श्रीमद्भगवद्गीता चतुर्थ अध्याय
अध्याय ४
सम्पादन गर्नुहोस्ज्ञानकर्मसन्न्यासयोग
सम्पादन गर्नुहोस्श्रीभगवान् उवाच
सम्पादन गर्नुहोस्
इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम् ।
विवस्वान्मनवे प्राह मनुरिक्ष्वाकवेब्रवीत ।।१।।
====पदच्छेद र शब्दार्थ====
श्रीभगवानुवाच (श्रीभगवानले भन्नु भयो)
इमम् (यही) विवस्वते (सूर्यले) योगम् (योग, ज्ञान) प्रोक्तवान् (भनेका थिए) अहम् (मैले) अव्ययम् (अविनाशी) विवस्वान् (विवस्वान्, सूर्यले) मनवे (मनुलाई) प्राह (भने) मनुः (मनुले) इक्ष्वाकु (इक्ष्वाकुलाई) अब्रवीत (भने) ।
श्रीभगवानले भन्नु भयो–
मैले यही अविनाशी योग अर्थात् ज्ञान विवस्वान् (सूर्य) लाई भनेको थिएँ । सूर्यले मनुलाई र मनुले इक्ष्वाकुलाई भनेका थिए ।।१।।
एवं परम्पराप्राप्तमिमं राजर्षयो विदुः ।
स कालेनेह महता योगो नष्टः परन्तपः ।।२।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्एवम् (यसरी) परम्पराप्राप्तम् (परम्पराले प्राप्त) इमम् (यो) राजर्षयो (राजर्षिहरुले) विदुः (जाने) सः (त्यो योग) महता (धेरै, दीर्घ) कालेन (कालको प्रभावले) इह (यस लोकमा) योगः (योग) नष्टः (नष्ट भयो) परन्तपः (हे परन्तप, शत्रुलाई ताप दिने) ।
हे परन्तप, यसरी परम्पराबाट प्राप्त योगलाई राजर्षिहरुले जाने । त्यो योग (कालको प्रभावले) धेरै समय (यस लोकमा) लोप भयो ।।२।।
स एवायं मया तेऽद्य योगः प्रोक्तः पुरातनः ।
भक्तोऽसि मे सखा चेति रहस्यं ह्येतदुत्तमम् ।।३।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्स ः (त्यो) एव (नै) अयम् (यो) मया (मद्वारा) ते (तिमीलाई) अद्य (आज) योगः (योग) प्रोक्तः (भनिएको छ) पुरातनः (पुरातन, सनातन) भक्तः (भक्त) असि (हौ) मे (मेरो) सखा च (तथा सखा हौ) इति (त्यसैले, सोही कारण) रहस्यम् (रहस्य, गुह्य तत्त्व) हि (किनभने) एतत् (यो) उत्तमम् (उत्तम) ।
मेरो भक्त र सखा हौ त्यसैले त्यही यो पुरातन योग नै आज मैले तिमीलाई भनें किनभने यो ज्यादै उत्तम कुरा बचाएँ किनभने यो रहस्य, गुह्य तत्त्व हो ।।३।।
व्याख्या
सम्पादन गर्नुहोस्
यस अध्यायले के स्पष्ट गर्छ भने गीतालाई योग शास्त्र किन भनिएको हो । सुरुमा भगवान आफैं मैले यही योग विवस्वान्लाई भनेको थिएँ । उनले मनुलाई र मनुले इक्ष्वाकुलाई क्रमशः हस्तान्तरण गरेका थिए, भन्दै यस योगको ज्ञान अन्य राजर्षिहरुलाई पनि थियो तर समयक्रममा यो लोप हुँदै गयो ।
एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा अथवा एउटा सफ्टवेयरबाट अर्को उस्तै सफ्टवेयरमा स्थानान्तरण गर्दा फाइलमा स्वतः अस्पष्टता उत्पन्न हुन जान्छ, कहिलेकाहीं पढ्न नसकिने पनि हुन्छ । त्यसै गरी एक पुस्ताबाट अर्को पुस्तामा ज्ञान हस्तान्तरण गर्दा देश, काल सापेक्ष त्यसमा केही अस्पष्टताहरु उत्पन्न हुन्छन् । अझ पुस्तौं पुस्ता सर्दै आउँदा त्यसमा अस्पष्टता उत्पन्न हुन जान्छन् । वेदका कैयौं ऋचाहरु आज दुर्बोध भएका छन् । ती ऋचाहरुको सही अर्थ कसैले पनि बताउन नसक्ने भइसकेको छ ।
ज्ञानको मूल ईश्वर स्वयं हो । समयक्रममा हस्तान्तरण भएको यस ज्ञानमा अस्पष्टता प्रवेश गर्छन् । यस अस्पष्टतालाई हटाउन ज्ञानको मूल स्रोत नै चाहिन्छ । मैले तिमीलाई त्यही मूल ज्ञान दिएको छु, जुन सुरुमा सूर्यलाई दिएको थिएँ, यसरी व्याख्या गर्ने क्रममा अवतार सिद्धान्तको पनि व्याख्या हुन गएको छ ।
अर्जुन उवाच
सम्पादन गर्नुहोस्
अपरं भवतो जन्म परं जन्म विवस्वत ः ।
कथमेतद्विजानीयां त्वमादौ प्रोक्तवानिति ।।४ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्अर्जुन उवाच (अर्जुनले भने)
अपरम् (भर्खर, टाढाको होइन) भवतः (तपाईंको) जन्म (जन्म) परम् (धेरै परको, टाढा) जन्म (जन्म) विवस्वतः (सूर्यको) कथम (कसरी) एतत् (यो ज्ञान) विजानीयाम् (बुझ्नु, जान्नु) त्वम् (तपाईं) आदौ (आदिमा, सुरुमा नै) प्रोक्तवान् इति (भनिसक्नु भएको थियो)।
अर्जुनले भने
तपाईंको जन्म भर्खर हो र सूर्यको जन्म धेरै नै परको अर्थात् सुदूर अतीतको कुरा हो । अब यस्तोमा तपाईंले सूर्यलाई प्रारम्भमा यही ज्ञान दिनु भएको थियो भन्ने कुरा कसरी पत्याउँ ? अर्थात् सुदूर अतीतको सूर्यलाई आज यहाँ भएको तपाईंले भन्नु एक विरोधाभास भएन ? ४ ।।
व्याख्या
सम्पादन गर्नुहोस्जुन ज्ञान सुरुमा सूर्यलाई प्राप्त भयो, सूर्यबाट क्रमशः मनुलाई र मनुबाट इक्ष्वाकुलाई हस्तान्तरण भयो त्यो कालको प्रभावले ज्ञानको मूल स्वरुप लुप्त भएको थियो त्यही मूल ज्ञान मैले तिमीलाई बताउँदैछु अर्थात् भगवान् कृष्णले ज्ञानको प्रतिलिपि हस्तान्तरण गरेको होइन, अर्जुनलाई मूल ज्ञान दिनु भएको हो । मनु, इक्ष्वाकु आदि प्रारम्भिक सूर्यवंश िशासक हुन् जसले पृथिवीमा राज्य गरे ।
यो सुनेर अर्जुनले स्वाभाविक रुपमा अविश्वास गर्छन्– ‘तपाईंको जन्म हाल यहाँ भएको छ, मेरो समकालीन हुनुहुन्छ । अनि अहिले भर्खरको मानिसले त्यति धेरै पुरानोलाई कसरी सिकाउन सक्नु भयो ?’
यो संशय अर्जुनको मात्र नभएर सबैको हो । सुरुमा सूर्यलाई दिएर सयौं पुस्ता हस्तान्तरण भइसकेर आज फेरि उही सुरुको मानिसले ज्ञान कसर दिन सक्छ ?
भगवान् कृष्णको कथनमा रहेको विरोधाभासले अर्जुन दुविधामा परे ।
श्रीभगवान् उवाच
सम्पादन गर्नुहोस्
बहूनि मे व्यतीतानि जन्मानि तव चार्जुन ।
तान्यहं वेद सर्वाणि न त्वं वेत्थ परन्तप ।।५।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्
श्रीभगवान् उवाच (श्रीभगवान् ले भन्नु भयो)
बहूनि (अनेक, धेरै पटक) व्यतीतानि (भएका छन्) जन्मानि (जन्महरु) मे तव च (मेरा र तिम्रा) अर्जुन (हे अर्जुन) तान् िसर्वाणि (तिनी सबैलाई) अहम् (मैले) वेद (जान्दछु) न त्वम् वेत्थ (तिमीले जान्दैनौ) परन्तप (हे परन्तम, शत्रुलाई तापदिने अर्जुन) ।
श्रीभगवान् ले भन्नु भयो
हे परन्तप अर्जुन तिम्रो र मेरा अनेकानेक जन्म भएका छन् । मैले ती सबै जानेको छु तर तिमीले जान्दैनौ ।।५।।
अजोऽपि सन्नव्ययात्मा भूतानामीश्वरोऽपि सन् ।
प्रकृतिं स्वामधिष्ठाय सम्भवाम्यात्ममायया ।। ६।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्अजः (अजन्मा) अपि सन् (भएता पनि) अव्ययात्मा (अविनाशी) भूतानाम् ईश्वरः (ईश्वर, मालिक) अपि सन् (भैकन पनि) प्रकृतिम् (प्रकृतिलाई) स्वाम् (आफ्नो) अधिष्ठाय (अधीन गरेर) सम्भवामि (जन्म लिन्छु) आत्ममायया (आफ्नै योगमायाले) । अजन्मा र अविनाशी भएता पनि समस्त प्राणीको ईश्वर भैकन पनि आफ्नो प्रकृतिलाई अधीन गरेर आफ्नै योगमायाले प्रकट हुने गर्छु ।। ६ ।।
व्याख्या
सम्पादन गर्नुहोस्ईश्वरको मानव जन्मलाई नै अवतार भनिन्छ । यद्यपि अवतारको धारणा ऋग्वेदमा पनि संकेत गरिएको छ (ऋग्वेद ३.५३, ८–६.४७,१८), पुराणहरुमा अवतारहरुको लामो सूची छ र त्यसमध्ये केहीको उल्लेख शतपथ ब्राह्मणमा पनि पाइन्छ (शतपथ १.८,१–६,१.२.५.१) तर केवल गीतामा यसको सुनिश्चित, स्पष्ट, र वैज्ञानिक धारणा पाइन्छ । यो गीताको एक मौलिक र अनुपम योगदान हो ।
अर्जुनको संशयलाई समाप्त गराउँदै भगावन् श्रीकृष्णले के सत्य प्रकट गर्नुहुन्छ भने दुवैका अनेकौं जन्म भइसकेका छन् तर अर्जुनले विवश भएर प्रारब्ध कर्म (जन्मका लागि उत्तरदायी अवशेष कर्म) का कारण शरीर प्राप्त गरेका छन् त्यसैले उनीलाई यस बारेमा कुनै जानकारी छैन । तर श्रीकृष्ण परमेश्वर भएकाले स्वप्रेरणा र स्वेच्छाले उच्च उद्देश्यका लागि यो जन्म लिनु हुन्छ ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।७।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्यदा यदा (जुन जुन बेला) धर्मस्य (धर्मको) ग्लानिः (ग्लानि, थकावट) भवति (हुन्छ) भारत (हे भारत) अभि–उत्थानम् (अभ्युत्थान, टाउको उठाउनु) अधर्मस्य (अधर्मको) तदा हि (त्यसबेला नै) आत्मानम् (स्वयंलाई) अहम् (मैले) सृजामि (सिर्जना गर्छु) ।
हे भारत, जुन जुन बेला धर्मको ग्लानि हुन्छ र अधर्मको अभ्युत्थान हुन्छ त्यस त्यस समय म आफूलाई सिर्जना गर्छु र प्रकट गर्छु ।। ७ ।।
व्याख्या
सम्पादन गर्नुहोस्धर्म मानवीय चेतनाको उच्चतम विशेषता हो । नीति शास्त्रले भन्छ– आहार, मैथुन र निद्रा अर्थात् सुरक्षा सबै जीवित प्राणीका स्वाभाविक गुण हुन् । धर्म नै त्यो विशेष कुरा हो जसले मानिसलाई पशुबाट छुट्ट्याउँछ । यस कुराको अनुमोदन गर्दै आधुनिक समाजशास्त्रीय विश्लेषणले के कुरा प्रमाणित गरेको छ भने मानवीय समाजले धर्मको अवधारणा ग्रहण गरे पछि मानव र पशुमा अन्तर हुन गएको हो ।
धर्म शब्दको मूल धातु हो धृ । यसको अर्थ हुन्छ धारण । त्यसैले भनिन्छ– धारणात् धर्म अर्थात् धर्मले समाजलाई अड्याउने हुनाले यसलाई धर्म भनिएको छ । धर्म प्रत्येक पदार्थको स्वाभाविक विशेषता हो । धर्मो रक्षति रक्षित अर्थात् जुन कुराको रक्षा गर्नाले आफ्नो रक्षा हुन्छ, त्यो धर्म हो । उदाहरणका लागि न्यायको रक्षा गर्यो भने त्यसले हामीलाई अन्यायबाट बचाउँछ । जुन समाजले सद्गुणको रक्षा गर्छ, त्यस समाजका मानिसहरुलाई त्यसले दुर्गुणबाट बचाउँछ । गीताको आरम्भ धर्मक्षेत्रे शब्दबाट भएको छ । त्यहाँ यसको अर्थ हो न्याय हुने स्थान ।
महाभारतले भनेको छ– यतः धर्मस्ततो जय । यसको अर्थ हो न्यायको विजय हुन्छ । शान्ति सुरक्षा कायम गर्नु, अराजकता हुन नदिनु, व्यक्ति र राज्यको उन्नति कायम गर्नु जस्ता कामलाई राजधर्म भनिएको छ । धर्मले सामाजिक मेल र सुख शान्ति ल्याउँछ भने अधर्मले समाज भित्र सामाजिक कलह र दुःख मात्र बढाउँछ । मनुस्मृतिमा १० नैतिक गुणलाई धर्म भनिएको छ– ‘धृति, क्षमा, दम, अस्तेय, शौच, इन्द्रियनिग्रह, धी, विद्या, सत्य, र अक्रोध ।’ यी नैतिक गुण जुनसुकै सम्प्रदाय अनुगामीका लागि आदर्श हुन्छन् ।
गीतामा धर्मलाई निम्नलिखित अर्थमा प्रयोग गरिएको छ–
१. पुण्यकर्मको रुपमा– धर्मक्षेत्रे १.१, धर्मम् १८.३१, १८.३२, त्रयीधर्मम् ९.२१
२. कर्तव्य कर्मको रुपमा– कुलधर्मा १.४०, १.४३, १.४४, जातिधर्मा १.४३, स्वधर्मः, ३.३५,१८.४७,
३. व्यक्तिगत स्वभावको रुपमा– धर्मसम्मूढ २.७, परधर्मात् ३.३५,१८.४७, सर्वधर्मान् १८.६६
४. सद्गुण, सदाचारको रुपमा– धर्मस्य २.४०, ४.७, १४.२७, धर्मसंस्थापन ४.८, धर्माविरुद्धः ७.११
५. ज्ञान विज्ञानको रुपमा– शाश्वतधर्म ११.१८
६. त्रिवर्गमध्ये एकको रुपमा– धर्मकामार्थान् १८.३४
