पन्द्रघन्टे हवाइ यात्रा : केही अनुचिन्तनहरू
संसारका अति व्यस्त विमानस्थलहरूमध्ये दक्षिण कोरियाको इन्चिअन विमानस्थल पनि पर्दछ । सुन्दरताका दृष्टिले यो विमानस्थल ज्यादै सुसज्जित देखिन्छ, मानौ यो सम्पन्न परिवारबाट भर्खर अन्भाउन आँटेकी बेहुली हो । देश विदेशबाट निरन्तर ओर्लिने र उड्ने विमानमा आवतजावत गर्ने मान्छेहरू चाहिं बिहेमा आएका घर गाउँले र जन्ती हुन् । ‘बिहानीले दिनको सङ्केत गर्छ’ भने जस्तै यस विमानस्थलको अध्ययनबाट दक्षिण कोरियाको उन्नति र प्रगतिको सजिलै आँकलन गर्न सकिन्छ । वैज्ञानिक ढङ्गबाट निर्माण गरिएको यस विमानस्थलको बजार व्यवस्था निकै राम्रो छ । हाम्रो देशमा केवल मुखले मात्र महिलाको समान हक र अधिकारको कुरा हुन्छ तर त्यहाँ वास्तवमैं महिलालाई अति उच्च प्राथमिकता दिइएको पाइयो । चाहे विमानमा होस्, चाहे सुरक्षा जाँचमा होस्, चाहे बजारमा होस्, चाहे अध्यागमनमा होस् ९५% महिलाकै बाहुल्य देखियो । जहाँसुकै, जतासुकै चिटिक्क परेका युवतिहरू मन्दमुस्कानमा आफ्नो सेवा प्रदान गरिरहेका हुन्छन् ।
पहिलो पल्ट १६, जुलाई २००६ का दिन म त्यस विमानस्थलमा ओर्लिएको थिएँ ट्रान्जिट यात्रीका रूपमा । मैले बिहान ८.५० देखि १०.३० सम्म वासिङ्गटन डि.सि. को डेलास विमानस्थल जाने विमान कुर्नु थियो । सो विमानस्थल जानका लागि म २१ नं. गेटको प्रतीक्षालयमा पुगें र त्यहींको एउटा आराम कुर्सीमा बसें आराम गर्न । भित्तामा जडान गरिएका भिडिओ र टेलिभिजनका पर्दामा देखाइएका दृश्यहरू हेर्दै जबर्जस्ती आफ्नो ६÷७ घण्टा यानमा यात्रा गर्दाको थकाइ मेट्ने सुर कसेर एकछिन बसेपछि म आफैंभित्र हराउँदै गएँ चौधवर्षे ठिटो भएर मेरो प्यारो जन्मघर पुगें इलामको तोरीबारी । त्यसबेला तल पुवाखोलाको देवी थानको छेउमा हाम्रो सानो १० पाथी बिउ जाने खेत थियो । पचास वर्ष अघिको कुरा, बेंसीबाट धानपराल आफैंले पिठ्युँमा बोकेर घर ल्याउनुपथ्र्यो । आउँदा बाटो उकालो थियो धेरै उबडखाबड झन्नै वर्तमान नेपालको राजनीतिजस्तै । हिंडेका बेला खुट्टा जोगाएर हिंडनु पर्ने; नत्र कि ढुङ्गामा ठोकिने कि खाल्डामा पसेर खुट्टै भाँचिने । कपडाको धोक्रोमा हालेको दशपाथी धान म सजिलै बोकेर घर ल्याउँथें । आफ्नै कमाइबाट उब्जिएको त्यो धान मेरालागि अत्यन्त प्रिय थियो । म त्यही संझेर पनि खुशी हुँदै बोक्थें । खेतबाट केही तेर्सो हिंडेपछि मुलाबारी खोल्साबाट उकालो लाग्नुपथ्र्यो । निकै माथि आएपछि त्यहाँ एउटा बिसाउने ढुङ्गो थियो; किसानका पसिनाले सिञ्चित अत्यन्त रमणीय स्थान थियो त्यो । प्रत्येक भरियाले त्यहाँ आआफ्नो भारी बिसाएकै हुन्थ्यो । धान–पराल बोक्ने गाउँले युवा–युवति र अधबैंसे समेतले सुरिलो भाकामा गाएको लोकगीत, दोहोरी गीत मालसिरी आदिले सबैको थकाइ स्वतः हाँसो र आनन्दमा रूपान्तरित हुन्थ्यो । त्यसबेला भारी बोकी उकालो चढ्दाको थकाइसँग जहाजभित्र बसिरहँदा लागेको थकाइको तुलना गर्न खोजें सकिन र आफैंलाई प्रश्न गरें ‘के हात्ती र मुसाको तुलना हुन सक्छ ?
