गीता पाठका विधिहरु

सम्पादन गर्नुहोस्

के गीतालाई कुनै विशेष विधिपूर्वक पढ्नु पर्छ ? वेदादि केही ग्रन्थलाई पढ्ने विशेष विधि बताइन्छ तर जसले ज्ञानका लागि गीता पढ्छन् उनीहरुलाई गीतालाई पढ्ने कुनै विशेष विधि छैन तथा गीतामा पनि निःस्वार्थ भावले पढ्ने र सुन्ने दुवैले गीता पढ्न हुन्छ भनिएको छ । यसमा वर्ण, उमेर, लिंग, सम्प्रदाय, क्षेत्र, भाषा वा समय कुनै कुराको बन्देज छैन । तर केही मानिसले गीतालाई अनुष्ठानपूर्वक पाठ गर्छन् ।
त्यसैले जसले कुनै श्लोक सिद्ध गर्न चाहन्छन् वा विशेष निष्ठाका लागि पाठ गर्छन् उनीहरुका लागि यहाँ चल्तीको विधि संक्षेपमा उल्लेख गरिएको छ । यस विधिलाई गीताप्रेसको पुस्तक गीता दर्पणमा स्वामी रामसुखदासले सविस्तार उल्लेख गर्नु गरेका छन् । कोमलनाथ अधिकारीको कोमल गीता र स्वामी ईश्वरानन्दको गीता तात्पर्यमा पनि यसै विधिलाई अंगीकार गरिएको छ । आवश्यक छैन । तथापि अनुष्ठान गर्न चाहनेहरुले गीतालाई विशेष विधि पनि छ ।
शुद्ध आसनमा बसेर पूर्व वा उत्तर फर्केर गीता पाठ गर्नु पर्छ । अनुष्ठानपूर्वक गीता पाठ गर्न सुरुमा विधिपूर्वक संकल्प गर्नु पर्छ

ॐ अस्य श्रमिद्भगवद्गीतामालामन्त्रस्य भगवान् वेदव्यास ऋषिः ।। अनुष्टुप् छन्द ः ।। श्रीकृष्ण परमात्मा देवता ।। अशोच्यानन्वशोचस्त्वं प्रज्ञावादांश्च भाषसे इति बीजम् ।। सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज इति शक्तिः ।। अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच इति कीलकम् ।
यस संकल्पको सार के हो भने मनमा यस प्रकारको भाव राखेर पाठ गर्न पर्छ– श्रीम्भगवद्गीतारुपी मालाका ७०० श्लोकरुपी फूलहरु छन् । जसका द्रष्टा वेदव्यास ऋषि हुन् ।
गीताको सुरु र अन्त अनुष्टुप छन्दबाट भएको छ । यसमा मुख्यतः अनुष्टुप छन्द (जम्मा ६५६) नै छन् । त्यसैले अनुष्टु छन्दः भनिएको हो ।
गीताको विषय वस्तु परमपुरुष परमात्मा श्रीकृष्ण नै हुन् । अर्जुन शोक ग्रस्त भएकोले भगवान् श्रीकृष्णले उनको शोक हटाउन गीतारुपी उपदेश दिनु भएको हो त्यसैले अशोच्यानन्वशोचस्त्वं प्रज्ञावादांश्च भाषसे इति बीजम् भनिन्छ ।
सबै प्रकारले ईश्वरको शरणमा जानु नै जीवको सबभन्दा ठूलो शक्ति हो । त्यसैले सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज इति शक्तिः भनिन्छ ।
भगवान् श्रीकृष्णले प्रतिज्ञापूर्वक के भन्नु भएको छ भने जसले यसरी पूर्ण समर्पण गर्छ उसको ईश्वरले उद्धार गर्छन् यसबाट भगवान्को प्रतिज्ञा टस मस हुने छैन । त्यसैले अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच इति कीलकम् भनिन्छ ।

शुद्ध भएर गीता पाठ गर्नु पर्छ । त्यसैले मन्त्र वा स्तोत्रहरुलाई आफ्ना अंगहरुमा स्थापना गरिन्छ । जसलाई न्यासः भनिन्छ ।

