त्यसको अनुसरण गर्छ । गीताको यस वाक्यको द्वयार्थी नै सत्य छ । लोकले जसको व्यवहार दीर्घकालिक आचरण गर्छ, त्यो श्रेष्ठ हुन्छ । यसका पछाडिको तर्क के हो भने अल्पकालिक सुख अश्रेष्ठको आचरणबाट पनि हुनसक्छ । ऋणं कृत्वा घृतं पिवेत...को आचरणले कसैले केही समयका लागि सुख प्रदान गर्न सक्छ, अर्काका धन सम्पत्ति हरण गर्नेले पनि क्षणिक सुख अनुभव गर्न सक्छ तर दीर्घकालिक सुख प्राप्त गर्न सक्दैन । सबैले र सधैंका लागि जुन आचरण गर्नाले सुख प्राप्त हुन्छ, लोकले आचरण गर्न चाहने व्यवहार त्यही हो । यी आचरण श्रेष्ठ पुरुषहरुले प्रदान गर्छन् ।
भगवान् रामले आफ्नो जीवनमा अनेक कष्ट बेहोर्नु भयो । तर जुन मर्यादा भगवान् रामले स्थापित गर्नु भयो, त्यसलाई विश्वमा आज आदर्श मानिन्छ । यस व्यवहारका आधारमा परिवार र समाज सुखले बाँच्न सक्छ भन्ने मान्यता स्थापित भएको छ ।
तैत्तिरीयोपनिषदमा भनिएको छ– ‘सत्य बोल । धर्मको आचरण गर ।’ साथै के भनिएको छ भने– ‘असल मानिसहरुको आचरण गर्नु । यदि तिमीलाई कर्म र आचरणको सम्बन्धमा कुनै प्रकारको सन्देह हुन्छ भने विचारशील, परामर्शकुशल, आचरण निष्ठ, निर्मल बुद्धि, धर्माभिलाषी ब्राह्मणसँग सल्लाह लिनु पर्छ । उनले जुन व्यवहारको निर्देश गर्छन् त्यो व्यवहार गर्नु पर्छ ।’

न मे पार्थास्ति कर्तव्यं त्रिषु लोकेषु किञ्चन ।
नानवाप्तमवाप्तव्यं वर्त एव च कर्मणि ।।२२।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

पार्थ (हे पार्थ) मे (मैले) कर्तव्यंम् (गर्नु पर्ने) त्रिषु लोकेषु (तीन लोकमा) न अनवाप्तम् (नपाएको वस्तु) अवाप्तव्यम् (प्राप्त गर्नु पर्ने) किञ्चन (केही) न अस्ति (छैन) च (तापनि) कर्मणि (कर्म, लौकिक कर्म) एव वर्त (गरिनैरहन्छु) ।
हे पार्थ, तीन लोकमा मैले गर्नु पर्ने केही छैन, मैले नपाएको कुनै वस्तु पाउनु पर्ने छैन तापनि म निरन्तर कर्म गरिनैरहन्छु ।। २२ ।।

यदि ह्यहं न वर्तेयं जातु कर्मण्यतन्द्रितः ।
मम वर्त्माानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।। २३ ।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

हि (किनभने) पार्थ (हे पार्थ) यदि (यदि) अहम् (मैले) अतन्द्रितः (चनाखो, अल्छी नगरिकन) कर्मणि (कर्म) वर्तेयं न (गरिन) जातु (भने) मम (मेरो) वर्त्म (बाटो) मनुष्याः (मानिसहरुले) सर्वशः (सबै प्रकारले) अनुवर्तन्ते (अनुसरण गर्नेछन्) ।
किनभने हे पार्थ, यदि मैले चनाखो भएर कर्म गरिन भने सारा लोकले सबै प्रकारले मलाई नै अनुसरण गरेर गर्ने छन् अर्थात् आफ्नो कर्तव्य पूरा गर्ने छैनन् ।। २३ ।।

वर्त शब्द वृत् बाट बनेको छ । यसको अर्थ हो छनौट गर्नु, लागि रहनु, स्थिर रहनु । सबै कुराको मालिक ईश्वरले जरुरी नभए पनि अवतार अनुसारको आफ्नो जिम्मेवारी पूरा गर्छन् । तर यो उनको बाध्यता होइन, लोक शिक्षाका लागि एक छनौट हो । देखाई दिने बाटो हो । यो सक्रियता सृष्टिको उन्नतिका लागि आवश्यक हुन्छ ।
वृत् बाट नै वर्त्म शब्द बनेको छ । यसको अर्थ हुन्छ पथ, हिंड्ने बाटो । यस्तै शब्द फारसी भाषामा पनि प्रयुक्त हुन्छ र त्यहाँ पनि यसको अर्थ बाटो वा सडक नै हुन्छ ।
परिवारको मुखिया चनाखो भए परिवारको र व्यावसायिक प्रतिष्ठानको मुखिया चनाखो भएर काम गरे व्यवसायको उन्नति हुन्छ ।
कौटिलीय अर्थशास्त्रमा देशको उन्नति गर्न सर्वप्रथम राजा आफैं उन्नतिशील हुनुपर्छ भनिएको छ । यसो भएमा मन्त्री र राजकीय अधिकारी पनि उन्नतिशील हुन्छन् । यसको विपरीत राजा प्रमादी भएमा सारा भृत्यवर्ग पनि प्रमादी हुन जान्छन् । यस्तोमा भृत्य वर्गले राजकार्य खाइदिन्छन् । यस्तो राज्यमा शत्रुले सजिलै कब्जा गरीदिन्छ । कौटिलीय अर्थशास्त्रमा राजाको दिनचर्या कति व्यस्त राखिएको छ भने उसलाई आरामका लागि रात्रिको लगभग एक प्रहर भाग उपलब्ध छ ।

उत्सीदेयुरिमे लोका न कुर्यां कर्म चेदहम् ।
सङ्करस्य च कर्ता स्यामुपहन्यामिमाः प्रजाः।।२४।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

चेत् (यदि) न कुर्याम् कर्म (कर्म गरिन) इमे लोकाः (यी सबै लोक) उत्सीदेयुः (नष्ट भ्रष्ट हुनेछन्) च (तथा) अहम् (म) इमाः (यस) प्रजाः (प्रजालाई) उपहन्याम (नष्ट गर्ने) सङ्करस्य (संकरताको) कर्ता (कारक) स्याम् (हुनेछु) ।
यदि मैले यसरी कर्म गरिन भने यी सबै लोक नष्ट भ्रष्ट हुनेछन् तथा म सङ्करता उत्पन्न गरेर प्रजालाई नष्ट गर्ने कारक हुनेछु ।।२४।।

सक्ताः कर्मण्यविद्वांसो यथा कुर्वन्ति भारत ।
कुर्याद्विद्वांसक्तश्चिकिर्षुर्लोकसङ्ग्रहम् ।।२५।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

भारत (हे भारत, भरतवंशका अर्जुन) लोकसङ्ग्रहम् (लोकसंग्रहको) चिकिर्षुः (इच्छा राख्ने) असक्तः (अनासक्त) विद्वान् (ज्ञानीले) यथा (त्यसै गरी) कर्मणि (कर्महरु) कुर्यात् (गरोस्) सक्ताः (आसक्त) अविद्वांसः (अज्ञानी) कुर्वन्ति (गर्छन्) ।
हे भारत, लोकसंग्रहको इच्छा राख्ने अर्थात् लोकशिक्षाका लागि ज्ञानीहरुले अनासक्त भई त्यस्तै चालचलन गर्नु पर्दछ जस्तो व्यावहारिक कर्ममा आसक्त भएका अज्ञानीहरुको चालचलन हुन्छ ।। २५ ।।