ग्लानिको अर्थ हुन्छ– थकित, गलित, वा निरुत्साहित । धर्मको समाप्ति होइन । धर्म कहिल्यै समाप्त हुँदैन । हुन त धर्मस्थपनामा माथि उल्लिखित सबै पर्दछन् तर यस श्लोकमा धर्म ग्लानिको विशेष अर्थ हो सृष्टिलाई धारण गर्ने शक्ति– कर्तव्य, नैतिकता, आदर्श, ईमानदारी, सद्गुण, सदाचारको ह्रास । धर्म नै सृष्ट विश्वलाई सञ्चालन गर्ने मूल तत्त्व हो । सृष्टिमा तीन गुण अविराम प्रवाहित भइरहन्छन् त्यसैले के स्वाभाविक छ भने कहिले कुन र कहिले कुन सर्वोपरि हुनजान्छ । कहिले काहीं सत्त्वले अरुलाई उछिनेर अगाडि आउँछ, यसै गरी कहिले रजस्ले अरुलाई उछिन्छ । कहिले अरुलाई उछिनेर तमस्को चकचकी हुन्छ, अनि अधर्म फैलिन्छ । त्यसैले धर्मको ग्लानि र अधर्मको उत्थान भनेको धर्म थाकेको र अधर्म जागेको समय ईश्वरको अवतार हुन्छ भनिएको हो ।
हुनत, ईश्वर अजन्मा, अनन्त र सबै प्राणीका प्रभु हुनुहुन्छ तर आफ्नो माया शक्ति को सहारा लिएर आवश्यकता पर्दा मानव कायाको रुपमा अवतरित हुनुहुन्छ । ईश्वरको यो मानव काया जुनसुकै स्थान र समयमा अवतरण हुनसक्छ तर यसको एउटा अनिवार्य सर्त छ, त्यो के हो भने धर्मको ग्लानि र अधर्मको चरम उत्थान हुनु पर्छ ।
यस अवस्थामा सज्जनहरू दुर्जनका दयाको पात्र भएर बिचरा बनेर बाँचिरहेका हुन्छन् । मानव इतिहासको यस्ता संक्रमण कालमा परमेश्वर सन्तुलन पुनस्र्थापित गर्नका लागि मानव रुपमा आफैं आउने कुरा निश्चित गर्नु हुन्छ । यसैलाई अवतार भनिन्छ ।
अवतार त्यो हो जसमा ईश्वरीय शक्ति पूर्ण रुपमा विकसित हुन्छ हुन्छ । जसमा कम विकसित हुन्छ त्यो सिद्ध वा सन्त हुन्छ भन्ने मान्यता हुन्छ । रामकृष्णले अवतारको व्याख्या गर्दै भनेका छन्–‘सन्त र सिद्ध भनेको डुङ्गा हो जुन आफू मात्रै पारी पुग्छ । अवतार भनेको रेलगाडीको इन्जिन जस्तै हो, जुन आफू त लक्ष्यमा पुग्छ, साथै डब्बाहरुलाई तानेर लक्ष्यसम्म ल्याइ पुर्याउँछ ।’ त्यसैले अवतार आफू मात्र तर्दैनन् आफूसंग आफ्नो समयको समाजलाई तार्छन् । उनको प्रभाव पछिसम्म रहन्छ ।
अवतार, सन्त, महापुरूष र शास्त्रज्ञानी सबै हिन्दु धर्मका अभिन्न अंग हुन्छन् । तथापि बौद्धहरुको बोधिसत्त्व, जैनको तीर्थंकर, सिखको गुरु परम्परा प्रकारान्तरले अवतारको अवधारणा हो भन्न सकिन्छ ।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।८।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्साधूनाम् (सज्जनहरुको) परित्राणाय (सबैतिरबाट रक्षा गर्न) च (तथा) दुष्कृताम् (दुष्कृत्यहरुको, अनुचित कृत्यहरुको) विनाशाय (विनाश गर्न) धर्म–संस्थापन (धर्म संस्थापना) अर्थाय (उद्देश्यले) युगे युगे (युग युगमा, हरेक समयमा) सम्भवामि (प्रकट हुन्छु, आउने छु) ।
सज्जनहरुको परित्राण गर्न, दुष्कृत्यहरुको विनाश गर्न र धर्म संस्थापना गर्न म युग युगमा प्रकट हुने गर्छु । मैले जन्म लिने छु ।। ८ ।।
व्याख्या
सम्पादन गर्नुहोस्गीताको नाम सुन्ने प्रायः सबैले अध्याय चारको श्लोक सात र आठ यी दुई श्लोक केही न केही जानेका हुन्छन् । यी श्लोकले अवतार सिद्धान्तको प्रतिपदन गरेकोले श्लोकहरुको भाव पनि ज्यादै गहन छ । ईश्वर अवतारको उद्देश्य के हो ? यस श्लोकमा अवतारको तीन उद्देश्य उद्देश्य बताइएको छ–
१. सज्जनको उद्धार,
२. दुष्कृत्यहरुको संहार,
३. धर्मको स्थापना ।
अवतारको सर्वोपरि उद्देश्य हो, सज्जनको उद्धारद्वारा धर्म संस्थापनको प्रयास । यस क्रममा जरुरी परेमा अवतारले ती दुष्कृत्यहरुको संहार गर्छन् जसले धर्मसंस्थापनमा अवरोध गर्छन् । कृत्यको अर्थ हो गर्नु पर्ने कार्य त्यसैले दुष्कृत्यको अर्थ हो अनुचित कार्य, गर्न नहुने कार्य ।
अधर्म असाधुहरुको हृदयमा वास गर्छ भने धर्म साधुहरुको हृदयमा वास गर्छ । साधुको उद्धार नगरी धर्म संस्थापन हुन सक्दैन । त्यसैले ईश्वरको अवतार करुणावश हो । यसलाई अहैतुकी प्रेम भनिन्छ । बिना कारण, बिना स्वार्थ प्रदान गरिने प्रेम । मानिसको प्रेममा स्वार्थ हुन्छ, ईश्वरको प्रेम निःस्वार्थ हुन्छ ।
अवतारको तेस्रो उद्देश्य हो धर्मलाई ग्लानिबाट उत्थान गर्नु हो । समाजमा दुर्जनहरुको चक्चकी भएमा धर्ममा ग्लानि हुन्छ । ग्लानिको एउटा अर्थ हो थकावट । यसमा स्फूर्ति ल्याउन ईश्वर आफैं आउनु हुन्छ ।
धर्मको उत्थान गर्न अवतार अवश्य आउँछन् भन्ने एक अटूट विश्वास हिन्दु धर्मावलम्बीमा हुन्छ । यस आधारमा भगवान् विष्णुका १० अवतार मानिन्छन् मत्स्य, कूर्म, वराह, वामन, नर्सिंह, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि । जुन समयमा जस्तो दुष्कृत्य भएको छ, त्यसको समाप्तिका लागि सोही अनुसारको ईश्वर अवतार हुन्छ भन्ने कुरा पुराण कथाले व्याख्या गर्छन् । जसमा कृष्णलाई पूर्णावतार र अन्यलाई अंशावतार भनिन्छ । कलियुगमा कल्कि अवतार हुने छ भन्ने विश्वास गरिन्छ ।
वैदिक सनातन हिन्दु संस्कृतिका अनुयायीलाई सामूहिक अवसादबाट बचाउन र आशाको संचार गर्न यस श्लोकले अमृत बिन्दुको काम गरेको छ । समाजमा अत्याचार, पाप, अधर्म, दुराचारको चकचकी हुँदा तथा सज्जन मानिसहरुमाथि अन्याय हुँदा पनि मानिसहरुमा सधैं के विश्वास रहेको छ भने ईश्वर सहायता गर्न कुनै न कुनै रुपमा अवश्य आउनु हुनेछ । यसले समाजलाई निरन्तर आशावादी रहन मद्दत पुगेको छ ।
धेरै समय इजिप्टमा दासको जीवन बिताएका यहुदीहरुको मानसिकता नै दास भइसकेको थियो । उनीहरुले स्वतन्त्र हुनसक्ने आश नै मारिसकेका थिए । मोसेजले ईश्वरीय आदेश पालन गरेर यहुदीको उद्धार गर्न निकै प्रयास गर्नु पर्यो । आफूले ईश्वरीय आदेश पाएको कुरा विश्वास दिलाउनु पर्यो । उनीहरुमा स्वतन्त्रताको चेतना जगाउनु पर्यो । बडो मुश्किलले उनीहरु मोसेजको सुझाव मान्न तयार भए ।
हिन्दु दार्शनिकहरुको विविध पक्षको चिन्तन देखेर साहित्यकार टी एस इलियटले भनेका छन्– हिन्दु दार्शनिकहरुको गहन अध्ययनका अगाडि कोही पनि टिक्न सकेको देखिंदैन । अधिकांश युरोपेली दार्शनिक उनीहरुका अगाडि केटाकेटी जस्तो लाग्छ ।
जन्म कर्म च मे दिव्यमेवं यो वेत्ति तत्त्वतः ।
त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सोऽर्जुन ।।९।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्अर्जुन (हे अर्जुन) मे (मेरो) दिव्यम् (दिव्य) जन्म (जन्म) कर्म च (र कर्म) यः (जसले) एवम् (यसरी) तत्त्वतः (यथार्थमा, सारमा) वेत्ति (जान्दछ) सः (उसले) देहम् (देह) त्यक्त्वा (त्याग गरेपछि) पुनर्जन्म (पुनर्जन्म) न एति (प्राप्त गर्दैन) माम् (मलाई) एति (प्राप्त गर्छ) ।
हे अर्जुन, मेरो जन्म र कर्म दुवै दिव्य छन् । जसले यो कुरा यथार्थमा, बुझेको छ, उसले देह त्यागेपछि पुनः जन्म लिनु पर्दैन बरु मलाई प्राप्त गर्छ ।। ९ ।।
व्याख्या
सम्पादन गर्नुहोस्भगवान् श्रीकृष्णद्वारा थप आश्वासन के पनि छ दिइएको छ भने यस अवतारको रुप, जन्म र कार्यको महिमा जसले बुझ्छ उसले मुक्ति प्राप्त गर्छ ।
जन्म र मृत्यु दुवै विपरीत अवधारणा हुन् । दुवै प्राणीले बेहोर्नु पर्छ । यी दुवै लौकिक अवधारणाहरु हुन् तर श्रीकृष्ण यी दुवैको पार हुनुहुन्छ, त्यसैले उहाँको जन्म र कर्म दिव्य छ भनिएको हो । जसले यो कुरा बुझ्छ उसले पुनर्जन्म लिनु पर्दैन ।
भगवान् श्रीकृष्णले जुन कुरा बुझ्नु भएको छ त्यो जसले बुझ्छ त्यो पनि अलौकिक हुन जान्छ । हामीले बुझ्छौं भने हामी पनि अलौकिक हुन जान्छौं । शरीरमा जीवन छ तर शरीर नै जीवन होइन । बत्तीमा उज्यालो छ तर बत्ती नै उज्यालो होइन । यही कुरा दिव्य हो । बुद्धले जुन दिन त्यो जाने उनलाई दिव्य अनुभवहरु भए । जीससले जुन दिन यो कुरा बुझे आफूलाई परमात्माको सन्तान जाने । मंसूरले यो कुरा बुझे पछि अनलहक भन्यो । राबियाले शैतानमा ईश्वर देख्न थालिन् । योगमायाले जुन दिन यो कुरा बुझिन् उनको जीवन एक साधारण घरेलु महिलाको रुपमा रहेन, ठुली हजुर बनिन् । जुन दिन बलवीर थापाले यो कुरा बुझे उनी योगी नरहरिनाथ बने । खप्तड बाबाले जुन दिन त्यो जाने त्यसपछि उनले अरु कुरा जान्न बाँकी रहेन, चिकित्सकको काम छोडेर एकान्त सेवन गर्न थाले ।
वीतराग भयक्रोधा मन्मया मामुपाश्रिताः ।
बहवो ज्ञानतपसा पूता मद्भावमागताः ।। १० ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्वीतरागभयक्रोधाः (राग, भय र क्रोधलाई बेवास्ता गरेका, यी सबैबाट मुक्त) मन्मयाः (मत्परायण भएका) माम् उपाश्रिताः (मेरो आश्रय लिएका) बहवः (अनेकौं) ज्ञानतपसा (ज्ञानको तपले) पूताः (पवित्र भएकाहरु) मद्भावम् (मेरो भावलाई) आगताः (आएका छन्, प्राप्त भएका छन्) ।
राग, भय र क्रोधबाट मुक्त भएका, मत्परायण भई मेरो आश्रय लिएका र ज्ञानतपले पवित्र भएका अनेकौंले मेरो भावलाई प्राप्त भएका छन् अर्थात् मलाई प्राप्त गरेका छन् ।। १० ।।
व्याख्या
सम्पादन गर्नुहोस्भय, क्रोध र राग सबै मनोवैज्ञानिक प्रतिक्रियाहरु हुन् । भयको अर्थ हो प्राप्त विषयका नाशको आशङ्का । क्रोधको अर्थ हो काम्य विषयको प्राप्तिमा बाधा । रागको अर्थ हो विषय वासनासंग तुरुन्तै सम्बन्धित भइदिनु । यी सबबाट वीतको अर्थ हो गएको, छुटेको । त्यसैले वीतरागको अर्थ हो रागबाट मुक्त, त्यसै गरी वीतभयको अर्थ हो भयबाट मुक्त र वीतक्रोधको अर्थ हो क्रोधबाट मुक्त । घर परिवार प्रति आसक्ति हुनु राग हो भने यसको विपरीत अर्थात् घर परिवारबाट विरक्त भई वन जंगलमा कठोर एकान्त वास गर्नु वैराग्य हो ।
राग, विराग र वीतरागमा अन्तर हुन्छ । मानिसको मन राग र विरागको बीचमा डुलिरहन्छ । राग र वैराग्य एक अर्काको विपरीत हो तर वीतराग राग र वैराग्य दुवैबाट पारको अवस्था हो । अटैच भनेको राग हो, भने डिटैच भनेको विराग हो । तर बियोन्ड एटैच भनेको वीतरागी हुनु हो । वीतरागीले सबै सुखलाई उपयोग पनि गर्छ र वैराग्यको भाव पनि मनमा राख्छ । बाहिरबाट वीतरागी मानिस रागी जस्तो देखिन्छ तर भित्रबाट ऊ वैरागी जस्तो हुन्छ । वीतरागी रागभन्दा माथि हुन्छ तर साथै यो वैराग्यभन्दा पनि माथि हुन्छ । भगवान् श्रीकृष्णको जीवन वीतरागीको एक सुन्दर उदाहरण हो । श्रीकृष्णका आठ पटरानी थिए जसमा १६ हजार १०० अरु थपिए । यसरी १६ हजार १०८ श्रीमती भएका भगवान् श्रीकृष्णलाई शास्त्रकारहरुले सबभन्दा ठूलो ब्रह्मचारी घोषणा गरेका छन् । भगवान् श्रीकृष्णले स्वीकार गरेका पत्नीहरु रागको कारणले प्राप्त भएका होइनन् । रुक्मणि र कालिन्दीले कृष्णलाई पति पाउन तपस्या गरेका थिए । स्यामन्तक मणिको उद्धार गर्ने क्रममा जाम्बवती र सत्यभामालाई पत्नी स्वीकार गर्नु परेको थियो ।