१. नैनं छिन्दति शस्त्राणि नैनं दहति पावकः इत्यंगुष्ठाभ्यां नमः भनेर दुवै हातका औंठाहरुलाई आपसमा छुनु पर्छ ।
२. नचैनं क्लेन्दयन्त्यापो न शोषयति मारुत इति तर्जनीभ्यां नमः भनेर दुवै हातका चोर औंला आपसमा छुनु पर्छ ।
३. अच्छेद्योऽयमदाह्योऽयमक्लोद्योऽशोष्य एव च इति मध्याभ्यां नमः भनेर दुवै हातका माझी औंला आपसमा छुनु पर्छ ।
४. नित्यः सर्वगतः स्थाणुरचलोऽयं सनातन इति अनामिकाभ्यां नमः भनेर दुवै हातका अनामिका (साहिंली) औंला आपसमा छुनु पर्छ ।
५. पश्य मे पार्थ रुपाणि शतशोथऽसहस्रशः इति कनिष्ठिकाभ्यां नमः भनेर दुवै हातका कान्छी औंला आपसमा छुनु पर्छ ।
६. नानाविधानि दिव्यानि नानावर्णाकृतीनी छ इति करतलकरपृठाभ्यां नमः भनेर दुवै हातका हत्केला र उसको पछाडिको भाग छुनु पर्छ ।

हृदयादिन्यास

सम्पादन गर्नुहोस्

१. नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावक इति हृदयाय नमः भनेर दायाँ हातका पाँच औंला जोडेर हृदय छुनु पर्छ ।
२. न चैनं क्लेदयन्त्यापो न शोषयति मारुत इति शिरसे स्वाहा भनेर दायाँ हातका पाँच औंला जोडेर निधार छुनु पर्छ ।
३. अच्छेद्योऽयमदाह्योऽयमक्लोद्योऽशोष्य एव च इति शिखायै वषट् भनेर दायाँ हातका पाँच औंला जोडेर शिखा छुनु पर्छ ।
४.नित्यः सर्वगतः स्थाणुरचलोऽयं सनातन इति कवचाय हुम् भनेर दायाँ हातका पाँच औंलाले बायाँ कुम र बायाँ हातका पाँच औंलाले दायाँ कुम छुनु पर्छ ।
५. पश्य मे पार्थ रुपाणि शतशोथऽसहस्रशः इति नेत्रत्रयाय वौषट् भनेर दायाँ हातका पाँच औंला जोडेर दुवै आँखा र ललाटमध्य तीन ठाउँमा छुनु पर्छ ।
६. नानाविधानि दिव्यानि नानावर्णाकृतीनी छ इति अस्त्राय फट् भनेर दायाँ हातलाई बायाँतिर पछाडिबाट सिरमा लगेर घुमाएर दायाँतिर ल्याउनु पर्छ । यस पछि चोर औञ.ला र माझी औंलाले बायाँ हत्केलमा ताली बजाउनु पर्छ ।
अन्तमा श्रीकृष्णप्रीत्यर्थे विनियोगः भन्नु पर्छ । यसको अर्थ हो मैले श्रीकृष्णको प्रसन्न्ताका लागि गीताको यो पाठ गर्दछु ।

पाठ गर्ने क्रम

सम्पादन गर्नुहोस्

स्वामी रामसुखदासका अनुसार गीता पाठ गर्ने तीन क्रम हुनसक्छन् सृष्टिक्रम, संहारक्रम तथा स्थितिक्रम ।
सबभन्दा प्रचलित सृष्टिक्रम हो । यसको अर्थ हो सोझै पहिलो अध्यायको पहिलो श्लोकबाट सुरु गरेर अठारौं अध्यायको अन्तिम श्लोकसम्म पाठ गर्नु ।
संहारक्रमको अर्थ हो अन्तिम श्लोकदेखि सुरु गरेर पहिलो श्लोकसम्म अर्थात् उल्टोतिरबाट पाठ गर्नु । यस्तो पाठ प्रत्येक अध्यायको अन्तिम श्लोकबाट पनि हुन सक्छ र गीताको अन्तिम श्लोकबाट पनि हुनसक्छ ।
स्थिति क्रम भनेको छैठौं अध्यायको पहिलो श्लोकबाट सुरु गरेर अठारौं अध्यायको अन्तिम श्लोकसम्म पाठ गर्ने र पाँचौं अध्यायको अन्तिम श्लोकबाट सुरु गरेर पहिलो अध्यायको पहिलो श्लोकसम्म पाठ गर्नु ।
ब्रह्मचारीले सृष्टि क्रम, संन्यासीले संहार क्रम र गृहस्थले स्थिति क्रममा पाठ गरे हुन्छ । तर यो कुनै नियम छैन, जुनसुकै प्रकारले पाठ गर्न सकिन्छ ।