भारी बोक्ताको थकाई मेरो प्राकृतिक थकाइ थियो र यथातथ्य रूपमा थकाइ मेटिएर कति आनन्दित र कति प्रफुल्लित हुन्थें म; तर यानमा चढेर यात्रा गर्दा लागेको थकाइ अत्यन्त कृत्रिम थियो र यसलाई अत्याधुनिक मनोरञ्जनद्वारा यत्किञ्चित् पनि मेट्न सकिंदैनथ्यो ।
जहाजमा यात्रा गर्ने अधिकांश यात्री खाने÷पिउने काममा मस्त देखिन्थे । नास्ता र पेय पदार्थहरू इच्छानुसार निकाल्न सकिन्थ्यो, तर मसँग कोरियन सिक्का नभएकाले म अरुझैं हातमुख जोर्ने तर्फ अग्रसर हुन सकिन । हुम्लाजुम्लाको पनि अनकन्टार ठाउँमा बस्ने नेपाली काठमाडौंको व्यस्त ठाउँमा पुग्दा वाल्ल परेजस्तै अवस्थामा थिएँ होला सायद त्यहाँ म ।
अर्को कुरा घरमा बिहान उठ्नासाथ दिसाबस्न जानुपथ्र्यो अनिवार्य रूपमा; तर त्यहाँ त्यतिबेलासम्म पनि दिसाले आफ्नो दिशा लिन सकेको थिएन । नयाँ संसारमा अलमलिने डरले सायद दिसाले बाहिर आउन आँट नगरेको होला । अर्को कुरा घरमा दिसा बस्नुपथ्र्यो भने त्यहाँ दिसा उठ्नुपथ्र्यो । दिसा नगरे पनि पिसाब त गर्नैपर्यो भनेर अलिक पर देखिएको ‘रेस्टरुम’भित्र पसें । पिसाब गरिसकेर हातधुने ठाउँतिर गएँ । त्यहाँ अरु यात्रीहरू धमाधम आउँदै हात धुँदै गर्थे, म भने अक्क न बक्क ! कलको टुटी यता घुमाउँछु पानी आउँदैन, उता घुमाउँछु पानी आउँदैन । उँभो तान्दा पो आउँछ कि भनी माथि तानेर यसो हात थापेको पितिक्क सावन हातमा झ¥यो । अब परेन फसाद ! क्याम्पसको उपप्राध्यापक भइखाएको व्यक्तिले अरुसँग पानी निकाल्न आएन भनेर सोध्नु कति लाजमर्दो हुन्छ ! अब अरुले के गर्छन् हेर्छु भनेर सावनसँगैको हात लिएर अलिक पर गएर एकछिन हेरें । कल नचलाईकनै हात धुन्छन् अरु मान्छेहरू ! म पुनः त्यहाँ गएँ र यसो पानी झर्ने ठाउँमा हात थापें, सलल्ल पानी आयो । बल्ल मैले छनक पाएँ मागेपछि मात्र त्यो धाराले पानी दिंदोरहेछ । वास्तवमा माग्ने व्यक्तिलाई अथवा आवश्यकता परेको व्यक्तिलाई दिनु चाहिं ठूलो धर्म हो । हाम्रो देशमा गरीबहरूले माग्दा उनीहरूका आवश्यक वस्तुहरू दिने परिपाटी भएको भए उनीहरूको कति कल्याण हुने थियो । सम्पत्ति हुने धनीमानीहरू नै माथि गएर राष्ट्रको ढिकुटीमा ‘आफ्नै हात जगन्नाथ’ गरी मस्ती गर्छन् । यस्ता ठाउँमा माग्नेको के गणना हुन्छ ! ‘माग्नेलाई आवश्यकताभन्दा बढी दिनुहुदैन’ भन्ने दृष्टान्त पनि त्यही कलधाराले दिइरहेको थियो । अँ ..... पानी आएपछि मैले मस्तसँग हातमुख धुएँ ।
वायुयान उड्नुभन्दा एकघण्टा अघि ट्रान्जिट् गेट् खुल्ने नियम रहेछ ९=३० बजे गेट् खुल्यो । हठात् यात्रीहरू ज¥याकजुरुक उठे शिक्षकको प्रवेशमा कक्षाकोठाका विद्यार्थीहरू उठेझैं । त्यसपछि क्रमशः यात्रीहरू काउन्टरअगाडि दुई समूहमा लाम लागे । कमिलाको ताँती दुलाभित्र पस्न लागिरहेको सुन्दरतम दृश्य हेरेर टोलाएभैंm म कल्पनामा पौडँदै अघि बढिरहेको थिएँ । एकएक गरी ती काल्पनिक कमिलाहरू यानको प्रवेशद्वारबाट ‘के.ई. ०९३ को जहाजभित्र समाहित भए । म पनि अन्य यात्रीसरह बिस्तारै अघि बढ्दै आफ्नो बोर्डिङ्गपासमा लेखिएको सिट नं. ‘५१ के’ छेउमा पुगें । यो सिट पनि झ्यालकै छेउमा पर्नु संयोग मात्र थिएन; बरु यो त मेरा मित्र सुदर्शन सिटौलाद्वारा प्रायोजित थियो । टिकट भइसकेपछि काठमाडौंका मेरा केही साथीहरूले मलाई भनेका थिए– “तपाईंले लगभग दशहज्जार रुपयाँ बढी तिर्नु भएछ” । तर सुदर्शनसँग मेरो केही गुनासो छैन, किनभने हर्पेको घिऊ पोखिएतापनि आफ्नै घरको आफ्नै साथीका भागमा पोखिएको थियो ।
