श्रीमद्भगवद्गीता नव अध्याय

राजविद्याराजगुह्ययोग

सम्पादन गर्नुहोस्

श्रीभगवान् उवाच

सम्पादन गर्नुहोस्


इदं तु ते गुह्यतमं प्रवक्ष्याम्यनसूयवे ।
ज्ञानं विज्ञान सहितं यजज्ञात्त्वा मोक्ष्यसेऽशुभात् ।।१ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

तु (यदि) इदम् (यो) ते (तिमीले) गुह्यतमम् (परमगुह्य) प्रवक्ष्यामि (भन्छु) अनसूयवे (दोषदृष्टि नभएको) ज्ञानम् विज्ञान सहितम् (विज्ञानसहितको ज्ञान) यत् (यसलाई) ज्ञात्त्वा (जानेर) अशुभात् (अशुभहरुबाट, पापहरुबाट) मोक्ष्यसे (मुक्त हुने छौं) ।
तिमी (मप्रति) दोषदृष्टि नराख्ने भएकोले परम गुह्य यस ज्ञान भन्छु जुन विज्ञानसहितको ज्ञान हो । यसलाई जानेर तिमी अशुभ अर्थात् पाहरुबाट मुक्त हुनेछौ ।। १ ।।

एउटा गाउँ खाने छ– बिहान उठ्छे बुहारीलाई ढोग्छे, के हो ? सबैलाई थाहा छ यसको उत्तर हो बिहानमा उठेर गाग्रीबाट लोटामा पानी सारेको । पानी सार्दा गाग्रीलाई झुकाउनु पर्छ । यस्तोमा लोटालाई थोरै झुकाउनु पर्छ तर ठूलो भाँडो जसमा लोटाभन्दा कैयौं गुना धेरै पानी हुन्छ, त्यसले अझ धेरै झुक्नु पर्छ । तर लोटाको श्रद्धा के हो भने ऊ खाली हुन्छ। लोटाको यस श्रद्धाले गाग्रीलाई झुक्न विवश गराउँछ । यसको एक सांकेतिक अर्थ छ– जो संग ज्ञान हुन्छ, उसैले बढी झुक्नु पर्छ तर शिष्य श्रद्धाले झुक्नु पर्छ । अर्जुन अनसूय छन् त्यसैले भगवान् कृष्ण ज्ञान दिन विवश हुनुहुन्छ – तिमीले मलाई प्रेम गर्छौ त्यसैले अब विज्ञानसहितको यस परमगुह्य ज्ञान भन्न विवश छू । यसलाई जानेर सम्पूर्ण अशुभहरुबाट मुक्त हुनेछौ ।

शीर्षक अक्षर
सम्पादन गर्नुहोस्

जीवनलाई हेर्ने दुईवटा दृष्टिकोण हुन्छन्, एउटा शत्रुवत् र अर्को मित्रवत् । एउटा पदार्थवत् र अर्को ईश्वरीय । जुन दृष्टिकोण दोषसहित हुन्छ, त्यो शत्रुवत् हुन्छ । जुन दृष्टिकोण दोषरहित हुन्छ, त्यो मित्रवत् हुन्छ, प्रेमपूर्ण हुन्छ । यो दृष्टिकोण नै ईश्वरीय हो । अर्जुनको दृष्टिकोण अनसूय छ । अनसूय अर्थात् दोषरहित दृष्टिकोण । संस्कृत शब्द असूयको अर्थ हो ईष्र्या, निन्दा, असन्तोष, असहिष्णु । सासूयको अर्थ हुन्छ ईष्र्यापूर्वक र यसको विपरीत अनसूयको अर्थ हुन्छ ईष्र्या, द्वेष, असन्तोषरहित ।
ऋषि अत्रिकी पत्नीलाई अनसूय त्यसै कारण भनिएको हो । कथा के छ भने नारदले एक पटक सावित्री, लक्ष्मी, र पार्वतीसंग गएर अत्रि–पत्नीका सतीत्व तेजको बडो प्रशंसा गरे । यो सुनेर तीनै जनाले उनको सतीत्वको परीक्षा गर्न आआफ्ना पति ब्रह्मा, विष्णु, र महादेवलाई आग्रह गरे । तीनै देवले सतीत्वको परीक्षा नलिन अनुरोध गरे । तर तीनै जना देवीहरुले परीक्षा गर्न बेसरी कर गरे । तीनै जना साधुको भेषमा अत्रिकहाँ पुगे । अतिथि साधुलाई देखपछि सती अनसूयाले भोजन ग्रहण गर्न अनुरोध गरिन् । उनीहरुले भोजन ग्रहण गर्न एउटा शर्त राखे– ‘अनसूयाले निर्वस्त्र भएर भोजन गराउनु पर्छ ।’
अनसूयालाई धर्मसंकट पर्यो । उनले तत्काल ध्यान गरेर भनिन्– ‘यदि मेरो सतीत्वमा शक्ति छ भने यी तीनै जना देवता छ महिनाका शिशु भइ जाउन् ।’ यो उनको अनसूयताको प्रमाण हो ।
तत्क्षण ब्रह्मा, विष्णु, र महादेव बालक रुपमा कोक्रामा सुते र अनसूयाले प्रेमपूर्वक भोजन गराइन् । यहाँ परमगुह्यको अर्थ हो आफ्ना सबैभन्दा प्रियलाई, आफ्नो सबभन्दा निकटतमलाई जुन कुरा बताइन्छ त्यो । गुह्यको अर्थ लुकाएर राखनु होइन, योग्यलाई मात्र दिने कुरा हो । गुह्य ज्ञानको अर्को एउटा अर्थ पनि छ त्यो के हो भने ज्ञानलाई गोप्य राख्नु नै श्रेयस्कर छ। गलत मानिसको हातमा ज्ञान पुग्नुभन्दा यसलाई लुकाउनु जरुरी छ । ज्ञान भनेको अमृत हो । अमरता हो । गलत मानिसको हातमा ज्ञान खतरनाक हुन्छ। यसलाई स्पष्ट गर्ने एउटा कथा छ । देवता र दैत्य दुवैले समुद्र मन्थन गरे । तर अमृतलाई दैत्यबाट लुकाएर राख्नु पर्यो । झुक्किएर एक जनाले खाइहाल्यो त्यसलाई सुदर्शन चक्र चलाउनु पर्यो । त्यही पनि आजसम्म ग्रहण लगाएर दुख दिइरहेको मानिन्छ । मारक हतियार कुनै योग्यका हातमा पुग्दा उसले कमजोरको रक्षा गर्छ तर कुनै अयोग्य, र क्रूर मानिसको हातमा पुग्यो भने अकल्पनीय नरसंहार बाहेक अर्थोक केही हुंदैन । गलत मानिसका हातमा अज्ञान ठीक । ज्ञान केवल सही मानिसका हातमा ठीक हुन्छ । त्यसैले प्राचीनकालमा ज्ञान गोप्य राखिन्थ्यो । खुसुक्क कानमा भनिन्थ्यो ।
यसलाई जानेर तिमी अशुभहरुबाट मुक्त हुनेछौ । यस वाक्यांशले पूर्वीय र पश्चिमी दृष्टिकोणको एक आधारभूत अन्तरलाई स्पष्ट गर्छ । पश्चिमी दृष्टिकोण के हो भने पाप नै अशुभको कारण हो । प्रायश्चित गर्नासाथ अशुभबाट मुक्ति हुन्छ । अर्थात् अशुभको कारण पाप र समाधान हो प्रायश्चित । पूर्वीय दृष्टिकोण के हो भने अज्ञान नै अशुभको कारक हो। यो अशुभ नै बन्धनकारक हो । ज्ञान प्राप्त हुनासाथ अशुभबाट मुक्ति प्राप्त हुन्छ । ज्ञान प्राप्त हुनु नै पुण्य प्राप्त हुनु हो । अर्थात् बन्धनको कारण हो अज्ञान र समाधान हो ज्ञान । तर ज्ञान जानेर मुक्त हुने छौ । केवल पढेर, सुनेर, घोकेर वा मानेर होइन, जानेर मुक्त हुनेछौ । सुन्नु, पढ्नु र जान्नु फरक कुरा हो । यहाँ जान्नुको अर्थ सिद्धान्त घोक्नु होइन । सिद्धान्तमा केही छैन । कार चलाउने सिद्धान्त के हो ? चालक सीटमा बस्ने, खुट्टाको ब्रेक थिच्ने, हाते ब्रेक खोल्ने, बत्ती बाल्ने, इन्जिन खोल्ने, अब एउटा खुट्टाले क्लच थिच्ने र सुरु गेयर लगाउने, विस्तारै क्लच छोड्दै जाने र संगै अर्को खुट्टाले एक्सीलरेटर विस्तारै थिच्दै जाने । स्टीयरिङ्गलाई उचित दिशामा मोड्ने । जान्नुको अर्थ हो त्यस सिद्धान्तको प्रयोग व्यवहारमा आउनु । मानिसले जुन कुरा वास्तवमा जान्दछ त्यसलाई व्यवहारमा लागू गर्छ । व्यवहारमा ज्ञानलाई लागू गर्नासाथ त्यो विज्ञान हुन जान्छ । ज्ञानसहित त्यस विज्ञानले मानिसलाई मुक्त गरीदिन्छ।
राजविद्या राजगुह्यं पवित्रमिदमुत्तमम् ।
प्रत्यक्षावगमं धर्म्यं सुसुखं कर्तुमव्ययम् ।।२ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

राजविद्या (राजविद्या, श्रेष्ठ विद्या) राजगुह्यम् (गुह्यहरुमा राजा, श्रेष्ठ गोपनीय) पवित्रम् (अति पवित्र) इदम (यो) उत्तमम् (उत्तम छ) प्रत्यक्ष (प्रत्यक्ष) अवगमम् (बोध गराउने) धम्र्यम् (धर्मयुक्त) कर्तुम् (गर्नु, आचरण) सुसुखम् (अति नै सुख दिने) अव्ययम् (अविनाशी) ।
यो ज्ञान गोपनीयहरुमा राजा अर्थात् श्रेष्ठतम गुह्य, राजविद्या अर्थात् श्रेष्ठतम विद्या, अति पवित्र र प्रत्यक्ष बोध गराउने छ । यसको आचरण अति नै सुख दिन,े धर्मयुक्त र अविनाशी छ ।।२।।

विज्ञानसहितको यो ज्ञान कस्तो छ ? यो राजविद्या हो, र राजगुह्य पनि हो । राजविद्याका दुई अर्थ छन्– विद्याहरुको राजा तथा राजशास्त्र। विद्याहरुको राजाको अर्थ हो यो ब्रह्मविद्या हो । गीताको सम्पूर्ण उपदेश स्वयं नै ब्रह्मविद्या हो । अर्को अर्थ हो राजशास्त्र । तर यस श्लोकमा विद्याको विशेष अर्थ छ, त्यो हो उपासना पद्धति, त्यसैले राजविद्याको अर्थ हो सर्वोच्च उपासना पद्धति । कुन उपासना पद्धति सर्वोच्च हुन्छ यसलाई स्पष्ट गर्दै भनिएको छ– प्रत्यक्ष अवगम छ अर्थात् प्रत्यक्ष बोध गर्न सकिन्छ । यो अमूर्त, काल्पनिक, मनोगत वा सैद्धान्तिक कुरा होइन । व्यावहारिक प्रतिफल प्रदायक छ, धर्मयुक्त पनि छ । यहाँ धर्मको अर्थ हो भक्ति सहितको ज्ञान, त्यसैले धर्म्यंको अर्थ हो भक्तहरुका लागि उपयुक्त । भक्त शब्द भज् ले बनेको छ । जसको अर्थ हुन्छ विभक्त गराउनु । सारा संसारले नमान्दा पनि जसको श्रद्धा र प्रेम विचलित हुँदैन, त्यो भक्त हो । त्यसैले भक्तिको अर्थ हो अत्यन्त ठूलो संघर्ष । तर यो कृत्य कस्तो छ भने यसको आचरण गर्दा अत्यन्त सुख प्राप्त हुन्छ । साथै यो अति पवित्र, अति उत्तम र अविनाशी पनि छ । यस श्लोकले राजविद्यालाई परिभाषित पनि गरेको छ – जुन गुह्यतामा श्रेष्ठ छ, पवित्र छ, प्रत्यक्ष अनुभवमा आउँछ र जसको आचरण सुखकारक छ, त्यो राजविद्या हो ।
अश्रद्दधाना पुरुषा धर्मस्यास्य परन्तप ।
अप्राप्य मां निवर्तन्ते मृत्युसंसारवत्र्मनि ।।३ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