‘हे पार्थ, तीन लोकमा मैले गर्नु पर्ने केही छैन । मैले नपाएको कुनै वस्तु पाउनु पर्ने पनि छैन । तथापि म निरन्तर कर्म गरी नै रहन्छु । किनभने म सावधान भएर कर्ममा लाग्ने व्यवहार गरिन भने सारा मनुष्य जातिले पूर्णतः मलाई नै अनुसरण गर्ने छ’ भने पछि यसलाई स्पष्ट गर्न भनिएको छ– यदि मैले कर्म गरिन भने यी सबै मानिस नष्ट भ्रष्ट हुनेछन् र प्रजामा संकरता उत्पन्न गरेर उनलाई नष्ट गर्ने कुराको दोषी म हुनेछु । त्यसैले कर्ममा आसक्त सामान्य मानिसहरुले जसरी काम गर्छन्, आसक्तिरहित विद्वान्ले पनि लोकशिक्षाका लागि त्यस्तै गर्दै रहोस् ।’
भगवान् श्रीकृष्णको जीवन एक आलोक हो जसमा यस लोकमा कसरी व्यवहार गर्नु पर्छ भन्ने उदाहरण हामीलाई प्राप्त हुन्छ । दूध दहीमा बाल अधिकार स्थापित गर्न दही चोर्नेदेखि अन्यायी शासकहरुको संहार कार्यको नेतृत्व गर्नु भयो ।
शासकहरुको संहार गरे पछि त्यस बेला जित्नेको स्वतः अधिकार स्थापित हुने मान्यता विपरीत त्यस देशको उत्तराधिकारी सोही देशको योग्य व्यक्तिको हातमा दिएर सोही देशको सार्वभौमसत्ताको सम्मान गर्नु भयो ।
एक पुत्रको रुपमा, एक प्रेमीको रुपमा एक पिताको रुपमा भगवान् कृष्णको भूमिकाबाट आज पनि संसारले शिक्षा ग्रहण गर्न सक्छ । कसै कसैले गीता सुनाएर श्रीकृष्णले कुरुक्षेत्रमा नरसंहार गराउनु भएको हो भन्ने आरोप लगाउँछन् तर भगवान् श्रीकृष्णले आफैं शान्तिदूत भइ दुर्योधनलाई सम्झाउने भरमग्दुर प्रयत्न गर्नु भएको थियो । शान्तिदूतको रुपमा शान्तिका लागि अनुरोध गर्नु भएको थियो । आधाराज्य होइन पाँच गाउँ मात्र प्राप्त गरेर भए पनि शान्ति स्थापना गर्नु पर्छ भन्ने कुरा पनि दुर्योधनले मानेन ।
उसले भन्यो– ‘त्यत्तिकै त सियोको टुप्पो जति जमीन पनि दिन तैयार छैन । कसले कति प्राप्त गर्ने भन्ने कुरा युद्धले निर्णय गर्ने छ ।’
यस निर्णय पछि युद्ध गर्ने बाहेक अन्य उपाय थिएन । कि युद्ध कि आत्मसमर्पणको अवस्थामा पुगेका पाण्डवलाई भगवान् श्रीकृष्णले साथ दिनु भएको हो ।
अन्याय भएमा आफ्नो समस्त शक्ति लगाएर अन्यायको प्रतिरोध गर्नु पर्छ भन्ने सन्देश दिनु भएको हो ।
तथापि जब युद्धका लागि सहयोग लिन अर्जुन र दुर्योधन दुवै पुगे भगवानले दुवैलाई सहयोग गर्नुभयो । दुर्योधनलाई आफ्नो नारायणी सेना दिनु भयो भने अर्जुनलाई आफूले सारथी भएर सघाउनु भयो ।

न बुद्धिभेदं जनयेदज्ञानां कर्मसङ्गिनाम् ।
जोषयेत्सर्वकर्माणि विद्वान्युक्तः समाचरन् ।। २६ ।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

कर्मसङ्गिनाम् (कर्ममा आसक्त) अज्ञानां (अज्ञानीहरुको) बुद्धिभेदं (बुद्धि भेद) न जनयेत् (उत्पन्न नगराओस्) (सबै प्रकारका कर्म) जोषयेत् (गर्दै रहेर) युक्तः (युक्त) विद्वान् (ज्ञानीमानिसले) सर्वकर्माणि (सबै प्रकारका कर्म) समाचरन् (राम्ररी कर्म गरोस्) जोषयेत् (र गराओस्)।
कर्ममा आसक्त भएका अज्ञानीहरुको बुद्धिमा युक्त ज्ञानी मानिसले भेद (भ्रम) उत्पन्न नगराओस् । बरु योगयुक्त भएर यस्ता मानिस आफूले समस्त कर्म गरोस् र अरु सबैलाई पनि खुशीसाथ कर्म गराओस् । ।२६।।

ज्ञानी पुरुषले अरुले जस्तै खान्छ, बस्छ, हिंड्छ, उसमा केही फरक हुँदैन । ज्ञानीमा पूर्ण आन्तरिक रुपान्तरण भएको हुन्छ तर बाहिरबाट उसले साधारण मानिस जस्तो व्यवहार देखाउँछ । सर्वसाधारणको व्यवहार अनुरुप ज्ञानीले आचरण गर्नु पर्ने उसको बाध्यता हुन्छ । यही कुरा यहाँ स्पष्ट गरिएको छ ।
कुनै पनि ज्ञानी मानिसले कर्ममा आसक्त अज्ञानीहरुको बुद्धि अलमलाउने काम नगरोस् । योगयुक्त मानिसहरुले पनि सर्वसाधारण मानिसहरु जस्तै सबै कर्म गरोस् र अरुलाई पनि यस्ता कर्म गर्न प्रेरणा देओस् ।
ईराकका एक सूफी सन्त थिए बुखारी । उनी पानी जहाजबाट लामो यात्रा गर्दै थिए । सबैसंग राम्रो व्यवहार गर्ने र तत्त्वज्ञानको उपदेश दिनाले मानिसहरु उनलाई सम्मान गर्थे। एक जना यात्रुसंग बुखारी निकै नजिक हुन पुगे । एक दिन कुरै कुरामा सन्तले त्यस मानिसलाई भने— लामो यात्रामा रहँदा धेरै पैसा चाहिन्छ भनेर मैले पनि १००० अशर्फी राखेको छु । यति भनेर उनले आफ्नो सुनको थैली खोलेर पैसा देखाइदिए ।
भोलिपल्ट जहाजमा खाना खान जम्मा भएको बेलामा त्यो मानिस रुन थाल्यो । सबैले सोधे– के भयो ?
उसले रुँदै भन्यो–मैले यात्राका लागि भनेर सुनका १००० अशर्फी लिएर आएको थिएँ, त्यो सबै चोरी भयो । अब मैले कसरी यात्रा गर्ने होला ?
त्यस मानिसलाई लिएर यात्रुहरुले प्रत्येकको कोठामा अशर्फी खोजी गर्न थाले ।
मानिसहरुले प्रत्येक कोठामा खोजी गरे । सुनका अशर्फी कहीं पनि फेला परेनन् । तर उनीहरुले सन्त बुखारीको कोठा तलासी गरेनन् ।
सन्त बुखारीले आफैं भने– आउ, मेरो कोठा पनि तलासी गर ।
मानिसहरुले विनम्रतापूर्वक भने– हजुरले पनि कस्तो कुरा गर्नुहुन्छ ? तपाईंले चोरी गरेको त हामीले कल्पना गर्न पनि सक्दैनौं ।
सन्तले भने होइन– सबैको तलासी भए पछि मेरो पनि तलासी गर्नु पर्छ ।
मानिसहरुले सन्तका सामान पनि तलासी गरे । सन्तसँग एउटा रित्तो थैली मात्र थियो ।
त्यहाँ पनि नभेटे पछि सबै फर्के ।
अर्का दिन बिहान जहाजका माथि सन्त घुम्दै थिए । त्यो मानिसले आएर उनलाई प्रणाम गर्यो । अनि सोध्यो– हजुरको धन कहाँ गयो त?
सन्त हाँसे– यदि तलासी पछि मेरो कोठामा अशर्फी भेटिंदा मैले यी मेरै पैसा हुन् भनेको भए मानिसले विश्वास त गर्थे होला । तर सधैंभरिलाई एउटा शंका समाजमा रहिरन्थ्यो । मैले जीवनभर आफूलाई चोखो सिद्ध गर्ने प्रयास गरिरहनु पथ्र्यो । त्यसैले मैले समुद्रमा फालिदिएँ । अहिले सबै मानिस ढुक्क छन् मसँग पनि अशर्फी छैन ।