ह्वेल माछाको जस्तो आकार भएको त्यो यान काठमाडौं–बैङ्कक उडान भर्ने ‘टि.जि. ३२० र बैङ्कक–सिओल उडान भर्ने ‘के.इ. ६५४ भन्दा पनि विशाल थियो । लाग्थ्यो, त्यो एउटा अजङ्गको ह्वेल माछा हो जसको देबे्र आँखाबाट यात्रीहरू सुलुक्क भित्र पस्थे र निस्कने द्वार पनि यही नै थियो । कुनैदिन तपाईंले त्यस यानबाट यात्रा गर्ने सौभाग्य पाउनुभो भने भित्र पस्नासाथ देब्रेपटि छेवैमा जहाजका परीहरू र अन्य कर्मचारी बस्ने ठाउ, सामान राख्ने दराजजस्तै चिटिक्क परेका कोठा र त्यसभन्दा अझ उता मुखपटि सञ्चालनकक्ष देख्न सक्नुहुनेछ । त्यहाँ क्याप्टेन र पाइलटजस्ता जहाजसञ्चालकहरू रहन्छन् । अब दाहिने हाततिर, सेनाले परेड खेलेभैंm, घुमेर अघि बढ्नुभयो भने तपाईंले यात्री कक्षमा प्रवेश भएको अनुभव गर्न सक्नुहुनेछ । त्यहाँ तपाईं जहाजको मुखबाट पुच्छरतिर जाँदैहुनुहुन्छ; तपाईंले सुरुमै प्रथमश्रेणीका यात्रीहरूका लागि रहेको कक्ष देख्नु हुनेछ । यो कक्षमा आरामदायी आधुनिक कुर्सीहरू जडान गरिएका छन् । भिडिओ÷कम्प्युटर जस्ता मनोरञ्जनका साधनहरू त सामान्य यात्रीका लागि पनि राखिएकाले त्यहाँ नराखिने कुरै भएन । जहाजमा अर्को तला पनि छ र त्यहाँ विशिष्ट श्रेणीका यात्रीहरू बस्छन् भन्ने कुरा परिचारिकासँग सोधेर तपाईंले पत्ता लगाउन सक्नुहुनेछ । प्रथम श्रेणीको कक्षबाट अझ अगाडि बढेपछि त्यहाँ विशाल लामो ‘इकोनोमी कक्ष’ देख्नुहुनेछ । यो अधिकांश यात्री बस्ने कक्ष हो र मेरो ‘५१ के’ कुर्सी पनि यही कक्षमा थियो । यस कक्षको सिट व्यवस्थापन यस्तो छ — सबै यात्री विमानको मुखतिर फर्किएर बस्नुपर्छ । बसाइका हिसाबले दाहिनेतिर र बायाँतिर तीनतीन सिटको लहर रहेको छ भने बीचमा चारचार सिटको लहर छ र यसका दायाँ र बायाँतिर यात्री हिड्ने बाटो छ । यसरी हेर्दा ३+४+३ गरी चौडाइपटिका एक लहरमा दश सिट छन् । प्रत्येक सिटका अगाडि भिडिओ जडान गरिएको छ, जसबाट तपाईं उडान समयभरि नै अनेक किसिमका मनोरञ्जन र सूचना प्राप्त गर्न सक्नुहुन्छ । अनुमानतः यस विमानमा ४७५ जति यात्री सजिलै अटाउन सक्छन् । सिटमा जडिएका भिडिओबाहेक प्रत्येक यात्रीले देख्नेगरी जहाजका भित्तामा पनि बृहत् आकारका भिडिओहरू जडित छन् । ती भिडिओहरूबाट एकै किसिमका सूचनाप्रद कार्यक्रमहरू आइरहेका हुन्छन् । त्यसको सञ्चालन विमानको केन्द्रीयप्रसारणबाटै हुन्छ ।