अश्रद्दधानाः (श्रद्धारहित) पुरुषाः (मानिसहरु) धर्मस्य अस्य (यस धर्मप्रति) परन्तप (हे परन्तप, अर्जुन) अप्राप्य (प्राप्त नगरेर) माम् (मलाई) मृत्युसंसार (मृत्युसंसारको) वत्र्मनि (मार्गमा) निवर्तन्ते (भ्रमण गरिरहन्छन्) ।
हे परन्तप, यस धर्मप्रति अश्रद्धा राख्नेहरुले मलाई प्राप्त गर्दैनन् र तिनीहरु यस मृत्युसंसारको मार्गमा फर्केर आइरहन्छन् अर्थात् उनीहरु मुक्त हुँदैनन् ।।३।।

जसले यस विद्यामा श्रद्धा राख्दैनन्, उनीहरुको गति के हुन्छ ?
यस धर्मप्रति श्रद्धा नगर्नेहरु फर्केर फेरी मृत्यु संसारमा डुलिरहन्छन् । अविनाशी र उत्तम अवस्था प्राप्त गर्दैनन् । श्रद्धाको अर्थ हो निःशर्त प्रेम । पूरै जिम्मा लगाउनु । जस्तो एक बालकले गर्छ ।
एक सानी बालिका आफ्ना पितासंग एउटा खोलो तर्दै थिई ।
त्यसैले पिताले भन्यो– छोरी, तिमी सानी छौ । खोलो तर्दा मेरा हात कसेर समाइ राख्नु है। बगाउला ।
छोरीले भनी– बुबा, मैले तपाईंका हात समाउंदिन । तपाईंले नै बरु मेरो हात समाउनुस् । मैले समाउँदा हात छोडियो भने...? यस्तो विश्वास जहाँ हुन्छ त्यसलाई श्रद्धा भनिन्छ ।
श्रद्धा प्रेमको उच्चतम खुडकिलो पनि हो ।
अकबरको जीवनको एउटा घटना भनिन्छ ।
अकबर कतै जांदै थियो । साँझ पर्नासाथ उसले बाटोको छेउमा भुईंमा कपडा ओच्छायो र नमाज पढ्न थाल्यो । ठीक त्यसै बेला एउटी नवयुवतीले उसको कपडा कुल्चिंदै हिंडी । त्यो देखेर अकबरले क्रोधित भएर भन्यो– हेर, के गरेको ? नमाज पढ्ने मानिसको कपडा कुल्चेर हिंड्ने ?
युवतीले झसङ्ग भएर भनी– सरकार, माफ गर्नुस् । मेरो ध्यान मेरो प्रेमीतर्फ थियो म आफ्नो प्रेमीलाई भेट्न हिंडेकी छु । बाटोमा तपाईं बसेको मैले देख्दै देखिनं । तपाईंले बरु यस संसारका मालिकको ध्यान गर्दै हुनुहुन्थ्यो । तपाईंको ध्यान मेरो ध्यानभन्दा मेरो ध्यानभन्दा धेरै ठूलो हुनु पर्ने होइन र ?
अकबर यो सुनेर लज्जित भयो ।
यस संसारको नियम के छ भने जसको जस्तो श्रद्धा हुन्छ उसले त्यसैलाई प्राप्त गर्छ । बालनर सिंह कुंवरको छोरोले जंगलमा हात्ती समाउने काम गर्थ्यो । एउटा माहुते । तर उसको आकाङ्क्षा त्यतिमा मात्र सीमित थिएन । उसले केही महत्त्वपूर्ण र साहसिक कार्य गर्न चाहन्थ्यो । त्यसैले ऊ एक दिन नेपालको शक्तिशाली प्रधानमन्त्री जंग बहादुर राणा बन्यो ।
दस वर्षको बालक कबीरलाई स्वामी रामानन्द माथि श्रद्धा थियो । उनको शिष्य हुन उसको हार्दिक इच्छा थियो । साथै उसले के सुनेको थियो भने रामानन्दले कबीरलाई शिष्य स्वीकार गर्ने छैनन् ।
स्वामी रामानन्द सधैं ब्रह्म मुहुर्तमा गंगा स्नान गर्न जाने गर्थे । बालक कबीर गंगा तटको घाटका सिढीमा गएर सुत्यो । घाटका सीढी ओर्लने क्रममा बिहान झिसमिसेमा रामानन्दले कबीरलाई खुट्टाले कुल्चिए । अनि तर्सेर बालकलाई उठाए र छातीमा लागउँदै भने – बाबु, रामराम भन ।
बालक कबीरले भन्यो– राम राम ।
गुरुको यही दुई शब्द कबीरलाई दीक्षा मन्त्र भए । र कबीर एक महान् चिन्तक बने। जीवन भर रामको मन्त्र उनले छोडेनन् । उनको श्रद्धाले उनलाई महानतम चिन्तकमध्ये एक बनायो।
मया ततमिदं सर्वं जगदव्यक्तमूर्तिना ।
मत्स्थानि सर्वभूतानि न चाहं तेष्ववस्थितः ।।४ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

मया (मैले) ततम् (त्यो) इदम् (यस) अव्यक्तमूर्तिना (अव्यक्त स्वरुपद्वारा) सर्वम् (सबै) जगत् (जगत् व्याप्त गरेको छु) च (तथा) सर्वभूतानि (सबै भूतप्राणी) मत्स्थानि (मभित्र छन्) अहम् (म) तेषु (तिनीहरुमा) न अवस्थितः (रहेको छैन) ।
मैले आफ्नो यस अव्यक्तस्वरुपद्वारा सबै जगत् व्याप्त गरेको छु । मभित्र सबै प्राणी छन् तर म तिनीहरुमा छैन ।।४।।
न च मत्स्थानि भूतानि पश्य मे योगमैश्वर्यम् ।
भूतभृन्न च भूतस्थो ममात्मा भूतभावनः ।।५ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

च (तथा) भूतानि (भूत प्राणी) न मत्स्थानि (म भित्र छैनन्) पश्य (हेर) मे (मेरो) योगम् ऐश्वर्यम् (योगको शक्ति) भूतभृत् (प्राणीहरुको पालन) च (तथा) मम आत्मा (म आफैं) भूतभावनः (प्राणीहरु उत्पन्न गर्ने) भूतस्थः (प्राणीहरु भित्र अवस्थित) न (छैन) ।
ती सबै भूत प्राणी म भित्र रहेका छैनन् । मेरो ईश्वरीय योगशक्तिलाई हेर, यो कस्तो छ भने प्राणीहरुलाई उत्पन्न गर्ने, तिनीहरुलाई पालन गर्ने भइकन पनि म तिनीहरुमा छैन ।।५।।
यथाकाशस्थितो नित्यं वायुःसर्वत्रगो महान् ।
तथा सर्वाणि भूतानि मत्स्थानीत्युपधारय ।। ६ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

सर्वत्र (सर्वत्र) गः (गमन गर्ने, विचरण गर्ने) वायुः (वायु) यथा (जसरी) नित्यम् (सदा) आकाश (आकाशमा) स्थितः (स्थित छ) महान् (महान्) तथा (त्यसै गरी) सर्वाणि (सबै) भूतानि (भूतप्राणी) मत्स्थानि (ममा स्थित छन्) इति (यस्तो) उपधारय (अवधारणा लेऊ, बुझ) ।
सर्वत्र विचरण गर्ने महान् वायु जसरी सदा आकाशमा स्थित छ, त्यसै गरी सबै भूतप्राणी ममा स्थित छन्, यस प्रकार बुझ ।। ६ ।।

‘योगमैश्वर्यम्’ को अर्थ हो योगको शक्ति । अद्भुत सामथ्र्य । दृश्य देखाउने सामथ्र्य । जसरी मानिस सपनाको शक्तिले निदाउँदा अनेक दृश्य देख्छ र आफू पनि त्यहीं हुन्छ । दृष्टा पनि हुन्छ र दृश्य पनि हुन्छ । जसरी टी भी, मोबाइल वा कम्प्युटरको सामथ्र्यले गर्दा त्यसको पर्दामा अनेक अद्भुत कुरा देखिएका हुन्छन् । मानिस जन्मन्छ, बढ्छ, प्रेम गर्छ, विवाह गर्छ, संघर्ष गर्छ, मर्छ । के दुई घण्टामा सम्भव छ ? छैन । तर हामीले विश्वास गर्छौं । ईश्वरको सामाथ्र्य यहाँ बताए जस्तो काल्पनिक होइन, पूर्णतया वास्तविक हुन्छ । यस शक्तिले असम्भव कुरा हामीलाई सम्भव भएको देखाउन सक्छ । अध्याय ११ को विश्वरुप देखाउँदा यही शक्ति उपयोग गरिएको भनिएको छ ।
म अव्यक्त रुपमा यस जगत्मा व्याप्त छु । सबै भूतप्राणी मभित्र छन् । तर म तिनीमा छैन। यो सबै योगको सामथ्र्यले गर्दा हो । ईश्वर भित्र सबै छन् तर परमात्मा किन प्राणीभित्र छैन भन्ने कुरालाई वायुमण्डलसँग तुलना गर्न सकिन्छ । सर्वत्रगः को अर्थ हुन्छ सर्वत्र गमन गर्ने । संस्कृत धातु ग को त्यही अर्थ हुन्छ जुन अंग्रेजी शब्द गो को हुन्छ– जानु । यसैबाट गमन् शब्द बनेको छ । वायु आकाशमा जताततै हुन्छ। जहाँ पनि रिक्त स्थान छ, त्यहाँ वायु छ भन्ने कुरा स्वतः सिद्ध छ । सारा प्राणी वायुमण्डल भित्र छन् तर प्राणीभित्र भइकन पनि वायुको अस्तित्त्व प्राणीभन्दा स्वतन्त्र छ । त्यसैले प्राणी भित्र म छैन भनिएको हो । यस कुरालाई स्पष्ट गर्ने ज्यादै प्रचलित उदाहरण सूर्यको छ । आकाशमा स्थित सूर्य स्थिर छ तर जलको चञ्चलतामा त्यो आरोपित हुन जान्छ । पोखरीको पानी चलाउँदा सूर्य पनि चलमलाउँछ । यस्तो लाग्छ मानौ सूर्य चलमलाइरहेको छ । पानी धमिलो गराउँदा सूर्य धूमिल हुन जान्छ । जसरी आकाशमा वायु विचरण गरे जस्तो लागे तापनि आकाशलाई वायुले मलिनता गराउन सक्दैन त्यसै गरी सम्पूर्ण प्राणी ममा स्थित भइकन पनि म आकाशवत् निर्लेप छु ।
वैज्ञानिकहरुले धेरै पछि मात्र आकाशलाई एक तत्त्वको रुपमा स्वीकार गरे । वैज्ञानिक अल्बर्ट आईन्स्टाईनले आकाश आफैंमा केही तत्त्व हो भने धारणा पहिलो पटक राखे । गीतामा भगवान् श्रीकृष्णले त्यस तत्त्वको धेरै पटक स्पष्टीकरण गर्नु भएको छ । जसरी सर्वत्र विचरण गर्ने महान् वायु सदा आकाशमा नै स्थित छ त्यसै गरी सबै भूतप्राणी ममा स्थित छन् ।
सर्वभूतानि कौन्तेय प्रकृतिं यान्ति मामिकाम् ।
कल्पक्षये पुनस्तानि कल्पादौ विसृजाम्यहम् ।। ७ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

सर्वभूतानि (सबै भूतप्राणी) कौन्तेय ( हे कौन्तेय) मामिकाम् (मेरो) प्रकृतिम् (प्रकृतिलाई) यान्ति (जान्छन्, लीन हुन्छन्) कल्पक्षये (कल्प समाप्त हुँदा) पुनः (फेरि) तानि (तिनीलाई) कल्प आदौ (कल्पको सुरुमा) विसृजामि ¬ (विशेष सिर्जना गर्छु) अहम् (मैले) ।
हे कौन्तेय, कल्प समाप्त हुँदा अर्थात् प्रलयकालमा सबै भूतप्राणि मेरै प्रकृतिमा आएर लीन हुन्छन् । कल्पको आदिमा तिनीलाई मैले नै फेरि सिर्जना गर्छु ।। ७ ।।