नरकासुरले भोग गर्नका लागि थुनेर राखेको कन्यालाई भगवान् कृष्णले पत्नी बनाउनु परेको थियो । भगवान् श्रीकृष्णले नरकासुरको वध गरे पछि जेलमुक्त सबै कन्या आआफ्ना घर गए । ती कन्याहरु एक दिन रुँदै कृष्णकहाँ आइ पुगे अनि के भन्न थाले भने उनीहरुलाई न त समाजले स्वीकार गर्यो न परिवारले । उनीहरुलाई कसैले विवाह गर्न पनि मानेन । भगवान् श्रीकृष्णले तत्काल निर्णय गर्नु भयो– यदि तिमीहरुको परिवारले, समाजले अपमानित गर्नका लागि स्वीकार गरेनन् भने तिमीहरु आजदेखि कृष्ण पत्नी भयौ । अब संसारले कृष्ण पत्नीको रुपमा तिमीहरुको सम्मान गर्ने छ ।
यसरी कृष्णका सोह्र हजार एक शय आठ पत्नी भएका हुन् ।
ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् ।
मम वर्त्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।। ११ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्ये जसले) यथा (जसरी) माम् (मलाई) प्रपद्यन्ते (भजन गर्छन्) तान् (तिनीहरुलाई) तथा एव (त्यसै गरी नै) भजामि (भज्छु) अहम् (मैले) मम (मेरो) वर्त्म (बाटो) अनुवर्तन्ते (अनुसरण गर्छन्) मनुष्याः (मानिसहरु) पार्थ (हे पृथा पुत्र अर्जुन) सर्वशः (सबै प्रकारले) ।
हे पार्थ, जसले मलाई जसरी भजन गर्छन् मैले तिनीहरुलाई त्यसै गरी भज्छु, व्यवहार गर्छु । किनभने मानिसहरुले सबै प्रकारले मेरो मार्गकै अनुसरण गर्छन् ।। ११ ।।
काङ्क्षन्तः कर्मणां सिद्धिं यजन्त इह देवता ।
क्षिप्रं हि मानुषे लोके सिद्धिर्भवति कर्मजा ।। १२ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्कर्मणाम् (कर्महरुको) सिद्धिम् (सिद्धि) काङ्क्षन्तः (आकांक्षा राख्नेहरुले) देवताः (देवताहरुको) यजन्ते (यजन पूजन गर्छन्) इह (यस) मानुषे लोके (मनुष्य लोकमा) कर्मजा (कर्मको प्रतिफल) क्षिप्रम् हि (शीघ्र नै, तुरुन्तै) सिद्धिः भवति (प्राप्त हुन्छ) । कर्मको सिद्धिको आकांक्षा राख्ने मानिसहरुले देवताहरुको पूजन गर्छन् । किनभने यस मनुष्यलोकमा कर्मको फल तुरुन्तै प्राप्त हुन्छ ।। १२ ।।
व्याख्या
सम्पादन गर्नुहोस्हे पार्थ, जसले मलाई जसरी व्यवहार गर्छ मैले उसलाई त्यसै गरी व्यवहार गर्छु । यो जीवनको महानियम हो । अरुले तपाईंसंग सोही व्यवहार गर्छन् जस्तो व्यवहार तपाईंले उनीसंग गर्नुहुन्छ । मानिस मात्र होइन कुनै पनि वस्तुले त्यही व्यवहार गर्छ, जस्तो व्यवहार हामीले ऊसँग गर्छौं ।
हामीले प्रयोग गर्ने निर्जीव वस्तु र पदार्थहरुलाई हामीले जति प्रेमपूर्ण व्यवहार गर्छौं उनीहरुले हामीलाई त्यति बढी सेवा दिनसक्छन् । हामीले जसलाई निर्जीव मान्छौं उनीसंग पनि प्रेमपूर्ण व्यवहार गर्नु पर्छ । उनीहरुलाई पनि प्रेमपूर्ण व्यवहारको आवश्यकता हुन्छ ।
प्रत्येक प्राकृतिक वस्तुलाई जीवित व्यक्ति सरह अधिकार दिनु पर्दछ भन्ने मान्यतालाई विश्वमा स्वीकार गर्न थालिएको छ । वि.सं.२०७४ मा न्युजील्याण्डमा त्यहाँको वाङ्गानुइ नदीलाई जीवित व्यक्ति सरह कानूनी अधिकार प्रदान गरिएको छ । यस अधिकारका लागि त्यहाँका माओरी जाति १४० वर्षदेखि कानुनी लडाईं गरिरहेका थिए । त्यसको दुई वर्ष पछि भारतमा गंगा नदीलाई पनि सोही कानूनी उपचारको अधिकार प्रदान गरिएको छ । यस अधिकारको आधारमा गङ्गा नदीले आफू माथि अतिक्रमण गर्नेहरुलाई मुद्दा दिन सक्छ । यो अधिकार दिनु भनेको नदीको शुद्धता र परिमाणलाई सुरक्षित राख्नु हो । यसको अर्थ हो नदीको जीवन्तता जोगाउनु ।
मनुष्यलोकमा कर्मको फल तुरुन्तै प्राप्त हुने गर्छ । त्यसैले मनुष्य लोकमा कर्मको इच्छित फल सिद्ध होस् भन्ने चाहना गर्नेहरुले देवताको पूजन गर्छन् । कर्मबन्धनको नाशका लागि कर्म नगरेर कर्मफलको इच्छा गर्नेहरुले कर्मको फलका लागि नै स्वभावतः देवताहरुको पूजा गर्दछन् ।
चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः ।
तस्य कर्तारमपि मां विद्ध्यऽकर्तारमव्ययम् ।।१३ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्मया (मद्वारा) सृष्टम् (सिर्जना गरिएका) चातुर्वण्र्यम् (चार वर्णको समूह) गुणकर्मविभागशः वर्ण (गुण र कर्मको विभागपूर्वक हो) तस्य (त्यसको) कर्तारम् (कर्ता) अपि (भए पनि) माम् (मलाई) अकर्तारम् (अकर्ता) अव्ययम् (र अविनाशी) विद्धि (जान) ।
मैले गुण र कर्मको विभागपूर्वक चार वर्ण सिर्जना गरेको हो । तर, के ध्यानमा राख भने, त्यसको कर्ता भए पनि मलाई अकर्ता र अविनाशी जान ।। १३ ।।
न मां कर्माणि लिम्पन्ति न मे कर्मफले स्पृहा ।
इति मां यो ऽभिजानाति कर्मभिर्न स बध्यते ।।१४ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्माम् (मलाई) कर्माणि (कर्महरुले) न लिम्पन्ति (लिप्त गर्दैनन्) कर्मफले (कर्मको फलमा) मे स्पृहा न (मेरो स्पृहा, कामना, इच्छा) इति (यस प्रकार) माम् (मलाई) यः (जसले) अभिजानाति (राम्ररी जान्दछ) कर्मभि ः (कर्महरुको बन्धनमा) सः (त्यो) न बध्यते (बाँधिँदैन) ।
मलाई कर्महरुले लिप्त गर्दैनन् किनभने कर्मको फलमा मेरो स्पृहा अर्थात् छैन । जसले मलाई यसरी तत्त्वले जान्दछ त्यो कर्मबन्धनमा अर्थात् पाप पुण्य, जन्म मृत्युको बन्धनमा पर्दैन ।। १४ ।।
एवं ज्ञात्वा कृतं कर्म पूर्वैरपि मुमुक्षुभिः ।
कुरु कर्मैव तस्मात्त्वं पूर्वैः पूर्वतरं कृतम् ।।१५ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्मुमुक्षुभिः (मुक्तिको कामना गर्नेहरु) पूर्वैः अपि (पूर्वजहरु, पुर्खाहरुले पनि) एवम् (यस कुरालाई) ज्ञात्वा (जानेर) कृतम् कर्म (कर्म गरेका हुन्) एव (पनि) तस्मात् (त्यसैले) त्वम् (तिमीले) पूर्वैः (पुर्खाहरुले) पूर्वतरम् (उहिलेदेखि) कृतम् (गरिआएका) कर्म (कर्म) कुरु (गर) ।
मुमुक्षु पुर्खाहरुले पनि यसै कुराको जानकारी पाएर नै कर्म गरेका हुन् । त्यसैले तिमीले पनि पुर्खाहरुले उहिलेदेखि गरिआएका कर्म गर ।। १५ ।।
व्याख्या
सम्पादन गर्नुहोस्वर्ण विभाजनको कार्यमूलक व्याख्या १८.४१–४५ मा गरिएको भए तापनि यहाँ गुण र कर्म अनुसार काम गर्न जान्नेहरुले मुक्ति प्राप्त गर्छन् भन्ने प्रसंगमा वर्णको उल्लेख हुन गएको छ । वर्णको अर्थ हुन्छ रङ्ग तर यसलाई सर्वप्रथम पोर्तुगीज भाषामा सोझै जाति (कास्ट) रुपान्तरण गरिएको थियो । त्यस पछि सामान्यतः सोही रुपमा उल्लेख गर्ने प्रचलन छ तर यसको बढी उचित अनुवाद वर्ग (क्लास) हुनसक्छ । यद्यपि जाति र वर्ग दुवै भन्दा वर्ण फरक अवधारणा हो ।
वरणात् वर्ण अर्थात् छनौटको आधारमा वर्ण बनेको भन्ने मानिएको छ । यस अवधारणाको आधार भृगुरचित शिल्पशास्त्र हो जसमा
मानिसका सीपहरुको व्याख्या गरिएको छ । यस आधारमा स्वैच्छिक सरल श्रम विभाजनको आधारशिला तय भएको हुनसक्छ । यसै आधारमा ज्ञानार्जनमा लाग्नेहरुलाई ब्राह्मण, राजकीय कर्ममा भाग लिनेलाई क्षत्रिय, आर्थिक कारोबारमा संलग्नलाई वैश्य र सेवा क्षेत्रमा संलग्नलाई शूद्र नामकरण हुन गयो । समाज विकासको क्रममा श्रम विभाजन जटिलतर हुन गयो । यस जटिलताले गर्दा वर्णका पनि मिश्रित वर्ण, जाति, उपजाति आवश्यक हुन गयो ।
वर्ण विभाजनको गुण र कर्मको प्रारम्भिक अवधारणाका सम्बन्धमा ओशो रजनीशको भनाई छ– विभाजन दुई प्रकारका हुन्छन्, एउटा क्षैतिज विभाजन हुन्छ– एउटै मञ्चमा चार ठाउँमा चार जना बसे जस्तो । अर्को विभाजन हुन्छ ठाडो, भर्याङ्का चार विभिन्न खुडकिलोमा उभिएका चार मानिसहरु जस्तो । एउटा मानिस उभिएको छ, ऊभन्दा माथिको खुडकिलोमा अर्को मानिस उभिएको छ, ऊभन्दा तल एउटा उभिएको छ । वर्णको जुन प्राथमिक विभाजन थियो त्यसमा शूद्र, ब्राह्मण, वैश्य, क्षत्रिय यी सबै तल माथि र सानो ठूलोमा विभाजन गरिएको थिएन । यी सबै चार विभाजन एउटै भूमिमा थिए । पछि यो तल माथि हुन पुग्यो । जुन दिन यो विभाजन तलमाथि भयो, त्यसै दिन वर्णको जुन मूल्यवान् जग थियो, त्यो भत्क्यो र वर्णको सिद्धान्त र वर्णको मनोशास्त्र शोषणको आधार बन्यो ।
प्रत्येक मानिसमा अनन्त सम्भावनाहरु हुन्छन्, तर ती अनन्त सम्भावनामध्ये केवल एउटा सम्भावनाले वास्तविक रुप लिनसक्छ । हामीले कुनै बालकलाई डाक्टर पनि बनाउन सक्छौं, वकील पनि बनाउन सक्छौं, इञ्जीनियर पनि बनाउन सक्छौं । बालकका अनन्त आयाम हुन्छन् । तर सिक्ने कुरा सुरु हुनासाथ विशिष्टीकरण सुरु हुन्छ । यदि कोही मानिस शरीरका बारेमा सिक्न थाल्यो भने त्यो डाक्टर नै बन्छ । आज त पूरा डाक्टर पनि कोही बन्न सक्दैन । विशिष्टता अझ सूक्ष्म भएको छ– कानको डाक्टर, आँखाको डाक्टर, मुटुको डाक्टर ।
पश्चिममा जसरी आज विज्ञान विशिष्टीकृत भएको छ, त्यसै गरी प्राचीन समाजको यो चार विभाजन विशिष्टीकरण हो । यदि कोही मानिस क्षत्रिय हुन चाहन्छ भने त्यसलाई सानैबाट क्षत्रिय हुन जुन अवसर चाहिन्छ त्यो दिइनु पर्छ भन्ने यसको मान्यता हो । हाम्रा पुर्खाले के सोचेका थिए भने यदि यदि केही मानिस ब्राह्मण हुन सक्छन् र क्षत्रिय हुनसक्दैनन् भने उनीहरुलाई बचपनदेखि नै ब्राह्मणको वायु प्राप्त होस्, ब्राह्मणको वातावरण प्राप्त होस् । उसको एक क्षण पनि खेर नजाओस् ।
यद्यपि सामान्य रुपमा के तय गरिएको थियो भने कोही जन्मदेखि नै ब्राह्मण हुँदै जाओस् तर त्यसबेला पनि के उपाय गरिएको थियो भने कुनै बेला अपवाद हुन गयो भने उसले अर्को वर्णमा प्रवेश गर्न सकोस् । कहिलेकाहीं विश्वामित्र जस्तो मानिसले वर्ण परिवर्तन चाहन्थ्यो । तथापि यो अपवाद थियो, नियम थिएन, साधारणतः जुन मानिस जुन दिशामा दीक्षित हुन्थ्यो, जुन दिशामा निर्मित हुन्थ्यो, त्यो मानिस सोही दिशामा आनन्दित हुन्थ्यो, आफ्नै बाटोमा यात्रा गर्थ्यो ।
मानिसहरुलाई जन्मका आधारमा यसरी चार वर्गमा विभाजन गर्दा आत्मालाई पनि पुनर्जन्मको समयमा व्यक्ति छनौटको सुविधा भएको थियो । यो कुरा निकै महत्त्वपूर्ण छ । वर्णको जन्मगत जग यसैमा निहित छ । कुनै मानिसको मृत्यु हुनासाथ उसको आत्माले नयाँ जीवन खोज्छ । पूर्व जन्ममा उसले जे गरेको छ, जे सोचेको छ, जे जेजति व्यक्तित्व निर्माण गरेका छ, जे उसको सञ्चिति छ, त्यसै आधारमा उसले नयाँ गर्भ खोजी सुरु गर्छ । वर्ण व्यवस्थाले गर्भ खोज्न आत्मालाई सुविधा गराइदिएको छ । मृत्यु हुनासाथ एक ब्राह्मणले अर्को ब्राह्मण गर्भ खोज्न सक्थ्यो । सजिलो गरी प्राप्त हुने भयो । यो कुरा ठीक डाक्टरको ढोकामा लगाइएको तख्ती जस्तै हो । अनि बिरामीलाई खोजी गर्न सजिलो हुन्छ । आत्मालाई उसको अन्तर्मुख वा बहिर्मुख प्रवृत्ति अनुरुप गर्भ खोज्नका लागि तख्ती लगाइदिएको छ । त्यसैले कुनै ब्राह्मणले अनन्त जन्मसम्म ब्राह्मणको गर्भमा प्रवेश गर्न सक्थ्यो । क्षत्रियले अनन्त जन्मसम्म क्षत्रियको गर्भ खोजी गर्न सक्थ्यो । यसका परिणाम पनि मूल्यवान् थिए । यसको अर्थ के थियो भने हामीले एक जन्मको विशिष्टीकरण बारे मात्र विचार गरेका थिएनौं, अनन्त जन्मको शृङ्खलामा विशिष्टीकरणको व्यवस्था गरिएको छ । यसबाट आइन्स्टीन जस्ता गणितज्ञले भौतिक विज्ञानी पिता वा गणितज्ञ माता छनौट गर्न सक्थे । यसरी संसारमा विकास अनेक नयाँ सम्भावनाहरु निर्माण गर्न सकिन्थ्यो । तर यसका लागि आइन्स्टीनले फेरि आफूलाई चाहिने उचित गर्भ खोज्नु पर्छ ।