मेरो सिट ‘५१ के’ हो भनेर मैले अघि नै बताइसकें । अब म बस्ने तरखरमा छु । मेरो सिटभन्दा देब्रेतिर रहेका ५१ जे र ५१ आइ का यात्री म त्यहाँ पुग्नुभन्दा अघि नै बसिसकेका थिए । तपाईं भए के कस्तो सोच्नु हुन्थ्यो तर मैले त हाम्रै देशका मङ्गोल जातिका दाजुभाइ रहेछन् भनेर सारै खुसी भएँ । अमेरिका टेक्ता चाहिं साथीको दुःख भएन, ‘धन्न मेरो भाग्य’ जस्तो लागेर ‘नेपाल कुन ठाउँमा हो यहाँहरूको घर ?’ भन्नलाई ‘आँ’ मात्र के गरेको थिएँ एकजनाले अर्कोलाई भन्यो – के भन्यो मैले बुझिन । त्यतिबेला पो कसो नेपालीमा सोधिएन छ जस्तो लाग्यो । पछि बुझ्दा दुवै दक्षिण कोरियाली रहेछन् वासिङ्गटन डि.सि. जाने । ‘फुलबाट चल्ला कि चल्लाबाट फुल’ म टोलाएँ सुस्त मनस्थितिको विद्यार्थी जस्तो । एकछिनसम्म ‘कोरियाबाट मङ्गोलहरू नेपाल आएका हुन् वा नेपालका मङ्गोलहरू कोरिया गएका हुन् भन्ने कुरामा अन्यमनस्क भएर झल्याँस्स भएँ । ‘मङ्गोल’बाट ‘मङ्गोलिया’ समेत भएको छ भने यसमा मैले किन टाउको दुखाउने भन्ने कुरा संझदै आफ्नो सिट ओर्तिर बसेका यात्रीलाई भने — ‘इक्स्क्युज मि’ । उहिलेका आज्ञाकारी एवं गुरुभक्त विद्यार्थीले बसमा सिट नपाई उभिइरहेको आफ्नो शिक्षकका लागि हत्तपत्त सिट छोडिदिएझैं ती दुवै व्यक्ति सिटबाट ज¥याकजुरुक उठेर ओर्तिर आए । ‘थ्याङ्कस्’ भन्दै गमक्क परेर म आफ्नो सिटमा गएँ । यस यानमा भएका अघिल्ला र पछिल्ला सिट बीचको खाली ठाउँ काठमाडौं–काँकरभिटा गर्ने बसको भन्दा निकै फराकिलो छ । हाम्रो देशमा हो भने बसेको कोही उठ्दैन र आफु पनि भ्वाक्क लात्तले हान्दै आफ्नो सिटतिर जाँदा हुन्छ, तर शिष्टाचार पालना गर्ने ठाउँमा त्यसो हुँदैन– आफु पनि उठ्नैपर्छ, अरु पनि उठ्छन् । वास्तवमा त्यहाँ म एउटा अनजान विद्यार्थीझैं पाइलापाइलामा शिष्टाचारका पाठहरू सिक्तैथिएँ । आफ्नो सिटमा बसेर पेटी बाँधिसकेको केही क्षणमै यान बिस्तारै धावनमार्गमा अघि बढ्न थाल्यो । झ्यालको छेउमा भएकाले धावन मार्गका आसपास र अझै केही परसम्मका सुन्दरतम दृश्यहरू आँखाको नानीभित्र सुटुकसुटुक पस्तै थिए । सम्बन्धित धावनमार्गमा लाममा उभिएका सयौं यान देखेर म झल्झली सम्झिरहेको थिएँ ती यानहरू वास्तविक यान नभएर भाडाका निहुँमा कुटिएको एउटा विद्यार्थीका कारण पूर्वपश्चिम राजमार्गमा रोकिएका बस थिए अथवा यसो नभए तेलको भाउ प्रति लिटर पाँच रुपयाँ बढदा प्रति कि.मि. पाँच रुपैयाँ भाडा बढ्नुपर्छ भनी चक्काजाममा राखिएका बस थिए ।
धामीले ढ्याङ्ग्रो ठोक्ता ‘ढ्याङ् ढ्याङ्’को गति क्रमशः बढदै गएझैं यानको गति पनि अझ तीव्र हुँदै गइरहेको थियो । इलामको प्रसिद्ध तीर्थस्थल ‘माईपोखरी’ मा रमाइरहेका विभिन्न रङ्का र विभिन्न आकारका सुन्दर माछाझैं त्यस विमानस्थलमा एकत्रित यानहरूले आआफ्नै बन्धुबान्धवहरूमा काटाकाट र मारामार गर्ने तथाकथित मानिस भनाउँदाहरूलाई विश्वबन्धुत्वको पाठ पढाइरहेका थिए । तीव्रतम गति लिइसकेको यानले एकाएक धर्तीलाई छोड्न लाग्दा छारे रोगले भेटेको व्यक्तिलाई तीखो शब्दश्रवण र झिलिमिली दृश्यावलोकनबाट रोगले गाँजेझैं मलाई पनि पूर्वस्मृतिको बिमारले झम्ट्यो । म युवकमा प्रवेश गर्न लाग्दैको घटनावली झट्ट अगाडि आयो । इलामको मेरो जन्मघरदेखि केही माथि ‘बिब्ल्याँटे’ भन्ने स्थानमा दशैं, तिहारमा रोटेपिङ् र लिङ्गेपिङ्को मात्र भए पनि मेला लाग्थ्यो । त्यो मेला एक प्रकार तरुनी–तन्देरीका लागि मात्र थियो । दशैंतिहारजस्ता पर्वहरू रोटे पिङ्झैं प्रत्येक साल घुम्ने भएकाले आआफ्नो समयमा पिङ् खेल्ने पर्वहरू आउनेजाने गर्थे ।
