संसारमा भएको जुनसुकै पनि वस्तुलाई जनाउने शव्दलाई नामपद भनिन्छ। अर्को शब्दमा भन्दा व्यक्ति, भाव, जाति, द्रव्य वा पदार्थ तथा समूहविशषलाई जनाउने शब्द नाम हुन् । नामपदलाई संज्ञा पनि भनिन्छ । व्यक्तिवाचक, जातिवाचक, समूहवाचक, द्रव्यवाचक र भाववाचक गरी नाम पाँच किसिमका हुन्छन् । व्यक्ति वा वस्तु (प्राणी, पदार्थ, गुण, ठाउँ, धर्म) बुझाउने शब्दलाई नाम भन्दछन् । विशेषतः नामपदले वाक्यमा कर्ता, कर्म र पूरकका रूपमा आएर कार्य गर्ने गर्दछ । वाक्यमा आएको शब्द नामपद हो वा होइन भन्ने ठम्याउन निम्न कुरालार्इ ध्यान दिनुपर्दछ । १. नामपद वाक्यमा के, केले, केलार्इ, को, कसले, कसलार्इ प्रश्नको उत्तर आउने गर्दछ । २. धातुमा आइ, आइँ, याइँ, नु, .... आदि लागेर बन्ने शब्द । ३. नामिक पदमा ता प्रत्यय लागेर बन्ने शब्द । नामपदलार्इ समग्रमा निम्नानससार वर्गीकरणा गर्न सकिन्छः

क) जातिवाचक: एउटै प्रकार वा जातका सबैलाई बुझाउने शब्दलाई जातिवाचक नाम भन्दछन्, जस्तै- मानिस, परेवा आदि ।

ख) व्यक्तिवाचक: कुनै एक वा विशेष व्यक्ति अथवा वस्तुलाई बुझाउने शब्दलाई व्यक्तिवाचक नाम भन्दछन्, जस्तै- राम, महाभारत आदि ।

ग) समूहवाचक नाम: व्यक्ति वा वस्तुको समुदायलाई बुझाउने शब्दलाई समूहवाचक नाम भन्दछन्, जस्तै- हुल, भेला, बथान आदि ।

घ) द्रव्यवाचक नाम: नाप वा तौल भएको पदार्थलाई बुझाउने शब्दलाई द्रव्यवाचक नाम भन्दछन्, जस्तै- सुन, चाँदी। पानी, काठ आदि ।

ङ) भाववाचक नाम: व्यक्ति वा वस्तुको गुणधर्म, दशा वा व्यापार बुझाउने शब्दलाई भाववाचक नाम भन्दछन्, जस्तै- दु:ख, सुख, साहस, जाडो आदि ।