हे कौन्तेय, कल्प समाप्त हुँदा अर्थात् ब्रह्माको रात सुरु हुँदा सबै भूतप्राणी मेरो प्रकृतिमा आएर मिल्छन् अर्थात् लीन हुन्छन् । कल्पको सुरुमा अर्थात् ब्रह्माको दिनको आरम्भमा तिनीलाई मैले फेरि सिर्जना गर्छु । विसृजामिको अर्थ हो सृष्टि गर्छु । मत्स्थानिको अर्थ हो मैले पालन गर्छु, तिनीहरुको स्थिति गर्छु । तथा प्रकृतिं यान्ति मामिकाम् को अर्थ हो मेरो प्रकृतिलाई प्राप्त गर्छन् अर्थात् लीन हुन्छन्, प्रलय हुन्छ । सार के हो भने सृष्टि, स्थिति र प्रलय यी तीन कुरा प्रत्येक कल्पको सुरु र अन्तमा भइरहन्छन् । कल्पको अर्थ हो ब्रह्माको एक दिन । यसको अवधि लगभग चार अरब ३२ करोड वर्षको समय हो । लगभग त्यति समय रात हुन्छ जसलाई कल्पक्षय वा प्रलय भनिन्छ ।
प्रकृतिं स्वामवष्टभ्य विसृजामि पुनः पुनः ।
भूतग्राममिमं कृत्स्नमवशं प्रकृतेर्वशात् ।।८।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

स्वाम् (आफ्नो) प्रकृतिम् (प्रकृतिको) अवष्टभ्य (सहारा लिएर) इमम् (यस) भूतग्रामम् (भूतग्राम, प्राणीहरुको समुच्चयलाई) पुनः पुनः (बारम्बार) विसृजामि (सिर्जना गर्छु) कृत्स्नम् (सम्पूर्ण भूत समुदाय) प्रकृतेः (प्रकृतिका) वशात् (वशमा परेर) अवशम् (पराधीन, विवश छ) ।
आफ्नो प्रकृतिको सहारा लिएर आआफ्ना कर्मले बाँधिएको प्राणीहरुको यस समुदायलाई बारम्बार सिर्जना गर्छू । प्रकृतिको वशमा रहेकोले यो सम्पूर्ण प्राणी समुदाय पराधीन छ ।।८।।

यहाँ भूतग्रामको अर्थ हो प्राणीको समूह, प्राणी समुदायको समुच्चय । प्राणीको समुदाय एक सेट्को रुपमा नै अस्तित्त्वमा रहन सक्छ । मानिसलाई गाईवस्तु, अन्न, फलफूल, वन जंगल यी सबैको एक सह अस्तित्त्व वा सेटको आवश्यकता हुन्छ । अन्य समुदाय भएनन् भने मानिसको अस्तित्त्व स्वतः समाप्त हुन जान्छ । त्यसैलाई यहाँ भूतग्राम शब्दको प्रयोग गरिएको छ । प्राणी समुदायको सिर्जना र समापन प्रकृतिको आधीन छ । मानिस जन्म लिन्छ, त्यस पछि उसको शरीरमा उमेर अनसार बालक, युवा र वृद्ध हुँदा जे जति गुण र विशेषता हुन्छन् सबै प्रकृतिवशात् हुन्छन् । त्यसै गरी जन्म र पुनर्जन्मको चक्र पनि उही प्रकृतिको आधीन छ ।
न च मां तानि कर्माणि निबध्नन्ति धनञ्जय ।
उदासीनवदासीनमसक्तं तेषु कर्मसु ।।९।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

धनञ्जय (हे धनञ्जय) तानि (ती) कर्माणि (कर्महरुमा) उदासीनवत् (उदासीनवत्) च असक्तम् (तथा आसक्तिरहित) आसीनम् (छू) माम् (मलाई) तेषु (ती) कर्मसु (कर्महरुले) न निबध्नन्ति (बन्धनमा पार्दैनन्)। हे धनञ्जय, यस सृष्टि रचनामा मेरो आसक्ति छैन । म ती कर्महरुमा उदासीनवत् छु त्यसैले मलाई ती कर्महरुले बन्धनमा पार्दैनन् ।। ९ ।।

परमात्मालाई कर्महरुले बन्धनमा किन पार्दैनन् ? किनभने उनी कर्महरुमा आसक्तिरहित र उदासीनवत् छन् । उदासीनवत्को अर्थ जे सुकै भए पनि बेवास्ता गर्ने रेशम कीरा जस्तो होइन । रेशम कीरा त्यहीं भित्र बस्छ, रेशम उत्पादन गर्छ । आफूलाई त्यसैले बेर्छ र अन्तमा त्यसैका साथमा सिद्धिन्छ । आफ्नो उत्पादनले आफैं समाप्त हुन्छ । गँगटो, बिच्छु, र माकुराको सृष्टि पनि यसै प्रकारको हुन्छ । उनीहरुले शरीरमा अण्डा राख्छन् । त्यसबाट बच्चा उत्पन्न हुन्छन् । उत्पादन गरेका सन्तानले त्यही शरीर खाएर हुर्कन्छन् । जुन दिन त्यो मर्छ, अनि बच्चाहरु बाहिर निस्कन्छन् । यस प्रकारको उदासीनता परमात्माको होइन । परमात्माले सृष्टि (उत्पादन) पनि गर्छ, स्थिति (पालन) पनि गर्छ, समाप्त पनि गर्छ र पनि ती सबै क्रियाबाट मुक्त पनि रहन्छ । सरल शब्दमा, यी सबै क्रिया एउटा नियम अन्तर्गत आफैं सम्पन्न हुन्छन् । त्यो नियम जसको आधारमा यी क्रिया आफैं हुन्छन्, त्यो नै परमात्मा हो । उदासीनवत्को अर्थ हुन्छ– तटस्थ, साक्षी ।
कर्म र कर्मफलको सम्बन्ध फलेच्छासंग जोडिएको हुन्छ । तर बन्धनकारक न त कर्म हुन्छ, न कर्मको फल नै बरु फलको इच्छा नै कर्म बन्धन हो । सामान्य मानिसहरु फलेच्छाले कर्म गर्छन् फलस्वरुप उनीहरुलाई कर्मले बाँध्छ । तर परमात्माले गर्ने कर्म फलेच्छासंग सम्बन्धित हुंदैन त्यसैले उसलाई कर्मले बाँध्न सक्दैनन् ।

 


मयाध्यक्षेण प्रकृतिः सूयते सचराचरम् ।
हेतुनानेन कौन्तेय जगद्विपरिवर्तते ।। १० ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

मया (मेरो) अध्यक्षेण (अध्यक्षतामा) प्रकृतिः (प्रकृति) सचर अचरम् (चलसहित अचल) सूयते (सिर्जना गर्छ) अनेन (यस) हेतुना (हेतु, कारण) कौन्तेय (हे कौन्तेय) जगत् (जगत्, संसार) विपरिवर्तते (परिवर्तन र विपरीत परिवर्तन, सृष्टि र प्रलय भइरहन्छ) ।
मेरो अध्यक्षतामा प्रकृति चराचरसहित सबलाई सिर्जना गर्छ । हे कौन्तेय, यस कारण यो संसारमा सृष्टि र प्रलयको परिवर्तन भइरहन्छ ।।१०।।

अध्यक्षको सामान्य अर्थ हो अधि अक्ष अर्थात् मुख्य निरीक्षक वा मुख्य धुरी । मेरो अध्यक्षतामा प्रकृतिले सबै कर्म गर्छ, यस श्लोकलाई गीताको केन्द्रीय श्लोक भन्न सकिन्छ । ईश्वरको अध्यक्षतामा सारा सृष्टि व्यापार चलिरहेको छ । अक्षको अर्थ आँखा पनि हो । त्यसैले अध्यक्षको अर्थ हुन्छ, त्यो जसले सबै कुरा हेर्छ ईश्वर, मालिक । जसरी कुनै सामान्य औपचारिक कार्यक्रमको अध्यक्षता कुनै मानिसले गर्छ, त्यसै गरी सृष्टि कार्यक्रमको अध्यक्ष परमात्मा हो । यो सृष्टि ईश्वरको अध्यक्षतामा प्रारम्भ हुन्छ र ईश्वरले समाप्तको संकेत गर्नासाथ सबै कार्यक्रम समाप्त हुन्छन् । तर कार्यक्रमको अध्यक्षता गर्नेले पनि सबै नियम पूरा भए पछि कार्यक्रम सुरु गर्छ र सबै विधिवत् कार्यक्रम सम्पन्न भए पछि नै कार्यक्रम समापनको घोषणा गर्छ । यही कुरा सृष्टिको अध्यक्षका हकमा लागू हुन्छ। परमात्माले सृष्टिको अध्यक्षता एक क्याटालिस्ट, उत्प्रेरक, को रुपमा पूरा गर्नु हुन्छ । आधुनिक विज्ञान अनुसार, उत्प्रेरक नभएमा कुनै रासायनिक परिवर्तन सम्भव हुंदैन । यस उत्प्रेरकले के गर्छ ? वैज्ञानिकहरु के भन्छन् भने उत्प्रेरकले केही गर्दैन, केवल त्यो उपस्थित हुन्छ ।
पानी पर्नु अघि आकाशमा बिजुली चम्किनुलाई एउटा उत्प्रेरक, भनिन्छ । त्यसको रासायनिक क्रियामा कुनै भूमिका हुंदैन तर त्यसको उपस्थिति आवश्यक हुन्छ ।
जो वास्तविक मालिक हुन्छ त्यसले वास्तवमा केही गर्दैन । उसको उपस्थिति नै पर्याप्त छ। मालिक उपस्थित मात्र हुनुपर्छ सारा काम कारिन्दाहरुले पूरा गर्छन् । पितालाई देख्ना साथ सन्तानले आफैं ढोगिदिन्छन् । ढोगिदिनै पर्छ । त्यो नियम हो । अन्यथा उसलाई के पिता भन्ने ? चुम्बक छ भने फलाम त्यहाँ आफैं तानिएर आउँछ । बत्ती देख्यो भने पुतली दौडेर हामफाल्छ । सूर्य उपस्थित हुनासाथ चराहरु कराउन थाल्छन्, फूलहरु फुल्न थाल्छन्, माहुरी डुल्न थाल्छन्, हावा चल्न थाल्छ । सूर्यले कसैलाई अह्राउनु पर्दैन । त्यही कुरा सारा सृष्टिको मालिकको सम्बन्धमा सत्य छ । उसको अध्यक्षतामा, उपस्थितिमा, सूर्य चन्द्र लगायत सारा सृष्टि आफैं चलिरहन्छ ।
अवजानन्ति मां मूढा मानुषीं तनुमाश्रितम् ।
परं भावमजानन्तो मम भूतमहेश्वरम् ।।११।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

मूढा ः (मूढ मानिसहरुले) मम (मेरो) परम् भावम् (परम् भाव) अजानन्तः (जान्दैनन्) भूतमहेश्वरम् (सम्पूर्ण भूतप्राणीको महान ईश्वर) माम् (मलाई) मानुषीम् (मनुष्य) तनुम् (शरीर) आश्रितम् (धारण गरेको, आश्रय लिएको) अवजानन्ति (अवहेलना गर्छन्, कम ठान्दछन्) ।
मूढ मानिसहरु मेरो परम् स्वरुपलाई चिन्दैनन् । जुन सबै प्राणीको महान् ईश्वर हो, यस्तो मलाई मनुष्य शरीरधारण गर्ने ठानेर मेरो अवहेलना गर्छन् ।। ११ ।।