प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः ।
अहङ्कारविमूढात्मा कर्ताहमिति मन्यते ।।२७ ।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

प्रकृतेः (प्रकृतिका) गुणैः (गुणहरु, सत्त्व, रज र तमद्वारा) सर्वशः (सबै प्रकारका) कर्माणि (कर्महरु) क्रियमाणानि (कार्यान्वयन हुन्छन्) अहंकार (अहंकारले) विमूढ (मोहित) आत्मा (मानिस) अहम् (म) कर्ता (कर्ता हूँ) इति (यस प्रकार) मन्यते (ठान्दछ) ।
प्रकृतिका गुणहरु– सत्त्व, रज, र तम तमद्वारा सबै प्रकारका कर्महरु कार्यान्वयन भइरहन्छन् तर अहङ्कारले मोहित मानिसले के ठान्दछ भने म कर्ता हूँ ।।२७।।

तत्त्ववित्तु महाबाहो गुणकर्मविभागयोः ।
गुणा गुणेषु वर्तन्त इति मत्वा न सज्जते ।। २८।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

तत्त्ववित् (तत्त्ववित्, यथार्थ बुझ्नेले) तु (तर) महाबाहो (हे महाबाहो) गुणकर्मविभागयोः (गुणकर्मविभागलाई) गुणा (गुणहरुले) गुणेषु (गुणहरुलाई) वर्तन्त (व्यवहार गर्छन्) इति यस प्रकार) मत्वा (मानेर) सज्जते न (आसक्त हुँदैन) ।
तर हे महाबाहु गुणकर्मविभागलाई यथार्थ बुझ्नेले गुण नै गुणले व्यवहार गरेका हुन्छन् भन्ने बुझेर त्यसमा आसक्त हुँदैन ।। २८ ।।

प्रकृतेर्गुणसम्मूढाः सज्जन्ते गुण कर्मषु ।
तान्कृत्स्नविदो मन्दान्कृत्स्नविन्न विचालयेत् ।।२९।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

प्रकृतेः गुण प्रकृतिका (गुणबाट) सम्मूढाः (राम्ररी बहकिएका) सज्जन्ते (आसक्त हुन्छन्) गुण कर्मषु (गुण र कर्ममा) कृत्स्नवित् (सम्पूर्णलाई जान्नेले) तान् (ती) अकृत्स्नविदः (पूर्णतया नबुझ्ने) मन्दान् (मन्दबुद्धिलाई) न विचालयेत् (विचलित नगराओस्)।
प्रकृतिका गुणबाट राम्ररी बहकिएका भएका मानिसहरु गुण र कर्ममा नै आसक्त रहन्छन् । कुरा राम्ररी जान्नेले ती राम्ररी कुरा नबुझ्ने मन्दबुद्धिहरुलाई विचलित नगराओस् ।।२९।।

यहाँ प्रकृतिको अर्थ– सत्त्व, रज, र तम हो । पाँच महाभूत आकाश, वायु, तेज, जल, पृथ्वी हुन् र यी प्रत्येकको कार्य हो शब्द, स्पर्श, रुप, रस, र गन्ध । यिनीहरुसंग सम्बन्धित ज्ञानेन्द्रिय कान, आँखा, जिब्रो, छाला, वाक् हो । महाभूत, त्यसको कार्य र सक्रियता दिने कर्मेन्द्रिय वाणी, हात, गोडा, जननेन्द्रिय, र मलेन्द्रिय हुन्छन् । यी सबैले जसको निर्देशनमा कार्य गर्छन् त्यो अन्तःकरण हो । यो मन, बुद्धि, र अहङ्कारका मिश्रणको रुपमा रहेको छ ।
पाँच महाभूत, अन्तःकरण, पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय र शब्दादि पाँच कार्यलाई गुण विभाग भनिन्छ र यसका परस्पर चेष्टाहरुको नाम कर्मविभाग हो । मानिसको कार्यपद्धति तीन गुणबाट सञ्चालित हुन्छ त्यसैले गुण विभाग र कर्म विभागले आत्मा प्रभावित हुँदैन भन्ने बुझ्नु तत्त्वतः जान्नु हो ।

मयि सर्वाणि कर्माणि सन्न्यस्याध्यात्मचेतसा ।
निराशीर्निर्ममो भूत्वा युध्यस्व विगतज्वरः ।।३०।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

मयि (मलाई) सर्वाणि (सबै) कर्माणि (कर्म) सन्न्यस्य (समर्पण गरेर) अध्यात्मचेतसा (आध्यात्मिक बुद्धिले) निः आशीः (आशारहित) निः ममः (ममतारहित) भूत्वा (भएर) विगतज्वरः (सन्तापरहित भएर, निश्चिन्त भई) युध्यस्व (युद्ध गर) ।
त्यसैले, आध्यात्मिक बुद्धि राखेर सबै कर्म मलाई समर्पण गरेर आशा र ममतालाई छोडेर निश्चिन्त भई युद्ध गर ।। ३० ।।

निराशीको अर्थ हो आशारहित । यहाँ भनेको निराशी र प्रचलित अर्थमा प्रयोग हुने निराशामा अन्तर छ । निराशाको अर्थ हुन्छ नकारात्मक आशा । कुनै काम गर्दा त्यसमा हुने असफलताको आशालाई निराशा भनिन्छ । तर निराशीको अर्थ फरक छ । यसको अर्थ हो, कुनै प्रकारको प्रतिफल प्राप्त हुने आकांक्षा नगर्नु । त्यसै गरी निर्ममको अर्थ हो ममतारहित हुनु, निर्दयी भनेको होइन । केवल मेरो भन्ने आसक्ति भाव नहुनु । निराशी र निर्मम भएर युद्ध गर भन्नुको अर्थ हो आफ्नो कर्तव्यलाई सर्वोच्च मानेर युद्ध गर, त्यस युद्धको परिणामको आशा र ममत्त्व र शत्रुता दुवै भावबाट मुक्त भई कर्तव्यको रुपमा युद्ध गर ।
अध्यात्म चेत भएर युद्ध गर भन्नुको साङ्केतिक अर्थ पनि छ । अध्यात्म चेत भएर को अर्थ हो अन्तरात्मामा चित्तलाई निरोध गरेर, ध्यानमा डुबेर, सबै कर्म मलाई अर्पण गर्दै, आशारहित, ममतारहित र सन्तापरहित भएर युद्ध गर । जब चित्त ध्यानमा स्थित छ, अलिकति पनि कतै आशा छैन, कर्ममा ममत्व छैन, असफलताको सन्ताप छैन भने त्यो ध्यानमा प्रवेशको अवस्था हो । यस्तो अवस्थामा कुरुक्षेत्र रुपी शरीरका विकार– काम, क्रोध आदिले बाधाको रुपमा भयङ्कर आक्रमण गर्छन् । यिनीहरुबाट पार पाउनका लागि गरिने प्रयास नै युद्ध गर्नु हो ।

ये मे मतमिदं नित्यमनुतिष्ठन्ति मानवाः ।
श्रद्धावन्तोऽनुसूयन्तो मुच्यन्ते तेऽपि कर्मभिः ।।३१।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

श्रद्धावन्तः (श्रद्धावान्) मानवाः (मानिसहरु) ये (जसले) अनुसूयन्तः (दोषदृष्टिरहित भएर) मे (मेरो) इदम् (यस) मतम् (मतको) नित्यम् (निरन्तर) अनुतिष्ठन्ति (अनुसरण गर्छन्) ते (तिनीहरु) अपि (पनि) कर्मभिः (सबै कर्मबन्धनबाट) मुच्यन्ते (मुक्त हुन्छन्) ।
श्रद्धावान मानिसहरु जसले दोषदृष्टिरहति भएर मेरो यस मतको नित्य अनुसरण गर्छन् तिनीहरु पनि सबै कर्मबन्धनबाट मुक्त हुन्छन् ।।३१।।

ये त्वेदभ्यसूयन्तो नानुतिष्ठन्ति मे मतम् ।
सर्वज्ञानविमूढांस्तान्विद्धि नष्टानचेतसः ।।३२।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