तर जुन दिनदेखि वर्ण माथिल्लो तल्लो बन्यो, त्यसै दिनदेखि यसको विज्ञान समाप्त भयो । वर्णको सत्यमा माथि तलको भेद थिएन । वर्णको सत्यमा व्यक्तित्व भेद थियो । यो प्रकृतिको कुरा हो । वर्ण व्यवस्था फरक, अन्तरको स्वीकृति हो मूल्याङ्कन होइन । अन्तरको स्वीकृति स्वाभाविक पनि हो । मानिसले समाजको बारेमा जति जान्दै गएको छ, मनोविज्ञानको जति विकास भएको छ, त्यति झन् के स्पष्ट हुँदै छ भने मानिस चार प्रकारका छन् । यसलाई इन्कार गर्न सकिँदैन । मानिसको आत्मालाई समाप्त गरेर उनीहरुलाई पूरै मेशीन बनाएर मात्र सबैलाई एउटै वर्णको बनाउन सकिन्छ । त्यसभन्दा पहिले वर्ण असत्य हुन सक्दैन । जीवनको स्वाभाविक नियमलाई अस्वीकार गरे हामीलाई नै असर पर्छ ।
गीतामा यस कुरालाई स्वीकार गरिएको छ । यस आधारमा के भन्न सकिन्छ भने प्रत्येक मानिसमा यी चारवटै स्वभाव हुन्छन् । जुन भाव बढी छ, उसको त्यही वर्ण हो । जब मानिसको मनमा शान्ति, सरलता र स्वच्छताको भाव हुन्छ, ऊ ब्राह्मण हुन्छ । अरुको रक्षा गर्ने समयमा क्षत्रिय भाव हुन्छ, जीविकोपार्जनको काम गर्दा वैश्य हुन्छ र सेवाको कार्य गर्दा शूद्र हुन्छ ।
अर्जुनको आत्मा यस जन्मको मात्र होइन जन्मौं जन्मको क्षत्रिय हो । यदि उसले त्यो स्वधर्मपालन गर्दैन भने स्वधर्म अनुकूलको आचरण नगर्नाले ऊ एक असफलता, विषाद र दुखले छटपटाई रहने छ । उसको जीवनले बाटो बिराउने छ ।
भगवान् श्रीकृष्णले भन्नु हुन्छ– कर्ता भइकन पनि अकर्ता र अविनाशी हूँ भनेर मलाई जान्नु पर्छ । कर्मका फलमा मेरो स्पृहा छैन तथा मलाई कर्मले लिप्त गर्दैनन् । यस भनाईले ईश्वर व्यक्ति होइन शक्ति हो भन्ने कुरा तर्फ संकेत गरेको छ ।
जुन मानिसले यस कुरालाई यसै गरी गहनता साथ त्यो कर्मबन्धनमा पर्दैन । ती पुर्खाहरु जो मुक्तिका लागि प्रयासरत थिए उनीहरुले पनि यही कुरा आआफ्नो गुण र कर्म अनुसार साधना गर्न जानेर मुक्त भएका हुन् । त्यसैले हे अर्जुन, तिमीले पनि मुक्ति चाहने पुर्खाहरुले गरे झैं आफ्नो स्वभाव र कर्तव्य बुझेर कर्म गर ।
किं कर्म किमकर्मेति कवयोsप्यत्र मोहिताः ।
तत्ते कर्म प्रवक्ष्यामि यज्ज्ञात्वा मोक्ष्यसेsशुभात् ।।१६
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्किम् कर्म (कर्म के हो) किम् अकर्म (अकर्म, कर्म ननर्गु के हो) इति (यस कुरामा) कवयः (कवि, बुद्धिमान, सबै कुरा जान्ने) अपि (अपि) अत्र (यहाँ) मोहिताः (भ्रमित छन्) तत् कर्म (त्यस कर्मको बारेमा) ते (तिमीलाई) प्रवक्ष्यामि (बताउँछु) यत् (जुन कुरा) ज्ञात्वा (जानेर) अशुभात् (अशुभ कुराहरुबाट) मोक्ष्यसे (मुक्त हुने छौ) ।
कर्म के हो? अकर्म के हो ? यस कुरामा यहाँ त ठूला विद्वान्हरु पनि भ्रमित छन् । त्यस कर्मको कुरालाई मैले राम्ररी बताउँछु । जसलाई जानेर तिमी अशुभ कुराहरुबाट मुक्त हुनेछौ ।। १६ ।।
कर्मणो ह्यपि बोद्धव्यं बोद्धव्यं च विकर्मणः ।
अकर्मणश्च बोद्धव्यं गहना कर्मणो गतिः ।। १७ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्कर्मणः (कर्म) बोद्धव्यम् (जान्नु पर्छ) विकर्मणः (विपरीत कर्म) बोद्धव्यम् च (तथा जान्नु पर्छ) अकर्मणः च (तथा अकर्म) अपि (पनि) बोद्धव्यम् (जान्नु पर्छ) हि (किनभने) कर्मणः (कर्मको) गतिः (गति, प्रक्रिया, परिणाम) गहना (गहन, जटिल छ) ।
कर्म अर्थात् फलासक्ति सहितको कर्म जान्नु पर्छ । विकर्म अर्थात् विपरीत कर्म पनि जान्नु पर्छ । साथै अकर्म अर्थात् फलासक्ति त्यागेर गरेको कर्म पनि जान्नु पर्छ किनभने कर्मको गति गहन अर्थात् जटिल छ ।।१७।।
कर्मण्य कर्म यः पश्येदकर्मणि च कर्म यः ।
स बुद्धिमान्मुष्येषु स युक्तः कृत्स्नकर्मकृत् ।।१८।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्कर्मणि (कर्ममा) यः (जसले) अकर्म (अकर्म देख्छ) च (तथा) यः (जसले) पश्येत् अकर्मणि (अकर्ममा देख्छ) कर्म (कर्म) यः (जुन) स ः (त्यो) मनुष्येषु (मानिसहरुमा) बुद्धिमान् (बुद्धिमान, ज्ञानी हो) स ः (त्यो) कृत्स्नकर्मकृत् (सबै कर्म गर्ने) युक्तः (योगी, योगयुक्त हो) ।
कर्ममा जसले अकर्म देख्छ अनि अकर्ममा जसले कर्म देख्छ सबै मानिसहरुमध्ये त्यो बुद्धिमान् हो र सबै कर्म गर्ने योगी अर्थात् कर्मयोगी पनि हो ।।१८।।
व्याख्या
सम्पादन गर्नुहोस्कर्म, विकर्म र अकर्मको अन्तरबुझ्नु पर्छ । कर्मको अर्थ हो कुनै कृत्य, कार्य, कार्यान्वयन, व्यवसाय, पद, वा कुनै धार्मिक कृत्य । यसलाई पनि नित्य, नैमित्तिक, वा काम्य कर्म गरेर विभिन्न भागमा विभाजन गर्न सकिन्छ। पूर्वजन्मका कृत्यको प्रतिफल र भाग्यलाई पनि कर्मले सम्बोधित गरिन्छ । सारमा, आफ्नो पद र अधिकार अनुरुप वा पूर्वजन्मका कृत्यले वर्तमानमा उपलब्ध परिस्थिति अनुरुप गर्नुपर्ने कामहरु नै कर्म हो । त्यसैले कर्म जान्नु आफ्नो कर्तव्य जान्नु हो । त्यसको विपरीत कर्मलाई यहाँ विकर्म भनिएको छ ।
विकर्मको अर्थ हो, गर्न नहुने काम । जुन कर्तव्य गर्नुपर्ने हो त्यो नगरेर त्यसको उल्टो कामलाई विकर्म भनिएको छ । गर्नु हुने काम र गर्न नहुने कामको बारेमा सबैले बताउँछन् तर कर्म गरेर पनि नगरेको हुने तरीका गीताले बताउँछ । त्यसैले गीताको अकर्म अझ विशेष छ । फलासक्ति सहितको क्रिया कर्म हो, यदि त्यो शास्त्र चलिआएको परम्परा अथवा कर्तव्यको विपरीत छ भने विकर्म हो । त्यसै गरी जुन जुन कर्म फलासक्ति त्यागेर गरिन्छ, त्यो अकर्म हुन जान्छ । फलको आशा राखेर कर्म त्याग गरिन्छ भने अकर्म होइन ।
फलासक्तियुक्त त्यागलाई गीताले कर्म नै मानेको छ । तर फलासक्तिको त्याग गरेर जुन कर्म गरिन्छ, त्यो कर्म गरे पनि कर्म नगरे बराबर हो । गीताका अनुसार, जसले कर्ममा अकर्म देख्छ अनि अकर्ममा कर्म देख्छ त्यो मानिस बुद्धिमान् हो । त्यो योगी हो । यसको अर्थ के हो कर्म गर्दा फलको आशा हुँदैन त्यसले गर्दा कर्ममा अकर्म हुन्छ र अर्कातिर कर्म गर्दा अत्यन्त उत्साह र रुचिपूर्वक गर्छ, जसले गर्दा कर्ममा अकर्म देख्छ । सार के हो भने अकर्म भनेको वीतरागीले गर्ने कर्म हो ।
एउटा उदाहरणले यी तीनवटा शब्दको अन्तरलाई स्पष्ट गर्न सकिन्छ । मानिस भए पछि असल कार्य गर्नु पर्छ यो मानिसको कर्तव्य हो । यदि असल कार्य कर्म हो भने यसको विपरीत कार्य अर्थात् खराब कार्य विकर्म हो । तर असल कार्य गरेर पनि नगर्ने हुनसक्नु अकर्म हो । जसले असल कार्य गरेर बिर्सन्छ उसबाट खराब काम हुनसक्दैन । जसका लागि असल काम र खराब कामको कुनै अन्तर रहँदैन । उसबाट केवल अकर्म हुन्छन् । यसले गीताको अकर्मलाई बताउँछ । जसले यस कुरालाई राम्ररी बुझेको छ, त्यसले सम्पूर्ण कर्म गर्दा पनि कर्म नगरे जस्तो हुन्छ । त्यो नै सबै मानिसहरुमा बुद्धिमान पनि हो र त्यो नै कर्मयोगी हो ।
यस्य सर्वे समारम्भा कामसंकल्प वर्जिताः ।
ज्ञानाग्नि दग्धकर्माणं तमाहुः पण्डितं बुधाः ।।१९।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्यस्य (जसको) सर्वे (सम्पूर्ण) समारम्भा ः (आरम्भ, कर्म, उद्यम) कामसंकल्प वर्जिताः (बिना कामना र संकल्प हुन्छन्) ज्ञान अग्नि (ज्ञानको अग्निले) दग्ध (भस्म, समाप्त) कर्माणम् (कर्महरु) तम् (त्यस मानिसलाई) बुधाः (ज्ञानीहरु) पण्डितम् (पण्डितम्) आहुः (बताउँछन्) ।
जसको सम्पूर्ण आरम्भ अर्थात् उद्यमहरु बिना कामना र संकल्प गरिएका हुन्छन् । जसका कर्म ज्ञानरुपी अग्निले भस्म भएका छन्, यस्तो मानिसलाई ज्ञानीहरु पण्डित भनी बताउँछन् ।। १९ ।।
त्यक्त्वा कर्मफलासंगं नित्यतृप्तो निराश्रय ः ।
कर्मण्यभिप्रवृत्तोऽपि नैव किञ्चित करोति सः ।।२०।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्कर्मफलआसंगम् (कर्मफलको आसक्ति) त्यक्त्वा (त्याग गरेर) नित्यतृप्तः (नित्य तृप्त छ) निः आश्रय ः (आश्रयरहित) सः (त्यो मानिस) कर्मणि (कर्ममा) अभिप्रवृत्तः (राम्ररी प्रवृत्त भइकन) अपि (पनि, यथार्थमा) किञ्चित (केही पनि) न करोति (गरेका छैन) एव (नै) ।
कर्मफलको आसक्ति त्याग गरेर जुन मानिस नित्यतृप्त र निराश्रय छ अर्थात् कर्मफलका साधनको आश्रय गर्ने बुद्धि राख्दैन, त्यसले कर्ममा लागि परेका भए पनि केही नगरेको नै ठहर्छ ।।२०।।
व्याख्या
सम्पादन गर्नुहोस्जुन मानिसले यसरी कर्म गर्दा पनि अकर्म हुन्छ उसका सम्पूर्ण आरम्भ बिना कामना र संकल्प हुन्छन् । त्यसैले उसका सबै कर्म ज्ञानरुपी अग्निले दग्ध भएका हुन्छन् । यसरी कर्म गर्नेलाई बुद्धिमान मानिसहरुले पण्डित भन्दछन् । पण्डितको अर्थ हुन्छ शास्त्रको सही ज्ञान राख्ने व्यक्ति । यस्तो मानिसले समभावले कर्तव्य पूरा गर्छ ।
जुन व्यक्तिले आफूलाई सृष्टि चक्रमा पूर्णतः समर्पण गरीदिन्छ । ऊमात्र आफ्ना कार्यको सफलता वा असफलतामा सम हुनसक्छ । सुख आओस, दुख आओस् दुवैलाई सहर्ष स्वीकार गर्छ । उसको दृष्टिमा दुवै ईश्वरको आशीर्वाद हो । उसले एउटा प्राप्त हुँदा प्रसन्नता र अर्को प्राप्त हुँदा अप्रसन्नता व्यक्त गर्दैन । तर यसको अर्थ के होइन भने उसलाई सुख र दुखले प्रभावित गर्दैनन् । ऊ पनि स्वभावतः सुख हुँदा खुशी र दुख हुँदा दुखी हुन्छ । तर कुनै कुराको जिम्मेवारी लिँदैन । यो जिम्मेवारी त्यस विराटलाई दिन्छ, जसले यो सृष्टि सञ्चालित छ । उसले स्वयं केही गरेको हुँदैन, उसले आफ्नो कामको जिम्मा ईश्वरलाई दिएको हुन्छ ।
एउटा गाई चर्न वनमा गएको थियो । चर्दा चर्दा वनमा धेरै भित्र पुगेछ । अचानक एउटा बाघ देखा पर्यो । त्यो बाघ गाईतिर आउँदै थियो । बाघ देखेर गाई ज्यान जोगाउन पोखरीमा हामफाल्यो ।
गाईको पछि पछि बाघ पनि पोखरीमा हामफाल्यो ।
पोखरीमा गहिरो पानी थिएन त्यसैले त्यो हिलो र दलदल भएको थियो । गाई पनि त्यस हिलोमा भासिन पुग्यो र बाघ पनि । बाघले गाईलाई खान पनि सकने र गाई पनि भागेर जान सकेन । दुवै धेरै बेर उभिए पछि कुराकानी प्रारम्भ भयो ।
गाईले बाघलाई प्रश्न गर्यो– ‘तिम्रो कोही मालिक छ ?’