अवजानन्तिको अर्थ हो जस्तो जान्नु पर्ने हो त्यसभन्दा धेरै कम जान्दछन्, बिगारेर जान्दछन्। भक्ति मार्गका साधकहरुले यसरी अर्थ गर्छन्– सम्पूर्ण भूतप्राणीको महान ईश्वर, कृष्णलाई अविवेकीहरुले शरीर धारण गर्ने देवकी पुत्र कृष्ण भनी मामूली मनुष्यको रुपमा बुझ्छन्, अवतार होइन । भगवान् श्रीकृष्णलाई यस्तो अवहेलनाका वाक्यहरु चाणूर, शिशुपाल आदिका मुखबाट निस्केका छन् । भागवतमा स्पष्ट उल्लेख छ संसारमा महापुरुष नै ईश्वरका अवतार हुन् । समय समयमा ईश्वरले महापुरुषको रुपमा अवतार लिएर अज्ञानान्धकारले गर्दा निदाएको समाजलाई बिउँझाउँछन् । यही हो अवतारको उद्देश्य । सामान्य जनले शंकराचार्यलाई सामान्य मानिस देख्छन् र ज्ञानीहरुले शिवको अवतार । भगवान् श्रीकृष्णलाई सामान्य जनले देवकीका पुत्र देखे तर पितामह भीष्मले ईश्वरको अवतार देखे । अर्जुनले पनि गीतामा भगवान् कृष्णलाई त्यस बेलासम्म सामान्य देखे जबसम्म विश्वरुप दर्शन भएन।
श्लोक १० सँग मिलाएर यस श्लोकको प्रतीकात्मक अर्थ यस प्रकार भन्न सकिन्छ–ईश्वरको आभाष मात्रले यो संसार चक्र परिवर्तन भइरहन्छ । अर्को शब्दमा ईश्वर एक व्यक्ति होइन एक अस्तित्व हो, एक नियम हो । उसको अध्यक्षतामा प्रकृतिले नियमानुसार सबै कर्म गर्छ तर मूढ अविवेकीले यस कुरालाई बुझ्दैनन् ।
मूढको अर्थ हो उल्टो जान्ने, महामूर्ख तर आफूलाई निकै जान्ने छु भन्ने ठान्ने । यस्ता मूढको उदाहरण दिनु पर्यो भने कालिदासको उदाहरण दिने गरिन्छ । भनिन्छ, अवन्ती नरेशकी छोरी विद्योत्तमालाई आफ्नो विद्याको धेरै घमण्ड थियो । शास्त्रार्थमा धेरै पण्डितलाई हराएर उनले दास बनाएर राखेकी थिइन् । पण्डितहरुले उसँग बदला लिनका लागि एक पटमूर्खसंग शास्त्रार्थमा विद्योत्तमालाई हराउने निधो गरे ।
पटमूर्खको खोजीमा हिंड्दा उनीहरुले देखे एउटा मानिस जुन हाँगोमा बसेको छ त्यसैलाई नै काटिरहेको छ ।
उनीहरुले आफू माथि बसेर त्यस हाँगोलाई तलबाट किन काटेको भनी प्रश्न गरे ।
त्यस मूर्खले भन्यो– रुखमा चढेर हाँगो काट्न परे पछि सजिलो हुने गरी बस्न परेन?
जसले रुखमा चढेर काट्दा आफ्नो सुरक्षाको चिन्ता गर्दैन्, ऊभन्दा मूढ अर्को हुनसक्दैन । त्यसले उसलाई संगै लिएर आए ।
उनीहरुले त्यस मूर्खलाई शास्त्रार्थमा मौन बस्न अह्राए । मौन बसेमा रानी विद्योत्तमासंग विवाह गराइदिने कुरा गरे ।
पण्डितले दरबारमा आएर अनुरोध गरे, एउटा विद्वान् पण्डितले शास्त्रार्थ गर्न चाहन्छन् तर उनले मौन व्रत लिएका छन् । केवल संकेतमा कुरा गर्छन् । उनको संकेतको अर्थ हामीले बुझाउने कोशिश गरौंला ।
त्यसपछि शास्त्रार्थ सुरु भयो ।
विद्योत्तमाले संकेतमा कुरा सुरु गरिन् । उसले एउटा औंला देखाइन् । जसको अर्थ हुन्छ ईश्वर एक छ ।
त्यस पटमूर्खले आफ्नो मूढ बुद्धि अनुरुप अनुमान गर्यो– यस औलाले तेरो आँखो फोरिदिन्छु भन्ने संकेत आयो । अनि रिसले विद्योत्तमाका
दुवै आँखा फोरिदिन सक्छु भन्दै दुईवटा औंला देखायो ।
विद्योत्तमाले यीदुई औंलाको अर्थ बुझ्न पण्डितहरु तिर हेरी ।
पण्डितहरुले आपसमा सल्लाह गरेर दुई औंलाको अर्थ लगाए, ईश्वर एक भए पनि प्रकृति बिना सृष्टि गर्न सक्दैन । त्यसैले प्रकति र पुरुष दुई छन् भन्नु पर्छ ।
अब विद्योत्तमाले हात उचालेर पाँच औंला देखाइ । यसको अर्थ थियो– सृष्टिको आधार पाँच महाभूत– भूमि, जल, वायु, तेज, आकाश हो ।’
त्यस मूर्खले आफ्नो बद्धि अनुरुप अर्थ मुठी पारेर देखाउंदै मनमनै भन्यो – मलाई झापड देखाउनेलाई मुड्की देखाउँछु ।’ तर पण्डितहरुले यसरी अर्थ लगाए– हो, सृष्टिका पाँच महाभूत हुन्छन् तर तिनीहरु अलग अलग भएर सृष्टि हुँदैन । तिनीहरु एक आपसमा पञ्चीकरण भई मिसिए पछि मात्र सृष्टि हुन्छ ।’
यस्ता मूर्खतापूर्ण संकेतको पण्डितहरुले अर्थ लगाउंदै गए। अन्तमा विद्योत्तमाले हार स्वीकार गरिन् । विद्योत्तमाले आफ्नो शर्त अनुसार विवाह गर्नु पर्यो ।
तर भोलिपल्ट नै उसको अपठित स्वभाव र मूर्खता विद्योत्तमालाई थाहा भयो उनले आफ्नो पतिलाई अपमानपूर्वक बाहिर निकालिन् । यसबाट दुखी बनेर उसले माता कालीको कठोर तपस्या गर्यो । उसको तपस्ष कति ठूलो थियो भने उसको नाम नै जगमा कालीदास प्रसिद्ध भयो । पछि ठूला कवि बने ।
मोघाशा मोघकर्माणो मोघज्ञाना विचेतसः ।
राक्षसीमासुरीं चैव प्रकृतिं मोहनीं श्रिताः ।।१२।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

मोघ–आशाः (व्यर्थ आशा) मोघ कर्माणः (अर्थहीन कर्म) मोघज्ञानाः (निष्फल ज्ञान) विचेतसः (विक्षिप्त चित्त, अज्ञानीहरु) राक्षसीम् (राक्षसी) आसुरीम् (आसुरी) च एव (तथा) मोहनीम् (मोहिनी) प्रकृतिम् (स्वभावको) श्रिताः (आश्रय लिन्छन्) ।
तिनीहरुको आशा व्यर्थ छ, कर्म अर्थहीन छ, ज्ञान निष्फल छ, चित्त विक्षिप्त छ, जसले मोहात्मक राक्षसी र आसुरी स्वभावको आश्रय लिन्छन् ।।१२।।

निरर्थक, व्यर्थ वा निष्फल कामना गर्ने, निरर्थक कर्म गर्ने, र मोघज्ञान भएको अहंकारी मानिस राक्षसी र आसुरीका मोहिनी प्रकृतिको आश्रय लिन्छन् । निरर्थक कर्म गर्ने र निरर्थक ज्ञान भएका मानिसहरुको चित्त विक्षिप्त हुनजान्छ । फलस्वरुप गलत निर्णय गर्न पुग्छन् । राक्षसी गुणको अर्थ हो, हिंसा, द्वेष, छल इत्यादि भाव राख्ने मानिस तथा आसुरी गुणको अर्थ हो काम, क्रोध, दम्भ, छलको भाव राख्ने मानिस । निश्चित रुपमा यस्ता मानिसहरुले जुन कुरा मान्नु र जान्नु पर्ने हो त्यसलाई स्वीकार गर्दैनन् । तर जसले ईश्वर चिन्छन् उनीहरुलाई महात्मा भनिन्छ ।
महात्मानस्तु मां पार्थ दैवीं प्रकृतिमाश्रिताः ।
भजन्त्यनन्यमनसो ज्ञात्वा भूतादिमव्ययम् ।।१३।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

तु (तर) पार्थ (हे पार्थ) दैवीम् (दैवी) प्रकृतिम् (प्रकृतिको) आश्रिताः (आश्रय गरेका) महात्मानः (महात्माजन) भूत (भूतप्राणीको) आदिम् (आदिकारण) अव्ययम (अविनाशी) ज्ञात्वा (जानेर) अनन्यमनसः (अनन्य मनले) माम् (मेरो) भजन्ति (भजन गर्छन्)।
तर हे पार्थ, दैवी प्रकृतिको आश्रय गरेका महात्माजनले भूतप्राणीको आदिकारण र अविनाशी जानेर अनन्य मनले अर्थात् एकत्व भावले निरन्तर मेरो भजन गर्छन् ।।१३।।
सततं कीर्तयन्तो मां यतन्तश्च दृढव्रताः ।
नमस्यन्तश्च मां भक्त्या नित्ययुक्ता उपासते ।।१४।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

यतन्तः (यत्नवान्) दृढव्रताः (दृढ व्रत लिई) नित्ययुक्ता (योगयुक्त भएर) माम् (मेरो) सततं (सधैं) कीर्तयन्तः (कीर्तन गर्छन्) च (तथा) नमस्यन्त ः च (तथा नमस्कार गर्छन्) भक्त्या (भक्तिपूर्वक) माम् (मेरो) उपासते (उपासना गरिरहन्छन्) ।
यत्नवान् कर्मयोगीहरु दृढव्रत लिई, योगयुक्त भएर नित्य मेरो नाम कीर्तन र मलाई नमस्कार गर्दै भक्तिपूर्वक मेरो उपासना गरिरहन्छन्् ।।१४।।

महात्माजनले ईश्वरलाई किन चिन्न सक्छन्? सो कुरा बताउँदै भनिएको छ– मलाई भूत प्राणीको आदिकारण र अविनाशी भन्ने जानेका हुन्छन् ।
जो मानिस भगवद्भजन गर्छन् उनीहरुलाई यहाँ महात्मा भनिएको छ । तथा ‘अनन्यमनसः’ को अर्थ हुन्छ मन अन्यत्र नलगाउने, एक चित्त । यस्ता एक चित्त भक्त महात्माहरुले दृढतापूर्वक मेरो नाम कीर्तन गर्दै तथा मेरो प्राप्तिका लागि भक्तिपूर्वक मेरो उपासना गर्छन्। जसरी भोक अलग अलग हुनसक्छन् तर त्यसलाई पूरा गरे पछि प्राप्त हुने तृप्ति एक हुन्छ, जसरी पहाडमा बनेको मन्दिरमा जाने अलग अलग गोरेटाहरु हुन्छन् तर मन्दिरमा पुगेपछि सबै गोरेटोहरु त्यसै मन्दिरमा मिसिन्छिन् । ठीक त्यसै गरी ईश्वरको उपासना पद्धति अनेक प्रकारको हुन सक्छ तर प्राप्ति एउटै हुन्छ । चाहे त्यो ज्ञान मार्गबाट पुगोस् वा कर्ममार्गबाट। जुनसुकै मार्गबाट हिँडेको भए पनि त्यो महात्मा हो ।
ज्ञानयज्ञेन चाप्यन्ये यजन्तो मामुपासते ।
एकत्वेन पृथक्त्वेन बहुधा विश्वतोमुखम् ।।१५।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

अपि अन्ये च (तथा अन्य कसै) माम् (मलाई) एकत्वेन (एकत्व, अभेद भावले) पृथक्त्वेन (भेदभावले) बहुधा (अनेक प्रकारले) ज्ञानयज्ञेन (ज्ञानयज्ञद्वारा) यजन्तः (यजन, पूजन गर्दै) विश्वतोमुखम् (विश्वरुप, सर्वत्र उपस्थित रुपको) उपासते (उपासना गर्छन्) ।
यस्तै अन्य कसैले मलाई एकत्व अर्थात् अभेद भावले र पृथकत्व अर्थात् भेदभावले अथवा अनेक प्रकारका ज्ञान यज्ञ द्वारा पूजा गरेर मेरा विश्वरुवरुपको उपासना गर्छन् ।। १५ ।।

