श्रीमद्भगवद्गीता द्वादश अध्याय


एवं सततयुक्ता ये भक्तास्त्वां पर्युपासते ।
ये चाप्यक्षरमव्यक्तं तेषां के योगवित्तमाः ।।१ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

अर्जुन उवाच (अर्जुनले भने)
एवम् (यसरी) ये भक्ताः (जुन भक्तहरु) त्वाम् (तपाईंमा) सततयुक्ताः (निरन्तर युक्त छन्) च अपि (तथा) ये (जसले) अक्षरम् अव्यक्तम् (अविनाशी अव्यक्त निराकार ब्रह्मको) पर्युपासते (उपासना गर्छन्) तेषाम् (तिनीहरुमा) योगवित्तमाः (उत्तम योग वेत्ता) के (को हो) ।
अर्जुनले भने
यसरी एक थरी जो तपाईंमा निरन्तर युक्त छन् र अर्का थरी जसले अविनाशी अव्यक्त निराकार ब्रह्मको राम्ररी उपासना गर्छन् । तिनीहरु मध्ये उत्तम योग वेत्ता को हो ?१।।

योगको अर्थ हो निरन्तर युक्त हुनु अर्थात् भजन, कीर्तन, सत्संग, स्वाध्याय इत्यादि जुनसुकै विधिबाट पनि आफूलाई ईश्वरसंग जोड्नु । तथा योगवित्तमाको अर्थ हुन्छ उच्चत्तम योग वेत्ता, सबभन्दा उच्च उपासक । योगयुक्त उपासकका तीन श्रेणी हुन्छन् । योगको सामान्य ज्ञातालाई योगवित्, योगको उच्चतर ज्ञान भएकोलाई योगवितर् तथा योगको उच्चतम ज्ञान भएकोलाई योगवित्तम हुन्छन् । ईश्वरलाई सर्वोत्तम विधिले जान्नेलाई योगवित्तम भनिन्छ । त्यसैले योग वित्तमको अर्थ हुन्छ– उत्तम उपासक ।
अर्जुनका यस प्रश्नको उत्तरमा यसका १९ श्लोकमा उत्तम उपासक अर्थात् भक्तको सविस्तार वर्णन गरिएको छ ।

श्रीभगवानुवाच
सम्पादन गर्नुहोस्

मय्यावेश्य मनो ये मां नित्ययुक्ता उपासते ।
श्रद्धया परयोपेतास्ते मे युक्ततमा मताः ।। २ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

श्रीभगवान् उवाच (भगवान् श्रीकृष्णले भन्नु भयो)
मयि (ममा) मनः (मनलाई) आवेश्य (एकाग्र गरेर, लगाएर, एकनिष्ठ गरेर, अभ्यास गरेर) ये (जो) नित्ययुक्ताः (निरन्तरयुक्त भएर) परया श्रद्धया (परम श्रद्धापूर्वक) उपेताः (युक्त भएर) माम् (मेरो) उपासते (उपासना गर्छन्) ते (तिनीहरु) युक्ततमाः (उत्तम योगी हुन्) मे (मेरो) मताः (मत छ) ।
भगवान् श्रीकृष्णले भन्नु भयो –
ममा मनलाई एकाग्र गरेर निरन्तर ममायुक्त (ईश्वर भक्तिमा लागेका) ती भक्तजन परम श्रद्धाले युक्त भएर मेरो उपासना गर्छन् उनी उत्तम योगी हुन् भन्ने मेरो मत छ ।। २ ।।

यस अध्यायमा मेरो भन्नुको अर्थ हो ईश्वरको साकार स्वरुप । बाललीला, अर्जुन, उद्धव र गोपीलाई उपदेश, नृत्यलीला, संगीत लीला, द्रौपदी उद्धार, युद्धबाट भाग्नु, अन्तमा आफ्नै वंशको संहार, यी भगवान् श्रीकृष्णका साकार स्वरुपको उदाहरण हो । यसरी आराधना र निराकार साधना ईश्वर आराधनाका दुई विधिहरु छन् तथापि साकार र निराकार साधनालाई पूर्ण रुपमा अलग गर्न सकिँदैन किनभने पूर्ण निराकार साधना गर्नेहरुले पनि केही न केही साकार साधना गर्दछन् । त्यसै गरी साकार पथका आकाङ्क्षीहरुले पनि केही न केही निराकार साधना गर्नै पर्छ ।
सुरुमा भगवान श्रीकृष्णले भन्नु भएको छ– एकाग्रचित्तले श्रद्धापूर्वक जसले मेरो ध्यान गर्छ त्यो नै उत्तम भक्त हो ।
आवेशको अर्थ हो एकाग्रतापूर्वक, एकनिष्ठ गर्नु, अथवा अभ्यास गर्नु । त्यसैले एक निष्ठ साकार स्वरुपको भक्ति गर्नेलाई यहाँ उत्तम योगी अर्थात् भक्त भनिएको छ ।
बुद्ध महावीरले बताएको साधना निराकार ईश्वरको साधना हो । शङ्कराचार्यको बाटो निराकार ब्रह्मको बाटो हो । खप्तडबाबाको साधना मुख्यतः निराकार साधना हो । कबीरदास रामका उपासक हुन् तर उनका राम निराकार छन् । सूरदासका कृष्ण तथा तुलसीदास र भानुभक्तका राम साकार छन् । बालागुरु षडानन, स्वर्गद्वारी महाप्रभुको बाटो साकार साधना हो ।
झेन फकीरलाई कुनै जिज्ञासुले सोध्यो– ‘धर्मको सार के हो ?’
मुखले केही नबोली फकीरले भुईंमा हातले लेख्यो– ‘ध्यान ।’
जिज्ञासुले कुरा बुझेन– ‘अलि बिुझ्ने गरी बताउनुहोस् ।’
फकीरले भन्यो– ‘ध्यान ।’
जिज्ञासुले भन्यो– ‘कुरा बुझिनँ ?’
फकीर– ‘बुझ्ने काम आफैं गर्नु पर्छ ।’
त्यही कुरा श्लोक दुईमा भनिएको छ । यस कार्यमा निरन्तर, रुचिपूर्वक तथा एकाग्रता साथ लागिरहनाले मात्र सफलता प्राप्त हुन्छ । चिनीमैयाँले खडानन्दलाई सुधार गर्ने मनशायले भनी– ‘तिमीले पढाएको विद्यार्थीले मनपराउँछन् । तर रक्सी खाने गर्नाले ट्युशन पेशा राम्ररी
चलिरहेको छैन । रक्सी खान छोड । थुप्रै विद्यार्थी ट्युशन पढ्न आउँछन् ।’
खडानन्दले भन्यो– ‘कसरी छाडूँ । त्यही रक्सी खानका लागि ट्युशन पढाउनु परेको हो । रक्सी खान नपरे त ट्युशन पढाउनै पर्दैन ।’
ये त्वक्षरमनिर्देश्यमव्यक्तं पर्युपासते ।
सर्वत्रगमचिन्त्यं च कूटस्थमचलं ध्रुवम् ।। ३ ।।
सन्नियम्येन्द्रियग्रामं सर्वत्र समबुद्धयः ।
ते प्राप्नुवन्ति मामेव सर्वभूतहिते रताः ।। ४ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

तु (तर) ये (जसले) (इन्द्रियग्रामलाई) सन्नियम्य (राम्ररी वशमा गरेर) अचिन्त्यम् (अचिन्त्य, मनबुद्धिभन्दा पर) सर्वत्रगम् (सर्वव्यापी) अनिर्देश्यम् (प्रत्यक्ष देखाउन नसकिने) अव्यक्तम् (अव्यक्त) कूटस्थम् (कूटस्थ, सदा एकनास, आधार) अचलम् (अचल) च (र) ध्रुवम् (नित्य) अक्षरम् (अक्षरको) पर्युपासते (राम्ररी उपासना गर्छन्) सर्वत्र (सर्वत्र) समबुद्धयः (समबुद्धि भएका) ते (उनीहरुले) सर्वभूतहिते (सम्पूर्ण भूत प्राणीको हितमा) रताः (व्यस्त) माम् एव (मलाई नै) प्राप्नुवन्ति (प्राप्त गर्छन्) ।
तर जसले इन्द्रियग्रामलाई राम्ररी वशमा गरेर प्रत्यक्ष नदेखिने, अव्यक्त, सर्वव्यापी, अचिन्त्य र कूटस्थ, अचल र नित्य अक्षर (ब्रह्म) को उपासना गर्दछन्, ती सब प्राणीहरुको हितमा तत्पर रहनेहरुले पनि मलाई नै प्राप्त गर्दछन् ।।३–४।।