बाघले रिसाएर भन्यो– ‘ मेरो कोही मालिक छैन । म आफैं मालिक हूँ, जंगलको राजा । मैले जे मन लाग्छ, त्यो गर्छु ।’
गाईले भन्यो– ‘मेरो त मालिक छ । मैले उसको खटनमा बस्नु पर्छ । रात पर्दा पनि म घर पुगिन भने ऊ मलाई खोज्दै आउने छ । उसले मेरो उद्धार गर्ने छ ।’
रात परे पछि किसान आफ्नो गाई खोज्दै वनमा आइपुग्यो । गाईलाई हिलोबाट निकाल्यो ।
बाघलाई कसैले निकाल्न सक्दैनथ्यो किनभने उसको मालिक कोही हुन सक्दैन । बाघ हिलोमा फँसिरह्यो ।
गीतामा अकर्मलाई परिभाषित गर्दै भनिएको छ–‘कर्मफलमा आसक्ति त्याग गरेर जो संसारको आश्रयरहित छ र नित्यतृप्त छ । उसले राम्ररी कर्ममा प्रवृत्त भइकन पनि वास्तवमा केही पनि गर्दैन ।’ यो अवस्था नै अकर्म हो ।
निराशीर्यतचित्तात्मा त्यक्तसर्वपरिग्रहः ।
शारीरं केवलं कर्म कुर्वन्नाप्नोति किल्बिषम् ।।२१।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्यत (संयत, नियन्त्रित) चित्त आत्मा (शरीर र चित्तलाई) त्यक्तसर्वपरिग्रहः (सबै परिग्रह त्याग गरेको छ) निराशीः (आशारहित) शारीरम् केवलम् (केवल शरीर सम्बन्धी) कर्म (कर्म) कुर्वन् (गर्दा पनि) किल्बिषम् (पाप) न आप्नोति (प्राप्त गर्दैन) ।
जसको अन्तःकरण र इन्द्रियसहित शरीर नियन्त्रित छ, सबै परिग्रह त्याग गरेको छ , यस्तो आशारहित र केवल शरीर सम्बन्धी कर्म गर्नेलाई जुनसुकै कर्म गर्दा पनि पापको भागी हुँदैन ।।२१।।
व्याख्या
सम्पादन गर्नुहोस्जसको आफ्नो शरीर र इन्द्रियसहित अन्तःकरण आफ्नो नियन्त्रणमा छ उसलाई आशा र निराशाले छुन सक्दैन । आशारहित भएकोले यस्तो मानिसले केवल शरीर निर्वाहका लागि पर्ने अनिवार्य काम गर्छ । यसको अर्थ के पनि हो भने उसले अनावश्यक सञ्चयलाई परित्याग गरेको हुन्छ । यस्तो मानिसलाई कुनै प्रकारका अपराध लाग्दैन, त्यस्ताबाट कुनै त्रुटि पनि हुँदैन । किल्विषको अर्थ हुन्छ, पाप, त्रुटि, रोग, वा अपराध । यी सबैबाट त्यो मानिस मुक्त हुन्छ, बाँधिंदैन । यसको अर्को अर्थ पनि छ, उसलाई पुण्य पनि हुँदैन । ऊ दुवैबाट मुक्त हुन्छ । उसले केवल ईश्वरको चाहना अनुसार कार्य गरेको ठहर्छ । आदेश पालकलाई दोष हुँदैन ।
यदृच्छालाभसन्तुष्टो द्वन्द्वातीतो विमत्सरः ।
समः सिद्धावसिद्धौ च कृत्वापि न निबध्यते ।।२२।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्यदृच्छालाभ (यादृच्छिक प्राप्ति) सन्तुष्टः (सन्तुष्ट) द्वन्द्व अतीतः (सुख दुख आदि द्वन्द्वहरुबाट अविचलित) विमत्सरः (ईष्र्यारहित) समः (सम बुद्धि छ) सिद्धौ असिद्धौ च (सिद्धि र असिद्धि दुवैमा) कृत्वा अपि (कर्म गर्दा गर्दै पनि) न निबध्यते (बाँधिदैन, मुक्त रहन्छ) ।
यादृच्छिक (अयाचित) प्राप्त भएको उपलब्धिमा जो सन्तुष्ट रहन्छ, जसमा ईष्र्याको सर्वथा अभाव छ, सुख दुख आदि द्वन्द्वहरुबाट अविचलित छ, सिद्धि र असिद्धि अर्थात् सफलता र असफलतामा समभाव राख्छ, यस्तो मानिस केही गर्दागर्दै पनि त्यस कर्मको फलमा बाँधिदैन अर्थात् मुक्त रहन्छ ।।२२।।
गतसंगस्य मुक्तस्य ज्ञानावस्थितचेतसः ।
यज्ञायाचरतः कर्म समग्रं प्रविलीयते ।।२३।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्गतसंगस्य (रागद्वेष आदि आसक्तिरहति भएर) मुक्तस्य (मुक्त भएको) चेतसः (चेतना) ज्ञान अवस्थित (ज्ञानमा स्थिर भएको) यज्ञाय (यज्ञका लागि) आचरतः (मात्र आचरण गर्नेका ) समग्रम् (समग्र) कर्म (कर्म) प्रविलीयते (विलीन हुनजान्छन्) ।
जसको (रागद्वेष आदि कुनै पनि आसक्तिरहति भएर मुक्त भएको छ, जसको चेतना ज्ञानमा स्थिर छ, जसले केवल यज्ञका लागि मात्र आचरण गर्छ यस्तो मानिसका सबै कर्म विलीन हुनजान्छन् अर्थात् उसलाई कुनै बन्धन रहँदैन ।।२३।।
व्याख्या
सम्पादन गर्नुहोस्यादृच्छिक लाभको अर्थ छ कुनै चाहना बिना जे कुरा प्राप्त भएको छ, अर्थात् स्वाभाविक रुपमा आइपर्ने जेसुकै होस, सुखदुख, मन पर्ने मन नपर्ने इत्यादिमा कर्मयोगी असन्तुष्ट हुँदैन । यो चाहिएको थिएन, त्यो चाहिएको थियो भन्ने कुरा मनमा उत्पन्न हुँदैन यस्तो मानिसलाई कुनैमा पनि आसक्ति हुँदैन, त्यसैले त्यो मुक्त रहन्छ ।
भीषण नरसंहारको अन्तमा शरशैयाबाट जब भीष्मले कृष्णलाई सोधे, ‘हे भगवान्, यो महायुद्धको कारक तत्त्व जुआ तपाईंले रोक्न सक्नुहुन्थ्यो । तपाईंले जुआमा युधिष्ठिरलाई जिताइदिएको भए पनि हुन्थ्यो । दुर्योधनको जीत हुने जुआ रोकेको भए यो नरसंहार हुने थिएन ।’
भगवान् कृष्णले भन्नुभयो– ‘सबैले आफ्नो कर्मफल भोग्ने हो । मैले त्यसलाई रोक्न सक्दिन । तथापि युधिष्ठिरलाई मैले सुझाव दिने थिएँ । उनले मसँग जुआ खेल्ने विषयमा सल्लाह नै गरेनन् । तपाईंलाई थाहा नै छ जुआ खेल्दा दुर्योधनले आफ्नो मामा शकुनिसँग सल्लाह गरेर पासा फाल्ने गथ्र्यो । तर युधिष्ठिरले मसँग कहिल्यै सोधेनन् । उनले जुन जुन बेला मसँग सोधेका छन् उनलाई उचित सल्लाह दिएको छु । उनले ईश्वरको इच्छा अनुरुप होइन आफ्नो इच्छा अनुरुप जुआ खेलेका हुन् । यसमा मेरो केही हात छैन ।’
जसले आफूलाई ईश्वरको समर्पण गर्यो र वीतराग भावले आइपरेको परिस्थिति बेहोर्यो उसको मात्र उद्धार हुनसक्छ । ऊ मात्र बन्धनरहित हुन्छ ।
ब्रह्मार्पणं ब्रह्म हविर्बब्रह्माग्नौ ब्रह्मणा हुतम् ।
ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्मसमाधिना ।। २४ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्ब्रह्म अर्पणम् (अर्पण क्रिया ब्रह्म हो) ब्रह्म हविः (हवि–घिउ, पनि ब्रह्म हो) ब्रह्म अग्नौ (ब्रह्मरुपी अग्निमा) ब्रह्मणा (ब्रह्मरुप कर्ताद्वारा) हुत् (आहुति क्रिया पनि ब्रह्म हो) तेन (त्यस) ब्रह्मकर्मसमाधिना (बुद्धिमा ब्रह्मरुपी कर्म मात्र भएको मानिस) गन्तव्यम् (गन्तव्य, लक्ष्य) ब्रह्म एव (ब्रह्म नै हो) ।
स्रुवा आदिले अर्पण गर्ने क्रिया ब्रह्म हो । हवि अर्थात् घिउ ब्रह्म हो । ब्रह्मरुप अग्निमा ब्रह्मले नै आहुति दिइएको छ । जसको बुद्धिमा यस प्रकारका सबै कर्महरु ब्रह्ममय भएका छन्, त्यसको गन्तव्य पनि ब्रह्म नै हुन्छ ।। २४ ।।
स्रोत ः गायत्री महाविज्ञान, पं श्रीराम शर्मा आचार्य
व्याख्या
सम्पादन गर्नुहोस्वैदिक विधि विधानमा यज्ञको बहुतै ठूलो महत्त्व छ । यज्ञमा अग्निको महत्त्व गुणगान गरिन्छ । जीवन भनेको अग्नि नै हो । मानिसको शरीरमा जबसम्म ताप छ तबसम्म ऊ जीवित रहेको मानिन्छ । जोरोस्टर सम्प्रदायमा अग्निलाई नै परमात्माको एकमात्र साकार रुप मानिन्छ । हवनको धार्मिक र सामाजिक महत्त्व रहिआएको छ । अहिले केही वातावरणविद्हरु हवनको वातावरणीय उपयोगिताको बारेमा खोजी गरिरहेका छन् । वातावरण प्रदूषण रोक्न वैदिक हवन सहायक हुन्छ भन्ने पनि मानिएको छ ।
हवन क्रिया गरिने स्थानलाई वेदी भनिन्छ । वेदीको वरिपरि शुद्ध आसन ओच्छाएर आचार्य र यजमान बस्छन् । हवन गर्ने वैदिक विधिमा चाहिने सामग्री यस प्रकार छन्– त्रिआयामिक हवन कुण्ड, समिधा, हवि अर्थात् घिउ, हविष्य अर्थात् आहुति दिने पदार्थ । हवनमा प्रयोग गरिने विशेष काष्ठ पात्रको नाम यस प्रकार छ– स्रुचि, स्रुवा, प्रणीता, प्रोक्ष्णी पात्र र स्फ्य ।
उद्गाताले ओंकारको ध्वनि गरे पछि यज्ञ क्रिया प्रारम्भ हुन्छ ।
यज्ञको अग्नि मन्त्रोच्चार पूर्वक उत्पन्न गरेर त्यसलाई प्रज्ज्वलित गर्दै तीन औंलाको टुप्पामा थोरै हविष्य राखिन्छ अनि मन्त्र पढ्दै स्वाहा भनेर अग्निमा अर्पण गरिन्छ । आहुतिका आवृत्ति पूर्ण भए पछि उभिएर पूर्णाहुति र घृतधारा गरर यज्ञको आहुतिको समापन गरिन्छ ।
यज्ञको रहस्य के हो भने अग्नि तीव्र गराउन घिउ राखिन्छ । घिउलाई संस्कृतमा स्नेह भनिन्छ । घिउ दूधबाट बन्छ । अर्थात् यो प्राकृतिक हो । घिउ शुद्धताको प्रतीक पनि हो ।
अग्निको रहस्य के हो भने यो उर्ध्वगामी हुन्छ । सबैलाई शुद्ध बनाउँछ । माथि गए पछि अदृश्य हुन्छ । तर श्रीकृष्णले साधारण अग्निको मात्र कुरा गर्नु भएको छैन । उनको अग्नि योगको अग्नि हो । योग शक्तिले मानिसले शरीरबाट अग्नि निकाल्न सक्छन् ।
जुन यज्ञमा स्रुवा आदिको अर्पण ब्रह्म हो । हवि पनि ब्रह्म हो । ब्रह्मरुप अग्निमा ब्रह्मरुप आहुति क्रिया गरिएको हुन्छ । त्यस ब्रह्मकर्म रुपी यज्ञद्वारा प्राप्त हुने उच्चतम लक्ष्य ब्रह्म हो । त्यो सम्पूर्ण कर्म ब्रह्ममय हुन्छ । यसरी भगवान् श्रीकृष्णको विचारमा यो सम्पूर्ण सृष्टि यज्ञमय क्रिया हो— सर्वंखल्विदं ब्रह्म । जसले यसरी जान्दछ, उसले ब्रह्म नै प्राप्त गरेको ठहर्छ ।
दैवमेवापरे यज्ञं योगिनः पर्युपासते ।
ब्रह्माग्नावपरे यज्ञं यज्ञेनैवोपजुह्वति ।।२५।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्अपरे योगिनः (अन्य कोही कर्मयोगीहरुले) एव (पनि) दैवम् यज्ञम् (दैव यज्ञको) परि उपासते (उपासना गर्छन्) ब्रह्म अग्नौ (परमात्मारुपी अग्निमा) अपरे (अन्यले) यज्ञेन (यज्ञरुपी उपायद्वारा) यज्ञम् (यज्ञादि सबै कर्म) एव ( नै) उपजुह्वति (हवन गर्छन्) । अन्य कोही कर्मयोगीहरुले दैव यज्ञको राम्ररी उपासना गर्छन् । तथा अन्य कसैले ब्रह्मरुपी अग्निमा यज्ञरुप उपायद्वारा यज्ञादि सबै कर्म हवन गर्छन् ।। २५ ।।
श्रोत्रादीनीन्द्रियाण्यन्ये संयमाग्निषु जुह्वति ।
शब्दादीन्विषयानन्य इन्द्रियाग्निषु जुह्वति ।।२६।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्अन्ये (अन्य कसैले) श्रोत्रादीन् (कान आदि) इन्द्रियाणि (समस्त इन्द्रियलाई) संयम अग्निषु (संयमरुप अग्निमा) जुह्वति (हवन गर्छन्) अन्य (अरु कसैले) इन्द्रिय अग्निषु (इन्द्रियरुप अग्निमा) शब्दादीन् विषयान् (शब्दादि विषयहरुलाई) जुह्वति (हवन गर्छन्) ।
अन्य कसैले कान, आँखा आदि समस्त इन्द्रियहरुलाई संयमरुप अग्निमा हवन गर्छन् । अरु कसैले इन्द्रियरुप अग्निमा इन्द्रियका शब्द, रुप आदि विषयहरुलाई हवन गर्छन् अर्थात् इन्द्रियद्वारा ग्रहण गरेपनि वास्तवमा केहीको चाहना गर्दैनन् ।।२६।।
सर्वाणीन्द्रियकर्माणि प्राणकर्माणि चापरे ।
आत्मसंयमयोगाग्नौ जुह्वति ज्ञानदीपिते ।। २७ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्च (तथा) अपरे (अरु केहीले) सर्वाणि (सबै) इन्द्रियकर्माणि (इन्द्रियका कर्म) प्राणकर्माणि (प्राणका कर्म) ज्ञानदीपिते (ज्ञानको प्रकाशमा) आत्मसंयम (आत्म संयमरुपी) योगाग्नौ (योग रुपी अग्निमा) जुह्वति (हवन गर्छन्) ।
कसैकसैले ज्ञानद्वारा प्रकाशित आत्म संयमरुपी योगाग्निमा इन्द्रियहरुका सम्पूर्ण कर्म तथा प्राण वायुका कर्महरुलाई अग्निमा हवन गर्छन् ।। २७ ।।
द्रव्ययज्ञास्तपोयज्ञा योग यज्ञास्तथाऽपरे ।