कसैले मलाई एकत्वेन अर्थात् अभेदभावले यजन गर्छन् । अन्य केहीले पृथकत्वेन अर्थात् भिन्न भिन्न भावले उपासना गर्छन् । कसैले ज्ञानयज्ञद्वारा विश्वतोमुख स्वरुपको उपासना गर्छन् । आफैंमा ईश्वर देख्नु अभेदभाव वा अद्वैत भाव हो भने ईश्वरलाई मालिक र आफूलाई फरक ठान्नु भेद भाव हो । यस्तो फरक ठान्ने अनेक भाव छन् । भागवतमा नवधा भक्ति बताइएको छ– १.श्रवण, २. कीर्तन, ३. स्मरण, ४. पादसेवन, ५. पूजन, ६. नमस्कार, ७. दास्यभाव, ८. सखा भाव, ९. समर्पण भाव । यसभन्दा फरक भावका भक्ति पनि पाइन्छन्। उदाहरणका लागि मीराका कवितामा ईश्वरलाई प्रेमीको रुपमा तथा सूफी फकीर रुमीका कविताहरुमा ईश्वरलाई प्रेमिकाको रुपमा वर्णन गरिएको छ ।
विश्वतोमुख परमात्माको अर्थ हो सर्वत्र व्याप्त परमेश्वर, विश्वरुप परमेश्वर । परमेश्वरको विश्वरुप अर्थ स्पष्ट गर्नका लागि नै भगवान् श्रीकृष्णले विभिन्न तरीकाले ईश्वरीय गुण प्रभाव, र विभूतिहरुको प्रारम्भ गर्नु भएको छ । अध्याय ११ मा त्यो स्वरुप प्रकट हुने छ ।
अहं क्रतुरहं यज्ञः स्वधाहमहमौषधम् ।
मन्त्रोsहमहमेवाज्यमहमग्निरहं हुतम् ।।१६।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

अहम् क्रतुः (म क्रतु हूँ) अहम् यज्ञः(म यज्ञ हूँ) अहम् स्वधा (म स्वधा हूँ) अहम् औषधम् (म हवन सामग्री हुँ) मन्त्रः अहम् (म मन्त्र हूँ) अहम् एव आज्यम् (म आज्य हूँ) अहम् अग्निः (म अग्नि हूँ) अहम् हुतम् (म हवन क्रिया हूँ) ।
क्रतु म हूँ । यज्ञ (वैदिक यज्ञ) म हूँ, स्वधा अर्थात् श्राद्धमा पितृलाई अर्पण गरिने अन्न म हूँ, यज्ञमा आहुति गरिने हवनसामग्री, यज्ञमा पढिने मन्त्र, यज्ञको अग्निमा चढाइने आज्य (घिउ), अग्नि, हवन क्रिया सबै म नै हूँ ।। १६ ।।

यज्ञलाई उदाहरण दिएर भनिएको बत्तीस अक्षरको यस श्लोकमा आठवटा अहम् उल्लेख गरिएका छन् । जसमा सोह्र अक्षर हुन्छन् । अन्य कुरा बाँकी सोह्र अक्षरमा पूरा गरिएको छ। त्यसैले यस श्लोकमा उपमेय र उपमानको सुन्दर प्रयोग देख्न सकिन्छ ।
श्लोक १६ ले वैदिक यज्ञलाई संकेत गर्दै भनेको छ– क्रतु, यज्ञ, स्वधा, औषधि, मन्त्र, आज्य, अग्नि, हवन क्रिया सबै म नै हूं ।
क्रतु भनेको यज्ञक्रतु हो । तथा यज्ञक्रतुको अर्थ हुन्छ यज्ञीय कृत्यको संकल्प, मुख्य अनुष्ठान, यज्ञको प्रमुख कर्ता अथवा यज्ञपुरुष । यज्ञमा कुनै मूर्ति प्रयोग गरिँदैन । यो निराकारको पूजा हो तथापि यज्ञपुरुष यज्ञमा उपस्थित हुन्छन् भन्ने मानिन्छ । यिनै यज्ञ पुरुषले यज्ञका आहुति स्वीकार गर्छन् ।
यज्ञका अनेक अर्थ हुन्छन् । भूत यज्ञ, मनुष्य यज्ञ, पितृ यज्ञ, देव यज्ञ, र ब्रह्म यज्ञ । यज्ञको एक अर्थ हो विष्णु पनि हो । यज्ञको एउटा अर्थ अग्नि पनि हो । यस श्लोकमा यज्ञको अर्थ ब्रह्म यज्ञ वा वैदिक यज्ञ हो ।
अग्नि म हूँ । यज्ञको वैदिक विधि विधानमा अग्निको बहुतै ठूलो महत्त्व छ । यज्ञ क्रियामा अग्निको विशेष गुणगान गरिन्छ । विशेष विधिले उत्पन्न गरिन्छ । जीवन भनेको अग्नि नै हो । मानिसको शरीरमा जबसम्म ताप छ तब सम्म ऊ जीवित छ । जोरोस्टर धर्मसम्प्रदायमा पनि अग्निलाई परमात्मा– अहुरमज्दको प्रतीक मानिएको छ ।
स्वधाको अर्थ हो– श्राद्धमा पितृलाई अर्पण गरिने अन्न । पितृलाई तर्पण दिँदा पनि तस्मै स्वधा नमः भनिन्छ । स्वधा भनेर अर्पण गरे पछि पितृले स्वीकार गर्छन् भन्ने मानिन्छ ।
औषधि, घिउ, मन्त्र, आहुति म हूँ । औषधिको अर्थ हो हवन सामग्री र आज्यको अर्थ हो यज्ञको अन्तमा चढाइने तरल घिउ । मन्त्र भनेको त्यो शब्दावली हो जसलाई उच्चारण गर्दै स्वाहा भनेर यज्ञको अग्निमा आहुति दिइन्छ । स्वाहा उच्चारण गर्दै यज्ञ अग्निमा विधिपूर्वक हवन सामग्री र घिउ चढाउने क्रिया लाई आहुति भनिन्छ । हवन सामग्री अग्निलाई स्वीकार गरीदिनु हुन गरिएको अनुरोध नै आहुति हो त्यो अनुरोधरुपी हवन क्रिया म हूँ ।
वैदिक समयमा हवन एक महत्त्वपूर्ण धार्मिक र सामाजिक क्रियाकलाप थियो । अहिले केही वातावरणविद्हरु यसको वातावरणीय उपयोगिताको बारेमा खोजी गरिरहेका छन् । यसबाट रेडियो विकिरणको प्रभावलाई नियन्त्रण गर्न सकिन्छ भन्ने मान्न थालिएको छ । वैदिक विधि पूर्वकका यज्ञ वातावरण प्रदूषण नियन्त्रणमा लाभदायक छन् भन्ने कुरा वैदिक हवनका समर्थकहरुले गरेका छन् । यो संसार नै समष्टि रुपमा ईश्वर हो भने यसमा भएको प्रत्येक वस्तु र प्राणी, उसैको स्वरुप, उसको गुण, उसको ध्वनि, उसले आफ्नो प्रकृति अनुरुप गर्ने कृत्य व्यष्टि रुपमा ईश्वर हो ।
पिताहमस्य जगतो माता धाता पितामहः ।
वेद्यं पवित्रमोङ्कार ऋक्साम यजुरेव च ।।१७।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

अहम् एव (म नै) अस्य (यस) जगतः (जगतको) पिता (जन्मदाता पिता) माता (गर्भधारण गर्ने माता) धाता (हुर्काउने धाता) पितामहः (पिताको पनि पिता) वेद्यम् (जान्नु पर्ने) पवित्रम् ओङ्कार पवित्र (ओंकार) च (तथा) ऋक् (ऋग्वेद) साम (सामवेद) यजुः (यजर्वेद हूँ)।
यस जगतको पिता, माता, धाता, र पितामह म नै हूँ । जान्नु पर्ने र जान्ने योग्य त्यो पनि म हूँ । पवित्र ओंकार, ऋग्वेद, सामवेद, र यजुर्वेद पनि म नै हूँ ।। १७ ।।

जगत्को अध्यक्षता मैले गरेको छु (श्लोक १०) भन्ने वाक्यांशको पुष्टिका लागि भनिएको छ– यस जगतको माता, पिता, र पितामह म नै हूँ । जगतको बीज, त्यस बीजबाट जगतको उत्पत्ति, त्यसलाई धारण र पालन गर्ने ईश्वर हो । पवित्रतम कुरा पनि ईश्वर हो । ईश्वरको नामले सबै कुरालाई शुद्ध बनाउँछ । जगत्मा जान्नु पर्ने एक मात्र कुरा परमात्माको ज्ञान हो । त्यस ज्ञानका अगाडि अन्य सबै तुच्छ छन् ।
अध्याय सात श्लोक आठमा झैं ॐ को महत्ता यहाँ फेरि दोहोर्याइएको छ । सामवेदमा ओंकारलाई उद्गीथ भनिन्छ । यसको अर्थ हो सबैभन्दा सुरुको गीत । वैदिक यज्ञमा जसले सर्वप्रथम ॐ को उच्चारण गर्दै मन्त्र वाचन प्रारम्भ गर्छ त्यसलाई उद्गाथा भनिन्छ । ओंकारको महत्त्व बताउँदै छान्दोग्य उपषिदमा भनिएको छ– सृष्टिको सार पृथ्वी, पृथ्वीको सार जल, जलको सार अन्न, अन्नको सार मानव देह, मानव देहको सार वाणी, वाणीको सार वेदका ऋचा, ऋचाको सार सामवेद, सामवेदको सार उद्गीथ हो ।
यदि कुनै मन्त्रमा ओंकार भएन भने त्यस मन्त्रको प्रभावकारिता कम हुन्छ भन्ने मानिन्छ । यो एकाक्षर मन्त्र हो तथा गम्भीर भाव र अर्थले भरिएको छ । सबै मन्त्रहरुमा ओंकारलाई पहिले लगाउनाले अर्थ भाव चमत्कारी हुन्छन् । ओंमय ब्रह्माण्डको अधिष्ठान समेत ॐ हो । ब्रह्माण्डका व्यक्तिहरुको पृथक पृथक भावको अन्तिम गति परब्रह्म हो । त्यस कारण परब्रह्मको ध्यान गर्दै अन्य मन्त्रहरुको भावार्थ सिद्ध गर्नु पर्छ । यस उच्च आशयद्वारा नै सब मन्त्रहरुको जप गर्नाले ॐको जुन आत्मास्वरुप हो त्यसका संस्कारहरुलाई दृढ गर्दै लैजान्नु पर्छ । ॐ परब्रह्म हो त्यसकारण त्यो अणु अणु मै भरिएको छ । यो सम्पूर्ण जगत् मणिहरुका भित्र धागो जस्तै परमात्माबाट नदेखिने गरी अड्याइएको छ ।
तीनवटा वेद पनि म नै हूँ । हिन्दुहरुको पवित्रतम ग्रन्थ हो वेद । यो ज्ञानको प्राचीनतम उपलब्ध अभिलेख हो । वेदमा भएका कुराहरु हजारौं वर्षसम्म मौखिक परम्परामा चलिआएका थिए । त्यसैले यसको एक नाम श्रुति हो । यो ज्ञानको कति पुरानो अभिव्यक्ति हो भने यसको मूल पत्ता लगाउन गाह्रो छ । त्यसैले यसको नाम अपौरुषेय भयो । जुन जुन ऋषिले यी मन्त्रलाई अनुभव गरे उनीहरुले अकृत्रिम अनुभवद्वारा अनुभव गरे । वेद मन्त्रका रचयिता दृष्टा हुन् स्रष्टा होइनन् । दर्शन र धर्मशास्त्र जस्तो प्राचीन विषय मात्र होइन अर्थशास्त्र, भाषाशास्त्र, समाजशास्त्र, भौतिक विज्ञान र इञ्जिनीयरिंगजस्ता आधुनिक विषयका आधारभूत अवधारणाहरु पनि वेदमा पाइन्छन् । वेदको कर्मकाण्डका मन्त्रहरु ब्राह्मण ग्रन्थमा छन् । ब्राह्मण ग्रन्थबाट आरण्यक र उपनिषद बनाइएका छन् । ऋग्वेद स्तुति प्रधान वेद हो । यसका मन्त्रलाई ऋचा भनिन्छ । यजुर्वेदमा यज्ञसम्बन्धी मन्त्रहरु उल्लेख गरिएका छन् । सामवेद संगीतमय र सबभन्दा सानो वेद हो। यसमा संगीतमय तरिकाले गाउनु पर्ने वेद मन्त्र छन् ।
गतिर्भर्ता प्रभुः साक्षी निवासः शरणं सुहत् ।
प्रभवः प्रलयः स्थानं निधानं बीजमव्ययम् ।। १८ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

गतिः (गति, पुग्नु पर्ने) भर्ता (भर्ता, पोषणकर्ता) प्रभुः (नियन्ता, सबैलाई अह्राउने) साक्षी (साक्षी, केही नगर्ने) निवासः (निवास) शरणम् (शरण, रक्षक) सुहत् (सुहृत्, प्रत्युपकारको भावना बिना उपकार गर्ने) प्रभवः (उत्पत्ति) प्रलयः (प्रलय, विनाश) स्थानम् (आधार) निधानम् (अन्तिम सुरक्षित स्थान) अव्ययम् (अविनाशी) बीजम् (प्रलयकालमा पनि सुरक्षित) म नै हूँ ।
सबैको गति, पोषणकर्ता, प्रभु, साक्षी, अन्तिम निवास, अन्तिम शरण, सुहृत्, उत्पत्ति र प्रलय, निधान, र अविनाशी बीज पनि म नै हूँ ।। १८ ।।