साकार स्वरुपको जस्तै निराकार स्वरुपक साधकले पनि उही स्थान प्राप्त गर्छन् जुन साकार साधकले गर्दछन् । तर यो बाटो फरक छ । यस बाटोका साधकहरुले इन्द्रियग्रामलाई राम्ररी वशमा गरेर अविनाशी र अव्यक्त स्वरुपको उपासना गर्छन् । उनीहरुले स्वभावतः सबै प्राणीहरुको हितमा नै काम गर्छन् । त्यसैले उनीहरु पनि योगी नै हुन् ।
इन्द्रिय ग्रामको अर्थ हो, इन्द्रियको समुदाय, इन्द्रियको सेट, इन्द्रिय र विषयहरुको संजाल । यस अन्तर्गत कान, आँखा, जिब्रो, नाक, छाला, र यसका विषयहरु शब्द, रुप, रस, गन्ध, स्पर्श लगायत २४ तत्त्व पर्दछन् । जसलाई छ मुख्य विभाजन गर्न सकिन्छ–
१. मूल प्रकृति
२. तीन अन्तःकरण,
३. पाँच महाभूत,
४. पाँच विषय,
५. पाँच ज्ञानेन्द्रिय, र
६. पाँच कर्मेन्द्रिय ।
यी सबै आपसमा नेटवर्क प्रणालीबाट कसरी सम्बन्धित हुन्छन् भने एउटाको प्रभावले अर्को सक्रिय हुन्छ । यस नेटवर्कबाट अनुकूल परिणाम प्राप्त गर्न यसलाई नियन्त्रित र नियमित गर्नु पर्छ र यसको सुरुआत मनको नियन्त्रणबाट हुने गर्छ । मनले विचार, विचारले विषयहरु, विषयहरुको ज्ञानेन्द्रिय र सक्रियता कर्मेन्द्रियहरुबाट हुने गर्छ । यी सबै कुराको परस्पर आश्रित सम्बन्ध नै इन्द्रिय ग्राम हो ।
क्लेशोऽधिकतरस्तेषामव्यक्तासक्तचेतसाम् ।
अव्यक्ता हि गतिर्दुःखं देहवद्भिरवाप्यते ।। ५ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

तेषाम् (तिनीहरु) अव्यक्त (अव्यक्त, निराकार स्वरुपमा) असक्तचेतसाम् (आसक्ति राख्छन्) क्लेशः (क्लेश, परिश्रम) अधिकतरः (बढी हुन्छ) हि (किनभने) देहवद्भिः (देहधारीलाई) अव्यक्ता (अव्यक्त निराकार) गतिः (मार्ग) दुःखम् (कठिनाईपूर्वक) अवाप्यते (सिद्ध हुन्छ, पूरा हुन्छ) ।
निराकार स्वरुपमा आसक्ति राख्ने जो छन् तिनीहरुलाई बढी क्लेश हुन्छ किनभने देहधारीहरुलाई अव्यक्त निराकार उपासनाको मार्ग कठिनाईपूर्वक सिद्ध हुन्छ । ।।५।।

हुन त, साकार तथा निराकार दुवै विधिबाट सत् चित् आनन्द स्वरुपको प्राप्ति हुन्छ तर निर्गुण निराकारवादीहरुले बढी परिश्रम गर्नु पर्दछ । त्यो किन हो भने यस पथका यात्रुहरुको लामो र निर्जन यात्रामा साथ दिने कोही हुँदैन । यस यात्रामा निर्गुणवादी एक्लै हुन्छ । तर भक्तको यात्रा ईश्वरको साथमा हुन्छ । त्यसैले भक्तिमार्गमा सरल मात्र होइन आनन्ददायक पनि हुन्छ ।
शिवपुरी बाबाले भक्ति मार्ग बडो सुन्दर उदाहरण दिंदै भनेका छन्– ‘ध्यान गर्नेको मन २० प्रतिशत भगवान्मा र ८० प्रतिशत संसारमा हुन्छ । कर्मकाण्ड गर्नेको मन ५० प्रतिशत भगवान्मा र र ५० प्रतिशत संसारमा हुन्छ तर भजन कीर्तन गर्नेको मन ८० प्रतिशत भगवान्मा र २० प्रतिशत संसारमा हुन्छ ।’

तालिका १२.१ मनको एकाग्रता
एकाग्रता ईश्वरमा संसारमा
ध्यान २० प्रतिशत ८० प्रतिशत
कर्मकाण्ड ५० प्रतिशत ५० प्रतिशत
नाम संकीर्तन ८०प्रतिशत २० प्रतिशत

भक्ति मार्ग र ज्ञानमार्गमा किन अन्तर हुन्छ ? भक्तिमा कुनै प्रश्न हुँदैन । बुद्धिमा प्रश्न हुन्छ। बुद्धिले गणित सिकाउँछ, व्याकरण सिकाउँछ । कुनै घटनाको कारण र परिणाम खोजी गराउँछ । भक्तिले जीवन सिकाउँछ । भक्तिले किन र कसरी भन्ने कुरा खोज्दैन ? बुद्धिले मृत्युमा पनि कारण खोज्छ र जीवनमा पनि कारण खोज्छ । भक्त जे छ त्यसमा सन्तुष्ट छ। भक्तिले भएको कुरामा आनन्द लिन सिकाउँछ । बुद्धिले कारणको खोजी गर्छ । हिसाब गरेर निर्णय गर्छ । त्यसैले असन्तुष्ट रहन्छ ।
एउटा गणितज्ञ सपरिवार तीर्थ गर्न निस्क्यो । बाटोमा खोलो रहेछ । अनि उसले नदीको गहिराईको औसत निकाल्यो र आफ्नो परिवारका सदस्यको औसत उचाई हिसाब गरेर दुवैको तुलना गर्यो ।
नदीको औसत गहिराई भन्दा परिवारको औसत उचाई बढी रहेछ । परिवार डुब्दैन भन्ने निष्कर्ष निकाले पछि सबैलाई आदेश गर्यो– लौ अब सबैले खोलो तरे हुन्छ ।
पारी पुगेर हेर्दा त आफू बाहेक अरु कोही पनि छैनन् ।
फेरि हिसाब गर्यो । हिसाबमा परिवारको औसत उचाई नदीको गहिराई भन्दा बढी निस्क्यो। अचम्म मानेर भन्यो– हिसाब जिनको तिन छ, मेरो परिवार डुब्यो किन ?
हिसाब ठीक छ तर परिवार कोही छैन । बुद्धिले यस्तोमा पनि कारण खोज्छ ।
जीवनभर अद्वैत ब्रह्मको प्रचार गर्दै हिंडेका आचार्य शंकरले कुनै जिद्दी वैयाकरणलाई भक्तिको महत्त्व बुझाउन निम्नलिखित श्लोक रचना गरेका हुन्–
भज गोविन्दं भज गोविन्दं, गोविन्दं भज मूढमते ।
प्राप्ते सन्निहिते मरणे, नहि नहि रक्षति डुकृञ् करणे ।।
यसको अर्थ हो– हे मूर्ख, मर्ने बेलामा व्याकरणका नियम काम लाग्दैन । केवल भक्ति काम लाग्छ । अब ज्ञानको कुरा निरर्थक छ । मर्ने बेलामा रक्षा गर्ने साधन गोविन्दको भक्ति हो ।
भजन कीर्तन र नाम संकीर्तन भक्तिको सरलतम रुप हो र यसको अभ्यास पनि सरल छ । कर्मको अभ्यास, ज्ञान वा ध्यान कुनै पनि गाह्रो लाग्ने मानिसले पनि नाम संकीर्तन गर्न सक्छ । नाम संकीर्तनले सिद्धि प्राप्त गरेका अनेक भक्तहरु छन्– चैतन्यले नाचगान गरेर, रामकृष्णले कर्मकाण्ड र भजन गरेर, गुरु नानकले गीत संगीत र सेवा गरेर ज्ञान प्राप्त गरे। रविलालको एकतारे रामायण, भानुभक्तको रामायण भक्तिभावले गर्दा प्रस्फुटित भएका हुन्। कबीरदास र योगमायाका भजन निर्गुण भए पनि तिनीहरुको आधार भक्ति नै हो ।
ये तु सर्वाणि कर्माणि मयि सन्न्यस्य मत्पराः ।
अनन्येनैव योगेन मां ध्यायन्त उपासते ।। ६ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

तु (तर) ये (जो) सर्वाणि (सबै) कर्माणि (कर्महरुलाई) मयि (ममा) सन्न्यस्य (समर्पण गरेर) मत्पराः (मेरो परायण छन्, मेरो निष्ठामा छन्) अनन्येन योगेन (अनन्ययोग अर्थात् भक्तियोगबाट) एव (नै) माम् (मलाई) ध्यायन्त (ध्यानद्वारा) उपासते (उपासना गर्छन्) ।
तर जुन मेरो परायण छन् र सबै कर्महरुलाई ममा समर्पण गरेर म (सगुण) लाई नै अनन्य भक्तियोगबाट ध्यानद्वारा उपासना गर्छन् ।। ६ ।।
तेषामहं समुद्धर्ता मृत्युसंसारसागरात् ।
भवामि नचिरात्पार्थ मय्यावेशित चेतसाम् ।। ७ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

पार्थ (हे पार्थ) मयि (ममा) चेतसाम् (चित्त) आवेशित (लगाउने, एकाग्र गर्ने) तेषाम् (तिनीहरुलाई) मृत्यु (मृत्यु रुपी) संसारसागरात् (संसार सागरबाट) नचिरात् (तुरुन्तै) अहम् (म) समुद्धर्ता (समुद्धारकर्ता) भवामि (हुन्छु)।
हे पार्थ, ममा चित्त एकाग्र गर्ने ती भक्तहरुलाई मैले मृत्युरुपी संसार सागरबाट तुरुन्तै समुद्धार गरीदिन्छु ।। ७ ।।