तु (तर) ये (जसले) अभ्यसूयन्तः (दोष दृष्टि राख्छन्) मे मतम् (मेरो मत) न अनुतिष्ठन्ति (अनुसरण गर्दैनन्) तान् (ती सबै) सर्वज्ञानविमूढान् (सर्वज्ञान विमूढ, ज्ञानले मूर्ख) अचेतसः (अविवेकीहरु) नष्टान् (नष्ट भए) विद्धि (जानी राख)।
तर जसले दोष दृष्टिले संशय राखेर मेरो यस मतको अनुसरण गर्दैनन् । ती सबै सर्वज्ञानविमूढ अविवेकीहरु पक्के नष्ट भए भनी जानीराख ।।३२।।

सम्पूर्ण चेतना परमात्मामा लगाई सबै कर्म मलाई समर्पण गरेर आशारहित, ममतारहित र सन्तापरहित भएर युद्ध गर । जुन मानिस दोषदृष्टिरहित र ममा प्रेम राखेर मेरो यस मतको निरन्तर अनुसरण गर्छन् उनी पनि सबै कर्मबाट मुक्त हुनजान्छन् । तर जसले दोष मात्र खोज्छन् र मेरो भनाइलाई मन पराउँदैनन् । त्यस्ता कुबुद्धि, सर्वज्ञानविमूढ नष्ट हुन जानेछन्।
दोषदृष्टिरहित र श्रद्धावान् भएर जसले मेरो यस मतको अनुसरण गर्छन् तिनीहरु मुक्त हुन्छन् तर दोष दृष्टि राख्ने सर्वज्ञानविमूढहरु नष्ट हुन्छन् । सर्वज्ञानविमूढको अर्थ हो सबै प्रकारका ज्ञानले गर्दा नै मूर्ख बनेका । पञ्चतन्त्रको एउटा कथा छ । तीन जना शिष्यले गुरुकहाँ लामो अध्ययन गरेर सिद्धि प्राप्त गरे । पढाई पूरा गरेर घर फर्कने बेलामा जङ्गलको छेउमा उनीहरुले हाडका केही टुक्रा देखे ।
हाडको निरीक्षण पछि एउटाले भन्यो– ‘मैले आफूले पढेको विद्याको बलमा यो हाड कसको हो, त्यो चिन्न सक्छु । यो बाद्धको हाड हो ।’
अर्काले हाड समातेर मन्त्र पढ्दै भन्यो– ‘मैले यो जीवित हुँदा यसको छाला मासु, नङ, मुख, पुच्छर जस्तो थियो त्यस्तै बनाउन सक्छु ।’ अनि उसले त्यस हाडमा छाला, रौं, दाँत, नङ्ग्रा बनाइदियो ।
तेस्रोले मन्त्र पढ्दै भन्यो– ‘ मेरो विद्याले यसलाई जीवित बनाइदिन सक्छ ।’
बाघ जीवित भयो । त्यस जीवित बाघले तीनै जनालाई मारेर खायो ।
यस्ता मानिसलाई भनिन्छ– सर्वज्ञानविमूढ ।

सदृशं चेष्टते स्वस्याः प्रकृतेर्ज्ञानवानपि ।
प्रकृतिं यान्ति भूतानि निग्रहः किं करिष्यति ।।३३।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

चेष्टते (चेष्टा गर्छन्) स्वस्याः प्रकृतेः सदृशम् (आफ्नो प्रकृति अनुसार) ज्ञानवान् अपि (ज्ञानवान् पनि) प्रकृतिम् (प्रकृति अनुरुप) यान्ति (प्राप्त गर्छन्, कर्म गर्छन्) भूतानि (प्राणीहरु) निग्रहः (निग्रह, हठ) किम् करिष्यति (के गर्छ) ।
सबै प्राणी आफ्ना आफ्ना प्रकृति अनुरुप चेष्टा गर्छन् अर्थात् स्वभाव अनुरुप परवश कर्म गर्छन् । ज्ञानी मानिसहरु पनि आफ्नो प्रकृति अनुसार चेष्टा गर्छन् । निग्रह अर्थात् जबरजस्तीको नियन्त्रणले के हुन सक्ला ? ३३।।

इन्द्रियस्येन्द्रियस्यार्थे रागद्वेषौ व्यवस्थितौ ।
तयोर्न वशमागच्छेत्तौ ह्यस्य परिपन्थिनौ ।।३४।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

इन्द्रियस्य इन्द्रियस्य अर्थे (इन्द्रिय इन्द्रियको अर्थमा हुन्छन्) रागद्वेषौ (राग र द्वेषमा) व्यवस्थितौ (अवस्थित छन्) तयोः (यी दुवैका) वशम् (वशमा) न आगच्छेत् (आउनु हुँदैन) तौ हि (ती दुवै) अस्य (यसका) परिपन्थिनौ (विघ्न गर्ने महान् शत्रु हुन्) ।
इन्द्रियहरु इन्द्रियकै अर्थमा हुन्छन् अर्थात् इन्द्रियहरु तिनीहरुको विषयमा राग र द्वेषमा व्यवस्थित छन् अर्थात् म । त्यसैले राग र द्वेषको वशमा पर्नु हुँदैन, किनभने ती दुवै यस कल्याणको मार्गमा विघ्न गर्ने महान् शत्रु हुन् ।।३४।।

रंगमञ्चमा हरेक कलाकारले आआफ्नो अभिनय गरे जस्तै यस जीवनरुपी रंगमञ्चमा आआफ्नो स्वभाव अनुरुपको भूमिका पूरा गर्न प्रत्येक मानिस बाध्य छ । ज्ञानीहरु पनि आफ्नो स्वभाव अनुसार क्रियाकलाप गर्छन् । यसमा निग्रहले के गर्न सक्छ ?
निग्रहको अर्थ हो– अवरोध, जिद्दी, हठ गरेर आफ्नो प्रकृतिभन्दा फरक व्यवहारको प्रयास गर्नु । पुराणमा वर्णित दुर्वासा, नारद आदि अनेक ऋषिहरु ज्ञानी छन् तर आआफ्नो प्रकृति अनुसार व्यवहार गर्न बाध्य छन् । दुर्वासा क्रोधी छन् । नारद कुरौटे छन् । ऋषि वामदेव शान्त छन् । वशिष्ठ सबै कुरा सहन्छन् । त्यसैले स्वभाव विपरीतको जबरजस्तीले केही गर्न सक्दैन ?
इन्द्रियहरु इन्द्रियको अर्थमा हुन्छन् । प्रत्येक इन्द्रिय आआफ्नै विषयमा केन्द्रित, व्यस्थित र सक्रिय हुन्छन् । इन्द्रियलाई वशमा गर्ने दुई कुरा राग र द्वेष हुन् । कल्याण चाहनेले यी दुईका वशमा पर्नु हुँदैन । मानव मनको सन्तुलन बिगार्ने भएकोले यी दुवै सन्तुलन मार्गका महान् शत्रु हुन् । यसबाट बच्न स्वधर्म र स्वकर्मपालनलाई सर्वोच्च लक्ष्य मान्नु पर्छ । यस कुराको व्याख्या आउने श्लोकमा गरिएको छ ।

श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् ।
स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः ।।३५।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

सु–अनुष्ठितात् (अनुष्ठान गर्न सहज) परधर्मात् (परधर्मभन्दा) विगुणः (गुणरहित) स्वधर्म ः (स्वधर्म) श्रेयान् (श्रेय, कल्याणकारी छ) स्वधर्मे (स्वधर्ममा) निधनम् (मृत्यु) श्रेयः (श्रेय छ) परधर्मः (परधर्म) भयावहः (भयावह छ) ।
परधर्म अनुष्ठान गर्न जतिसुकै आरामदायक भए पनि स्वधर्म नै श्रेय हुन्छ चाहे त्यो गुणरहित नै होस् । स्वधर्म आचरण गर्दा निधन भए पनि त्यो श्रेयस्कर हुन्छ । तर परधर्म भयावह हुन्छ।।३५।।