परमात्मा के हो ? कस्तो छ ? यस श्लोकमा सोही कुरा चिनाउने प्रयास गरिएको छ । परमात्मा सबै कुरा हो त्यसैले ऊ सबै विपरीत गुण पनि हो । सबैको गति अर्थात् बाटो पनि म हूँ, पुग्नु पर्ने ठाउँ र निवास म हूँ । सबैलाई अह्राउने नियन्ता पनि म हूँ भने सबैको सुहृत् पनि म हूँ । सबैको भरणपोषण गर्ने पनि म हूँ भने केही नगर्ने साक्षी पनि म हूँ । अन्तिम निवास, अन्तिम शरण, सुहृत्, उत्पत्ति, प्रलय, आधार र अविनाशी बीज हूँ ।
परमात्मा भर्ता अर्थात् भरण पोषण कर्ता हो । भरणपोषण कसले गर्छ ? जसले प्रेम गर्छ, जसले हुर्काउने दायित्व लिएको छ, अभिभावकले लिए जस्तो । तर परमात्मा साक्षी पनि हो। साक्षीको अर्थ हुन्छ केही नगर्ने तर हेर्ने । कुनै घटनाको चश्मदीद गवाह । उसले आफैं केही गरेको हुंदैन तर कसले के गरेको छ सबै थाहा हुन्छ, सी सी टी क्यामरा जस्तो । शुभ अशुभ दुवै कुरा हेर्छ, आफूले सुधार्ने वा बिगार्ने गर्दैन ।
प्रभुको अर्थ हो नियामक, अह्राउने, गलती गरेमा सजायँ दिने । नियामकले कसैलाई मायाँ गर्दैन, क्षमा पनि गर्दैन, उसले नियम पालन गराउँछ ।
ईश्वर सुहृत् पनि हो । सुहृत्को अर्थ हुन्छ बिना कुनै स्वार्थ हित गर्ने । बजारमा पैसा तिरे पछि मद्दत पाइन्छ । चिकित्सकलाई पैसा दिएर औषधि पाइन्छ, वकीलले फीस लिएर न्यायका लागि लड्छ तथापि तिनीहरुलाई सुहृत् भन्न सकिंदैन । सुहृत्को अर्थ हुन्छ जसले हृदयको कुरा बुझ्छ । भगवान् श्रीकृष्णको उदाहरण छ । मित्र सुदामा दरबार भित्र आउन डराएका थिए । आफै दौडेर ढोकामा गएर ल्याउनु भयो । सुदामा निर्धनताको प्रतीक हुन् । आफ्ना परम मित्रलाई भेट्न जाँदा उपहारको रुपमा दानमा आएका एक मुठी चामल लिएर जाने कुराले ब्राह्मणको दुर्दशा व्यक्त हुन्छ । गरीब ब्राह्मणको दानमा आएका चामल कस्ता थिए होलान् ? भुस समेत भएका । कपडा फाटेका । खुट्टामा काँडा बिझेका । त्यस्तालाई भगवानले आफ्नै सिंहासनमा बसाउनु भयो । उसले नमागीकन सारा ऐश्वर्य पुर्याइदिनु भयो । तर उसलाई मुखले केही भन्नु भएन ।
अन्तिम आश्रय र शरणदाता पनि परमात्मा हो । बैंकिङ्ग व्यवसायमा केन्द्रीय बैंकलाई अन्तिम आश्रयदाता भनिन्छ । यसको अर्थ के हो भने वाणिज्य बैंकिङ्गहरुले अन्यत्र कुनै ठाउँबाट धन सहयोग पाएनन् भने त्यो अन्तिम सहारा हो । त्यसै गरी हामीलाई कुनै दुख पर्दा,
असजिलो हुँदा सबै उपाय गरेर हारे पछि जसले सहायता गर्छ त्यो हाम्रो आश्रयदाता र शरणदाता हो । मानिस बिरामी परेमा अभिभावक खोज्छ, चिकित्सक खोज्छ र पनि उपाय लागेन भने भन्छ– हे परमात्मा रक्षा गर । बच्चा लड्यो भने रुन्छ– आमा ।
आचार्य शङ्करले एक स्तोत्रमा माताको शरण पर्दै भनेका छन् –
मत्समः पातकी नास्ति पापाघ्नी त्वत्समा न हि ।
एवं ज्ञात्वा महादेवी यथायोग्यं तथा कुरु ।।
हे माता, म जस्तो अधम अर्को छैन तर सारा पाप क्षमा गर्ने तपाईं जस्तो पनि कोही छैन। म तपाईंको शरणमा आएको छु, जे ठीक लाग्छ, सोही गर्नु होस् ।
सबै पाप क्षमा गर्नेले के गर्छ ? हृदयमा लगाउँछ । प्रेम गर्छ ।
ईश्वरलाई परम निधान पनि भनिन्छ । निधानको अर्थ हो सबभन्दा सुरक्षित, ढुकुटी, कोष । अत्यन्त सुरक्षा दिएर राख्ने स्थान जस्तो बालक गर्भमा रहन्छ । परमात्मा सृष्टिको परम् निधान हो । जसरी बिउले वृक्षलाई सुरक्षित राखेको हुन्छ, ठीक त्यस्तै परमात्माले सृष्टिलाई सुरक्षित राख्नुहुन्छ।
त्यसैले परमात्मालाई बीज पनि भनिन्छ । तर यो सांसारिक बीज जस्तो होइन, अव्यय बीज हो । सांसारिक बीज कस्तो हुन्छ भने यसबाट उत्पत्ति हुनासाथ यो विनाश भइदिन्छ तर परमात्मा कस्तो बीज हो भने यसबाट सारा सृष्टि हुँदा पनि त्यो रहन्छ । यसै बीजमा सृष्टि समाप्त हुन्छ तर यो बिउ यथावत रहन्छ । त्यसैले यसलाई अव्यय बीज भनिन्छ ।
तपाम्यमहमहं वर्षं निगृह्णाम्युत्सृजामि च ।
अमृतं चैव मृत्युश्च सदसच्चाहमर्जुन ।।१९।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

अर्जुन (हे अर्जुन) अहम् तपामि (मैले तापदिन्छु) अहम् वर्षम् (मैले वर्षा गराउँछु) निगृह्णामि (आकर्षण गर्छु, लिन्छु) उत्सृजामि च (र छोड्छु) अमृतम् (अमृत) च (तथा) मृत्युः (मृत्यु) च (तथा) सत् असत् च सत् र असत्) अहम् एव (म नै हूँ)।
हे अर्जुन, मैले ताप दिन्छु (सूर्य बनेर), पानी आकर्षण गर्छु र छोड्छु र वर्षा गराउँछु। म नै अमृत र मृत्यु हूँ । सत् र असत् पनि म नै हूँ ।। १९ ।।

थप स्पष्ट गर्न यस श्लोकमा भन्नु हुन्छ– सूर्यको ताप, वर्षाको कारण, अमृत, मृत्यु तथा सत् र असत् सबै परमात्मा हो । सूर्यको भित्र जुन ताप शक्ति छ, त्यो परमात्माको शक्ति हो । सूर्यको ताप शक्तिलाई कीटाणुनाशक र आरोग्यदाता भनिन्छ । वर्तमान समयमा सौर्य ताप वैकल्पिक ऊर्जाको स्रोत समेत मानिएका छ ।
सधैं रहने सत् र मिथ्याभास हुने असत् दुवै परमात्माको शक्ति हो । सम्पूर्ण शास्त्रहरुमा गीताका कृष्णमा मात्र यो साहस छ, जसले सत् मात्र होइन, असत् पनि ईश्वर हो भन्न सकेको छ । असल मात्र होइन खराबको शक्ति पनि उसैको हो । सायद उसका लागि असल र खराब दुई विपरीत कुरा नै होइनन् । सबै प्रकृतिका तत्त्व हुन्, सृष्टिका आवश्यक तत्त्व।
सार के हो भने सबै प्रकारका विपरीत गुण परमात्मा हो । सत् पनि हो र असत् पनि हो । भूमि, जल, वायु, तेज, आकाश सबै परमात्मा हो । यदि ईश्वर मायालु पिता हो भने निर्दयी सजायँ दिने नियामक पनि हो । ऊ बाहेक अरु केही पनि छैन। सृष्टिको उत्पत्ति, संचालन, र प्रलय पनि म हूँ । व्यक्तिका लागि जुन जन्म हो, सृष्टिका लागि त्यही उत्पत्ति हो । व्यक्तिका लागि जुन मृत्यु हो, सृष्टिका लागि प्रलय हो । जुन नियमले जन्म गर्छ, सोही नियमले मृत्यु पनि हुन्छ । जुन नियमले उत्पत्ति गर्छ सोही नियमले प्रलय पनि गर्छ । यी दुवै विरोधी देखिए पनि दुवै आवश्यक छन् ।
ईश्वर जन्म पनि हो र मृत्यु पनि हो । जुन शक्तिले माताको गर्भमा बालक जन्माउँछ र हुर्काउनका लागि माताको स्तनमा दूध भर्ने काम गर्छ, मृत्यु गराउने शक्ति पनि उही हो । यदि उसले जन्म र मृत्युको संगै व्यवस्था गर्छ भने उसको विशाल व्यवस्थामा दुवै उत्तिकै जरुरी भएर नै हो ।
एक दिन अकबरले बीरबलसंग मनको कुरा यसरी गरेछन्– सधैं यस्तै राजा भइरहन पाए कस्तो हुन्थ्यो बीरबल ?
बीरबलले कुरा बुझिहाले । अकबरलाई अमर हुन मन छ । अनि भने– यस्तो हुने भए त हजुरको पालो नै आउने थिएन । सृष्टि सञ्चालनका लागि जीवन मात्र होइन मृत्यु पनि आवश्यक हुन्छ ।
त्रैविद्या मां सोमपाः पूतपापा,
यज्ञैरिष्ट्वा स्वर्गतिं प्रार्थयन्ते ।
ते पुण्यमासाद्य सुरेन्द्रलोक–
मश्नन्ति दिव्यान्दिवि देव भोगान् ।।२०।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

त्रैविद्या (तीन वेदअनुसार कर्म गर्ने) माम् (मलाई) सोमपाः (सोम पान गर्ने) पूतपापा (पापरहित भएर) यज्ञैः (यज्ञद्वारा) इष्ट्वा (पूजा गरेर) स्वर्गतिम् (स्वर्ग सुख) प्रार्थयन्ते (प्रार्थना गर्छन्, चाहना गर्छन्) ते (तिनीहरुले) पुण्यम् (पुण्य) आसाद्य (प्राप्त गरेर) सुरेन्द्रलोकम् (स्वर्गलोक प्राप्त गरेर) दिवि (स्वर्गमा) देव भोगान् (देवताहरुले भोग गर्ने) दिव्यान् (दिव्य) अश्नन्ति (उपभोग गर्छन्) ।
तीन वेद अनुसार कर्म गर्ने, सोम पान गर्ने पापरहित भएर मलाई यज्ञद्वारा पूजा गरेर स्वर्गको सुख चाहन्छ, तिनीहरुले आआफ्ना पुण्य अनुरुप स्वर्गलोक प्राप्त गरेर देवताका अनेक गर्ने दिव्य भोग उपभोग गर्छन् ।।२०।।
ते तं भुक्त्वा स्वर्गलोकं विशालं,
क्षीणे पुण्ये मत्र्यलोकं विशन्ति ।
एवं त्रयीधर्ममनुप्रपन्ना, गतागतं कामकामा लभन्ते ।।२१।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