तर जसले सबै कर्महरु समर्पण गरेर ईश्वरको सगुण, साकार स्वरुपलाई अनन्य भक्तिद्वारा उपासना गर्छन् तिनीहरुको तत्त्काल उद्धार हुन्छ अर्का शब्दमा भक्ति मार्ग सरल मात्र होइन, छिटो पनि पुगिने मार्ग हो । किनभने यस मार्गको अभिभावक स्वयं ईश्वर हुन् ।
अकबरले बीरबलसंग अविश्वासपूर्ण शब्दमा भने– ‘बीरबल, गजेन्द्रको उद्धार गर्न भगवान् विष्णु चप्पल नलगाई दौडेर आएका थिए भन्छन् नि? त्रिभुवनका मालिकको कोही नोकर चाकर थिएन ।’
बीरबलले भने– ‘सरकार, यसको जवाफ उचित समयमा दिउँला ।’
अकबर बार्दलीमा रानीहरुका साथ कुरा गर्न व्यस्त भएको एक दिन शहजादा सलीम बोकेर हिंडिरहेकी धाई चिप्लिएर पोखरीमा लडी । काखमा समातेको बच्चा हुत्तिएर पानीमा पुग्यो। दासी रुन कराउन थाली । अकबरले माथिबाट यो सब देखिरहेका थिए । अकबरले शहजादा सलीमलाई निकै मायाँ गर्थे किनभने उसले आगराबाट अजमेर शरीफ १४० कोस पैदल हिँडेर भाकल गरेपछि बल्ल सलीमको जन्म भएको थियो । बच्चा पानीमा खसेको देख्नासाथ दौडदै आएर पोखरीमा कुदे।
बाहिर निकाले पछि चकित भएर भिजेको कपडालाई हेरे त्यो सलीम नभएर पुतली कपडामा बेरेको रहेछ ।
तत्क्षण बीरबलले सलाम गर्दै भने– ‘सरकार, गुस्ताखी माफ होस् । यो सब हजुरका प्रश्नको उत्तरका लागि गरेको हूँ, दासीको दोष छैन । उसले मेरो अनुरोध बमोजिम पुतला बनाएर त्यहाँ डुलेकी थिई । शहजादा सुरक्षित हुनुहुन्छ । हजुरका सेवक थिए। अंगरक्षक थिए । सबैलाई छोडेर खाली खुट्टा सलीमको प्रेमको कारणले हजुरले पानीमा हामफाल्नु भएको हो। भगवान् विष्णुलाई आफ्ना भक्त आफ्ना सन्तान सरह प्यारा छन् । उनीलाई दुख परेको देख्ना साथ बचाउन दौड्नु भएको हो ।’
बालकको भक्ति किन छिटो प्रतिफलित हुन्छ भने उनीहरु अबोध हुन्छन् । जसले पनि भक्त हुनु छ ऊ बालक झैं अबोध हुनै पर्छ ।
मय्येव मन आधत्स्व मयि बुद्धिं निवेशय ।
निवसिष्यसि मय्येव अत उध्र्वं न संशयः ।। ८ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

मयि एव (ममा नै) मन (मन) आधत्स्व (लगाउ) मयि (ममा) बुद्धिम् (बुद्धि) निवेशय (केन्द्रित गर) अतः (यस) उध्र्वम् (उपरान्त, पछि) मयि एव (ममा नै) निवसिष्यसि (प्राप्त गर्ने छौ, निवास गर्ने छौ) न संशयः (शङ्का छैन, अवश्य नै) ।।
ममा मन लगाउ, ममा नै बुद्धि केन्द्रित गर । त्यस पछि अवश्य नै ममा निवास गर्ने छौ अर्थात् मलाई नै प्राप्त हुने छौ ।।८।।

ईश्वरमा एकाग्रतापूर्वक चित्त लगाउने विधिको वर्णन गर्दै भागवतमा लेखिएको छ– ‘प्वाँख उम्रिनसकेका बचेराहरु माउको निम्ति, दुधे बाच्छाबाछी आफ्नो माउका लागि, प्रेमोन्मत्त प्रेमिका आफ्ना प्रेमीका लागि भेट्न जसरी आतुर हुन्छन् त्यसै गरी हे कमलनयन, हाम्रो मन तपाईंलाई देख्न चाहन्छ । यस्तो चाहना जुन दिन भक्तमा उदित हुन्छ अनि भगवान्ले सगुण साकार रुपमा दर्शन दिनु हुन्छ।’ यस विधिले जोडिनु नै भक्तियोग हो । परमात्मासँग जोडिनुको अर्थ असीमिति शक्ति प्राप्त हुनु पनि हो । परमात्मासँग योग हुनासाथ भक्त बलियो हुन्छ । एउटा पुजारी बाटोमा १०० रुपैयाँ लिएर उभिन्छ र भन्छ मैले यस रकमबाट आफ्ना भगवान्को मन्दिर बनाउँछु । एक दिन सोही १०० रुपैयाँले विशाल मन्दिर तैयार हुन्छ । यो भक्तिको प्रभाव हो । भक्तसँग सय रुपैयाँ मात्र हुँदैन उसका साथमा भगवान् पनि उभिएका हुन्छन् । भक्तिले गर्दा सय रुपैयाँको शक्ति अनन्त हुनजान्छ ।
अथ चित्तं समाधातुं न शक्नोषि मयि स्थिरम् ।
अभ्यासयोगेन ततो मामिच्छाप्तुं धनञ्जय ।। ९ ।।
अभ्यासेऽप्यसमर्थोसि मत्कर्मपरमो भव ।
मदर्थमपि कर्माणि कुर्वन्सिद्धिमवाप्स्यसि ।।१०।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

अथ (यदि) चित्तम् (चित्त) मयि स्थिरम् (ममा स्थिर गराउन) समाधातुम् (स्थापन गर्न) न शक्नोषि (सकदैनौ भने) ततः (त्यसपछि) अभ्यासयोगेन (अभ्यासयोगद्वारा) माम् (मलाई) आप्तुम् (प्राप्त गर्ने) इच्छा (इच्छा गर) धनञ्जय (हे धनञ्जय) अभ्यासे (अभ्यासमा) अपि (पनि) असमर्थ (असमर्थ) असि (छौ) मत्–कर्म–परमः (सबै कर्म मेरा लागि गर्ने) भव (होउ) मत् (मेरा) अर्थम् (लागि) कर्माणि (कर्महरु) कुर्वन् (गर्दा) अपि (पनि) सिद्धिम् (सिद्धि) अवाप्स्यसि (प्राप्त गर्ने छौ) ।
हे धनञ्जय, यदि तिमीले चित्तलाई ममा स्थिर गराउन सक्दैनौ भने अभ्यास योगद्वारा अर्थात् निरन्तर प्रयास गरे मलाई प्राप्त गर्ने इच्छा गर । यदि यस अभ्यासमा पनि असमर्थ छौ भने, ज्ञान, ध्यान, पूजा, पाठ इत्यादि, सबै कर्म गर । मेरालागि यी कर्महरु गर्दा पनि सिद्धि प्राप्त गर्ने छौ ।।९–१०।।

ईश्वरको साकार स्वरुपमा पनि मन स्थिर हुँदैन भने के गर्ने ? यसको प्रत्युत्तरमा यहाँ के भनिएको छ भने यदि ईश्वरमा मन स्थिर हुन सकेन भने आफ्नो अभ्यास अझ बढाउने अर्थात् साधनाको कर्मलाई बारम्बार दोहर्याउने । यसरी पनि उपलब्धि भएन भने सबै कर्म ईश्वर अर्पण गर्नु पर्छ । कुन बाटो शिष्यका लागि ठीक छ यस सम्बन्धमा गुरुले नै शिष्यलाई उचित मार्गदर्शन गर्न सक्छ ।
महर्षि पतञ्जलिले साधनपाद अध्यायमा दुखबाट मुक्ति पाउने उपाय बताउँदै भनेका छन्– दुखबाट मुक्ति पाउने पहिलो उपाय ज्ञान हो र यस उपायको आधार निर्मल, निर्बाध विवेक हो । यसका चरणबद्ध विधिहरुको उपाय व्याख्या गर्दै उनले क्रमशः उनले आसन, ध्यान, प्राणायाम, ॐकार चिन्तन आदि अनेक उपाय बताएका बताएका छन् तर अन्तिम उपायको रुपमा उनले ईश्वरका स्वरुपको ध्यानलाई बताउँदै भनेका छन्– यदि अन्य कुनै उपायले सफलता प्राप्त हँुदैन भने मनमा ईश्वरलाई धारण गर । ईश्वरको भक्ति अन्तिम उपाय हो।
रामकृष्ण परमहंसको उपदेश सुन्न एक जना वृद्धा सधैं आउँथिन् । कृष्ण भक्तिको महिमा बताए पछि ती वृद्धाले भगवान् कृष्णमा ध्यान लगाउने कोशिश गरिन् ।
जति प्रयास गरे पनि उनले कृष्णमा मन लगाउन नसकेपछि रामकृष्णलाई आफ्नो समस्या बताइन् ।
रामकृष्णले सोधे– तिमीले सबभन्दा मायाँ गर्ने कुरा के हो, जसमा तिम्रो चित्त स्थिर हुन्छ ।
वृद्धाले भनिन् – म आफ्नो नातिलाई असाध्यै मायाँ गर्छु । त्यसको नजिक पुगेपछि अरु सबै कुरा बिर्सन्छु ।
रामकृष्णले भने – आज देखि आफ्नो नातिलाई कृष्ण ठान्नु । केही दिन पछि वृद्धा आइन् र भनिन् अब मेरो मन कृष्ण भक्तिमा लाग्न थाल्यो ।
भक्तिभाव नभइकन मनमा ईश्वरको धारणा गर्न सकिंदैन । भक्तिभावले ओतप्रोत भए पछि भक्तहरुको हृदयबाट मधुरतम गीत आफैं सिर्जना हुन थाल्छन्।
मीराबाईले गीत रचना र गायनको माध्यमबाट सिद्धि प्राप्त गरिन् । यसको मूलमा कृष्ण प्रति उनको अव्याभिचारिणी भक्ति नै रहेको छ । अपठित योगमायाले ईश्वर भक्तिमा रमाए पछि निगुण भजन रचना गरिन् ।
पत्नी वियोगबाट विरक्त पौड्यालले स्वर्गद्वारी महाप्रभुसंग प्रेरणा लिएर ईश्वरको भक्ति गर्दै कविता रचना गर्न थाले पछि उनको जीवन नै परिवर्तन भयो । लेखनाथ पौड्यालले रचना गरेका कविता आज पनि उत्कृष्ट रचना मानिन्छन् । कवि शिरोमणि लेखनाथ पौड्यालले तरुण तपसीको रचना गर्दा उनले मनमा स्वर्गद्वारी महाप्रभुको छवि थियो भनिन्छ ।
भक्ति भावमा डुबेर नै भानुभक्त आचार्यका कविताहरु रसपूर्ण भएका छन् । आचार्य खेमराज केशव शरणले मनमोहक आरतीको रचना भक्तिभावले ओतप्रोत भएर नै गर्न सकेका हुन् । महाकवि लक्ष्मी प्रसाद देवकोटाकी पत्नीले कृष्णको अनन्य भक्ति गर्थिन् । उनलाई कवि गौतमको कृष्ण भक्तिको प्रभाव परेको थियो । समेत प्रभावित थिइन् । यसको प्रभाव देवकोटाले अन्तिम क्षणमा देवकोटाले अनुभव गरे–
आखिर श्रीकृष्ण रहेछ एक, न बुद्धि भो न ज्ञान भो न त भो विवेक....।
अथैतदप्यशक्तोऽसि कर्तुं मद्योगमाश्रितः ।
सर्वकर्मफलत्यागं ततः कुरु यतात्मवान् ।। ११ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