स्वाध्याय ज्ञानयज्ञाश्च यतयः संशितव्रताः ।।२८।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्तथा अपरे (तथा अन्य कसैले) द्रव्य यज्ञाः (द्रव्य यज्ञ, दान) तपोयज्ञाः (तपस्या, तपरुपी यज्ञ) योग यज्ञा ः (योगरुपी यज्ञ, चित्त वृत्ति निवारण यज्ञ गर्छन्) च (तथा अन्य कोही) ) संशितव्रताः (दृढ, तीक्ष्ण व्रत गर्ने) यतयः (यतिहरुले) स्वाध्याय ज्ञानयज्ञाः (र स्वाध्याय ज्ञान यज्ञपनि यज्ञ गर्छन्)।
तथा अन्य कसैले द्रव्य यज्ञ अर्थात् दान, कसैले तप यज्ञ, कसैले अष्टाङ्ग योगरुपी यज्ञ अर्थात् चित्त वृत्ति निवारणरुपी यज्ञ गर्छन् । कसैले स्वाध्यायरुपी ज्ञानयज्ञ र कोही यतिहरुले अहिंसादि तीक्ष्णव्रतरुपी यज्ञ गर्छन् ।।२८।।
व्याख्या
सम्पादन गर्नुहोस्भगवान् कृष्णले आत्म कल्याणका लागि गरिने सबै कर्महरुलाई यज्ञ बताउनु भएको छ । कसैले दैव यज्ञ मार्फत् उपासना गर्छन् । कसैले ब्रह्म अग्नि अर्थात् परब्रह्म परमात्मारुप अग्निमा यज्ञद्वारा आत्मरुप यज्ञको हवन गर्छन् । केहीले श्रोत्रादि समस्त इन्द्रियलाई संयमरुप अग्निमा हवन गर्छन् । अन्य केहीले शब्दादि विषयहरुलाई (इन्द्रियद्वारा ग्रहण गरेपनि) इन्द्रियरुप अग्निमा हवन गर्छन् । भगवान् श्रीकृष्णले वैदिक यज्ञको उदाहरण दिंदै यसलाई व्यापक स्वरुप प्रदान गर्नु भएको छ । यस व्यापक स्वरुपले गर्दा गीताले सबै धर्मसम्प्रदायलाई साधनाको बाटो मानेको छ भन्ने स्पष्ट हुन्छ । गीतामा ब्रह्म यज्ञ, देव यज्ञ, ज्ञान यज्ञ, इन्द्रिय संयमरुप यज्ञ, विषय हवनरुप यज्ञ, अन्तःकरण संयमरुप यज्ञ, द्रव्ययज्ञ, तपयज्ञ, योगयज्ञ, स्वाध्यायरुप ज्ञान यज्ञ इत्यादि ती सबै कृत्यलाई यज्ञ भनिएको छ जुन मानिसलाई आत्म कल्याणका लागि सहायक छन् । तथापि दुई प्रमुख यज्ञमा गीता केन्द्रित छ । कर्म प्रधान अर्थात् देव यज्ञ, र ज्ञान प्रधान अर्थात् ब्रह्म यज्ञ । यी दुवै विधिबाट चरणबद्ध साधना पूरा गरी समाधि प्राप्त गर्ने सन्त स्वामी रामकृष्ण जस्ता अन्य सन्त दुर्लभ छन् ।
केहीले सबै इन्द्रियका कर्म र प्राणका कर्म ज्ञानको दीपकमा आत्मसंयमित अग्निमा हवन गर्छन् । अन्य केहीले द्रव्य यज्ञ, तप यज्ञ, योग यज्ञ, र अरु केहीले संशितव्रत लिने यति र स्वाध्याय ज्ञानयज्ञ गर्ने (ज्ञानी) ले पनि यज्ञ गर्दछन् ।
धनको आशामा धन खर्च गर्ने द्रव्य यज्ञ अर्थात् दान हो । यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधिरुपी यज्ञ योगयज्ञ हो । एकान्तमा केवल आफ्नो अध्ययन गर्नु स्वाध्याय ज्ञानयज्ञ हो । यसमा आफूलाई आफैंले चिन्ने प्रयास गरिन्छ ।
साधनाका केही कठिन पद्धति पनि छन् जुन अहिंसा आदिका आधारमा गरिने कठिन पद्धतिलाई संशित व्रत भनिन्छ । यस्तो व्रत यतिहरुले मात्र गर्न सक्छन् ।
अपाने जुह्वति प्राणे प्राणेऽपानं तथापरे ।
प्राणापानगतिरुद्ध्वा प्राणायामपरायणाः ।। २९ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्प्राणे (प्राण वायुलाई) अपाने (अपान वायुमा) जुह्वति (हवन गर्छन्) तथा (तथा) प्राणे (प्राण वायुमा) अपानम् (अपान वायुलाई) अपरे (अन्यले) प्राणापानगति (प्राण र अपानको गति) रुद्ध्वा (रोकेर) प्राणायामपरायणाः (प्राणायाम परायणहरुले)
अन्य कोही योगीहरु अपान वायुमा प्राण वायुको हवन गर्छन्, त्यसै गरी प्राण वायुमा अपान वायुको हवन गर्छन्, तथा प्राण र अपान दुवैको गति रोकेर प्राणायाम गर्छन् ।।२९।।
अपरे नियताहाराः प्राणान्प्राणेषु जुह्वतिः ।
सर्वेऽप्येते यज्ञविदो यज्ञक्षपितकल्मषाः ।। ३० ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्अपरे (अरु केहीले) नियत (नियत, नियमित) आहाराः (आहारद्वारा) प्राणान् (प्राणलाई) प्राणेषु (प्राणमा) जुह्वतिः (हवन गर्छन्) सर्वे अपि एते (यी सबै नै) यज्ञक्षपित (यज्ञद्वारा) कल्मषाः (पाप नाश गर्ने) यज्ञविदः (यज्ञविद् हुन्)।
अन्य कुनै योगीले आहारलाई नियमित गरेर प्राणेन्द्रियहरु हवन गर्छन् अर्थात् सात्त्विक आहारका साथै कठिन उपवास गर्छन् । यी सबै यज्ञद्वारा पाप नाश गर्नेहरुलाई नै यज्ञवेत्ता भनिन्छ ।।३०।।
व्याख्या
सम्पादन गर्नुहोस्पूरक, रेचक, कुम्भक क्रियालाई प्राणायाम परायण यज्ञ भनिएको छ । योगका आठ अङ्ग मध्ये चौथो अंग प्राणायाम हो । यस विधिमा श्वास भित्र तान्नु नै अपान वायुमा प्राण वायु हवन गर्नु हो । यसलाई योग शास्त्रमा पूरक भनिन्छ । श्वास भित्र पनि जान नदिनु र बाहिर पनि आउन नदिनु नै दुवैको गति रोकनु हो जसलाई कुम्भक भनिन्छ । श्वासलाई बाहिर फाल्नु नै अपान वायुलाई प्राण वायुमा हवन गर्नु हो । यसलाई रेचक भनिन्छ ।
प्राणायामको एक विधि आहारलाई नियत बनाउनु हो । श्वासमा नियन्त्रण गर्नु बाहेक उपवास गर्नु र खानाका विभिन्न अनुशासन पालन गर्नु पनि यस अन्तर्गत पर्छन् । यस विधिले सम्पूर्ण शरीरमा रहेको व्यान वायुलाई नियन्त्रण गर्छ । त्यसैले यस्तो व्रतलाई संशित व्रत अर्थात् कठिन व्रत पनि भनिन्छ ।
प्रत्येक विधि एक विशिष्ट यज्ञ हो । उदाहरणका लागि प्राण र अपानको गतिलाई रुद्ध गर्दा मानिस मृत जस्तो हुनपुग्छ । पाइलटबाबाले सीसाले बन्द गरिएको कोठामा स्वासको आवागमन अवरुद्ध गरेर एक हप्ताको समय अवधिसम्म प्रदर्शन गरेका छन् । यो एक कठिन अभ्यास हो जसमा स्वासको गति निकै सुस्त बनाइन्छ लगभग बन्द जस्तै । मानिसले साँस फेरेको थाहा पाईंदैन । यसका लागि लामो र कठिन अभ्यास आवश्यक छ । स्वामी रामकृष्ण लगभग छ महिना मृततुल्य भएर रहेका थिए । यस बेला एक तपस्विनीले उनलाई खुवाएर राखेकी थिइन् । अन्यथा उनी सोही अवस्था मरिसक्ने थिए ।
प्राण वायुका दुई कार्य छन् । पहिलो कार्य फोक्सोद्वारा सम्पूर्ण शरीरमा पुगेर त्यसमा नवजीवनको सञ्चार गर्नु र दोस्रो कार्य रगतलाई शुद्ध पार्नु हो । जब रगत सम्पूर्ण शरीरमा घुम्दै ठाउँ ठाउँमा जीवनको शक्ति बढाउँदै त्यहाँका अशुद्ध पदार्थ बटुलेर शरीरलाई शुद्ध पार्दै पुनः मुटुमा पुग्छ, तब त्यो निकै अशुद्ध तथा धमिलो भइसकेको हुनछ । यो अशुद्ध रगत जब जब फोक्सोमा पुगछ तब त्यहाँ शुद्ध वायुको सम्पर्कमा आउनाले तत्कालै त्यो शुद्ध एवं चहकिलो हुन्छ । अनि फेरि शरीरलाई शुद्ध गर्न पठाइन्छ । यो क्रम जीवनभरि चलिरहन्छ ।
यज्ञशिष्टामृतभुजो यान्ति ब्रह्म सनातनम् ।
नायं लोकोऽस्त्ययज्ञस्य कुतोऽन्यः कुरुसत्तम ।।३१ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्कुरुसत्तम (हे कुरुश्रेष्ठ अर्जुन) यज्ञशिष्ट (यज्ञमा बचेका, अवशिष्ट) अमृतभुजः (अमृत तुल्य भोजन) यान्ति (प्राप्त गर्छन्) ब्रह्म सनातनम् (सनातन ब्रह्म) अयम् लोकः (यो मनुष्य लोक) न अस्ति (छैन) अयज्ञस्य (यज्ञरहितका लागि) कुतः अन्यः (अन्य लोकका के कुरा) ।
हे कुरुश्रेष्ठ, यज्ञले बचेका अमृततुल्य भोजन गर्ने सनातन परब्रह्म परमात्मालाई प्राप्त हुन्छन् तर यज्ञरहितका लागि यो मनुष्यलोकको सुख नै नै छैन भने अन्य लोकका के कुरा? अर्थात् परलोकका सुख उसले प्राप्त गर्न सक्दैन ।।३१ ।।
एवं बहुविधा यज्ञा वितता ब्रह्मणो मुखे ।
कर्मजान्विद्धि तान्सर्वानेवं ज्ञात्वा विमोक्ष्यसे ।। ३२ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्एवम् (यस प्रकार) बहुविधा ः (धेरै प्रकारका) यज्ञाः (यज्ञहरु) वितताः (विस्तार गरिएको छ) ब्रह्मणः मुखे (वेदको वाणीद्वारा, ब्रह्मको मुखद्वारा) कर्मजान् (मन, इन्द्रिय र शरीरको क्रियाद्वारा) विद्धि (जान) तान् सर्वान् (ती सबै) एवम् (यस प्रकार) ज्ञात्वा (जानेर) विमोक्ष्यसे (मुक्त हुनेछौ) ।
यस प्रकार धेरै प्रकारका यज्ञहरुको बारेमा ब्रह्मको मुखद्वारा विस्तार गरिएको छ । ती सबैलाई मन, इन्द्रिय र शरीरको क्रियाद्वारा सम्पन्न हुने बुझ । यस प्रकार जाने पछि तिमी मुक्त हुनेछौ ।।३२।।
व्याख्या
सम्पादन गर्नुहोस्आहारको प्रभाव र रुचिको विषयमा गीता अध्याय १७.८–१० मा विस्तृत व्याख्या गरिएको छ । तर यहाँ एउटा विशेष आहारको बारेमा बताइएको छ । यज्ञशिष्टामृतभुजः यसको अर्थ हो यज्ञको परिणामस्वरुप प्राप्त अमृत । यज्ञ गरेर बाँकी रहेको अवशेष । यस्तो आहार मानिसका लागि निश्चित गरिएको आहार भनिएको छ । यज्ञको अवशेषका अर्थ हो देवताहरुलाई श्रद्धापूर्वक अन्न दिए पछि बाँकी रहेको खाना । सामूहिक कार्यबाट प्राप्त उत्पादनमा देवताहरुको योगदान हुन्छ । त्यसैले सबभन्दा पहिला त्यो देवताहरुलाई नै अर्पण गर्नु पर्छ ।
यस्ता नाना प्रकारका यज्ञको वर्णन साक्षात् ब्रह्मको मुखबाट गरिएको छ । ब्रह्मको मुखको अर्थ हो वेदको वाणी । यज्ञ अनेक प्रकारका हुन्छन् जसको बारेमा वेदमा वर्णन गरिएको छ । हे अर्जुन, ती सबैलाई कर्मजा अर्थात् मन, इन्द्रिय र शरीरको क्रियाद्वारा सम्पन्न भएको बुझ । यस प्रकार तत्त्वले जानेर तिमी मुक्त हुनेछौ ।
श्रेयान्द्रव्यमयाद्यज्ञाज्ज्ञानयज्ञः परन्तपः ।
सर्वं कर्माखिलं पार्थ ज्ञाने परिसमाप्यते ।।३३।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्परन्तपः (हे परन्तप, शत्रुतापन) द्रव्यमयात् यज्ञात् (द्रव्यमय यज्ञभन्दा) ज्ञानयज्ञः (ज्ञान यज्ञ) श्रेयान् (श्रेष्ठ छ) पार्थ (हे पार्थ) अखिलम् (सम्पूर्ण) सर्वम् (सबै) कर्म (कर्म) ज्ञाने (ज्ञानमा) परिसमाप्यते (समाप्त हुन्छन्)।
हे परन्तप, द्रव्यमय यज्ञभन्दा ज्ञानयज्ञ श्रेष्ठ छ, हे पार्थ, सब प्रकारका फल सहित सबै कर्महरु ज्ञानमा गएर समाप्त हुन्छन् ।
व्याख्या
सम्पादन गर्नुहोस्गीतामा दान क्रियालाई दानयज्ञ, जप क्रियालाई जपयज्ञ, तथा उपदेश क्रियालाई ज्ञान यज्ञ भनिएको छ । साथै ज्ञान यज्ञलाई अन्य यज्ञभन्दा श्रेष्ठ भन्दै ज्ञान यज्ञलाई सर्वोत्तम बताइएको छ । यसै आधारमा आचार्य शंकरले गीताको प्रधान विषय ज्ञान हो कर्म होइन भन्ने कुरा मान्दछन् ।
यज्ञलाई विभिन्न प्रकारले परिभाषित गरिएको हुन्छ । महात्मा गान्धी र आचार्य विनोबाले यज्ञको अर्थ परोपकार लगाउँछन् । आचार्य विनोबाले धनीहरुबाट भूमि दान प्राप्त गरेर निर्धनमा वितरण गर्ने कार्यलाई भूदान यज्ञ भनेका थिए । यज्ञ सामूहिक क्रियाकलाप हो । त्यसैले डाँगेले यज्ञलाई वैदिककालको यज्ञलाई धार्मिक क्रियाकलाप नमानेर सामूहिक उत्पादन क्रियाकलाप मान्दछन् ।
जसलाई जानेर फेरि यस प्रकारको मोहलाई प्राप्त हुने छैनौ । हे पाण्डव, यस ज्ञानद्वारा सबै प्राणीलाई अशेष भावले आफ्नैमा र पछि मलाई (परमात्मा) देख्नेछौ ।
तद्विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया ।।
उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस्तत्त्वदर्शिनः ।।३४ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्तत् (त्यस ज्ञानलाई) विद्धि (बुझ) प्रणिपातेन (प्रणाम गरेर) परिप्रश्नेन (राम्ररी प्रश्न गरेर) सेवया (सेवा गरेर) ते ज्ञानिनः तत्त्वदर्शिनः (उनी तत्त्वदर्शी ज्ञानीहरुले) ज्ञानम् (तिमीलाई ज्ञान) उपदेक्ष्यन्ति (उपदेश गर्ने छन्, ज्ञान दिने छन्)।