ते (उनीहरु) तम् (त्यस) स्वर्गलोकम् (स्वर्गलोकका) विशालम् पुण्ये (विशाल पुण्य) भुक्त्वा (भोग गरेर) क्षीणे (पुण्य क्षीण भए पछि) मत्र्यलोकम् (मृत्युलोकमा) विशन्ति (प्रवेश गर्छन्) एवम् (यसरी) त्रयीधर्मम् (तीनवेदमा भनिएका सकाम कर्मको) अनुप्रपन्ना (आश्रय लिने) कामकामा (र सो अनुसार कामना गर्नेहरु) गत आगतम् (आवत जावत मात्र, स्वर्ग जाने र मत्र्यलोक आउने काम) लभन्ते (गरिरहन्छन्) ।
उनीहरु त्यस स्वर्गलोकका विशाल पुण्य भोग गरेर त्यो पुण्य सकिए पछि फेरि मृत्युलोकमा प्रवेश गर्छन् । यसरी त्रयी धर्म अर्थात् तीनवेदमा भनिएका सकाम कर्मको आश्रय लिने र कामना गर्ने अर्थात् काम्य उपभोगको इच्छा गरी कर्म गर्नेहरुलाई स्वर्गमा जाने र यहाँ आउने काम गरिरहनु पर्छ ।। २१ ।।

तीन वेद अनुसार सकाम कर्म गर्ने, सोम पान गर्ने अर्थात् भोगको इच्छा गर्नेहरुले ईश्वरलाई यज्ञको विधिद्वारा पुजेर स्वर्ग (सुख) प्राप्त गर्छन् । तर यस पछि आआफ्नो पुण्य अनुरुप स्वर्गलोक प्राप्त गरेर देवताहरुले पाए सरह सुख भोग पनि पाउँछन् तर त्यो सबै फलको भोग असीमित हुँदैन । जुन दिन स्वर्गको विशाल पुण्य क्षीण हुन्छ उनीहरु पुनः मृत्युलोक आउनै पर्छ अर्थात् उनीहरुलाई स्वर्ग जाने र मर्त्यलोक आउने जाने गरिरहनु पर्छ । यो वास्तवमा पुनर्जन्मको चक्र हो । यसबाट मुक्ति हुँदैन । भोगको इच्छाले गरिएका यज्ञहरुले फल अवश्य दिन्छन् तर त्यो फल निश्चित समयका लागि मात्र हो भन्ने कुरा यी श्लोकमा स्पष्ट गरिएको छ । यस पुनर्जन्मको चक्रबाट मुक्ति कसरी हुन्छ? सो कुरा आउने श्लोकमा व्याख्या गरिएको छ।
अनन्याश्चिन्तयन्तो मां ये जनाः पर्युपासते ।
तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम् ।।२२।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

अनन्याः (अनन्य भावले, एकाग्र मनले) माम् (मेरो) चिन्तयन्तः (चिन्तन गर्दै) ये जनाः (जुन मानिसहरुले) पर्युपासते (राम्ररी उपासना गर्छन्) तेषाम् (तिनी) नित्य अभियुक्तानाम् (नित्य योगयुक्त मानिसहरुका) योगक्षेमम् (योग–क्षेमको) अहम् (मैले) वहामि (वहन गर्छु, जिम्मा लिन्छु) ।
जुन मानिसले अनन्य भावले मेरो चिन्तन गर्दै मेरो राम्ररी उपासना गर्छन्, मैले ती नित्य योगयुक्त मानिसहरुका योग क्षेमको जिम्मा लिन्छु ।।२२।।

अनन्य भावले परमात्माको चिन्तन र पूजन गर्नेको जिम्मा ईश्वरले लिन्छन् । यसैलाई योगक्षेम भनिएको छ । जसले योगक्षेम ईश्वरको जिम्मा छ भन्ने बुझ्छन्, उसको जिम्मा आफूले लिने प्रत्याभूति यस श्लोकमा दिइएको छ ।
अनन्य भावको अर्थ हो जसले अर्को कसैलाई देख्दैन । निशाना लगाउने अर्जुन दृष्टिको अवस्था अथवा प्रेममा डुबेकी प्रेमिकाले प्रेमी बाहेक अर्को कसैलाई देख्दिनन्, ठीक त्यस्तो यस्तो अवस्था । कबीरले भनेको जित देखूं तित तू र मोतीरामले भने झैं जता हेर्छु उतै मेरा नजर्मा राम प्यारा छन् । त्यसरी जसले परमात्माको उपासना गर्छन् तिनीहरुको योगक्षेम ईश्वरले वहन गर्छन् ।
यसलाई स्पष्ट गर्ने कथा छ भक्त प्रह्लादको । जसले आफूलाई पूर्णतया ईश्वरका समर्पण गरीदिएका छन् । ऊसंग रिसाएको हिरण्यकश्यपले पहाडबाट खसाल्दा, आगोमा राख्दा, हात्तीले कुल्चाउन लगाउँदा प्रह्लाद सुरक्षित रहन्छन् । तर जब हिरण्यकश्यप आफैं तरबार लिएर मार्न उद्यत हुन्छ, त्यसबेला परमात्मा नर्सिंह अवतारको रुपमा प्रकट भएर उसको सुरक्षा गर्नुहुुन्छ ।
त्यसो भए के अन्य देवताहरुको पूजन गर्नेहरुको सुरक्षा हुँदैन ? यस कुरालाई स्पष्ट गर्दै भनिएको छ–
येऽप्यन्यदेवता भक्ता यजन्ते श्रद्धयान्विताः ।
तेऽपि मामेव कौन्तेय यजन्त्यविधिपूर्वकम् ।।२३।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

कौन्तेय (हे कौन्तय) श्रद्धयान्विताः (श्रद्धाले युक्त भई) ये (जुन) भक्ता (भक्तहरुले) अपि (पनि) अन्यदेवता (अन्य देवता) यजन्ते (पूजा गर्छन्) ते अपि (तिनीहरुले पनि) अविधिपूर्वकम् (अविधिपूर्वक) माम् एव (मलाई नै) यजन्ति (पूजन गर्छन्) ।
हे कौन्तेय, श्रद्धाले युक्त भई जुन भक्तले अन्य देवताहरुको पूजा गर्छन् तिनीहरुले अविधिपूर्वक भए पनि मलाई नै पूजन गर्छन् ।।२३।।
अहं हि सर्वयज्ञानां भोक्ता च प्रभुरेव च ।
न तु मामभिजानन्ति तत्त्वेनातश्च्यवन्ति ते ।।२४।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

अहम् (म) हि (नै) सर्वयज्ञानाम् (सबै यज्ञहरुको) भोक्ता (भोक्ता) च (तथा) प्रभुः (स्वामी) एव च (पनि) तु (तर) माम् (मलाई) तत्त्वेन (तत्त्वले) न अभिजानन्ति (जान्दैनन्) अतः (त्यसैले) ते (तिनीहरु) च्यवन्ति (पतन् हुन्छन्) ।
किनभने सम्पूर्ण यज्ञको भोक्ता र स्वामी पनि म नै हूँ । तर उनीहरुले मलाई तत्त्वले जान्दैनन्, त्यसैले पतन हुन्छन् अर्थात् पुनर्जन्ममा खस्छन् ।।२४।।
यान्ति देवव्रता देवान्पितृन्यान्ति पितृव्रताः ।
भूतानि यान्ति भूतेज्या यान्ति मद्याजिनोऽपि माम् ।।२५।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

देवव्रता (देवताहरुलाई पूजन गर्ने) देवान् (देवताहरुलाई) यान्ति (प्राप्त हुन्छन्) पितृव्रताः (पितृपूजकले) पितृन् (पितरलाई) यान्ति (प्राप्त गर्छन्) भूतेज्या (भूतप्राणीलाई पूजन गर्ने) भूतानि (भूत प्राणीलाई) यान्ति (प्राप्त गर्छन्) मत् (मेरो) याजिनः (पूजा गर्नेले) अपि माम् (मलाई नै प्राप्त गर्छन्)।
देवताहरुलाई पूजन गर्नेले देवताहरुलाई प्राप्त गर्छन्, पितृपूजकले पितृलाई प्राप्त गर्छन् र भूतप्राणीलाई पूजन गर्नेले भूत प्राणीलाई नै प्राप्त गर्छन् । त्यसै गरी मेरो उपासना गर्नेले मलाई नै प्राप्त गर्छन् ।। २५ ।।

रोगीले चिकित्सकलाई त्यसबेला परमात्मा देख्छ जब ऊ स्वास्थ्यका लागि त्यहाँ जान्छ । बेरोजगारले रोजगारदातालाई परमात्माको रुपमा देख्छ । यसरी परमात्मा देख्नु अविधिपूर्वक हो ।
परम सत्ताको कामना गर्नका लागि परम चिन्तनको आवश्यकता पर्छ । मानिसहरुले जसलाई भजन पूजन वा चिन्तन गर्छन् उसैलाई प्राप्त गर्छन् । तर सत्य के पनि हो भने प्रत्येकले आफ्नो क्षमता अनुसार नै चिन्तन वा कामना गर्छन् ।
मलाई यथार्थ जान्नेहरुले मेरो पूजन गर्छन् नजान्नेहरुले देवता, पितृ आदिको पूजन गर्छन् । त्यसैले उनीहरुले म, ईश्वरलाई प्राप्त नगरेर देवता र पितृलाई प्राप्त गर्छन् ।
पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति ।
तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मनः ।। २६ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

यः (जसले, जुन भक्तले) मे (मलाई) भक्त्या (भक्तिपूर्वक) पत्रम् (पात) पुष्पम् (फूल) फलम् (फल) तोयम् (जल आदि) प्रयच्छति (प्रदान गर्छ, अर्पण गर्छ) अहम् (मैले) भक्ति (भक्तिपूर्व प्राप्त) प्रयत आत्मनः (प्रयत् आत्मन, शुद्ध मनले दिएको) तत् (त्यो) उपहृतम् (उपहार) अश्नामि (खान्छु, ग्रहण गुर्छु)।
जुन भक्तले मलाई भक्तिपूर्वक पात, फूल, फल, जल आदि अर्पण गर्छ त्यस प्रयतात्मनले अर्थात् शुद्ध चित्त मानिसले भक्तिपूर्वक अर्पण गरेको त्यो उपहार मैले खुशी साथ ग्रहण गर्छु ।। २६ ।।
यत्करोषि यदश्नासि यज्जुहोषि ददासि यत् ।
यत्तपस्यसि कौन्तेय तत्कुरुष्व मदर्पणम् ।। २७।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

कौन्तेय (हे कौन्तेय) यत् करोषि (जे काम गर्छौ) यत् अश्नासि (जुन कुरा खान्छौ) यत् जुहोषि (जे जे हवन गर्छौ) यत् ददासि (जे जति दान गर्छौ) यत् तपस्यसि (जुन तप गर्छौ) तत् (त्यो) मत् (मलाई) अर्पणम् (अर्पण) कुरुष्व (गर्ने गर) ।
हे कौन्तेय, तिमीले जे काम गर्छौ, जुन कुरा खान्छौ, जे जे हवन गर्छौ, जे जति कुरा दान गर्छौ र जुन तप गर्छौ त्यो सब मलाई नै अर्पण गर्ने गर ।। २७ ।।
शुभाशुभफलैरेवं मोक्ष्यसे कर्मबन्धनैः ।
सन्न्यासयोगयुक्तात्मा विमुक्तो मामुपेष्यसि ।। २८।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

एवम् (यसरी व्यवहार गर्नाले) शुभ अशुभफलैः (शुभ र अशुभ फलरुप) कर्मबन्धनैः (कर्मबन्धनबाट) मोक्ष्यसे (मुक्त हुने छौ) सन्न्यास (सन्न्यास योगले) युक्त आत्मा (युक्तात्मा भएर) विमुक्तः (मुक्त भई) माम् (मलाई) उप एष्यसि (प्राप्त गर्ने छौ, मुक्त हुने छौ) ।
यसरी व्यवहार गर्नाले कर्महरुको शुभ अशुभ फलरुप बन्धनहरुबाट अलग भई, सन्न्यास योगले युक्तात्मा भएर मुक्त भई मेरो नजीकमा आउने छौ अर्थात् मुक्त भई ममा मिल्ने छौ।।२८।।

कुन कुरा अर्पण गर्यो भने ईश्वर प्रसन्न हुन्छन् ? ईश्वर बहुमूल्य वस्तुले प्रसन्न हुन्छन् भन्ने सत्य होइन, ईश्वर श्रद्धाले प्रसन्न हुन्छन् । आफ्नो क्षमता अनुसार, ईश्वरलाई फूल, पात, जल जुन कुरा अर्पण गरे पनि हुन्छ, तर श्रद्धा पूर्वक । मानिस आफूले जे जस्तो खान्छ, हवन गर्छ, दान गर्छ त्यो सबै ईश्वरलाई अर्पण गर्नु पर्छ । आफूले मीठा फलफूल खाएर ईश्वरलाई पात चढाउनुलाई श्रद्धा भनिँदैन ।
आफ्नो शक्ति अनुसारको ईश्वर सेवा नै सन्न्यास योग हो । यस प्रकार सन्न्यास योगले युक्त मन भएको मानिस शुभ र अशुभ फलरुप कर्मबन्धनबाट मुक्त भएर ईश्वरलाई प्राप्त गर्छ ।
समोsहं सर्वभूतेषु न मे द्वेष्योsस्ति न प्रियः ।
ये भजन्ति तु मां भक्त्या मयि ते तेषु चाप्यहम् ।।२९।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