अथ (यदि) एतत् अपि (यो पनि) कर्तुम् (गर्न) अशक्तः असि (असमर्थ छौ) ततः (भने) मत् (मसंग) योगम् आश्रितः (योगको आश्रित भएर) आत्मवान् (चित्तलाई) यत (संयम, वशमा राखेर) सर्वकर्मफलत्यागम् (सबै कर्महरुको फल त्याग) कुरु (गर) ।
यदि मसंग योग (मेरो प्राप्ति) को आश्रित भएर यी सबै साधन गर्न असमर्थ छौ भने चित्तलाई वशमा राखेर सबै कर्महरुको फल त्याग गर ।।११।।

अथवा यदि कुनै आत्मवान् ज्ञानीले मलाई प्राप्त गर्ने इच्छा गर्दछ तर अहिलेसम्म बताएको विधिले ईश्वरसँग योग भएको छैन सबैकर्महरुको फल त्याग गर । तर त्यसभन्दा पहिले यी विधि प्रयोग गर्नु पर्दछ – मनलाई ईश्वरमा आवेशित गराउने, ईश्वरका अकथनीय स्वरुपको ज्ञानका लागि शास्त्र वा गुरुको आश्रय लिने, अथवा साकार वा निराकार स्वरुपको ध्यान गर्ने । यी सबैको क्रमशः व्याख्या गर्दै भगवान्ले भन्नु हुन्छ, यी विधिले सफलता प्राप्त भएन भने सबै कर्मको फल त्याग गरे हुन्छ ।
अर्जुन कर्मयोगी भएकोले उसका लागि अन्य बाटोको तुलनामा जुन बाटो उसका लागि फलदायक छ, त्यही योग्य गुरुको रुपमा भगवान् कृष्णले सुझाव दिनु भएको छ ।
श्रेयो हि ज्ञानमभ्यासाज्ज्ञानाद्ध्यानं विशिष्यते ।
ध्यानात्कर्मफलत्यागस्त्यागाच्छान्तिरनन्तरम् ।। १२ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

अभ्यासात् (अभ्यासभन्दा) ज्ञानम् (शास्त्रबाट प्राप्त परोक्ष ज्ञान) श्रेयः (श्रेय,उत्तम छ) ज्ञानात् (परोक्ष ज्ञानभन्दा) ध्यानम् (ध्यान) विशिष्यते (विशिष्ट छ) ध्यानात् (ध्यानभन्दा) कर्मफलत्यागः (कर्मफलत्याग विशिष्ट छ) हि (किनभने) त्यागात् (त्याग) अनन्तरम् (पछि) शान्तिः (शान्ति प्राप्त हुन्छ) ।
यन्त्रवत् अभ्यासभन्दा परोक्ष ज्ञान श्रेय छ । परोक्ष ज्ञानभन्दा ध्यान तथा ध्यानभन्दा कर्मफलको त्याग अझ विशिष्ट छ किनभने कर्मफल त्याग गर्नासाथ तत्काल परमशान्ति प्राप्त हुन्छ ।। १२ ।।

परमहंस रामकृष्णले भक्तिका लागि अभ्यासको विधि यस प्रकार बताएका छन्– सत् र असत् माथि निरन्तर विचार गरिरहनु पर्छ । यदि समय छ, प्रभुमा मन लाग्छ भने हरदम भजन कीर्तन गरे हुन्छ । जसले त्यो गर्न सक्दैन उसले कम्तीमा बिहान र बेलुका दुई समय ईश्वरलाई भक्तिपूर्वक प्रणाम गर्नु पर्छ । त्यो पनि छैन भने सबै जिम्मा उनैलाई लगाई दिनु तर जसै एकान्त प्राप्त हुन्छ उनका लागि रोउ । प्रभुको दर्शन माग ।
साधनाका अनेक विधि छन् तर उचित ज्ञान बिनाको अभ्यास (क्रियाकलाप) निरर्थक छ । आँखा चिम्लेर कसैको पछाडि हिँडेर लक्ष्यमा पुगिँदैन । यसले कुनै प्रेरणा हुँदैन ।
खडानन्दको पसलमा धेरै भीड हुन थाल्यो । त्यसैले उसले एउटा सुगा पाल्यो । सुगालाई उसले बोल्न सिकायो– भीड नगर । लाइनमा बस । पालो आउँछ ।
यस पछि ग्राहकहरुले लाइनमा लागेर सामान किन्न थाले । एक दिन खडानन्दको सुगा पिंजडाबाट बाहिर उड्यो । सुगा खोज्दै खडानन्द बस्तीभन्दा बाहिर पुग्यो । कौवाहरुले मिलेर सुगालाई ठुङ्गिरहेका थिए । र त्यस सुगाले यस्तो भनेको सुनिन्थ्यो– लाइनमा बस । पालो आउँछ ।
शास्त्र घोक्नेहरु खडानन्दको सुगा जस्तै हुन्छन् । के गरेका छन् भन्ने उनीहरुलाइ थाहा नै हुँदैन ।
यहाँ ज्ञानको अर्थ प्रत्यक्ष ज्ञान नभएर शास्त्र ज्ञान हो जुन शब्द र युक्तिसहित दिइएको हुन्छ। कारण परिणाम सम्बन्धको व्याख्या गरिएकोले यस ज्ञानले केही न केही प्रेरणा हुन्छ । यस्तो परोक्ष ज्ञानभन्दा ध्यान श्रेष्ठ छ । ध्यान अन्तर्गत यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि सबैकुरा पर्दछन् । समाधि यसको अन्तिम अवस्था हो ।
भगवान् कृष्णले ध्यानभन्दा पनि कर्मफल त्यागलाई सरल बताउनु भएको छ । आसक्ति नै बन्धनको कारक हो । यसको त्याग हुना साथ भगवान्को कृपा प्राप्त भएर संसार मुक्तिको लाभ प्राप्त हुन जान्छ ।
त्यागको ठूलो प्रभाव छ । बाबा मस्तरामले पनि सबै कुरा त्याग गर्ने अभ्यास गरे । भिक्षाको पनि त्याग गरे । बिना प्रयास प्राप्त भए लिन्थे अन्यथा आफूले कुने प्रयास नगर्ने । उनलाई ऋषिकेशमा भेट्न फ्रान्सबाट एक जना महिला आइन् । उनका केही शिष्य पनि त्यहाँ थिए।
बाबाको नियम थियो कसैले केही ल्याइदिए खाने नत्र त्यत्तिकै बस्ने । तीन दिन देखि कसैले केही खानेकुरा ल्याइदिएन । भोकले आत्तिएर फ्रेन्च शिष्याले बाहिर निस्केर अलिकति समोसा मागेर ल्याइन् र बाबालाई टक्र्याइन् ।
बाबाले सोधे– ‘कसले ल्यायोे ?’
शिष्याले गाह्रो मान्दै भनिन्– बाबा, हजुरले तीन दिन देखि खानु भएको छैन । यहाँ बसेका अरुको पनि भोकले बेहाल भएको छ । मैले सहन गर्न सकीनँ अनि मैले मागेर ल्याएको हो। बाबाले भने मागेर ल्याएको भए पनि हुन्न । उनले आफूले पनि खाएनन् । शिष्यहरुलाई पनि खान दिएनन् । बाहिर फालिदिए । भोकले थकित, गलित शिष्यहरुले कोठा बाहिर दुनामा फालिएका समोसा टुलुटुलु हेरेर बसे ।
चौथो दिन कसैले सबैलाई पुग्ने गरी खानेकुरा ल्यायो । त्यस भोजनलाई बाबा मस्तरामले पहिला भोकाएका शिष्यलाई दिए र अन्तमा आफूले खाए ।
मानिस भित्र ५० प्रतिशत पुरुष र ५० प्रतिशत स्त्री हुन्छ । मनोवैज्ञानिक जुङ्ग भन्छन्, ५० वर्ष कटे पछि शारीरिक र मानसिक परिवर्तन हुन्छन् अनि पुरुष अलि अलि स्त्री जस्तो र स्त्री अलि अलि पुरुष जस्तो हुँदै जान्छन् । यसको अर्थ के हो भने मानिसहरुको मनोविज्ञानमा स्वभावगत र उमेरगत अन्तर हुन्छन् त्यसैले साधनाका अनेक विधि हुन्छन् । जुन विधिबाट मनको एकाग्रता स्थापित हुन्छ, त्यो नै उसका लागि सर्वश्रेष्ठ विधि हो ।