२०१३ सालको दशैं र रोटेपिङ् मेरा स्मृतिपटमा अझै टाँसिएका छन् । त्यसबेला एउटी नितान्त अनभिज्ञ युवति रोटेपिङ्मा बसिछन् । माथि पुगेपछि उनले तलको कुरा सबै भुलिछन् हाम्रा नेताले कुर्सी पाएपछि तलका जनता भुलेझैं । माथि धुरीमा पुगेपछि तल झर्नैपर्छ भन्ने कटु थयार्थ कसैले भुल्नु हुदैन तर ती युवतिले भुलिन् । पिङ्को धुरीबाट तल झर्दा उनको मुटु चिउउव भएछ र सपनामा पिसाब गर्दा बिपनामा ओछ्यान बिग्रिन्छ नि, हो त्यस्तै नराम्रो दुर्घटना भयो । भ्रष्टाचारी नेता दोस्रो पटक पनि भोट जितेर सांसद भए जस्तै उनको पिर्का पुनः धुरीमा पुग्यो । तल झर्न लाग्दा बचेकुचेको ढिकुटी पनि सबै रित्तियो । त्यसबखत पिङ्मा बसेकाहरूलाई मात्र होइन तल रमिता हेर्न बसेका हामी जस्तालाई पनि घर फिर्किएर तिलकुशले “अपवित्र पवित्रो वा... ’ गर्नुपरेको थियो ।
मेरो स्मृति यथास्थितिमा आइपुग्दा टाँघन्डुब्बा, सुरुङ्गाको उबडखाबड बाटो पार गर्दै पूर्व–पश्चिम राजमार्ग पुगेर विर्तामोड अथवा विराटनगरतिर सलल्ल बग्ने यात्रीबसझैं आकाश मार्गको कच्ची उकालो पार गरी कोरियन ०९३ वायुयान लगभग चालीस हजार फिटभन्दा माथिको उचाइमा रहेको आफ्नो हवाइ मार्गमा समाहित भएकाले त्यहाँ मुटु चिउउव हुने अवस्था समाप्त भइसकेको थियो । यान आफ्नो धावन मार्गमा अत्यन्त द्रुतगतिमा उड्न थालेको केही समयपछि विमानभित्र एउटा स्वप्नवत् परिदृश्यको पर्दा उद्घाटित भयो । मैले अनुभूत गरें मानौ म वैवाहिक समारोहमा उपस्थित थिएँ । त्यहाँ मजस्ता धेरै धेरै जन्ती भोजमा सामेल भई मोज गर्न लागिरहेका थिए । यानपरीहरूले हाउभाउ कटाक्षका साथ खाद्य र पेय पदार्थका यथेष्ट परिकारहरू प्रदान गर्दै गर्दा मलाई लाग्यो म लगभग पैंतीस, चालीस वर्षअघि आफ्नो जन्मस्थलमा हुने गरेका परंपरित बिहेमा जन्तीका रूपमा सामेल भइरहेको थिएँ ।
सम्झन्छु ती विगतका दिनहरू, कसैको बिहेमा जन्त जान मरिहत्ते गर्ने मजस्ता ठिटाहरू एकदिनको पैदल यात्रा गर्नसम्म पछि पर्दैनथे । बिहान घामका झुल्कामा हिंडेर बेलुका घाम अस्ताएपछि बेहुलीघरमा पुग्दाको थकाइ र भोक धरानबाट एकभारी नुन बोकेर उकालो चढी बेलुका साँझमा वास बस्न लागेको थकित भरियाको भन्दा कम हुदैनथ्यो । डल्लैडल्ला भएका बारीमा टुक्रुक्क बसेर घन्टौं अघि टपरीमा पस्किएको चीसो भातमा मासको दाल, अलिकति साग, थोरै मूलाको थेवे, दुईवटा ससाना फुरौला र दुनामा हालेको एक पित्को घिऊ एकै ठाउँमा मुछेर सप्रयाङ् पार्दा अमृत भन्ने चीज अर्को छैन, यही हो भन्ने लाग्थ्यो । तर आज पाँचतारे होटलबाट आएको उच्चस्तरीय खानाले पनि त्यस किसिमको सन्तुष्टि दिन सकिरहेको थिएन । यस अघि मैले यात्रा गरेका कोरियाली र थाई वायुयानभन्दा यो यान धेरै कुरामा विशिष्ट थियो । प्रत्येक सिटका अगाडि जडान गरिएको भिडिओ सेट्बाट विविध मनोरञ्जनका साथै उडान गतिविधि (फ्लाइट् इन्फर्मेसन) समेत प्राप्त गर्न सकिन्थ्यो । खानापिना समाप्त भएपछि सबै यात्री आ–आफ्ना क्रियाकलापमा