कनकाई प्रवाह: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ४३२:
 
यस् सन्सारमा स्वतंत्र रहनुजतिको आनन्द केही छैन । परतंत्रमा रहनुजतिको दुक्ख केही छैन, उस्माथि पनि प्रायः कविहरू ता धन् जन् मान् मर्यादा क्यै पनि नलिई केवल स्वतन्त्रतामा रहन खोज्दछन् । भानुभक्तले यसरी ५ मैन्हासम्म थुनिदा निज कविजीका मनमा कस्तो भयो होला, यस्को दुरुस्त बयान् कलम्ले लेख्न सकिदैन । कदाचित् एक २ घडी युग् जस्ता भये हुनन्; भर्दिन कोठाका दलिन् गनी काट्नुपर्यो होला । कसै सित बोल्चाल् होला कि भन्ने आशा सपनामा पनि भयेन होला, कैह्लै बोल्चाल् होस् तपनि केवल बहीपत्र बुझाउँदा भयो होला । तेस बखत्को बोल्चाल् के बोल्चाल्; बहीपत्र स्याह कागत् बुझ्नेहरूको जो मिजाज् हुंछ म के लेखूँ । यसरी एक्लै बस्ता बस्ता बडा दिक्दारीमा परी श्री ३ कम्यान्डर इन्चीफ जनरल कृष्णबहादुरका हजूरमा कवि भानुभक्ताचार्यले लेखी चढाई पठायाको श्लोक् यो हो (भट्ट, २०६८ ः १४) ।
 
उपर्युक्त विवरणबाट प्रस्तुत दुवै पद्यको रचना भानुभक्तले आफू कुमारी चोकमा थुनिँदाका बखत गरेको देखिन्छ । मदेसतिरको जागिरको स्याहाश्रेस्ता नमिलेपछि थुनामा परेका भानुभक्तले पाँच महिना बन्दी जीवन बिताउनु परेको थियो । एउटा स्वतन्त्र पन्छी झैं विचरण गर्ने कविले जेलभित्रको उकुसमुकुसिँदो वातावरणमा लामखुट्टे, उपियाँ र उडुसको लहरमा दिनरात बिताउनु परेको दिग्दारी व्यक्त गर्न र अझ आफ्ना मालिक श्री ३ जनरल कृष्णबहादुर राणामा समेत जाहेर गरी क्षमादानको लालसाले ठट्यौली पारामा पद्य १ को रचना गरेको देखिन्छ । यो विवरण स्पष्ट भइ सकेपछि अब भने पद्यको आन्तरिक मर्म र त्यसभित्रको हास्य एवम् व्यङ्ग्यचेत पनि खुलस्त हुन्छ ।
 
यहाँ पद्य १ को पहिलो पंंक्तिमा चरणको दर्शन पाएको र मनमा ताप (पीडा) नभएको कुरो व्यक्त भएको छ । जेलमा कोचिएर एकाकी जीवन बिताउने व्यक्तिले आफ्ना मालिकको चरणको दर्शन पाउनु र मनमा पीडा नहुनु विपरीत कुरा हो । यहाँ कविको भनाइ सोझो नभएर व्याजोक्तिपूर्ण रहेको छ । कवि÷वक्ताले जे भनेका छन् त्यसको आशय भने ठिक विपरीत रहेको छ । मालिकको दर्शन पनि नपाएको र मन सन्तापपूर्ण रहेको स्थिति नै वक्ताको सही आशय हो । यस्तो स्थितिलाई पाश्चात्य साहित्यमा आइरनी (व्याजोक्ति) भनिएको पाइन्छ । यस प्रकार यहाँ कविले आइरनी (व्याजोक्तिपूर्ण) शैलीबाट हास्य सिर्जना गर्न खोजिएको देखिन्छ । भावबाट प्रतिभाव व्यञ्जित हुनु (अधिकारी, २०६५ ः ७) वा वक्ताको बोलाइको उल्टो आशय बुझिने लक्ष्यार्थको प्रधानता (भट्टराई, २०५७ ः २९) हुने अभिव्यक्ति शैली नै आइरनी हो । त्यही शैलीको प्रयोगबाट कविले प्रस्तुत पद्यको यस पाउमा हास्य तत्त्वको उद्भावना गराएका छन् ।
 