 
चित्र १२.१ भक्तहरु
मीरा बाई योगमाया
सोह्रौं शताब्दीकी कृष्ण भक्त मीराबाई कृष्णभक्ति धाराकी सुप्रसिद्ध कवयित्री हुन् । उनका गुरु सन्त रैदास थिए ।

पाँच वर्षकी मीराले जन्ती हिंडेको देखेर आमालाई सोधिन्– यिनीहरु को हुन् ? आमाले भनिन्– जन्ती । दुलही लिन हिंडेका । मीराले सोधिन्– मेरो दुलाहा को हो ? आमाले मुरलीधर कृष्णको सानो मूर्ति देखाइदिइन््– तिम्रो दुलाहा यिनै हुन् । बचपनमा नै भगवान् कृष्णलाई आफ्नो पति मानेकी मीराले आफ्ना पतिको मृत्यु पछि पनि शृंगार यथावत राखिन् । त्यस पछि उनी विरक्त भइन् र साधु सन्तको संगतिमा हरिकीर्तन गर्दै समय बिताउन थालिन् । उनको नाचगान देखेर उनका राजपरिवारले धेरै पटक विष दिएर उनको हत्या गर्ने प्रयास गरे । वृन्दावनमा उनको मृत्यु भएको मानिन्छ । भक्तहरुको श्रेणीमा मीराको नाम सर्वोच्च स्थानमा आउँछ। भगवान् कृष्णलाई आफ्नो पति मानिन् । कृष्ण बाहेक उनको कोही न प्रेमी थियो न पति । मीराका कवितामा कृष्ण प्रेमको जुन उचाई छ, प्रेमको त्यति राम्रो कविता फेरि कसैले रचना गर्न सकेको छैन ।

योगमायाको जन्म वि.सं १९२४ मा भोजपुर जिल्ला अन्तर्गत पर्ने मझुवाबेसीको नेपालडाँडाको एक सामान्य परिवारमा भएको थियो । सानै उमेरमा विवाह भएकी उनी घरका मानिसहरुको निष्ठुर व्यवहार सहन गर्न नसकेर घर छोडेर हिंडेकी थिइन् । घर छोडेर आएकोले माइतीमा पनि उनको स्वागत भएन । त्यसैले माइत पनि छोडिन् । उनले अर्को विवाह गरिन् । यस विवाहबाट उनको एक छोरी जन्मिन् ।

उनी पहिलो पटक कुनै पुराणवाचन कार्यक्रममा सहभागी भइन् । जहाँ उनले ज्ञानको प्रकाश किरण प्राप्त गरिन् । अबोध योगमायालाई जुन दिन शरीरका कृत्यले गरेका पाप सुधार गर्न तपस्या र भक्ति गर्नु पर्छ थाहा भयो उनले अत्यन्त कठोर र अनुशासित जीवन बिताउन सुरु गरिन् । उनले बालागुरु षडानन्दको शिष्यत्व ग्रहण गरेर स्वर्गद्वारी महाप्रभुसंग भेट गर्न लामो तीर्थ यात्रा गरिन् । यस पछि केही समय तीर्थयात्रा तथा साधु सन्तको संगतमा समय बिताइन् । उनले आर्यसमाजी, शंकराचार्य परम्परा तथा जोसमनी सन्तहरुको संगत प्राप्त गरिन् । कठोर तपस्यापछि उनमा जाग्रत भएको भक्ति भाव पछि उनले कविता गुनगुनाउन थालिन् । आफूले लेखपढ गर्न नसक्ने भएकोले उनका अनेक कविता हराएर पनि गए । आफ्नो जन्मस्थलमा फर्किन् । पछि उनी ठुली हजुर मात्र बनिनन् योगवाणी समेत रचना गरिन् । ईश्वर भक्तिले उनीमा प्रचण्ड आत्मबल प्रदान गर्यो । समाज सुधारका लागि उनको एक्लो प्रयासमा उनले राज्यको सहयोगका लागि राणा शासकहरुसँग सम्पर्क गर्न खोजिन् । बारम्बार प्रयास गर्दा पनि कुनै सुनुवाई नभए पनि उनका अनेक शिष्याहरु थिए र उनको प्रभाव बढ्दै थियो । धर्मराज्यको स्थापनाका लागि विरोधस्वरुप उनले वि.सं. १९९८ आफ्ना अनेक शिष्याहरुका साथ रहस्यपूर्ण जलसमाधि लिइन् । तर उनको प्रभाव अद्यापि छ । उनको नामबाट सर्वार्थ योगवाणी नाम गरेको पुस्तक पाइन्छ ।

परमहंस रामकृष्ण महाप्रभु हंसानन्द

स्वामी विवेकानन्दका गुरु परमहंस रामकृष्णको बचपन कलकत्ता, दक्षिणेश्वरमा काली माताको पुजारीको रुपमा बित्यो । एकाग्रमनले कर्मकाण्डमा लाग्दा उनले युाववस्थामा काली मातालाई साक्षात्कार गरे । उनको सबभन्दा ठूलो योगदान के हो भने सबै सम्प्रदायले एउटै लक्ष्य प्राप्त गर्छन् भन्ने कुरा सिद्ध गरेर देखाए । साकार, निराकार साधना मात्र होइन उनले इस्लाम र क्रिस्तान धर्मले पनि परमसत्यमा एउटै कुरा अनुभव गर्छन् भन्ने कुरा प्रमाणित गरे । उनले ब्रह्मज्ञानलाई बोलीचालीको भाषामा सर्वसाधारणमा प्रचार गरे । उनका विचारको प्रचार गर्न उनका शिष्य स्वामी विवेकानन्दले विश्व भ्रमण गरे ।

वि.सं. १९१६ मा जन्मेका महाप्रभुले आफ्नी आमालाई नारायणरुपको अवतार लिएको कुरा स्वप्नमा जानकारी दिएको बताइन्छ । हरेक एकादशीमा आमाको दुध नचुस्ने, आमाले मासु खानेदिन आमाको दूध नखाने मानिसहरुलाई उनीहरुको भविष्य बताइदिने जस्ता कार्य सानै देखि गर्न थालेका थिए । चार वर्षको उमेरदेखि नै पूजापाठ गर्न थालेका महाप्रभुले आमाले विवाहको प्रस्ताव राखेपछि घर छोडेर सन्न्यास ग्रहण गरेपछि उनको नाम हंसानन्द गिरी हुन गयो । वि.सं. १९४४ मा महायज्ञ सुरु गरे जुन आज पनि संचालनमा छ । उनी रातिमा निदाएको कसैले नदेखेको, नदीबाट घिउ सापटी मागेको, गुफामा धेरै समय निराहार तपस्या गरेको, बाघहरुलाई गाई खानबाट रोकेको गाईहरुलाई नाम लिएर बोलाउने गरेको जस्ता अनेक कथाहरु प्रचलनमा छन् । त्यसैले महाप्रभुले पशुको भाषा बुझ्न सक्नुहुन्थ्यो भन्ने जनश्रुति छ । गाईको प्रत्येक बथानलाई प्रभुले अलग वनमा चर्न जाने निर्देश दिना साथ त्यो सोही वनमा जान्थ्यो । गाईहरुले प्रभुको भाषा बुझ्थे भन्ने मानिन्छ । विशाल गाईपालन गरे पछि गोवद्र्धन पूजाको उनले सुरु गरेको परम्परा आजसम्म पनि यथावत छ ।

स्वर्गद्वारी महाप्रभु स्वामी हंसानन्द गिरीको सम्पूर्ण जीवन चमत्कारपूर्ण कामले भरिएको छ । कुनै पनि मानिसलाई हेरे पछि उसको तीन जन्मको विवरण महाप्रभुलाई जानकारी हुन्थ्यो

बालागुरु षडानन शिर्ष पाठ
बालागुरु षडाननको जन्म वि.सं. १८९२ सालमा भोजपुरमा भएको हो । यज्ञोपवीत पछि उनले मिथिला र बनारसमा गई संस्कृतको गहन अध्ययन गरे । बालागुरु षडानन सानै देखि ज्ञानी थिए । त्यसमा मिथिला र बनारसका विद्वान् गुरुहरुको संगतले त्यसमा अझ संस्कार गर्यो । उनले आफ्नो जीवन ज्ञानका लागि समर्पित गरे । चौबीस पटक गायत्री पुरस्चरण लगायतका अनेक साधना गरेका उनले वि.सं.१९३२ मा नेपालको पहिलो विद्यालय स्थापना गरेको बताइन्छ । यसरी बालागुरु नेपालमा औपचारिक शैक्षिक चेतनाका प्रथम ज्योति हुन् । अणिमा, लघिमा आदि अष्ट सिद्धिका स्वामी आबाल ब्रह्मचारी षडानन्दले शिक्षाको प्रचार र समाजसुधार बाहेक मन्दिर, पाटी, धारा, कुण्ड, पोखरी, बाटा, टुँडीखेल निर्माण गरेर सामाजिक निर्माण कार्य गरे । सामुदायिक वन, र मेला व्यापार संचालन प्रारम्भ गरे । यी संस्थाहरुको दिगो परिचालनका लागि गुठीको स्थापना समेत गरेर आर्थिक व्यवस्थापन समेत गरेका थिए । उनले सुरु गरेका अनेक कार्य आज पनि सुसंचालनमा रहेका छन् । सन्त शशिधर