यहाँ स्वधर्मको अर्थ आधुनिक समयमा प्रचलित अनेक थरीका मत सम्प्रदाय होइन । किनभने गीता प्रतिपादन भएको समयमा आजको जस्तो अनेक प्रकारका धर्ममतहरु थिएनन् । गीतामा स्वधर्मको अर्थ हो व्यक्तिगत गुण, विशेषताका आधारमा पूरा गर्नु पर्ने कर्तव्य । अर्जुन क्षत्रिय स्वभावको व्यक्तिको नाताले उसको स्वकर्म हो न्यायका लागि युद्ध गर्नु । यही उसको स्वधर्म पनि हो ।
स्वधर्मको अर्को अर्थ हो साधनाको पथ । राग र द्वेषबाट बचेर कल्याण मार्गमा गतिमान रहन स्वधर्म आचरण गर्नु एक मात्र उपाय हो अर्थात् आफ्नो आन्तरिक योग्यता, क्षमता र प्रकृति पत्ता लगाई सो अनुरुप आचरण गर्नु पर्छ । त्यो नै परम श्रेय मार्ग हो । जुन मार्गबाट साधना गर्नाले परमतत्त्वको प्राप्ति हुन्छ, त्यो नै उसको स्वधर्म हो । यस्तो स्वधर्म प्रत्येक मानिसको फरक फरक हुन्छ । बौद्ध मतमा पनि धर्मलाई नै शरणमा जाने सर्वोच्च स्थान बताइएको छ– ‘धम्मं शरणं गच्छामि।’
विगुणको एउटा अर्थ हो गुणहरु नभएको, गुण शून्य । विगुणको अर्को अर्थ हो बाँध्न नसकिने अर्थात् छरिएको किनभने गुणको अर्थ डोरी पनि हो ।
गुणहरु नभए जस्तो लागे पनि स्वधर्मको आचरण गर्नु पर्छ ।
स्वधर्माचरणले महान् पुण्य प्राप्त हुन्छ । स्वधर्म त्याग्नु पाप हो । परधर्म जति नै पूर्ण र सहज लागे पनि स्वधर्मको आचरण गर्दै प्राण त्याग गर्नु कैयौं गुना श्रेयस्कर छ । जसले स्वधर्मानुसार कार्य गर्छ ऊ कहिल्यै पनि कलुषित हुँदैन ।

अथ केन प्रयुक्तोsयं पापं चरति पुरुषः ।
अनिच्छन्नपि वार्ष्णेय बलादिव नियोजितः ।।३६।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

अर्जुन उवाच (अर्जुनले भने) वार्ष्णेय (हे वार्ष्णेय) अथ (त्यसो भए) पुरुषः (मानिसले) अनिच्छन् (इच्छा नहुँदा) अपि (पनि) केन (कोबाट) प्रयुक्तः (प्रेरित भएर) बलात् (बलात्) नियोजितः (नियोजित) इव (जस्तै) अयम्(यस) पापम् (पापको) चरति (आचरण गर्छ) ।
अर्जुनले भने–
हे वार्ष्णेय, त्यसो भए मानिसले इच्छा नहुँदा पनि कोबाट प्रेरित भएर बलात् नियोजित भए जस्तै गरी यस पापको आचरण गर्छ ?३६ ।।

हे वार्ष्णेय, त्यसो भए मानिसले आफूले नचाहरै पनि कसको प्रेरणाले जबरजस्ती लगाए झैं गरी पाप कर्म गर्छ ?
अर्जुनले ज्यादै महत्त्वपूर्ण प्रश्न उठाएका छन् । कसैले पनि आफ्नो अनिष्ट चाहँदैन तर पनि त्यस्तो आचरण मानिसहरुले गरिनै रहेका हुन्छन् ।
पाप संस्कृतको पा शब्दले बनेको छ यसको अर्थ हुन्छ अनिष्टकारी, दुर्गण, विनाशकारी । त्यसैले पापको
आचरणको अर्थ हो आफ्नै लागि अनिष्ट गर्ने आचरण । पाप आचरणकर्ताले अरुलाई मात्र हानि पुर्याउँदैन, आफूलाई समेत हानि पुर्याइरहेको हुन्छ ।
भगवान् कृष्णको एक विशेष नाम हो वार्ष्णेय। भगवान् कृष्णको वंश हो, वृष्णि वंश । वृष्णि वंश एक शापित वंश हो । यसको पुर्खाको नाम हो यदु । यदुलाई राज्य नगर्नु भनी शाप परेको छ । स्वयं श्रीकृष्णले राजसिंहासन कुनै पनि परिस्थितिमा अस्वीकार गर्नुको एक कारण उनी वृष्णिवंशी हुनु हो । भगवान् श्रीकृष्णले द्वारकामा चलाएको शासन कस्तो थियो त ? आधुनिक राजनीतिशास्त्रीहरुले त्यसलाई परम्परागत राजतन्त्र, स्वराज्य, वैराज्य इत्यादि भन्दा फरक राजप्रणाली बताएका छन् । त्यसलाई संघराज्य भनिएको छ् । यसमा मानिसहरुको सभाले राज्य संचालन गर्छ । यदुवंशी सबै सभासद् थिए । त्यसैले यो एक कुलसंघ प्रणाली थियो । त्यहाँ व्यक्ति विशेष कोही राजा थिएन । शासित पनि सबै यदुवंशी थिए र शासक पनि । कुनै निर्णय गर्नु परेको खण्डमा जुन सभा बस्थ्यो त्यसको अध्यक्षता बलराम र श्रीकृष्ण दुवैले गर्दथे । यस सम्पूर्ण इतिहासलाई स्पष्ट गर्नका लागि नै भगवान् श्रीकृष्णलाई कहिले वाष्र्णेय र कहिले यादव भनेर सम्बोधन गरिन्छ ।

श्रीभगवानुवाच

सम्पादन गर्नुहोस्

काम एष क्रोध एष रजोगुणसमुद्भवः ।
महाशनो महापाप्मा विद्ध्येनमिह वैरिणम् ।।३७।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

श्रीभगवानुवाच (श्रीभगवान्ले भन्नु भयो) विद्धि (जान) एष (यो) काम (काम नै) क्रोध (हो) एष (यो) रजोगुण (रजोगुणले) समुद्भवः (उत्पन्न भएको छ) महाशनः (सधैं अतृप्त, धेरै खाने) महापाप्मा (महापापी) एनम् (यसलाई) इह (यसैलाई) वैरिणम् (वैरी)।
श्रीभगवानले भन्नु भयो –
के बुझ भने रजोगुणबाट उत्पन्न हुने काम र क्रोध नै त्यसका कारण हुन् । सधैं अतृप्त र महापापी यो काम र क्रोध नै मुख्य वैरी हो ।। ३७ ।।
धूमेनाव्रियते वह्निर्यथादर्शो मलेन च ।
यथोल्बेनावृत्तो गर्भस्तथा तेनेदमावृतम् ।। ३८।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

यथा (जसरी) धूमेन (धुवाँले) वह्निः (आगो) आव्रियते (ढाकेको हुन्छ) मलेन (धुलो र फोेहोरले) आदशर्ः (ऐना) च (तथा) यथा (त्यसै गरी) उल्बेन (सालनालले) गर्भः (गर्भस्थ शिशु) आवृत्तः (ढाकिएको हुन्छ) तथा (त्यसै गरी) तेन (त्यस कामले) इदम् (यो अर्थात् ज्ञान) आवृतम् (ढाकिएको हुन्छ) ।
जसरी धुवाँले आगो, धुलोले ऐना र सालले गर्भ ढाकेको हुन्छ, त्यसै गरी त्यस कामरुपी पर्दाले ज्ञान ढाकेको हुन्छ ।। ३८ ।।
आवृतं ज्ञानमेतेन ज्ञानिनो नित्यवैरिणा ।
कामरुपेण कौन्तेय दुष्पूरेणानलेन च ।।३९।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

कौन्तेय (हे कौन्तेय) ज्ञानिनः (ज्ञानीहरुका लागि) कामरुपेण (कामरुपी) नित्यवैरिणा (नित्य वैरी) दुष्पूरेण (अतृप्त, नअघाउने) अनलेन (आगो जस्तो) च (अनि) एतेन (यसले) ज्ञानम् (ज्ञान) आवृतम् (चारैतिर ढाकेको हुन्छ) ।
हे कौन्तेय, ज्ञानीहरुका लागि यो कामरुपी नित्य वैरी कहिल्यै तृप्त नहुने आगो हो । यसले सबैतिरबाट ज्ञानीहरुको ज्ञानलाई ढाकेको हुन्छ ।।३९।।
इन्द्रियाणि मनो बुद्धिरस्याधिष्ठानमुच्यते ।
एतैर्विमोहयत्येष ज्ञानमावृत्य देहिनम् ।।४०।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