त्यस (तत्त्वज्ञान) लाई बुझ, राम्ररी प्रणाम गरेर, सेवा गरेर, राम्ररी प्रश्न गर, उनी तत्त्वदर्शी ज्ञानीले तिमीलाई (तत्त्व) ज्ञानको उपदेश गर्ने छन् ।।३४।।
व्याख्या
सम्पादन गर्नुहोस्गीतामा योग्य गुरुबाट ज्ञान कसरी प्राप्त गर्न सकिन्छ श्लोक ३४ मा त्यस कुराको बडो सुन्दर व्याख्या छ– गुरुको हार्दिक सम्मान तथा सेवा र राम्ररी एवं निष्कपट भावले गरिएको प्रश्नोत्तरद्वारा गुरुजनसंग तत्त्वको उपदेश (ज्ञान) प्राप्त गर्नुपर्छ । ज्ञानीको नजिक गएर उनीहरुका कुरा ध्यानले सुन्ने, बुझ्ने । कपट नगरीकन, सरलतापूर्वक र जिज्ञासापूर्वक प्रश्न गर्नाले तत्त्वदर्शीहरुले ज्ञानको उपदेश गर्नेछन् ।
गीता बाहेक उपनिषद, मनुस्मृति, कौटिलीय अर्थशास्त्र र शुक्रनीतिमा पनि शिक्षण विधिको जानकारी प्राप्त हुन्छ । औपनिषदिक कालका ज्ञानार्जनका विधिलाई निम्नलिखित श्लोकमा बताइएको छ–
श्रवणं तु गुरोः पूर्वं मननं तदनन्तरम् ।
निदिध्यासनमित्येतत्पूर्णबोधस्य कारणम् ।
श्रवण, मनन र निदिध्यासन (व्यवहारमा ल्याउनु) यी नै ज्ञानार्जनका विधिहरु हुन् ।
कौटिलीय अर्थशास्त्रका अनुसार– सुश्रूषा श्रवण ग्रहण धारण विज्ञानोहापोह तत्त्वाभिनिविष्टबुद्धिं विद्या विनयति नेतरम् ।
सुश्रूषा, श्रवण, ग्रहण, धारण, विज्ञान, उहापोह तत्त्वाभिनिविष्टबुद्धिम् विद्या विनयति नेतरम् ।
सुश्रुषा, श्रवण, ग्रहण, धारण, अर्थविज्ञान, ऊहापोह (तर्कवितर्क), र तत्त्वज्ञानमा बुद्धि केन्द्रित गर्नु विद्या आर्जनका विधिहरु हुन् । यसबाहेक अन्य कुनै विधि छैन ।
वाचस्पति मिश्रले ज्ञानको उपलब्धिका पाँच चरण बताएका छन्
अध्ययन – शब्द श्रवण
शब्द श्रुत – शब्दको अर्थग्रहण
ऊह – तर्क र सामान्यीकरण
सुहृत् प्राप्ति– मित्र वा शिक्षकको अनुमोदन
दान – प्रयोग तथा व्यवहार
शिक्षा शास्त्री जोन डीवीले यी पाँच चरणलाई तीन भागमा वर्गीकृत गरेका छन्– अध्ययन (शब्द श्रवण), तर्क र सामान्यीकरण र त्यसको अनुमोदन, तथा प्रयोग ।
मेरो निम्ति जुन श्रेयकारक छ त्यो भन्नुहोस् । म तपाईको शिष्य भएँ । तपाईको शरणागत मलाई शिक्षा दिनुहोस् (२.७) अर्जुनले यसरी आग्रह गरे पछि अत्यन्त सुव्यवस्थित तरीकाले दिइएको ज्ञान भएकोले गीतालाई सु–उपनिषद– उत्कृष्ट शिक्षण विधि भनिन्छ ।
विश्वका महानतम शिक्षकहरुले आआफ्नो समयमा समाजको रुपान्तरण गर्न, सामाजिक आदर्श स्थापित गर्न, निराश र अशान्तिले ग्रस्त मानिसलाई मार्गदर्शन गर्न अनेक प्रकारका शिक्षण विधिहरुको प्रतिपादन गरेका छन् । कृष्ण, बुद्ध, शङ्कराचार्य आदि अवतार पुरुष मात्र होइन चाणक्य, विष्ष्णुशर्मा, प्लेटो, कन्फ्युशस, ताओ, गुरजिएफ,डेलकार्नेगी जस्ता नीतिशास्त्रीको नाम लिन सकिन्छ । वर्तमान समयमा विशिष्ट शिक्षण विधि प्रयोगगर्ने चिन्तकहरुमा, खप्तडबाबा, शिवपुरी बाबा, योगी नरहरिनाथ, क्षितिशचन्द्र चक्रवर्ती, स्वामी परमानन्द सरस्वती आदिको नाम उल्लेख गर्न सकिन्छ ।
महात्मा गान्धी र आचार्य विनोबा जस्ता समाजसुधारक, फ्रेडरिक हीगेल, हेनरी डेविड थोरो र एडविन आर्नोल्ड जस्ता दार्शनिक, राल्फ वाल्डो इमर्सन, टी एस इलियट, विलियम वर्ड्सवर्थ, जोन कीट्स, विलियम जोन्स, हर्मन हेस्से जस्ता साहित्यकार, आइन्स्टीन र ओपेनहाइमर जस्ता वैज्ञानिक, वारेन हेस्टिंग्स र विलियम जोन्स जस्ता उच्च प्रशासकले आफू गीताको विषय वस्तुबाट प्रभावित भएको कुरा स्पष्ट रुपमा स्वीकार गरेका छन् । त्यसैले गीतालाई उच्चकोटिको शिक्षाशास्त्र भन्न सकिन्छ ।
यज्ज्ञात्वा न पुनर्मोहमेवं यास्यसि पाण्डव ।
येन भूतान्यशेषेण द्रक्ष्यस्यात्मन्यथो मयि ।।३५।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्यत् ज्ञात्वा (जसलाई जानेर) पुनर्मोहम् (फेरि मोह) एवम् (यस्तो) न यास्यसि (हुने छैन) पाण्डव (हे पाण्डुपुत्र अर्जुन) येन (जसलाई) भूतानि (प्राणीहरु) अशेषेण (अशेष भावले) द्रक्ष्यस्य (देख्ने छौ) आत्मनि (आफू भित्र) अथो (अनि) मयि (मलाई, परमात्मालाई)।
जसलाई जानेर फेरि यस प्रकारको मोहलाई प्राप्त हुने छैनौ । हे पाण्डव, यस ज्ञानद्वारा सबै प्राणीलाई अशेष भावले आफूभित्र तथा पछि त्यहाँ मलाई (परमात्मा) देख्नेछौ ।।३५।।
अपि चेदसि पापेभ्यः सर्वेभ्यः पापकृत्तमः ।
सर्वं ज्ञानप्लवेनैव वृजिनं सन्तरिष्यसि ।। ३६ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्चेत् (यदि) सर्वेभ्यः (सबै) पापेभ्यः अपि (पापीहरुभन्दा पनि) पापकृत्तमः (बढी पापी) असि (छौ) सर्वम् (सम्पूर्ण) ज्ञानप्लवेन (ज्ञानरुपी नौका द्वारा) एव (निश्चिरुपमा नै) वृजिनम् (पाप समुद्रबाट) सन्तरिष्यसि (पार तर्नेछौ ।)
यदि सबै पापीहरु भन्दा पनि पापी, असाध्यै पापी छौ भने ज्ञानरुपी डुंगाबाट नै सबै वृजि (पापसमुद्र) तर्नेछौ ।।३६।।
यथैधांसि समिद्धोऽग्निर्भस्मसात्कुरुतेऽर्जुन ।
ज्ञानाग्निः सर्वकर्माणि भस्मसात्कुरुते तथा ।। ३७ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्यथा (जसरी) एधांसि )ईंधन, समिधालाई) समिद्धः अग्निः (प्रज्जवलित अग्नि) भस्मसात् (भस्मसात्) कुरुते (गर्छ) अर्जुन (हे अर्जुन) ज्ञान अग्निः (ज्ञानरुपी अग्नि) सर्वकर्माणि (सबै कर्महरुलाई) भस्मसात् भस्म, खरानी) कुरुते (गराउँछ) तथा (त्यसै गरी) ।
हे अर्जुन, जसरी अग्निले समिधालाई भस्मसात् गरीदिन्छ त्यसै गरी ज्ञानरुपी अग्निले सबै कर्महरुलाई भस्म, खरानी गराइदिन्छ ।।३७।।
व्याख्या
सम्पादन गर्नुहोस्पापीभन्दा पनि पापी अर्थात् सबैभन्दा ठूलो पापी छ भने पनि त्यो ज्ञानरुपी डुंगाबाट नै सबै पापसमुद्र सजिलै तरेर पारी पुग्छ । जसरी प्रज्ज्वलित अग्निले काठलाई खरानी बनाउँछ त्यसै गरी ज्ञानरुपी अग्निले सबै कर्महरुलाई समाप्त गरीदिन्छ । ज्ञानी पनि उसै लक्ष्यमा पुग्छ जुन ठाउँमा कर्मयोगी पुग्छ ।
एउटा गाउँमा धेरै जना मानिसहरुले एउटी स्त्रीलाई ढुङ्गाले हान्ने सजायं कार्यान्वय गर्दै थिए । स्त्रीमाथि व्याभिचारी भएको आरोप थियो । त्यस मार्गबाट जीसस जांदै थिए । त्यस स्त्रीमाथि भीडले अत्याचार गर्न थालेकोले उनलाई पीर परेछ ।
उनले भीडलाई त्यस स्त्रीलाई ढुङ्गा नहान्न अनुरोध गरे ।
तर मानिसहरुले त्यो स्त्री पापीभन्दा पनि खराब छ । त्यसैले उसलाई उचित सजायँ दिनु पर्छ भने ।
जीससले यसलाई स्वीकार गर्दै भने– जो खराब छ उसलाई सजायँ दिनु पर्छ । यसलाई पनि सजायँ दिनुहोस् । तर पहिलो ढुङ्गा हान्ने मानिस एक विशेष मानिस हुनुपर्छ । एक यस्तो मानिस जो पूर्णतया पवित्र छ अर्थात् उसले आजसम्म कुनै पनि पाप गरेको छैन, यस्तो मानि हुनु पर्छ ।
यो सुने पछि ढुङ्गा हान्न अगाडि सरेका केही मानिस पछि हटे किनभने उनीहरुले पाप गरेका थिए ।
पहिलो चोखो मानिस कोही नभए पछि त्यो स्त्री हत्या हुनबाट बच्न सकी ।
कुनै पनि पापीलाई कुनै मानिसले शुद्ध गर्न सक्दैन । पापीलाई केवल ईश्वर अनुग्रहले शुद्ध गराउन सक्छ ।
न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते ।
तत्स्वयं योगसंसिद्धः कालेनात्मनि विन्दति ।। ३८ ।।
पदच्छेद र शब्दार्
सम्पादन गर्नुहोस्ज्ञानेन हि सदृशम् (ज्ञान बराबर) पवित्रम् (पवित्र) इह (यस संसारमा) न विद्यते (अरु केही छैन) तत् (त्यस ज्ञानलाई) स्वयम् (आफैं) योगसंसिद्धः (योगको सिद्धि पाएको मानिसले) कालेन (धेरै समय लगाएर) आत्मनि (आफैं) विन्दति (जान्दछ) ।
यस संसारमा ज्ञान बराबर पवित्र अर्को केही पनि छैन । त्यसलाई योगसंसिद्ध पुरुषले धेरै समय लगाएर (धैर्यपूर्वक) आफैं प्राप्त गर्छ ।। ३८ ।।
श्रद्धावाँल्लभते ज्ञानं तत्परः संयतेन्द्रियः ।
ज्ञानं लब्ध्वा परां शान्तिमचिरेणाधिगच्छति ।। ३९ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्श्रद्धावान् (श्रद्धावान) संयत इन्द्रियः (तथा इन्द्रिय संयमीले) ज्ञानम् (ज्ञान) लभते (प्राप्त गर्छ) तत्परः (त्यसको परायण भई) ज्ञानम् (ज्ञान) लब्ध्वा (प्राप्त गरेर) अचिरेण (अविलम्ब, तुरुन्तै) पराम् (परम) शान्तिम् (शान्ति) अधिगच्छति (पुग्छ, प्राप्त गर्छ) ।
श्रद्धावान् र इन्द्रिय संयमी मानिसले तत्त्वदर्शीको सेवा गरेर ज्ञान प्राप्त गर्छ । ज्ञान प्राप्त गरे पछि त्यस ज्ञानको परायण भई उसले अविलम्ब परम् शान्ति प्राप्त गर्छ ।। ३९ ।।
व्याख्या
सम्पादन गर्नुहोस्यस संसारमा ज्ञान बराबर पवित्र अर्को केही पनि छैन । धेरै समय लगाएर त्यसलाई योगसंसिद्ध मानिसले आफैं प्राप्त गर्छन् । यस ज्ञानले समत्त्व बुद्धि र परम शान्ति प्रदान गर्छ ।
सामान्य मानिस क्रोध र वासना भरिएका हुन्छन् । त्यो समय समयमा थोरै थोरै गरेर निस्कँदै गर्नु पर्छ अन्यथा त्यो विस्फोट हुन जान्छ भन्ने मनोवैज्ञानिकहरु भन्दछन् । तर योग संसिद्धमानिस भनेको समत्व बुद्धियुक्त हुन्छ । वासना बुद्धियुक्त मानिसको मन दुई दिशातर्फ बयेली खेल्छ । कसै प्रति क्रोध आउँछ भने क्रोध शान्त भएपछि उत्तिकै पश्चात्ताप हुन्छ । यो पश्चात्ताप अर्को पटक क्रोध आउनका लागि तयारी मात्र हो । वासना शान्त भए पछि मानिसले ग्लानि अनुभव गर्छ अर्को वासनाको लागि तयारी स्वरुप । तर समत्वबुद्धिलाई कुनै पछुतो भन्ने कुरा हुँदैन । उसले जे गर्छ सही गर्छ । उसको मन दुईतिर नाच्दैन ।
भगवान् बुद्धलाई जीवनमा एक महिलाले व्याभिचार गरेको आरोप लगाई । त्यो पनि बुद्धले देशना गरिरहेको स्थानमा । हजारौं मानिसहरुका अगाडि । उसले बुद्ध माथि जथा भावी आरोप लगाउँदै आफ्नो पेटमा बुद्धको गर्भ रहेको भन्न थाली ।
बुद्धले बिना कुनै उत्तेजना, क्रोध वा दुख शान्त स्वरमा यति मात्र भने– वास्तविकता के हो भन्ने कुरा कि तपाईंलाई थाहा छ, कि मलाई थाहा छ । अरु कसैलाई पनि केही थाहा छैन ।
शान्त र प्रेमपूर्ण सम्बोधन सुने त्यो स्त्री सारै अत्तालिई । पछुतो लाग्यो र दौडेर फर्कने बेलामा उसको पेटमा राखेको काठको टुक्रा खसेर आफ्नै खुट्टामा चोट लाग्यो । त्यस चोटको उपचार बुद्धले नै गरे । यो समत्त्व बुद्धिको उदाहरण हो ।
पैगम्बर मोहम्मदलाई नरुचाउने केही व्यक्ति थिए । त्यसमा उनकी छिमेकी एक वृद्धा थिई । उसले सधैं अपशब्द बोल्थी र उनी हिंड्ने बाटोमा काँडा बिच्छ्याउने गर्थी । उनी काँडा पन्छाएर हिंड्थे । तर वृद्धालाई केही भन्दैनथे ।
एक दिन हिंड्दा उनले बाटोमा एउटा पनि काँडा नभएको देखे । उनलाई आश्चर्य पनि भयो । त्यस वृद्धाका घरमा गए । स्त्री ज्वरो आएर सुतेकी रहिछ । त्यसैले काँडा बिच्छ्याउन नसकेकी रहिछ ।
उनले त्यसलाई पानी तताएर खुवाए । भोकी रहिछ । खानपिनको व्यवस्था गरे । औषधिको पनि व्यवस्था गरे ।
वृद्धाले सोधी– मैले तपाईंसँग घृणा गर्थे । तपाईंले मेरो सेवा किन गर्नु भयो ?