शशिधर स्वामीको जन्म विक्रम सम्वत् १७७० मा भएको हो । विक्रम सम्वत् १८०१ तिर पश्चिम नेपालको महाकाली पारी पर्ने पौडी गढवालमा रहेको क्योँकालेश्वर मन्दिरको जीर्णोद्धार गरी १८१० सम्म त्यहीं बसेर आफू र गुरुको लागि उनले आश्रम समेत बनाए । आफ्नो घर अर्घाखाँची फर्केर उनले विवाह गरे । एक सन्तान जन्मे पछि उनले कठोर तपस्या प्रारम्भ गरे । सुरुमा अर्घाखाँची र पछि गुल्मीको रेसुङ्गामा आई तपस्या गरे । गुल्मीमा शशिधर पछि यदुकानन्द स्वामी महायज्ञका लागि प्रसिद्ध बने । शशिधर स्वामीले नेपालबाट सुरु गरेको भक्ति परम्परा नै जोसमनि परम्परा बन्यो । यसलाई ज्ञानदिलदास, अगमदिलदास आदि सन्त कविहरुले पूर्वी नेपालमा लोकप्रिय बनाए । शशिधरले जीवनको अन्तिम समय गढवालमा बिताएकोले भारतको उत्तराखण्डमा यो मत निकै प्रचलित भएको छ ।


अद्वेष्टा सर्वभूतानां मैत्रः करुण एव च ।
निर्ममो निरहङ्कार समदुखसुख क्षमी ।।१३।।
सन्तुष्टः सततं योगी यतात्मा दृढ निश्चयः ।
मय्यर्पित मनोबुद्धिर्यो मद्भक्तः स मे प्रियः ।। १४ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

यः (जसले) अद्वेष्टा (द्वेष भावरहित) सर्वभूतानाम् (सबै प्राणीहरुमा) मैत्रः (मित्रतापूर्ण) करुण (करुणापूर्ण) एव (नै हुन्छ) च (तथा) निर्ममः (ममत्व बुद्धितारहित) निरहङ्कारः (अहङ्काररहित) समदुखसुखम् (सुखदुखमा एक समान) क्षमी (सहनशील, क्षमावान्) सन्तुष्टः सततम् (सधैं सन्तुष्ट) यत–आत्मा (इन्द्रिय संयम गरेको) दृढ निश्चयः (दृढ निश्चयी) मनोबुद्धिः (मन र बुद्धि) मयि (ममा, ईश्वरमा) अर्पित (अर्पण गरेको सः (त्यो) मद्भक्तः (मेरो भक्त) योगी (योगी) मे (मलाई) प्रियः (प्रिय छ) ।
जसले कसैलाई द्वेष गर्दैन, जो सबै प्राणीहरुमा मित्रतापूर्ण र करुणापूर्ण व्यवहार गर्छ, जो ममत्व बुद्धि र अहङ्काररहित छ, तथा जो सुखदुखमा समान र सहनशील छ । अनि जो सधैं सन्तुष्ट छ, जसले इन्द्रिय संयम गरेकोे छ, जा दृढ निश्चयी छ र जसले मनबुद्धि ईश्वरमा अर्पण गरेको छ, यस्तो कर्मयोगी भक्त मलाई प्रिय छ ।। १३–१४ ।।

ईश्वरलाई प्रिय हुनु भनेको के हो ? जुन कुरा ईश्वरका लागि प्रिय छ, त्यो हाम्रो लागि उत्कृष्टतम बाटो हुन्छ । यो कुरा जसले बुझ्छ, त्यो नै भक्त हो । ईश्वरले प्रिय मान्नुको अर्थ ईश्वरले कसैलाई बढी माया गर्ने र कसैलाई कम माया गर्ने होइन । ईश्वर सबै प्रति एकनास छन् । जसले ईश्वरलाई प्रिय लाग्ने गुण विकास गर्छन् उनीहरुले ईश्वरको अनुग्रह आफैं प्राप्त गर्छन् । उदाहरणका लागि बिहानको उज्यालोमा जसले आँखा खोलेको हुन्छ उसले प्रकाश प्राप्त गर्छ तर जसले आँखा खोलेको हुँदैन उसले अन्धकार प्राप्त गर्छ । आँखा खोल्नु भनेको ईश्वरको प्रिय हुनु हो ।
भक्त द्वेषरहित र स्वार्थरहित हुन्छ अर्थात् उसले सबैसँग प्रेमपूर्ण व्यवहार गर्छ । भक्त मैत्रीपूर्ण र करुणापूर्ण हुन्छ । सबै प्रति मैत्रीपूर्ण र करुणापूर्ण हुनासाथ ममत्वबुद्धि हराउँछ, द्वेष रहँदैन। यसले गर्दा क्षमा भाव स्वतः आउँछ । लाभहानि र सुखदुखमा समभाव धीरपुरुषको गुण नै हो । भक्त धीर भएकोले आफूले बेहोर्ने परिस्थितिहरु प्रति कहिल्यै असन्तुष्ट हुँदैन । जे जस्तो परिस्थितिलाई पनि स्वाभाविक रुपमा लिन्छ ।
अहंकारहीनता भक्तको सर्वोपरि विशेषता हो । ज्ञानीमा केही न केही अहङ्कार रहन जान्छ तर भक्तमा अहङ्कार सजिलो गरी हट्छ । अहङ्कार हट्नासाथ आफैं उद्धार हुन्छ । काठ पानीमा उत्रिन्छ किनभने म भारी छु भन्ने भाव हुँदैन तर फलाममा भारी छु भन्ने अहङ्कार हुन्छ त्यसैले डुब्छ । अहङ्कार नै आवश्यकताको जननी हो । जुन मानिसमा अहङ्कार हुँदैन उसका आवश्यकता पनि हुँदैनन् । त्यसैले भनिन्छ– आवश्यकतारहित मानिस देवतुल्य हुन्छ।
भक्त सधैं सन्तुष्ट हुन्छ, उसको कसै प्रति केही गुनासो हुन्न । भक्त इन्द्रिय संयमी हुन्छ । इन्द्रिय संयमी भएकैले उसमा दृढ निश्चयी गुण विकास हुन्छ ।
गतः वर्षको सर्वाधिक बिक्री भएको पुस्तक हो, द ह्यापिएस्ट म्यान अन द अर्थ, संसारको सबभन्दा प्रसन्न व्यक्ति । हिटलरको होलोकास्टबाट जीवित बचेका एडी जाकुले १०० वर्षको उमेरमा आफ्नो अनभुव लेखेका हुन् । उनले हरेक दिन मृत्युको प्रतिक्षा गरेर सात वर्ष बिताए । दैवसंयोगले बचेका उनले सन् २०२० मा आफ्ना अनुभव र विचार प्रकाशित गरे। यस कथामा उनले कसै प्रति कुनै गुनासो गरेका छैनन् । हिटलरलाई उनले आफू जस्तै कमजोर देखेका छन् । कमजोरले नै क्रूरता देखाउँछ भन्ने उनको भनाई छ । हरेक दिन मुस्कुराउनु पर्छ । सधैं सन्तुष्ट रहनु पर्छ । आइपरेको परिस्थितिलाई स्वीकार गर्नु पर्छ भन्ने उनको सुझाव छ । पिताका अर्ती, आमाको प्रेम र मित्रहरुको साथका स्मरणले सय वर्षको उमेरमा सम्बल दिईरहेको कुरा उल्लेख गरेका छन् ।
यस्मान्नोद्विजते लोको लोकान्नोद्विजते च यः ।
हर्षामर्षभयोद्वेगैर्मुक्तो यः स च मम प्रियः ।। १५ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

यस्मात् (जसबाट) लोकः (लोक) न (न) उद्विजते (क्लेश, क्षोभ हुन्छ) च (तथा) यः (जो) लोकान् (लोकबाट) न (न) उद्विजते (उद्वेग) च (तथा) यः (जो) हर्ष (हर्ष) अमर्ष (क्रोध, अमर्ष) भय (भय) उद्वेगैः (उद्वेगबाट) मुक्तः (मुक्त छ) सः (त्यो) मम (मलाई) प्रियः (प्रिय छ) ।
जसबाट न लोकलाई क्षोभ हुन्छ, न उसले लोकबाट क्षोभ प्राप्त गर्छ । तथा जो हर्ष, अमर्ष, भय र उद्वेगबाट मुक्त छ, त्यो मानिस मलाई प्रिय छ ।। १५ ।।
अनपेक्ष ः शुचिर्दक्ष उदासीनो गतव्यथ ः ।
सर्वारम्भपरित्यागी यो मद्भक्तः समे प्रियः ।। १६ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