इन्द्रियाणि (इन्द्रियहरु) मनः (मन) बुद्धि ः (बुद्धि) अस्य (यसका) अधिष्ठानम् (वास स्थान, घर) उच्यते (बताइन्छ) एतैः (यिनीहरुले) एष ः (यस, काम) ज्ञानम् (ज्ञानलाई) आवृत्य (ढाकेर) देहिनम् (देही, देहको मालिक) विमोहयति (मोहित गर्छ) ।
इन्द्रिय, मन र बुद्धि यसको घर हो भनेर बताइन्छ । यिनीहरुले अर्थात् इन्द्रिय, मन र बुद्धिले ज्ञानलाई ढाक्छ, त्यसले देहीलाई मोहित बनाउँछ ।।४०।।

अर्जुनले गरेका प्रश्नको उत्तरमा भगवान् श्रीकृष्णको उत्तर ज्यादै संक्षिप्त छ– काम र क्रोध। अनि काम र क्रोध के कारणले उत्पन्न हुन्छ ? यसलाई स्पष्ट गर्दै भगवानले भन्नु हुन्छ यी दुवै रजोगणको कारणले उत्पन्न हुन्छन् । काम सधैं अतृप्त र क्रोध सधैं पापी हुन्छ । यी दुवै पाप आचरणका मूल कारण हुन् । यदि काम र क्रोधलाई चिन्न सकिन्छ भने पाप आचरणबाट बच्न सकिन्छ ।
काम र क्रोध दुईटा होइनन् । यी एउटै कुराका चरण हुन् । वासनाले सन्तुष्टिको माग गर्छ। यसका लागि उसले उचित अनुचित सबै गर्न भन्छ । वासना पूर्तिको मार्गमा यदि अवरोध उत्पन्न हुन्छ भने असन्तुष्टि उत्पन्न हुन्छ । यदि असन्तुष्टि अत्यन्त तीव्र हुन्छ भने त्यसैलाई क्रोध भनिन्छ ।
कामलाई शास्त्रहरुमा एकातिर सम्मानित स्थान दिइएको छ— चार पुरुषार्थमा एक मानेर । अर्कातिर लक्ष्य प्राप्तिको मार्गको महान शत्रु पनि मानिएको छ— छवटा शत्रुमध्ये एक मानेर । यसको अर्थ के हो भने कामको सन्तुलित उपयोग पुरुषार्थ हो भने आफूलाई कामले नै उपयोग गर्न थाल्यो भने त्यो अधोगतिको मार्ग हो । जसरी अग्निलाई धुवाँले, दर्पणलाई धुलोले र गर्भलाई सालनालले ढाकेको हुन्छ, त्यसै गरी कामरुपी पर्दाले ज्ञानलाई ढाकेको हुन्छ । कामले यसरी ज्ञानलाई किन ढाक्न सक्छ ? किनभने यो आगो जस्तो कहिल्यै नअघाउने छ । जसरी घिउ हाल्नाले आगो शान्त हुँदैन, अझ हुर्किएर बल्छ। त्यसै गरी एउटा कामनालाई तृप्त गर्दा अझ उच्च स्तरका र नयाँ नयाँ कामना जन्मिन्छन्।
कामको वास स्थान कहाँ छ ? कहाँ उत्पत्ति हुन्छ ? मानिसका इच्छाहरुमा । मानिसका इच्छाहरु कहाँ बसेका हुन्छन् ? गीताले भन्छ इन्द्रिय, मन, र बुद्धिमा । इन्द्रियका विषयले इन्द्रियलाई सो विषय प्रति चिन्तन गर्न लगाउँछन् । लगातारको यो चिन्तनले तृष्णा बढाउँछ । बढेको तृष्णाले गर्दा बुद्धि तत्त्व चिन्तनको मार्गमा नलागी अन्यत्र अलमलिन जान्छ । यसरी बुद्धि बरालिनालोई नै ज्ञान ढाकिएको भनिएको हो । उसले गर्दा मूढता उत्पन्न हुन्छ ।

तस्मात्त्वमिन्द्रियाण्यादौ नियम्य भरतर्षभ ।
पाप्मानं प्रजहि ह्येनं ज्ञानविज्ञाननाशनम् ।।४१।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

तस्मात् (त्यसैले) भरतर्षभ (हे भरत ऋषभ, भरतवंशमा श्रेष्ठ) त्वम् (तिमी) इन्द्रियाणि (इन्द्रियलाई) आदौ (सुरुमा, सबभन्दा पहिले) नियम्य (वशमा गरेर) पाप्मानम् (पापको महान लक्षण) ज्ञानविज्ञान नाशनम् (ज्ञान र विज्ञानको नाश गर्ने) हि एनम् (यस, कामलाई नै) प्रजहि (जित, मार)।
त्यसैले हे भरतवंशका श्रेष्ठ, तिमीले सबभन्दा पहिले इन्द्रियलाई वशमा गरेर ज्ञान र विज्ञानको नाश गर्ने यस पापको महान लक्षण यस कामलाई अर्थात् काम, पापीलाई नै जित।।।४१।।

इन्द्रियाणि पराण्याहुरिन्द्रियेभ्यः परं मनः ।
मनसस्तु परा बुद्धिर्यो बुद्धेः परतस्तु सः ।।४२।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

आहुः (भनिएको छ) पराणि (शरीरभन्दा पर, सूक्ष्म, शक्तिशाली, अझ भित्र) इन्द्रियाणि (इन्द्रियहरु छन्) तु (तर) इन्द्रियेभ्यः (इन्द्रियभन्दा) परम् (पर) मन ः (मन छ) मनसः (मनभन्दा) परा (पर) बुद्धिः (बुद्धि छ) तु (तर) यः (जुन) बुद्धेः (बुद्धिभन्दा) परतः (अझै पर छ) सः (त्यो, आत्मा हो) ।
शरीरभन्दा पर इन्द्रियहरु छन् अर्थात् शरीरभन्दा इन्द्रियहरु सूक्ष्म बताइएको छ । त्यसै गरी इन्द्रियहरुभन्दा पर मन तथा मनभन्दा पर निश्चयात्मिक बुद्धि छ तर बुद्धिभन्दा अझै पर जुन छ, त्यो नै आत्मा हो ।।४२।।

ज्ञान र विज्ञानलाई नाश गर्ने यो काम नै पापको महान लक्षण हो । यसलाई सबभन्दा पहिले जित्ने प्रयास गर्नु पर्छ । यसलाई जित्ने प्रविधि इन्द्रिय निग्रह हो ।
यसलाई जित्न कति शक्ति प्रयोग गर्नु पर्छ ? यस कुराको स्पष्टीकरण दिंदै भगवान् श्रीकृष्णले भन्नु हुन्छ– शरीरभन्दा सूक्ष्म भएकोले इन्द्रियहरु बढी शक्तिशाली हुन्छन् । इन्द्रियहरुको ज्ञान हुनासाथ शरीरलाई जितिन्छ ।
इन्द्रियहरुभन्दा अझ सूक्ष्म मन हुन्छ, त्यसैले मनलाई जाने पछि इन्द्रियहरुलाई जितिन्छ । मनभन्दा सूक्ष्म बुद्धि हुन्छ । त्यसैले शरीरलाई इन्द्रिय निग्रहले, इन्द्रियलाई सन्तुलित मनले र मनलाई विवेकपूर्ण बुद्धिले जित्न सकिन्छ । आत्मा मनभन्दा पनि अझ धेरै सूक्ष्म भएकोले आत्मालाई जसले जान्यो उसले बुद्धि, मन, इन्द्रिय र शरीर सबैलाई जित्छ । बुद्धले यसलाई आत्मा नभनेर अनात्मा अर्थात् अनत्ता भनेका छन् । जसले यो अनत्ता बुझ्यो उसले आफूलाई जित्छ । र जसले आफूलाई जित्छ त्यो दशौं हजार सेनाभन्दा पनि शक्तिशाली हुन्छ ।