संलग्न भए । केही यात्री पुस्तक पढ्नमा मस्त देखिन्थे । मेरा दाहिनेतिर बीचको लहरको छेउको सिटमा बसेको एकजना युरोपेलीझैं लाग्ने व्यक्तिसँग लगभग सातवटा जति मोटामोटा पुस्तक थिए । सायद ती पुस्तक उपन्यास हुनुपर्छ । उसले एकएक गरी ती सबै पुस्तक पढिसकेजस्तो लाग्यो मलाई । बेलाबेला उङ्ने र बेलाबखत भिडिओ चलाउने बाहेक ऊ हरहमेसा पुस्तक मै घोरिएको देखिन्थ्यो । पुस्तक पढ्ने बाहेक केही यात्री उङ्ने काममा लागेका देखिन्थे भने अधिकांश यात्री अगाडिको भिडिओसँग जिस्किरहेका थिए मानौ उनीहरू हनिमुनमा संलग्न नव–विवाहित दम्पति हुन् । आफुलाई भने बख्ख लाटाले पापा हेरेभैंm अरु यात्रीतिर पल्याकपुलुक हेर्नुबाहेक केही आएन । मजस्तो पूर्व–कालिदासले छेवैका अपरिचित सहयात्रीलाई सोद्धा पनि ‘उसरठ’ भन्ने उत्तर आयो भने के गर्नु भनेर सोध्ने धृष्टता गरिन । यदाकदा केन्द्रीय प्रसारणबाट आएको मूकदृश्य (भिडिओ) हेरेर चित्त बुझाउनुबाहेक अरु केही गर्न सकिएन । पटकपटक ‘एयरफोन’ नलाएको पनि होइन तर त्यसलाई अंग्रेजी भाषामा मिलाउन आएन – पटक्कै आएन ।
लगभग पन्ध्र घण्टाको लामो हवाइयात्राका क्रममा विमानभित्र गरिएको अतिथि सत्कारलाई शुद्ध नेपाली शैलीको अतिथि सत्कारसँग व्यतिरेक गर्न खोजें मैले । नयाँ मैतालु लिएर पहिलो पटक ससुराल जाने ज्वाइँलाई गरिने सत्कार र यानमा गरिने सत्कारमा गहनतम अर्थतात्विक भिन्नता दृष्टिगत भएन । मात्र प्रयोजनपरक भेदका आधारमा पृथक्झैं लाग्ने ती दुवै सत्कारहरूको उद्देश्य बाह्य रूपमा एकै किसिमको छ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्थ्यो । “कर्मण्येवाधिकारस्ते मा फलेषु कदा च न’ को घेराभित्र अटाउन नसक्ने ती दुबै सत्कार फलको प्रसस्त आशा राखेर गरिएका सत्कार हुन् । त्यसो भएतापनि ती दुवैमा पृथक्ताभाष नभएको भने होइन । यसरी हेर्दा विमानको सत्कार सतही, व्यापारिक, बाह्य र स्वल्पकालीन हुन्छ भने ससुरालीको सत्कार उपर्युक्त विशेषताका अतिरिक्त गहन, व्यावहारिक, आन्तरिक र दीर्घकालीन पनि हुन्छ, तर वर्तमान समयका कथित ससुरालीले दिने सत्कारलाई हेर्ने हो भने विमानको सत्कारको पल्ला अझ भारी हुने देखिन्छ ।
विमान उडिरहेकै बेला पटकपटक भएका सूर्योदय र सूर्यास्तका दृश्यावलोकनले आपैंmले आपैंmलाई चिमोट्नु पर्ने परिस्थितिको सिर्जना भएको थियो । सोही अवस्थामा यानको भित्तामा राखिएका भिडिओ र टि.भि पर्दाबाट जहाज कति उचाइमा छ, कति माइलको गतिमा छ, गन्तव्यको दुरी कति छ र त्यहाँको मौसम कस्तो छ, सो दुरी पार गर्न कति समय लाग्छजस्ता विषयमा वारम्बार जानकारी प्रवाहित हुन थाल्यो । चौध घण्टा यात्रा पुरा भइसकेको र अब एक घण्टा समय लाग्ने कुरा पनि जानकारीमा आयो । झ्यालबाट तल पृथ्वीमाताको दर्शन गर्ने धोको अधुरै थियो । सोही धोको पुरा गर्न मैले झ्यालबाट तलतिर दृष्टि घुमाएँ । कतैकतै मात्र बादलका ढिस्काहरू खरायोका ससाना बच्चाझैं देखिए । हावाको प्रवाहद्वारा ढिस्काबाट छुट्टिंदै गरेका बादलका ससाना थेग्लाहरू सिमलको भुवाझैं यत्रतत्र उड्दै थिए । ती बादलका मनचिन्ते ढिस्कानाहरूलाई एकटकले हेरिरहँदा कहिले मान्छेका आकारमा, कहिले राक्षसका आकारमा, कहिले विभिन्न पशुपक्षीका आकारमा देख्न सकिन्थ्यो; अथवा यसो भनौ तिनीहरू आफुले चिताएको आकारमा देखिन्थे । बादलका ती ढिस्कनाहरूले मतिर हेरेर भन्दै थिए, ‘तिमी मान्छे भनाउँदाहरू यसरी नै प्रत्येक पल आफ्नो रूप र आकार फेरिरहन्छौ छेपाराले आफ्नो रङ् बदलेझैं ।’