यः (जो) अनपेक्ष ः (अपेक्षारहित) शुचिः (पवित्र, शुद्ध) दक्षः (दक्ष, सिपालु) उदासीनः (उदासीन, वास्ता नगर्ने) गतव्यथ ः (सुख दुखका व्यथाबाट मुक्त) सर्वारम्भ परित्यागी (सकाम कर्मको त्याग गरेको) सः (त्यो) मद्भक्तः (मेरो भक्त) मे प्रियः (मलाई प्रिय छ) ।
जो अपेक्षारहित छ अर्थात् कुनै कुराको चाहना गर्दैन । जो पवित्र र सिपालु छ, जो फलको विषयमा उदासीन छ, जसलाई सुखदुखले विचलित गराउन सक्दैन, जो सर्वारम्भत्यागी छ अर्थात् जसले सकाम कर्म त्याग गरेको छ, यस्तो भक्त मलाई प्रिय छ ।। १६ ।।

भक्तले कसैलाई उद्विग्न बनाउँदैन र आफैं पनि अरुबाट उद्विग्न हुँदैन । उद्विग्नको अर्थ हो उत्तेजना, भय, आवेग, क्षोभ जस्ता भावनात्मात्मक वेगले प्रभावित हुनु । भक्तले कसै प्रति उद्वेगको भावना राख्दैन । भक्तले संसारबाट कुनै क्लेश प्राप्त गर्दैन किनभने जसले जस्तो भाव राखे पनि भक्तले उसलाई प्रेम गर्छ । हर्ष, अमर्ष, भय र उद्वेगबाट भक्त मुक्त हुन्छ । हर्षको अर्थ हो हाँसो वा खुशी । हर्ष हुँदैन भन्नुको अर्थ दुखी हुनु पर्छ भनेको होइन । जो खुशी हुन्छ ऊ दुखी पनि हुनसक्छ । जो आनन्दित रहन्छ ऊ खुशी वा दुखी हुँदैन । त्यसैले भक्त सधैं आनन्दित रहन्छ । अमर्षको अर्थ हो अरुको उन्नतिमा दुखी हुनु, क्रोध गर्नु वा दिक्क हुनु । भक्त अरुको खुशीमा खुशी र अरुको दुखमा दुखी हुन्छ, त्यसैले उसले कसैसँग अमर्ष गर्दैन । त्यसैले भक्त व्यथामुक्त अर्थात् आनन्दित रहन्छ ।
सबै कुरा ईश्वरलाई समर्पण गरेकोले उसलाई कसैसँग भय पनि रहँदैन । अनि भक्तले कुनै काम गरे बापत कसैबाट कुनै कुराको प्रति आशा वा अपेक्षा गरेको हुँदैन । ऊ बाहिर, भित्र शुद्ध रहन्छ । यसको अर्थ के हो भने बाह्य पवित्रताका लागि उसले सत्य, अहिंसा, अस्तेय, अपरिग्रह र ब्रह्मचर्य तथा आन्तरिक पवित्रताका लागि शुद्धता, सन्तोष, तप, स्वाध्याय पालन गर्छ । अनि ईश्वरको उपासना र पूजा उसको सर्वोच्च कार्य हुन्छ । भक्त दक्ष हुन्छ । दक्षको अर्थ हो आफ्नो काममा सिपालु । भक्तले काम कुशलतापूर्वक सम्पन्न गर्छ र मनलगाएर काम गर्छ किनभने उसको ध्यान परिणाममा होइन काममा हुन्छ। भक्त उदासीन हुन्छ । उसले सबै प्रति समान व्यवहार गर्छ । उत् र आसीन मिलेर उदासीन बनेको छ । यसको अर्थ हो माथि बसेको, प्रति अभिनति नभउको, निष्पक्ष हुन्छ । उसले शत्रुका पनि गुणको प्रशंसा गर्छ मित्रका पनि दुर्गुण बखान गर्न सक्छ । भक्त सर्वारम्भ परित्यागी हुन्छ । रभ् धातुको अर्थ हो सुरु गर्नु वा इच्छा गर्नु हो । त्यसैले सर्वारम्भपरित्यागीको एउटा अर्थ हो सकाम कर्मको त्याग गर्नु । सर्वारम्भपरित्यागीको अर्को अर्थ पनि छ, त्यो हो सुखमा मात्तिने र दुखमा आत्तिने नगर्नु । अहङ्कार परित्याग गरेर जसले आफ्नो कर्म गर्छ त्यो सर्वारम्भपरित्यागी हुनजान्छ । जसले सबै कुरा ईश्वरको जिम्मा लगाउँछ, त्यो मानिस स्वतः सर्वारम्भपरित्यागी हुन्छ । बाइबिलमा भनिएको छ– ‘हामीले योजना बनाउँछौं तर टुङ्गो ईश्वरले लगाउँछन् ।’ (We can make our plans but the Lord determines our steps) जसले यो कुरा बुझ्छ ऊ सर्वारम्भ परित्यागी हुन जान्छ।  
यो न हृष्यति न द्वेष्टि न शोचति न कांक्षति ।
शुभाशुभपरित्यागी भक्तिमान्यः स मे प्रियः ।। १७ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

यः (जो) न हृष्यति (न हर्षित हुन्छ) न द्वेष्टि (न द्वेष गर्छ) न शोचति (न शोक गर्छ) न काङ्क्षति (न आकाङ्क्षा गर्छ) शुभ–अशुभ–परित्यागी (शुभ अशुभ त्याग गरिसकेको छ) यः (जो) सः (त्यो) भक्तिमान् (भक्तियुक्त मानिस) मे (मलाई) प्रियः (प्रिय छ)।
जो केही पाएर न हर्षित हुन्छ, न द्वेष गर्छ, न शोक गर्छ, न केही कुराको इच्छा गर्छ, तथा जसले शुभ र अशुभ फल त्याग गरिसकेको छ, त्यो भक्तिमान् मानिस मलाई प्रिय छ ।।१७।।

भक्तले हर्ष, शोक, द्वेष, इष्ट, अनिष्ट सबै अवस्थालाई स्वाभाविक रुपमा लिन्छ । ऊ इष्ट पाएर खुशी पनि हुँदैन, र अनिष्ट पाएर दुखी पनि हुँदैन । वास्तवमा हर्ष र शोक एउटै सिक्काका दुई पाटा हुन् । जो हर्षित् हुन्छ उही दुखी पनि हुन्छ ।
भक्तले आकाङ्क्षाको आधारमा कर्म गर्दैन, कर्तव्य सम्झेर कर्म गर्छ । कुनै कुराको चाहना राख्नु असन्तुष्टिको कारण हो । भक्त शुभ–अशुभ दुवै प्रति समान हुन्छ । ईश्वरले जे दिएको छ, त्यो स्वीकार गर्नेका लागि शुभ र अशुभमा अन्तर रहँदैन । यसको कारण के हो भने ईश्वरले जे गर्छ त्यो भन्दा शुभ अर्को हुन सक्दैन भन्ने कुरा भक्तले बुझेको हुन्छ ।
वैज्ञानिक अब्दुल कलामले सुरुमा भारतको एयरफोर्सको परीक्षामा समावेश भए । तर उनी उत्तीर्ण हुन सकेनन् । यस असफलताले उनलाई सारै निराश बनायो । उनी एक जना सन्त कहाँ आफ्नो निराशा व्यक्त गर्न पुगे । सन्तले भने– यसको अर्थ स्पष्ट छ, तिमी फौजी अफीसरका लागि योग्य रहेन छौ । तिमी त्यो भन्दा कुनै ठूलो कामका लागि ईश्वरबाट छानिएका छौ । चिन्ता गर्न छोडेर उनले आफ्नो अध्ययनलाई नियमितता दिए । पछि उनी एक सफल वैज्ञानिक बने । अन्तमा भारतका राष्ट्रपति बने ।


स्वामी विवेकानन्द सन्न्यासी नहुँदै विद्यार्थी नरेन्द्रदत्त थिए । बेरोजगार नरेन्द्रदत्तले धेरै ठाउँमा नोकरी खोजेका थिए । पिताको मृत्यु पछि घरको जिम्मेवारी उनैका काँधमा थियो । आमाले धेरै पटक गुनासो गर्थिन । घरमा कतिपटक खाना पाकेको थिएन । उनी आफैंले कहिलेकाहीं साथीले खान बोलाएको छ भनेर बाहिर घुमेर आउँथे र साँझमा भोकै सुत्थे । यी सबै कारणले उनी असाध्यै दुखी रहन्थे ।
एक दिन रामकृष्णले नरेन्दको समस्या सोधे । रामकृष्ण काली मन्दिरका साधारण पुजारी थिए । उनले आफूले के गर्न सक्थे र ? नरेन्द्रका कुरा सुनेर उनी ज्यादै दुखी भए र मन्दिर भित्र गएर कालीको मूर्तिका अगाडि रुन थाले ।
एक छिन पछि बाहिर आएर नरेन्दलाई भने– जाउ तिमीलाई जे चाहिन्छ आमासँग माग ।
नरेन्द्रभित्र गएर ध्यान मग्न भए । र एक छिन पछि बाहिर आए । यसरी उनी तीन पटक भित्र गए । तर धनसम्पत्ति माग्न सकेनन् । यसबाट उनी आफू पनि निराश बने ।
अनि रामकृष्णले भने– नरेन्द्र, माताले तिमीसंग ठूलो काम लिनका लागि परीक्षा लिन खोज्दै छिन् । धैर्य गर ।
परमहंस रामकृष्णको संगतले उनी अन्तमा विश्व प्रसिद्ध सन्त विवेकानन्द बने । यदि उनको इच्छा पूरा भएको भए उनले कुनै सरकारी नोकरी गरेर परिवार पाल्थे होला ।
समःशत्रौ च मित्रे च तथा मानापमानयो ः ।
शीतोष्णसुखदुखेषु समः संगविवर्जितः ।।१८।।
तुल्य निन्दास्तुतिर्मौनी सन्तुष्टो येन केनचित् ।
अनिकेतः स्थिरमतिर्भक्तिमान्मे प्रियो नरः ।। १९ ।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