 


कठोपनिषदमा भनिएको छ,‘ इन्द्रियभन्दा पर अर्थ, अर्थभन्दा पर मन, मनभन्दा पर व्यष्टिबुद्धि, व्यष्टि बुद्धिभन्दा पर पुरुष, पुरुषभन्दा पर केही छैन । (१.३.१०) कठोपनिषद्को पुरुष तथा गीताको म र ब्रह्म भनेको एउटै हो ।
शरीर र आत्मालाई जोड्ने वृत्ति मन वा अन्तस्करण हो । जसलाई इन्द्रियले प्राप्त गरेको जानकारी मनलाई दिन्दछ । मन र बुद्धिले त्यसको विश्लोषण गरेर निर्णय दिन्छन् । यी सब क्रियामा चेतन भइकन पनि आत्मा निष्क्रिय रहन्छ ।
मानवीय व्यवहारको विकास, सुधार, निर्धारण कसरी हुन्छ र यसको मानवीय ज्ञानको प्राप्तिमा यसको प्रभाव कस्तो हुन्छ भन्ने कुरामा मनोवैज्ञानिकहरु बीच दुई प्रमुख दृष्टिकोण छन्, पहिलो दृष्टिकोणको आधार वंशानुक्रम हो । अर्को विचार यसको बिलकुल विपरीत छ। यस भनाइ अनुसार वातावरण नै मानवीय व्यवहारको प्रमुख आधार हो । मानिसलाई उचित वातावरण प्रदान गरेमा उसले धेरै कुरा सिक्न सक्छ ।
वंशानुक्रम आधारलाई मुख्यतः शरीर विज्ञानका दृष्टिले व्याख्या गरिएको छ । डार्विन र लेमार्कले प्रतिपादन गरेको सिद्धान्त अनुसार मानिसले आर्जन गरेको गुणको हस्तान्तरण एक पुस्ताबाट अर्को पुस्तामा स्वतः हुन्छ। यस विचारको समर्थन पवलव, हेरीसन आदि मनोवैज्ञानिकहरुले गरेका छन् । लेमार्कका अनुसार जिर्राफको घाँटी सुरुमा लामो थिएन तर वातावरणीय कारणले उसको घाँटी लामो हुँदै गयो । यसरी प्रत्येक पुस्ताले आफ्ना पुस्ताबाट अर्जित गुणका आधारमा थप विकास गर्न सक्छ । मेण्डलले मूसा र केराउमा गरिएको प्रयोगका आधारमा गुणहरु निर्माण, विकास र हस्तान्तरण हुन सक्छन् भन्ने कुरा सिद्ध गरे । डार्विनले परिस्थिति अनुरुप जीवहरुमा परिवर्तन भएको विश्लेषण गरे ।
मानिसको व्यवहारलाई प्रभाव पार्ने मानसिक प्रभावको आधुनिक व्याख्या फ्रायडबाट सुरु भएको भन्न सकिन्छ । पछि युङ्ग, एरिक्शन आदि अनेकौं मनोविश्लेषकहरुले मनको अध्ययन र व्याख्या गरेका छन् ।

चेतन र अचेतन मन

सम्पादन गर्नुहोस्
 

मानवीय क्रिया चेतन र अचेतन दुवै मनको क्रियाद्वारा सम्पन्न हुन्छ । अचेतन मनको रचना शिशु अवस्थाबाट प्रारम्भ भइसक्छ । र यसको सम्बन्ध मानिसको मूल प्रवृत्तिबाट हुन्छ । काम भावनामा यो सबभन्दा बढी अभिव्यक्त हुन्छ । अचेतनको ऊर्जा अत्यन्त गतिवान् हुन्छ। अचेतन मनको नियमन सुखदुखका सिद्धान्तबाट हुन्छ । विकासको अवस्थामा यो सिद्धान्त वास्तविकतामा परिणत हुन जान्छ । अनि उच्चस्तरीय जीवनमा विभिन्न रुपमा प्रकट हुन जान्छ । फ्रायडले मानव मस्तिष्कका तीनवटा पक्षको व्याख्या गरेका छन्– चेतन, अर्धचेतन, र अवचेतन । चेतनभन्दा अर्धचेतन र अर्धचेतनभन्दा अवचेतन अझ शक्तिशाली हुन्छ ।
चेतन मन त्यो मन हो जसमा मानिस कुनै वस्तु, घटना प्रति सचेत रहन्छ । मानिसले गर्ने अधिकांश काम देखाउने व्यवहार चेतन मनसंग सम्बधित हुन्छन् । अर्धचेतन मन यस्तो क्रियाकलापको वाहक हो जुन चेतन जस्तो बाह्य देखिंदैन तर उचित परिस्थिति, संकेत, दबाव निर्माण भएमा प्रकट हुन्छ । अवचेतन मन भनेको सबभन्दा आन्तरिक भाव हो । यो मनको गहिराईमा हुन्छ । यसको बारेमा जान्नु कठिन छ । फ्रायडको अवचेतन मनको अवधारणालाई ग्लेसियर (समुद्रमा तैरिने हिउँको पहाड) संग तुलना गर्न सकिन्छ । ग्लेसियरको थोरै भाग माथि देखिन्छ तर त्यसको धेरै गुना भाग पानी भित्र गहिरोमा हुन्छ । फ्रायडका अनुसार जति बढी अचेतन इच्छा, चाहना हुन्छन् त्यति नै बढी व्यक्तित्व असन्तुलित हुन्छ । फ्रायडले कामलाई अवचेतन र अचेतन मनको परिचालक मान्दछन् । मानिसका मनको करीब ९० प्रतिशत भाग अचेतन हुन्छ । यसका विशेषताहरु यस प्रकार छन् –
१. अचेतन मन परिवर्तनशील भइरहन्छ । निष्क्रिय र स्थिर हुँदैन ।
२. अचेतन मनले इच्छा, विचार इत्यादिको माध्यमबाट मानिसको व्यवहारलाई निर्धारित गरिरहन्छ ।
३.अचेतन मनमा शब्द हुँदैनन् । अचेतन विचारको अभिव्यक्ति क्रियाकलापद्वारा हुन्छ ।
४. अचेतन मनले कुनै पनि इच्छालाई अस्वीकार गर्दैन । नैतिक, अनैतिक, उचित, अनुचित सबै इच्छालाई अचेतन मनले स्वीकार गर्छ । त्यसैले अचेतन मनका इच्छाहरुमा संघर्ष हुँदैन।
५.अचेतन मनका सुषुप्त इच्छाहरु स्वप्न, सम्मोहन र मानसिक रोगको रुपमा प्रकट हुनजान्छन् ।
६.अचेतन मनको क्रिया कुनै पनि बेला उत्पन्न हुनसक्छ । त्यसैले यो चेतन भन्दा शक्तिशाली हुन्छ ।
मानव व्यक्तित्वलाई पनि फ्रायडले इड, इगो र सुपर इगो तीन भागमा विभाजन गरेका छन् ।
मनको त्यो भाग इड हो जसमा मूल प्रवृत्ति र इच्छाहरु भोक, काम, निद्रा आदि इड हुन्छन्। यस्ता इच्छाहरु तुरुन्तै सन्तुष्ट हुन चाहन्छन् । यस्ता इच्छाहरु चेतनामा प्रवेश गर्दैनन् ।
मनको सचेतन भाग जसमा मूल प्रवृत्ति र इच्छाहरुलाई वास्तविक परिस्थिति अनुसार नियन्त्रित गर्छ । यसलाई इगो भनिन्छ । यो इड र सुपर इगोको बीचमा काम गर्छ । यो अहंभाव हो ।
सामाजिक, नैतिक आवश्यकता अनुसार सुपर इगो उत्पन्न हुन्छ र यसले अनुभवको रुप लिन्छ । यसको अचेतन भागलाई आदर्श र सचेत भागलाई विवेक भनिन्छ ।
एडलर तथा युंगले यस विश्लेषणको अझ विकास गरे । युंगका अनुसार, जीवन ऊर्जा र युक्तिपूर्ण प्रक्रियाले काम ऊर्जालाई गतिलाई निर्धारित गर्छ । यो प्रक्रिया चिन्तन र भावनाले निर्धारित हुन्छ । चेतन र अचेतनको केन्द्र त्यसभन्दा पनि पर रहेको हुन्छ । मनोविश्लेषक एरिक एरिक्शनका अनुसार काम इच्छा नैसर्गिक हो । तर संस्कृति मानवले निर्माण गर्दछ । यो मानव स्वभावको उत्पादन हो । ऊ आफ्ना अन्तर्नाद, इच्छा, आदिबाट प्रभावित हुन्छ तथा सामाजिक जीवनमा तिनीहरुको उपलब्धिका लागि प्रयत्नरत रहन्छ । यसैको परिणाम संस्कृति हो । यसरी संस्कृति मानिसका व्यक्तित्वको निर्धारक पनि हो । र उसको स्वभावलाई प्रभावित पनि गर्छ ।
अर्का मनोविश्लेषक वाटसनका अनुसार मानिसको स्वभावलाई बुझ्न उसको शारीरिक कार्य, उसका इन्द्रियका चेष्टा, र बाह्य क्रियाकलाप बुझ्न पर्दछ । केवल चेतनाले वा मानसिक अध्ययनले मात्र मानवीय व्यवहारको सम्पूर्ण विश्लेषण हुँदैन ।
मास्लोका अनुसार, पशुहरुमा आदर्श, मूल्य, प्रेम, लज्जा, कला, उत्साह, रुनु, हाँस्नु, ईर्ष्या, सम्मान आदि मानवोचित गुण पाईंदैन । उनीहरुमा विशेष मस्तिष्कीय कार्य जस्तै कविता, गीत, कला, गणितको क्षमता पनि हुँदैन । यी सबै कुरामा मानव चेतनाको भूमिका हुन्छ ।
रोजर्सले मानवीय संवेदनाको सिद्धान्त दिएका छन् । यस अनुसार मानवीय व्यवहारमा स्वविकास, स्वज्ञान, स्वसंचालन, बाह्य र आन्तरिक अनुभूतिहरुका साथ बुद्धिमत्तापूर्ण समन्वयको विकास, मनोभावको वास्तविक रुपमा स्वीकृतिको प्रभाव पर्छ ।
अब्राहम मास्लोफले मानवीय आवश्यकताहरुलाई शारीरिक, सुरक्षा, प्रेम, र आत्मसम्मान, स्ववास्तविकता गरेर विभाजन भएका छन् । यी क्रमशः अझ सूक्ष्म हुने गर्छन् । लरेन्जका अनुसार ज्ञानको विकास चरण चरणमा हुन्छ । प्रत्येक चरणमा केही कुरा सिक्दै ज्ञानको अझ सूक्ष्म प्रक्रियामा मानसिक क्षमता बिस्तारै विकास हुँदै जान्छ ।