गीताको पाठ सम्पुट तरीकाले, सम्पुटवल्ली तरीकाले वा बिना सम्पुट पनि गर्न सकिन्छ । गीताको जुन श्लोकको सम्पुट पाठ गर्नु छ, सुरुमा त्यस श्लोकको पाठ गरेर अध्यायको पहिलो श्लोक पाठ गर्नु पर्छ । पुनः श्लोकको पाठ गरेर अर्को श्लोक पाठ गर्नु पर्छ । यसरी सम्पुट गरेर गीताको सोझो वा विपरीत पाठ गर्नुलाई सम्पुट पाठ भनिन्छ ।
कुनै श्लोकलाई दुई पटक पाठ गरेर अनि अध्यायको पहिलो श्लोेकको पाठ गर्नु पर्छ । फेरि त्यस श्लोकलाई दुई पटक पाठ गरेर दोस्रो श्लोक पाठ गर्नु पर्छ । यसरी सम्पुट लगाएर सोझो वा विपरीत क्रममा पाठ गर्नुलाई सम्पुटवल्ली पाठ गर्नु भनिन्छ । स्वामी रामसुखदासका अनुसार, यसरी गीताका सबै श्लोक पाठ गर्दा एक विलक्षण शक्ति प्राप्त हुन्छ । गीताका केही श्लोकहरुलाई अनुष्ठान मन्त्रको रुपमा सिद्ध गर्न सकिन्छ, ती श्लोकहरुमा यो विधि विशेष उपयोगी मानिन्छ ।

सामान्य विधिले पाठ गर्नुलाई बिना सम्पुट पाठ गर्नु भनिन्छ । यसरी प्रति दिन अठारह अध्याय वा प्रत्येक दुई दिनमा अठारह अध्याय वा प्रत्येक तीन दिनमा अठारह अध्याय पाठ गर्न सकिन्छ । प्रत्येक १५ दिनमा गीताको पाठ पूरा गर्नु छ भने प्रतिपदादेखि एकादशीसम्म एक एक अध्याय, त्यस पछि द्वादशी, तिरादशी र चतुर्दशीका दिन दुई दुई अध्याय पाठ गर्नु पर्छ । औंसी/पूर्णिमाका दिन अन्तिम अठारह अध्याय पछि एक पाठ समापन हुन्छ ।
तर कुनै पक्षमा तिथि घटेको छ भने अध्याय सात र आठको पाठ एकै दिन समाप्त गर्नु पर्छ । त्यसै गरी कुनै तिथि बढेको छ भने अध्याय सोह्र र सत्रहको पाठ दुई अलग अलग दिनमा पूरा गर्नु पर्छ ।
यसरी पाठ गर्न नसक्नेहरुले प्रतिदिन एक अध्याय, आधा अध्याय, वा चौथाई अध्याय पाठ गरे पनि हुन्छ ।

एक वर्षमा सात शय श्लोक पाठ

सम्पादन गर्नुहोस्

यसबाहेक एक वर्षमा सात शय श्लोक पाठ गर्ने विधि पनि विकसित गरेको छ । यस अनुसार अनुष्टुप छन्द, जुन सामान्यतः ३२ अक्षरका छन्, लाई प्रत्येक दिन दुई श्लोक र त्रिष्टुप छन्द, जुन सामान्यतः ४४ अक्षरका छन्, ती श्लोक प्रत्येक दिन एउटा श्लोक पाठ गर्नु पर्छ । अन्तिम अध्यायका अनुष्टुप छन्द प्रत्येक दिन तीन–तीनवटा श्लोक पाठ गरेमा ३६५ दिनमा सात शय श्लोकको पाठ पूरा हुन्छ ।
यसरी जसलाई जसरी रुचिकर हुन्छ, त्यो विधि रोजेर पाठ गर्न सकिन्छ ।