अझ अघि बढ्दै जाँदा बादलका थेग्लाहरू क्रमशः अन्तध्र्यान हुँदैगए । मैले भद्रपुर–काठमाडौं उडानका क्रममा माथिबाट दृश्यावलोकन गरेका तराइ, पहाड, हिमालका रमणीय दृश्यहरूभन्दा नितान्त भिन्न दृश्यहरू दृष्टिगोचर भए त्यहाँ । एकै अनुहारका स्वप्न र सुषुप्तिलाई जेठो र माहिलोमा पर्गेल्न सकिन मैले ।
मेरा अक्षुण्ण दृष्टिमा लगातार जङ्गलका विशालतम फाँटहरू, तिनका बीचबीचमा रहेका असङ्ख्य ताल तलैयाहरू र कतै राक्षसाकारका हिमक्षेत्रहरू परिरहे । मानवबस्तीको किञ्चित् आभाससम्म प्राप्त गर्न नसकिने त्यो क्षेत्र देखेर म केही रोमाञ्चित पनि भएँ । बालबुद्धिको प्रमुख आतिथ्यमा भएको अन्तर्मानसिक सभामा मनले मन्तव्य दियो, “जङ्गल, ताल र हिमालको संयुक्त रूपनै ‘संयुक्त राज्य’ हो ।” आफ्नै मनले बोलेको कुरा मैले पत्याइदिएँ आफ्ना पार्टीका नेताको ढाँट कुरा तलका कार्यकर्ताले पत्याएझैं ।
मैले उद्धृत गरिसकें तालहरू असङ्ख्य थिए भनेर । ती तालहरमध्ये अधिकांश लघु आकारका थिए भने केही तालहरू बृहत् आकारका पनि थिए । बृहदाकारका केही तालहरूको जिउडाल हेर्दा ठ्याक्कै प्रशान्त महासागरजस्तै देखिन्थ्यो । संभवतः ती तालहरू उमेर पुगेपछि प्रशान्त महासागरलाई छोडेर त्यहाँ गई बसेका उसैका छोराछोरी हुन् । अमेरिकामा मानवजातिमा मात्र होइन समुद्रहरूमा पनि उमेर पुगेपछि बाबु–आमाको कमाइमा भर नपर्ने परम्परा रहेछ । अरु सबै कुरामा मानवजाति र समुद्रहरूमा समानता देखिए तापनि एउटा कुरा नितान्त पृथक् देखियो । त्यो के भने मान्छे अनिवार्य रूपमा परिवार नियोजन गर्दा रहेछन् तर समुद्रहरू चाहिं मुस्लिम धर्मावलम्बीझैं ‘बहु सन्तान अल्लाहका वरदान’ भनेर भक्कु छोराछोरी जन्माउँदा रहेछन् ।
एकपछि अर्को गर्दै बृहदाकारका तालहरूको दृश्यावलोकन गरेपछि मैले मेरो छेवैमा बसेको कोरियाली मूलको अमेरिकीसँग यसबारे आफ्नो जिज्ञासा राखें । उसले मेरो अगाडि राखिएको अमेरिकी मानचित्र पल्टाएर देखाउँदै मेरो उत्सुकता मेटायो ।
‘लेक सुपेरियर’, ‘लेक मिचिगन’, ‘लेक हरन’, ‘लेक ओन्टारियो’ र ‘लेक इरि’ जस्ता बृहदाकारका लेकहरू अमेरिका र क्यानाडाको सीमामा पर्दा रहेछन् भन्ने कुरा मानचित्रबाट स्पष्ट भयो । ती लेकहरूमध्ये ‘लेक सुपेरियर’को अधिकांश भाग अमेरिकाभित्र र थोरै भाग क्यानाडाभित्र पर्दो रहेछ ।
त्यहाँका जङ्गल, ताल, नदीनाला आदिको हवाइ अवलोकन गर्दा थाहा भयो त्यहाँका यावत् प्राकृतिक वस्तुहरूमा कृत्रिमता मुखरित भएको छ । मैले अनुमान लगाएँ नेपालका प्राकृतिक सम्पदाहरू शतप्रतिशत प्राकृतिक भएर नै विदेशी पर्यटकहरू यसरी आकर्षित भएको हुनुपर्छ ।