एवं बुद्धे परं बुद्ध्वा संस्तभ्यात्मानमात्मना ।
जहि शत्रुं महाबाहो कामरुपं दुरासदम् ।।४३।।

पदच्छेद र शब्दार्थ

सम्पादन गर्नुहोस्

महाबाहो (हे महाबाहु अर्जुन) एवम् (यसरी) बुद्धेः (बुद्धिभन्दा) परम् (पर, सूक्ष्म, श्रेष्ठ) बुद्ध्वा (बुझेर) आत्मानम् आत्मना (आफूले आफैंलाई) संस्तभ्य (स्थिर गरेर) शत्रुम् (शत्रुलाई) कामरुप (कामरुपी) दुरासदम् (दुर्जेय) जहि (जित, नाश गर) ।
हे महाबाहु, यसरी जो बुद्धिभन्दा पर छ अर्थात् बुद्धिभन्दा पनि सूक्ष्म छ, त्यस आत्मतत्त्वलाई बुझेर आफूले आफैंलाई स्थिर गरेर यस कामरुपी दुर्जेय शत्रुलाई तिमीले जित ।।४३।।

गीतामा मनको गहन विश्लेषण गर्दै भनिएको छ– इन्द्रिय, मन, बुद्धि यी सबै इच्छाका वास स्थान हुन् । यस इच्छाले बुद्धिमा भएको ज्ञानलाई मूढ बनाउँछ । इन्द्रियभन्दा पर मन छ । पर भन्नुको अर्थ दूरीमा होइन, सूक्ष्म वा शक्तिको अर्थमा हो । इन्द्रियभन्दा वा सूक्ष्म वा शक्तिशाली मन छ, मनभन्दा शक्तिशाली बुद्धि छ र बुद्धिभन्दा पनि शक्तिशाली त्यो छ, जसलाई आत्मा भनिन्छ । यसलाई जसले जान्दछ उसका लागि काम नाश हुन्छ । जसले जाँदैन उसका लागि काम दुर्जेय छ । जान्नु भनेको के हो ? कुनै कुरा कसरी उत्पन्न हुन्छ, त्यसको प्रभाव कस्तो हुन्छ, त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको ज्ञान नै जान्नु हो । यो सबै कुरा जान्न मन, बुद्धि र चित्त भन्दा परको कुरा जान्नु पर्छ, जसलाई आत्मा अर्थात् आफ्नो वास्तविक स्वरुप भनिन्छ ।


ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे कर्मयोगो नाम तृतीयो अध्यायः।।

श्रीमद्भगवद्गीतारुपी उपनिषद् यस ब्रह्मविद्या र योगशास्त्रमा श्रीकृष्ण र अर्जुनका संवादको कर्म योग नाम गरेको अध्याय तीन समाप्त भयो ।।ॐ तत्सत् ।।



अधिकारी, कोमलनाथ, (वि.सं.२०१८), पञ्चरत्नगीता, कोमलगीता, नेपाली पद्यानुवाद र व्याख्या वाराणसी ः यशोदा प्रेस ।
अपूर्वानन्द, (सन् २००२), श्रीमद्भगवद्गीता पदच्छेद, अर्थ, व्याख्या, कलकत्ता ः रामकृष्ण मठ ।
अपूर्वानन्द, (वि.सं.२०७१), अनुवादक बाबु राम ज्ञवाली, शंकराचार्यको जीवनी, विद्यार्थी पुस्तक भण्डार।
आचार्य, श्रीराम शर्मा, (सन् २०१०), १०८ उपनिषद्, मथुरा ः युग निर्माण योजना ।
आचार्य, श्रीराम शर्मा, (सन् २०१०), गायत्री महाविज्ञान (तीन खण्ड), मथुरा ः युग निर्माण योजना ।
आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।
ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।
ओशो, (सन् १९८०), गीता दर्शन खण्ड २, पूना ःरेबेल बुक्स ।
खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०६०), विचार विज्ञान, काठमाडौं ः खप्तड आश्रम समिति ।
खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०५६), आत्मबोध, काठमाडौं ः खप्तड आश्रम समिति ।
गीताप्रेस, (वि.सं.२०६५), महाभारत पाँच खण्ड, गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६४), ईशादि नौ उपनिषद्, गोरखपुरः गीताप्रेस ।
गोयन्दका, जयदयाल, (वि.सं. २०७०),गीता तत्त्व विवेचनी, गोरखपुर ः गीताप्रेस ।
ज्ञवाली, बाबु राम, (वि.सं.२०७२), जीवनको दोस्रो पाना (वैचारिक गम्भीरताका दृष्टिले श्रीमद्भगवद्गीता दोस्रो अध्यायको अध्ययन), रुपन्देही, नेपाल ः ज्ञानज्योति प्रकाशन ।
जलोटा, अनूप, (वि.सं.२०७०), श्रीमद्भगवद्गीता (सी डी) ।
तिलक, बाल गंगाधर, (सन् २००७), श्रीमद्भगवद्गीता या कर्मयोग शास्त्र, दिल्ली ः साधना पकेट बुक्स ।
ब्रह्मानन्द, (सन् २०००), श्रीरामकृष्ण उपदेश, नागपुर ः रामकृष्ण मठ ।
बेनेट, जे जे र ठाकुरलाल मानन्धर,(वि.सं.२०६७), अनन्तको यात्रा, काठमाडौं ः योगेन्द्रभक्त श्रेष्ठ ।