मोहम्मद– बाटोमा काँडा नदेखेपछि मलाई तपाईंको स्वास्थ्यको चिन्ता लाग्यो । त्यही हेर्न आएको थिएँ । मेरो आशंका सही रहेछ । छिमेकीको सेवा गर्नु मेरो कर्तव्य हो ।
यो सुनेर त्यस वृद्धलाई आफ्ना कृत्य प्रति पछुतो भयो । त्यस पछि त्यो स्त्री मोहम्मदका मतको अनुसरण गर्न थाली ।
अज्ञश्चाश्रद्धधानाश्च संशयात्मा विनश्यति ।
नायं लोकोऽस्ति न परो न सुखं संशयात्मनः ।।४० ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्च (अनि) अज्ञः (अज्ञानी) च अश्रद्धधानः (तथा श्रद्धाविहीन) संशय आत्मा (शंकालु, संशयी मानिसका)विनश्यति (नाश हुन्छ) संशय आत्मनः (संशयीका लागि) न अयम् लोकः (न यो लोक) अस्ति (छ) न परः (न परलोक छ) न सुखम् (त्यसलाई सुख पनि छैन) ।
अनि ज्ञान र श्रद्धा नभएको अर्थात् संशयी नाश हुन जान्छ । संशयी मानिसका लागि न यो लोक छ, न परलोक छ । त्यसलाई कहीं पनि सुख छैन ।। ४० ।।
व्याख्या
सम्पादन गर्नुहोस्भगवान् श्रीकृष्णले भन्नु हुन्छ– अज्ञानीलाई ज्ञान दिनु निरर्थक मात्र होइन हानिकारक हुनसक्छ । नेत्रहीनलाई हातमा बत्ती दिएर अँध्यारो रातमा हिंडाउनु निरर्थक मात्र होइन, खतरापूर्ण पनि हुनसक्छ ।
अन्तमा भगवान् श्रीकृष्णले सावधान गर्दै भन्नु हुन्छ– अज्ञानी, श्रद्धाविहीन र संशयी सर्वथा नाश हुन जान्छ र उसले कहीं सुख पाउँदैन ।
एउटा गृहस्वामिनीले नेउरी मुसा पालेकी थिई । त्यो नेउरी उसको शिशु जन्मिने दिन जन्मेको थियो । त्यसैले नेउरीको बच्चालाई पनि निकै माया गर्थी । एक दिन उसले त्यस नेउरीलाई भनी— बाबु निदाएको छ, म खोलामा कपडा धोएर आउँछु, मेरो बाबुलाई हेर्नु है ।
नेउरी मुसाले त्यस शिशुलाई सुरक्षा दिन थाल्यो ।
एक छिन पछि एउटा डरलाग्दो विषालु सर्प त्यहाँ आयो । उसले बालकलाई डस्न खोज्यो । नेउरी मुसाले त्यस सर्पसंग भीषण लडाईं गरेर त्यसलाई काटेर टुक्रा टुक्रा बनाइदियो, आफू पनि घाइते भयो ।
अनि आफ्नो बहादुरी देखाउन खोलामा पुग्यो ।
गृहस्वामिनीले नेउरीको मुखमा रगत लागेको देख्ना साथ उसले सोच्न थाली, पक्का पनि मेरो अनुपस्थितिमा यसले मेरो बालकलाई मारेर खायो र मलाई त्यही देखाउन यहाँ आएको छ । उसलाई एक दम रिस उठ्यो । उसको संशयले अरु केही सोच्न दिएन । आफूले सोचेको कुरालाई परीक्षण गर्न पनि उसले आवश्यक ठानिन । आफूले पालेको नेउरीमा उसले अलिकति पनि विश्वास गरिन ।
क्रोधित भएर ढुंगाले नेउरीको टाउकामा हिर्काई । गोडामा लुटपुटिएको नेउरी तुरुन्तै मरिहाल्यो । आत्तिँदै जब ऊ घर पुगी उसले के देख्छे भने बालक निदाएको छ र एउटा विषालु सर्प नजिकै टुक्रा टुक्रा परेको छ ।
अब ऊ छाती पिटी पटि रुन थाली । नेउरीमा अनाहकमा शङ्का गरें, उससले मेरो शिशुको सुरक्षा गरेको रहेछ ।
त्यसैले भनिन्छ नेउरी मारी पछुतो ।
सबै संशयीहरु गृहस्वामिनी जस्तै पछुताउँछन् तर त्यस पछुतोले केही उपलब्धि हुँदैन ।
योगसन्न्यस्तकर्माणं ज्ञानसञ्छिन्नसंशयम् ।
आत्मवन्तं न कर्माणि निबध्नन्ति धनञ्जय ।। ४१ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्धनञ्जय (हे धनञ्जय) योग (कर्मयोगको आश्रय लिएर) कर्माणम् (कर्महरु) सन्न्यस्त (ईश्वर समर्पण गरेको, त्याग गरेको) ज्ञान (ज्ञानले) संशयम् (संशय, आशंकाहरु) सञ्छिन्न (छिन्नभिन्न भएका, मेटिएका) आत्मवन्तम् (आत्मवन्त, आत्मज्ञानी, आफूलाई वशमा राखेको मानिसलाई) कर्माणि (कर्महरुले, कर्मका पाप पुण्यले) निबध्नन्ति न (बाँधेका हुँदैनन्) ।
हे धनञ्जय, जसले कर्मयोगको आश्रय गरेर ईश्वरमा कर्महरु समर्पण गरेको छ, र ज्ञानले जसका सब सन्देह मेटिएका छन्, त्यस आत्मवन्त (आत्मज्ञानी) मानिसलाई कर्मका पाप पुण्यरुप बन्धनले बाँधेका हुँदैनन् ।। ४१ ।।
तस्मादज्ञानसम्भूतं हृत्स्थं ज्ञानासिनात्मनः ।
छित्वैनं संशयं योगमातिष्ठोत्तिष्ठ भारत ।। ४२ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्भारत (हे भारत, हे अर्जुन) तस्मात् (त्यसैले) आत्मनः (आफ्नो) हृत्स्थम् ((हृदयमा स्थित) अज्ञानसम्भूतम् (अज्ञानजनित) ज्ञान (ज्ञानरुपी) असिना (तरवार) छित्वा (काटेर) एनम् (यस) संशयम् (संशयलाई) योगम् (योग, समत्त्व योग, निष्काम कर्मयोग) आतिष्ठ (स्थित होउ) उत्तिष्ठ (उठ, युद्ध गर) ।
हे भारत, त्यसैले आफ्नो हृदयमा रहेको र अज्ञानबाट उत्पन्न भएको यो संशयलाई ज्ञानरुप तरवारले काटेर कर्मयोगको आश्रय गर अनि युद्धको निमित्त खडा होऊ ।। ४२ ।।
व्याख्या
सम्पादन गर्नुहोस्जो शंकालु हुन्छ, उसैले तनाव बेहोर्नु पर्छ । जो शंकालु हुन्छ उसैले पछुतो गर्नु पर्छ । तर संशयको औषधि हुँदैन त्यसलाई आफैंले निको पार्नु पर्छ । ज्ञान र शंका दुवै अन्तरमा नै हुन्छन् । शंकालाई ज्ञानको तरवारले जसले काट्न सक्छ । त्यो मानिस आत्मवन्त हुनजान्छ । आत्मवन्तको अर्थ हो मुक्त, स्वतन्त्र, आफ्नो मालिक आफैं भएको मानिस ।
अध्यायको अन्तमा भगवान् श्रीकृष्णले अर्जुनलाई भन्नु हुन्छ– ‘हे भारत, ज्ञानरुपी तरवार लिएर संशय रुपी अज्ञानलाई काट्न तत्त्पर होउ ।’ अद्वैत वेदान्तीहरुका अनुसार यस भनाईले गीताको संकेत आन्तरिक युद्धसंग छ, बाह्य युद्धसँग होइन सकिन्छ । तर कर्मयोगलाई समर्थनगर्नेहरुले कर्तव्यपथमा अग्रसर हुने ज्ञान लिएर रणक्षेत्रको युद्धलाई तैयार हुनुपर्छ भन्ने अर्थ गर्दछन् ।
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे ज्ञानकर्मसन्न्यासयोगो नाम चतुर्थोद्ध्याSय ः।।
यस प्रकार श्रीमद्भगवद्गीतारुपी उपनिषद्, ब्रह्मविद्या, योगशास्त्र, एवं श्रीकृष्ण र अर्जुन वार्तालापमा ज्ञानकर्मसन्न्यास नाम गरेको चौथो अध्याय समाप्त भयो ।
सन्दर्भ
सम्पादन गर्नुहोस्अधिकारी, कोमलनाथ, (वि.सं.२०१८), पञ्चरत्नगीता, कोमलगीता, नेपाली पद्यानुवाद र व्याख्या वाराणसी ः यशोदा प्रेस ।
अपूर्वानन्द, (सन् २००२), श्रीमद्भगवद्गीता पदच्छेद, अर्थ, व्याख्या, कलकत्ता ः रामकृष्ण मठ ।
अपूर्वानन्द, (वि.सं.२०७१), अनुवादक बाबु राम ज्ञवाली, शंकराचार्यको जीवनी, विद्यार्थी पुस्तक भण्डार।
अहमद, इकबाल, (१९९६), पैगम्बर हजरत मोहम्मद, इलाहाबादः लोकभारती ।
आचार्य, श्रीराम शर्मा, (सन् २०१०), १०८ उपनिषद्, मथुरा ः युग निर्माण योजना ।
आचार्य, श्रीराम शर्मा, (सन् २०१०), गायत्री महाविज्ञान (तीन खण्ड), मथुरा ः युग निर्माण योजना ।
आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।
ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।
ओशो, (सन् १९८०), गीता दर्शन खण्ड २, पूना ःरेबेल बुक्स ।
खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०६०), विचार विज्ञान, काठमाडौं ः खप्तड आश्रम समिति ।
खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०५६), आत्मबोध, काठमाडौं ः खप्तड आश्रम समिति ।
गोल्छा, हुलासचन्द्र, (वि.सं.२०५३), महावीर वद्र्धमान, कान्तिपुर दैनिक, वि.सं.२०५२चैत १५, काठमाडौं ः कान्तिपुर पब्लिकेशन्स ।
गीताप्रेस, (वि.सं.२०६५), महाभारत पाँच खण्ड, गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६४), ईशादि नौ उपनिषद्, गोरखपुरः गीताप्रेस ।
गोयन्दका, जयदयाल, (वि.सं. २०७०),गीता तत्त्व विवेचनी, गोरखपुर ः गीताप्रेस ।
ज्ञवाली, बाबु राम, (वि.सं.२०७२), जीवनको दोस्रो पाना (वैचारिक गम्भीरताका दृष्टिले श्रीमद्भगवद्गीता दोस्रो अध्यायको अध्ययन), रुपन्देही, नेपाल ः ज्ञानज्योति प्रकाशन ।
ज्ञवाली, बाबु राम, (वि.सं.२०७०), ऋग्वेदबारे केही वैज्ञानिक तथ्यहरु, मिर्मिरे (सांस्कृतिक विशेषांक), वर्ष ४२, अंक १, पूर्णांक ३२०, बैशाख जेठ २०७०, काठमाडौं ः नेपाल राष्ट्र बैंक ।
जलोटा, अनूप, (वि.सं.२०७०), श्रीमद्भगवद्गीता (सी डी) ।
तिलक, बाल गंगाधर, (सन् २००७), श्रीमद्भगवद्गीता या कर्मयोग शास्त्र, दिल्ली ः साधना पकेट बुक्स ।
पन्थी, टीकाराम, (वि.सं.२०६५),सांस्कृतिक संवीक्षण, रूपन्देही ः विश्व हिन्दु महासंघ ।
ब्रह्मानन्द, (सन् २०००), श्रीरामकृष्ण उपदेश, नागपुर ः रामकृष्ण मठ ।
बेनेट, जे जे र ठाकुरलाल मानन्धर,(वि.सं.२०६७), अनन्तको यात्रा, काठमाडौं ः योगेन्द्रभक्त श्रेष्ठ ।
शर्मा, डी एस, (वि.सं.२०५५), हिन्दु धर्मको क ख ग अनुवादक कुलशेखर शर्मा, गीता समुदय प्रकाशन ।