अहम् (म) सर्वभूतेषु (सबै प्राणीहरुमा) समः (समभावले, एकनासले) मे (मेरो) द्वेष्यः (द्वेष्य, अप्रिय) प्रियः (प्रिय) न अस्ति (छैन) तु (तर) ये (जसले) भजन्ति (भजन गर्छन्) माम् (मलाई) भक्त्या (भक्तिपूर्वक) ते (उनीहरु) मयि (ममा छन्) च (तथा) तेषु (तिनीहरुमा) अपि अहम् (म पनि छू) ।
म सबै प्राणीहरुमा एकनासले व्याप्त छु । मलाई न कुनै द्वेष्य छ न कोही प्रिय छ । तर जसले मलाई भक्तिपूर्वक भजन गर्छन् तिनीहरु पनि ममा छन् र तिनीहरुमा म पनि छु।।२९।।
अपि चेत्सुदुराचारो भजते मामनन्यभाक् ।
साधुरेव स मन्तव्यः सम्यग्व्यवसितो हि सः ।। ३० ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

सु–दुराचारः (जतिसुकै दुराचारीले) अपि (पनि) चेत् (यदि) माम् (मलाई) अनन्यभाक् (अनन्य भावले) भजते (भजन गर्छ) सः (त्यसलाई) साधुः (साधु, महात्मा) एव (नै) मन्तव्यः (ठान्नु पर्छ) हि (किनभने) सः ( त्यो) सम्यक् (पूर्णरुपले) व्यवसितः (संकल्पित छ, एकाग्रचित्त छ)।
जतिसुकै दुराचारी भए पनि यदि त्यसले मलाई अनन्य भावले भजन गर्छ भने त्यसलाई ठूलो साधु (महात्मा) ठान्नु पर्छ किनभने अब त्यो पूर्ण रुपमा ईश्वर प्रति एकाग्रचित्त छ।।३०।।
क्षिप्रं भवति धर्मात्मा शश्वच्छान्तिं निगच्छति ।
कौन्तेय प्रति जानीहि न मे भक्तः प्रणश्यति ।।३१।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

क्षिप्रम् (शीघ्र नै) धर्मात्मा (धर्मात्मा) भवति (हुनजान्छ) शश्वत् (शाश्वत, नित्य) शान्तिम् (शान्ति) निगच्छति (प्राप्त गर्छ) कौन्तेय (हे कौन्तेय) प्रति जानीहि (फेरि पनि बुझ, राम्रो गरी बुझ) मे भक्तः (मेरो भक्त) न प्रणश्यति (कदापि नाश हुँदैन) ।
ऊ शीघ्र नै धर्मात्मा हुनजान्छ र शाश्वत (परम्) शान्ति प्राप्त गर्छ । हे कौन्तेय, फेरि पनि राम्रोसँग बुझ, मेरो भक्त कदापि नाश हुँदैन ।। ३१ ।।

ईश्वरले भक्तका लागि प्रत्याभूति (वारेन्टी) र बीमा (ग्यारेन्टी) दुवै कुराको जिम्मा लिएका हुन्छन् । न मे भक्त प्रणश्यति भनेर आफ्नो तर्फबाट सुरक्षा प्रत्याभूति दिइएको छ भने अपि चेत्सुदुराचारो भजते माम् अनन्यभाक् भनेर एक विशेष विश्वास पनि प्रदान गरिएको छ । यसरी न मे भक्त प्रणश्यति वाक्य योगक्षेमं वहाम्यहम्को परिपूरक हो ।
सुदुराचारीको अर्थ हो अत्यन्तै दुराचारी । अत्यन्त दुराचारीको पनि त्यस बेला उद्धार हुन्छ जब उसको बुद्धि ठेगानमा आएर ऊ पूर्ण ईश्वरभक्तिमा दृढ बन्छ ।
शरणागति कृत्यको प्रत्यवाय (साइड इफेक्ट) हुँदैन भनेर यस अघि नै भगवानले स्पष्ट गरिसक्नु भएको छ । यहाँ त्यसलाई अझ स्पष्ट गर्दै ... न मे भक्त प्रणश्यति भनिएको छ । यो भनाई गीताका महत्त्वपूर्ण भनाईहरु मध्ये एक हो । त्यसैले यसलाई प्रायः उद्धरणको रुपमा प्रयोग गरिन्छ ।
यदि कोही अतिशय दुराचारीले पनि अनन्य भावले मलाई भजन गर्छ भने त्यो साधु नै मान्ने योग्य छ यस भनाईमा भगवानले अवतारको उद्देश्य पापीहरुको उद्धार हो भन्ने स्पष्ट गर्नु भएको छ ।
मां हि पार्थ व्यपाश्रित्य येद्रपि स्युः पापयोनयः ।
स्त्रियो वैश्यस्तथा शूद्रास्तेद्रपि यान्ति परां गतिम् ।।३२।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

हि (किनभने) पार्थ (हे पार्थ) माम् (मेरो) व्यपाश्रित्य (राम्ररी आश्रय लिएको) ये (जो कोही) अपि (पनि) स्युः (होस) पापयोनयः (पापयोनि, अन्त्यज) स्त्रियः (स्त्री) वैश्य ः (वेश्य) तथा (तथा) शूद्राः (शूद्र) ते (तिनीहरु) अपि (पनि) परां गतिम् (परम गति) यान्ति (प्राप्त गर्छन्) ।
किनभने, हे पार्थ, मेरो पूर्ण आश्रय लिने स्त्री, वैश्य, शूद्र, अथवा पाप योनि अर्थात् अन्त्यज जो कोही नै किन नहोस् तिनीहरुले पनि परम गति प्राप्त गर्छन् ।।३२।।
किं पुनर्ब्राह्मणाः पुण्या भक्ता राजर्षयस्तथा ।
अनित्यमसुखं लोकमिमं प्राप्य भजस्व माम् ।। ३३।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

पुनः (अनि) पुण्या (पुण्यात्मा) ब्राह्मणाः (ब्राह्मण) तथा (तथा) भक्ता (भक्त) राजर्षयः (राजर्षिहरु) किं (के कुरा?) अनित्यम् (अनित्य) असुखम् प्राप्य (दुख प्राप्त हुने, दुखकारक) इमम् लोकम् (यस लोकमा) माम् (मेरो) भजस्व (भजन गरिरहनु) ।। ३३।।
अनि त, पुण्यात्मा ब्राह्मण तथा भक्त राजर्षिको के कुरा गर्नु ? तिमी यस अनित्य र दुखकारक मृत्यु लोकमा छौ, त्यसैले सदा सर्वदा मेरो भजन गरिरहनु ।।३३।।

सबै भूतप्राणीहरुमा एकैनासले व्याप्त भएकोले उसका लागि न कोही विशेष प्यारो हुन्छ, न कोही हेला हुन्छ । पुण्यवान् ब्राह्मण तथा राजर्षि मात्र होइन स्त्री, वैश्य, शूद्र, र पापयोनि जसले पनि ईश्वरमा श्रद्धा राख्छ, उसले ईश्वरको पूर्ण आश्रय प्राप्त गर्छ । अनि त, पुण्यवान् ब्राह्मण तथा राजर्षिको के कुरा गर्नु ? किनभने उनीहरुको परम्गति झनै निश्चित छ । त्यसैले दुखकारक र अनित्य यस लोकमा मेरो भजन गर ।
यहाँ ब्राह्मण, क्षत्रिय, स्त्री इत्यादि भनेर भगवान् कृष्णले कुनै शारीरिक कुरा गर्नु भएको छैन । कर्मको बन्धनबाट मुक्त हुने कुरा मानसिक हो । त्यसैले यी सबै विभाजन मानसिक हुन् । पापयोनिको अर्थ हो अन्त्यज अर्थात् संस्कारहीन । उपनिषद्कालमा ब्रहमचर्य आश्रममा प्रवेश नगरिकन गृहस्थाश्रममा प्रवेश गर्नेलाई चारै वर्णबाट बहिष्कृत मानिन्थ्यो । अर्का शब्दमा त्यस्तो व्यक्तिलाई पाँचौं वर्णको रुपमा मानिन्थ्यो । त्यसैले पापयोनि भनेको संस्कारहीन मानिस हो ।
स्त्री भनेको स्त्री चरित्र भएका मानिस । मनोविज्ञान अनुसार कोही पनि पूर्ण पुरुष वा पूर्ण स्त्री हुँदैन । मनोविज्ञानमा पुरुष र स्त्रीको मिश्रण हुन्छ । जसमा बढी स्त्री गुण छ त्यो स्त्री चरित्र भएको मानिस हो । शूद्रको अर्थ हुन्छ, यस्तो मानिस जसले शारीरिक कुरालाई महत्त्व दिन्छ । वैश्यको अर्थ हो त्यो मानिस जसले धनलाई महत्त्व दिन्छ । यस्ता मानिसहरुले शरीरलाई पनि महत्त्व दिन्नन् ।
यस पछि भनिएको छ, यदि यस्ता तर्छन् भने पुण्यशील ब्राह्मण वा क्षत्रियको मुक्ति त अवश्यम्भभावी छ । जुन मानिसले ज्ञानका लागि आफ्नो समय, श्रम, धन, बुद्धि लगाउँछ त्यो ब्राह्मण हुन्छ भने जसले अरुको रक्षाका लागि आफ्नो जीवन बलिदान गर्छ, जसले दान दिनु कर्तव्य ठान्छ, त्यो राजर्षि हो । यी कुनै कुरामा आफ्नो स्वार्थ राख्दैन । यदि ब्राह्मण पुण्यशील स्वभावको छ तथा क्षत्रिय ऋषि स्वभावको छ भने तिनीहरुको परम् गति झनै निश्चित छ, उनीहरुलाई स्वतः मुक्त भएको मान्नु पर्छ । मन्मना भव भद्भक्तो मद्याजि मां नमस्कुरु । मामेवैष्यसि युक्त्वैवमात्मानं मत्परायणः ।।३४।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

मन्मना (ममा मन) भव (लगाउ) भद्भक्त (मेरो भक्त बन) मद् याजि (मेरो यजन गर) मां (मलाई) नमस्कुरु (प्रणाम गर) एवम् (अनि) आत्मानं (आफूलाई) युक्त्वा (ममा युक्त गरेर) मत्परायणः (मेरो परायण होउ) माम् (मलाई) एव (नै) एष्यसि (प्राप्त हुने छौ)।
मलाई मन (ध्यान) देउ । मेरो भक्त बन । मेरो यजन गर । मलाई प्रणाम गर । यस प्रकार मेरो परायण हुँदै योगको अभ्यास गर्नाले मलाई नै प्राप्त हुने छौ ।। ३४ ।।


ममा मन लगाऊ, मेरो भक्ति गर, पूजा गर । मलाई नमस्कार गर अर्थात् मनमा सम्मानको भाव राख । यस प्रकार मेरो अर्थात् ईश्वरको परायण होऊ । परायणको अर्थ हो दृढतापूर्वक, तन्मय भएर लाग्नु । यस्तो अभ्यास गरेपछि ईश्वरको प्राप्ति हुन्छ । हे कौन्तेय, राम्ररी बुझ, मेरो भक्त अर्थात् ईश्वरको भक्त कहिल्यै नाश हुँदैन भनेर सबै भक्तहरुलाई एक ठूलो आश्वासन पनि दिनु भएको छ । साथै मेरो भक्ति गर्ने दुराचारी पनि मुक्त हुन जान्छ भन्दै अर्जुनलाई ईश्वरको शरणागति हुने सुझाव दिनु भएको छ, किनभने अर्जुन राजर्षि गुण युक्त मानिस हुन् ।


ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे राजविद्याराजगुह्ययोगो नाम नवमोद्रध्यायः ।।
श्रीमद्भगवद्गीता रुपी उपनिषद् यस ब्रह्मविद्या र योगशास्त्रमा श्रीकृष्ण र अर्जुनका संवादको राजविद्याराजगुह्ययोग नाम गरेको अध्याय नौ समाप्त भयो ।।ॐ तत्सत् ।।