शत्रौ च मित्रे च (शत्रु र मित्रमा) समः (समान छ) तथा (तथा) मान–अपमानयो ः (मान र अपमानमा) शीत–उष्ण–सुख–दुखेषु (सर्दी र गर्मी, सुख र दुखमा) समः (एकनास छ) संगविवर्जितः (आसक्तिरहित) निन्दा–स्तुतिः (निन्दा र स्तुतिमा) तुल्य (एक समान) मौनी (मननशील, कम बोल्ने) येन–केनचित् (जे जति प्राप्त हुन आउँछ) सन्तुष्टः (सन्तुष्ट छ) अनिकेतः (अनिकेत, घरमा आसक्ति नभएको) स्थिरमतिः (स्थिर बुद्धि) भक्तिमान् (भक्तिमान्) नरः (मानिस) मे प्रियः (मलाई प्रिय छ) ।
जो शत्रु र मित्र, मान र अपमान, सर्दी र गर्मी, सुख र दुखमा एकनास छ, जसलाई कुनै कुरामा आसक्ति छैन, जो निन्दा र स्तुति दुवैमा एकनास छ, थोरै बोल्ने, जे जति प्राप्त हुन्छ त्यसैमा सन्तुष्ट रहने, घर परिवारमा आसक्ति नभएको, स्थिर चित्त छ, यस्तो भक्तिमान् मानिस मलाई प्रिय छ ।।१८–१९।।

द्वन्द्व नै जीवनमा दुखको कारण हो । यस्ता द्वन्द्वबाट मुक्त भएकोले नै भक्तमा समताको गुण हुन्छ । वास्तवमा म, मेरो, मलाई जस्ता अहङ्कारले गर्दा जीवनमा लाभ हानि, जाडो गर्मी, निन्दा स्तुति, मित्र शत्रु जस्ता द्वन्द्व उत्पन्न हुन्छन् । भक्त यी द्वन्द्वबाट माथि हुन्छ । भक्त मननशील हुन्छ । मननशीलको अर्थ हो थोरै बोल्ने, उचित बोलने जसबाट सुन्ने र बोल्ने दुवैलाई आनन्द हुन्छ ।
जे जति प्राप्त छ, त्यसबाट सन्तुष्ट रहनु यो भक्तको एक गुण हो । सुखी रहनका लागि यो आवश्यक नियम हो । किनभने आफूसँग नभएको कुरा चाहना गर्नु भनेको नै असन्तुष्टि र दुखको कारण बन्छ ।
अनिकेतको अर्थ हुन्छ घर नभएको । जसरी अहङ्काररहित व्यक्तिलाई विदेह भनिन्छ, त्यसै गरी घरको आसक्ति नभएको व्यक्तिलाई अनिकेत भनिन्छ । घरमा बस्नु उसका लागि कर्तव्य हो, आसक्ति होइन ।
भक्तको मन ईश्वरमा लागेको हुन्छ, त्यसैले उसको चित्तमा चञ्चलता हुँदैन अर्थात् भक्त स्थिर चित्तयुक्त हुन्छ । पतञ्जलिले ईश्वरमा मन लगाउनुलाई ध्यानको अन्तिम विकल्पको रुपमा लिएका छन् ।
ये तु धर्म्यामृतमिदं यथोक्तं पर्युपासते ।
श्रद्दधाना मत्परमा भक्तास्तेऽतीव मे प्रियाः ।।२०।।

पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्

तु (अनि) यथा उक्तम् (यहाँ भनिएका) धम्र्य अमृतम् (अमृत तुल्य धर्मलाई) इदम् (यिनी) ये (जुन मानिसले) मत्–परमाम् (मेरो परायण भई) श्रद्दधानाः (श्रद्धापूर्वक) पर्युपासते (राम्ररी आचरण गर्छन्) ते (तिनी) भक्ताः (भक्तहरु) मे (मलाई) अतीव प्रियाः (अति प्रिय छन्) ।
अनि यहाँ भनिएका अमृततुल्य धर्मलाई जुन मानिसले मेरो परायण भई श्रद्धापूर्वक आचरण गर्छन्, ती भक्तहरु मलाई अति प्रिय छन् ।। २० ।।

भगवान् श्रीकृष्णले यस अध्यायमा छ पटक प्रिय शब्दको प्रयोग गर्नु भएको छ । भगवानलाई आफ्ना भक्त कति प्रिय हुन्छन्, त्यो यसको उदाहरण हो । भागवतमा भक्तलाई भगवानको स्वरुप बताइएको छ । जसले यहाँ बताइएका गुण व्यवहारमा उतार्छ उसले धम्र्य अमृतलाई नै उपासना गरेको ठहर्छ । आचार्य सुरेश्वरले वृहदारण्यक उपनिषद्को टीकामा भनेका छन्– ‘आत्मबोध भइसकेका व्यक्तिमा अद्वेष्ट आदि गुणहरु आफैं बिना कुनै प्रयत्न आउँछन् तर साधक अवस्थामा ती गुण हुँंदैनन् । त्यस अवस्थामा यी गुणहरु ईश्वरभक्तिलाई आधार मानेर आर्जन गर्नु पर्छ ।’
यहाँ भनिएका सबै गुण भगवान् श्रीकृष्णको जीवनमा एकै ठाउँमा पाइन्छन् । विद्याध्ययन प्राप्त गर्ने सानो उमेरमा उनले गाई चराएर बिताउनु पर्यो । धेरै पछि सान्दीपनि गुरुको आश्रममा पढ्ने अवसर प्राप्त भयो त्यो पनि थोरै समयका लागि । युद्ध गर्दा बारम्बार भागेर जिउ जोगाउनु पर्यो । मणि चोरी गरेको दोष लाग्यो । यसबाट मुक्ति पाउन ओडार भित्र २८ दिन ज्यान जोखिममा पारेर युद्ध गर्नु पर्यो । आफ्नो कारणले परिवार मात्र होइन यदु कुल नै बसाईं सरेर द्वारका जानु पर्यो । तथापि भगवान् श्रीकृष्णले सबै कुरा सहर्ष स्वीकार गर्दै सधैं प्रसन्नचित्त रहेर संसारका लागि उदाहरण प्रस्तुत गर्नु भएको छ । त्यसैले भगवान श्रीकृष्णको जीवन एक साधक, सिद्ध, भक्त र योगीको उदाहरण हो । यस अध्यायमा भक्ति योगलाई महत्त्व दिए पनि गीताले साधकलाई ज्ञान, भक्ति, कर्म र ध्यान चारवटै योगका सन्तुलित मिश्रणको अभ्यास गर्न प्रेरित गर्छ । जुन आफ्नै प्रकृतिका लागि बढी अनुकूल हुन्छ त्यस योगलाई साधकले मुख्य साधना बनाउनु पर्छ । साथै उचित अनुपातमा अन्य योगलाई मिसाउनु पर्छ । कुनै पनि मानिसमा केवल एउटा शक्ति मात्र हुँदैन अघि भनिएका चारवटै शक्तिहरू हुन्छन् । तर चारवटै शक्तिको अनुपात भने सबैमा फरक फरक हुन्छ । ध्यान दिनु पर्ने कुरा के भने योगेश्वर श्रीकृष्णले चारै योग एउटै मानिस– अर्जुनलाई सिकाउनु भएको छ र तिनीहरूको अनुसरण गर्नका लागि प्रेरित पनि गर्नु भएको छ । यसबाट निस्संकोच के निर्णय गर्न सकिन्छ भने गीताको योग एक समुचित आध्यात्मिक साधना हो । जसले यसका चारवटै पक्षलाई समन्वित गर्छ । तर पनि अर्जुनको स्वभाव वा प्रकृति कस्तो थियो भने उनका लागि कर्मयोग नै बढी अनुकूल थियो । उसको स्वधर्म अनुसार सन्न्यास वा ज्ञानयोग उसका लागि उपयुक्त थिएन । त्यसैले यस अध्यायमा अर्जुनका लागि कर्मफलको आकांक्षा त्याग गरेर एकाग्रतापूर्वक कर्म गर्नु नै सजिलो र श्रेयस्कर बताइएको छ । यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने उद्धवलाई उपदेश दिँदा भगवान कृष्णले ज्ञानभन्दा भक्ति सरल हुन्छ भनी उपदेश दिनु भएको छ । त्यसैले कुनै एउटा विधि सबै मानिसका लागि उपयुक्त हुँदैन । यदि ज्ञानको विधि शंकराचार्यलाई सरल छ भने नारदलाई भक्तिको विधि सरल छ ।
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे भक्तियोगो नाम द्वादशोऽध्यायः ।। श्रीमद्भगवद्गीता रुपी उपनिषद् यस ब्रह्मविद्या र योगशास्त्रमा श्रीकृष्ण र अर्जुनका संवादको भक्तियोग नाम गरेको अध्याय १२ समाप्त भयो ।।ॐ तत्सत् ।।