कतै वर्गाकार, कतै वृत्ताकार, कतै आयताकार, कतै त्रिकोणाकार, कतै षट्कोणाकारमा टल्किने तालहरूको निर्मिति हेर्दा त्यहाँको प्रकृतिले विज्ञान र गणितका क्षेत्रमा पनि अग्रगति लिइसकेको कुरा छर्लङ्गियो । यति हुँदाहुँदै पनि नेपालका आध्यात्मिक तालहरूसँग त्यहाँका भौतिक तालहरूले खुलेर प्रतिष्पर्धा गर्न सक्लान् जस्तो लागेन ।
तालतलैया भएको क्षेत्र समाप्त भएर बस्ती तथा सहरी क्षेत्रमा प्रवेश गरेको केही समयमै विमान वासिङ्गटन डि.सि.को ‘डेलस’ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो । कतै सरल अनि कतै वृत्ताकार धावनमार्गमा विमान गुडिरहेका बेला म दार्जिलिङ्को तीन घुम्तीमा सर्पाकार रूपमा घुमिरहेको रेलको स्मरण गर्दै थिएँ, एकाएक ‘आँ’ गरेर मुख बाइरहेको ट्रान्जिट् गेटमा विमानले ल्याप्प आफ्नो मुख टँसायो । त्यो देखेर मलाई लाग्यो परस्पर ओठचुम्बनमा रमाउने अमेरिकी संस्कृति र त्यहाँको यान संस्कृति एकै किसिमको रहेछ ।
सबै यात्री विमानबाट धमाधम ओर्लिन थाले । म पनि विमान परिचारिकाको अभिवादन स्वीकार्दै अघि बढें । सोही क्रममा केही पर पुगेपछि एउटा वाणले ‘ट्रान्जिट्’ तिर देखायो भने अर्को वाणले ‘इमिग्रेगन’को सङ्केत गर्यो । म इमिग्रेसनतिर लागें । अलिक पर रहेको साँगुरो पुलबाट पार गरेपछि त्यहीं जोडिएको बसभित्र पुगिंदो रहेछ । बसमा टेक्नु अघि सुरक्षा जाँच भयो । सबै यात्री आइपुगेपछि बस निकै पर रहेको इमिग्रेसन कक्षतिर अघि बढ्यो र केहीबेरपछि सम्बन्धित कक्षमा पुगेर अडियो । अरुसँगै म पनि बसबाट ओर्लिएँ । अमेरिकी भूमिमा टेकेपछि अमेरिकी हावाले कानमा भन्यो, “तेरो मूल्यमा एकाएक बृद्धि भएको छ; तँ चौहत्तर प्रतिशतले महँगो भएको छस्; खवरदार, सस्तोतिर फर्किने विचार गर्लास् नि !”
मैले सुनेको नसुन्यै गरें र इमिग्रेसन कक्षमा लाममा उभिएँ । आफ्नो पालो आयो । मैले पनि पासपोर्ट, हवाइटिकट र यानमा दिएको फारम इमिग्रेसन (अध्यागमन) अधिकारीलाई बुझाएँ । उसले अर्को फारम भरेर तुरुन्त ल्याउन निर्देशन दियो । यानभित्र दुईवटा फारम भर्नुपर्ने रहेछ, तर मलाई किन हो कोरियन केटीले एउटा मात्र फारम दिइछ, एउटा मात्र भरेको थिएँ । एक छेउमा बसेर अर्को फारम भरें । त्यो भन्सार फारम रहेछ । त्यसमा आफ्नो पोकाभित्र भएका वस्तुहरू, विशेषतः खाद्य पदार्थहरू भर्नुपर्दो रहेछ ।
घिउ, तेल, अचार, सिन्कीजस्ता वस्तुहरू मेरा बाकसमा थिए । यस्ता वस्तुहरू अमेरिका छिराउन पाइदैन । काठमाडौंमा मेरा धेरै साथीभाइले भनेका थिए डेलस विमानस्थलको भन्सारमा यस्ता वस्तुहरू सबै मिल्काइदिन्छ, लान दिदैन ।
मैले उक्त कुरा संझिएँ र फारममा खाद्य वस्तुहरू भर्ने कि नभर्ने भन्नेमा एकछिन अकमकिएँ । ‘आ, साँचो डग्दैन, झुटो तग्दैन; भर्छु नढाँटी’ भनेर रिठ्ठो नबिराई भरें । फारम बुझाएपछि सोको अध्ययन नै नगरी अध्यागमन अधिकारीले मेरो पासपोर्ट हेर्दै मलाई साध्यो “के तपाईं शिक्षण पेसामा आबद्ध हुनुहुन्छ ?” “हजुर, म शिक्षक हुँ,” मैले भनें ।
छिटो जानोस् र आफ्नो सामान बुझ्नुहोस्” उसले भन्यो । म सरासर अघि बढें र आफ्नो सामान बुझें । गौरवको अनुभव गर्दै मनमनै भने “धन्य शिक्षण पेसा !”