पद्यको दोस्रो पंक्तिमा खर्च नगरी रातभर नाच हेर्न पाएको र आफू ठुलो चयन (आनन्द) मा रहेको स्थिति दर्साइएको छ । खर्च नगरी नाच हेर्न पाएको प्रसङ्ग हँस्सी दिल्लगीको रूपमा आएको छ । खर्च नगरी हेरिएको नाच भनेको लाम्खुट्टे उपियाँको ताण्डव हो । यहाँ कवि÷वक्ता थुनामा रहेको हुनाले त्यही लाम्खुट्टे र उपियाँको चर्तिकलालाई विना खर्चको नाचगान भन्ने सङ्केत गरिएको छ । यसलाई कवि÷वक्ताले हँस्सी दिल्लगीका रूपमा व्यक्त गरेको देखिन्छ । दिल्लगीपूर्ण ढङ्गबाट आफ्ना मालिक समक्ष आफूलाई उपहास्य देखाएर मालिकलाई रिझाउने अभिप्राय कविको देखिन्छ । हास्योत्पत्तिको यो स्थिति पाश्चात्य हास्य–व्यङ्ग्य साहित्यको फार्स (प्रहसन) का नजिक देखिन्छ । हँस्सी दिल्लगीको प्रधानता रहनु फार्सको चिनारी हो (अधिकारी, २०६५ ः ८) । दोस्रै पंक्तिको ठुला चयनमा रहेको अवस्थाले स्थितिवैपरीत्यलाई देखाउँछ । यहाँ कवि÷वक्ताले उल्टो स्थितिको चित्रणद्वारा आफ्नो वास्तविक अवस्थालाई देखाउन खोजेका छन् । यहाँ कवि÷वक्ताले आफ्नो दुर्दशाको व्याजोक्तिपूर्ण अर्थात् विपरीत कथनको प्रयोगद्वारा आफैंलाई आलम्बन बनाएर हास्यको सृजना गरेको देखिन्छ । यसर्थ यहाँ पनि प्रस्तुतिको आइरनी शैलीको प्रयोग भएको देखिन्छ ।
 
पद्य १ को तेस्रो र चौथो पाउमा पनि ठट्यौलो ढङ्गबाट कवि÷वक्ताले आफ्नो स्थितिको वर्णन गर्दै हास्यको सृजना गरेको देखिन्छ । यहाँ थुनाभित्र सँगी (साथी÷सहचर) का रूपमा लाम्खुट्टे, उपियाँ र उडुस रहेको दर्साइएको छ भने आफ्नो अपकार गर्ने लाम्खुट्टे उपियाँ आदिलाई साथी (उपकार गर्ने) का रूपमा चित्रण गरेर प्रच्छन्न वैपरीत्यको स्थितिबाट हास्योत्पत्ति गरिएको छ । यहाँ पनि कवि÷वक्ता आफैं आलम्बन बनेर व्याजोक्ति कथनका माध्यमबाट हास्य सृजना गरिएको छ । यो प्रस्तुति शैली फार्स र आइरनीको नजिक रहेको देखिन्छ ।
 
पद्यको चौथो पाउमा लाम्खुट्टेलाई गायक उपियाँलाई नर्तक र आफूलाई दर्शकका रूपमा चित्रण गर्दै हँसी–दिल्लगीलाई नै माध्यम बनाइएको छ भने यसबाट जेलकोठरीभित्रको परिस्थितिलाई प्रस्तुत गर्दै हास्यको सृजना गरिएको छ । लाम्खुट्टेको गुनगुन आवाजलाई गायन र उपियाँको फड्काइ÷उफ्राइलाई नाचका रूपमा चित्रण गर्नु ठट्यौली वा हँसी–दिल्लगी नै हो । यही हँस्सी–दिल्लगीका माध्यमबाट कवि÷वक्ताले आफू हास्यको आलम्बन बनेर आफ्नो त्यही दुर्दशामाथि व्यङ्ग्य गर्दै यहाँ कविले यो स्थितिबाट उन्मुक्तिको आकांक्षाका साथ आफ्ना मालिकको मन छुने प्रयास गरेको बुझिन्छ ।
 
पद्य २ पनि भानुभक्त थुनामा रहँदै लेखिएको हो । यो भानुभक्तका छोराको व्रतबन्धको समय आएकाले व्रतबन्ध गर्न पाऊँ भनी श्री ३ लाई बिन्ती चढाउन लेखिएको चार श्लोकी पद्यबद्ध बिन्तिपत्रको पहिलो श्लोक हो (भट्ट, २०६८) । यस पद्यमा कविले आफैंमाथि व्यङ्ग्य गरेका छन् । नदुखेको कपाल केजाति गरेर दुखाउनु भने जस्तै आफ्नो सुतीखेती गरेर गुजारा चलाइरहेका बेलामा मान–सम्मानको लालचले गर्दा उल्टै भुक्तमान् खप्नु परेको प्रसङ्ग यस पद्यमा आएको छ । अर्का तर्फ आफू हास्यको आलम्बन बनेर आफैंमाथि ‘खाइस् !’ को भावमा कटाक्ष गरेझैं गरी श्री ३ को निर्विवेकी व्यवहारमाथि पनि यस पद्यले व्यङ्ग्य गरेको छ । यस पद्यका प्रथम दुई पाउले कवि÷वक्ताको सामान्य स्थितिको चित्रण–वर्णन गरे पनि पछिल्ला दुई पंक्ति हास्य एवम् व्यङ्ग्यचेतका दृष्टिले निकै शक्तिशाली देखिन्छन् । पद्यको तेस्रो पंक्तिमा एक मन चित्त लगाई चाकरी गरेकाले हरि खुसी भएछन् भनिएको छ । प्रस्तुत “खूसी भयाछन् हरि” पदावलीले दिने विपरीत अर्थात् “हरि बेखुस भएछन् वा रिसाएछन्” भन्ने तात्पर्यबाट हास्य सिर्जना भएको छ भने यहीँनेर ‘हरि’ को रूपमा रहेको कविका मालिक श्री ३ कृष्णबहादुर राणाको निर्विवेकीपनमाथि पनि व्यङ्ग्य प्रहार भएको छ । त्यही निर्विवेकीपनकै कारण प्रस्तुत पंक्तिबाट इमान्दार भएर एक मन चित्त लगाई चाकरी गर्ने आफूमाथि भुक्तमान अर्थात् हैरानी÷दुःख थपिदिएको हो भन्ने तात्पर्य बुझिन्छ । अर्कातर्फ कवि÷वक्ताले प्रत्यक्ष रूपमा चाहिँ हरि (भगवान्) लाई अगाडि सारेर मालिक राणालाई भने प्रत्यक्ष रूपमा लक्ष्यित नगरी परोक्ष ढङ्गले मात्र छेड हानेको देखिन्छ । अर्थात्् यस पद्यमा कविले खप्नु परेको भुक्तमान हरि बेखुस भएको कारणले हो भनेर परोक्ष अर्थात् व्याजोक्तिपूर्ण प्रस्तुतिका माध्यमबाट हास्य सिर्जना गर्दै निर्विवेकी माकिलमाथि व्यङ्ग्य समेत प्रहार गरेका छन् । यहाँ पनि हास्य सृजनाका लागि कविले व्याजोक्तिपूर्ण आइरनी शैलीकै अनुशरण गरेको देखिन्छ ।
"https://ne.wikibooks.org/wiki/कनकाई_प्रवाह" बाट अनुप्रेषित