कोमलका कविताहरू
- पुस्तकको नाम : कोमलप्रसाद पोखरेलका कविताहरू
- प्रकाशन मितिः २०७० साल
- प्रकाशकको नामः धर्मादेवी पोखरेल
- ISBN:
मुबायल गीता
सम्पादन गर्नुहोस्
- भिरेर नित्य साथमा बजाइहिँड्छ गीत क्वै
- लिएर सेट हातमा लगाइहिँड्छ प्रीत क्वै ।
- लगेर नित्य कानमा हलो जुवा त नार्छ क्वै,
- हजुर् हजुर् हवस् भनी घुमेर बात मार्छ क्वै ।।१।।
- यता गयो मुवायलै उता छ मान एसको,
- गरीब होस् तथा धनी यही छ सान देशको ।
- छ क्लासमा मुवायलै छ जाँचमा मुबायल,
- लिएर नोट हातमा सफल हुने मुबायल ।।२।।
- छ सेट हातमा भने जुटाइ दिन्छ बर्बधु
- विवाह हुन्छ झट्ट नै लमी छ यो मुबायल ।
- न पढ्नुपर्छ कत्ति नै छ सीम साथमा भने,
- असीम बन्छ इज्जतै भि¥यो मुबायलै भने ।।३।।
- स्वतन्त्र प्रेममा सधैँ खुला छ यो मुबायल,
- मिलिक्क देश नै धनी बनाउने मुबायल ।
- गरीब खानले मरे त अन्न हो मुबायल, ।
- असक्त रोगले मरे छ ओखती मुबायल ।।४।।
- छ घूस ख्वाउनै भने गरेर हेर डायल,
- छ देश मास्नुनै भने त अस्त्र हो मुबायल ।
- उमेरले बुढो भए छ साथमा मुबायल,
- भने छछं गरी परी नचाउने मुबायल ।।५।।
- स्वकीय श्रीमती त्यसै लत्याउने मुबायल,
- पराय स्त्रीहरू स्वयं हत्याउने मुबायल ।
- विभागमा पुग्यो भने रुँगाउने मुबायल,
- दिएन दच्छिना भने रुवाउने मुबायल ।।६।।
- कुनै कतै असुन्दरी र प्रौढ नै भए पनि ,
- छ सेट हातमा भने भनिन्छ च्वाँक हुन् तिनी ।
- युवाहरू पिछा गरी घुटुक्क गर्दछन् जब,
- यही नयाँ विकास हो भनी बुझे भयो अब ।।७।।
- कहीँ त शोडषीहरू हँसाउने मुबायल,
- कहीँ त एसमेसले फसाउने मुबायल ।
- कि यौवना घरैभरी सजाउने मुबायल,
- कि ता विदेशमा लगी भजाउने मुबायल ।।८।।
- छ भात थालमा भने त दाल हो मुबायल,
- कतै धुसा न पाइने कतै सिरक् मुबाय ।
- निदाउँदैन रातमा छ हातमा मुबायल,
- मुसार्छ सुम्सुम्याउदै भनी प्रिंये ? मुबायल ।।९।।
- यदाकदा घटी बढी भएछ भागमा भने,
- वरिष्ट दल्हरू स्वतः फुटाउने मुबायल ।
- फुटे भनेर हर्ष क्यै नमान्नु रे‘छ बास्तब,
- हुटेलमा पसेभने जुटाउने मुबायल ।।१०।।
- सभा मिटिङ् जताततै घनक्क घन्कने यही,
- अनेक टोनमा बजी रनक्क रन्कने यही ।
- कथा, पुराण आदिमा पसेभने त क्वै जब,
- टिटीँ टुटुँ गर्यो कि ता जरुक्क उठ्दछन् तब ।।११।।
- अज्ञात स्थानमा लगी करोड माग्छ यो कथम्,
- पुगेन माग लौ भने लिदैछ ज्यान यो स्वयम् ।
- तथापि मानिसै न हो हुदैन कत्ति कायल,
- रहेछ जादुको छडी समान यो मुबायल ।।१३।।
- धनी छ देश भेषमा करोड रिन् छ केशमा,
- न खान क्यै छ साथमा तथापि सेट हातमा ।
- युवा पति प्रदेशमा कि श्रीमती विदेशमा,
- लगी स्वतन्त्रले चराउदै छ यो मुबायल ।।१४।।
- कलेज जान्छ ठाँटमा लिएर सेट हातमा,
- तथापि ऊ गरीबझैँ कुुरा कथुर्छ बातमा ।
- यदाकदा त दल्बलै लिएर हिंड्छ साथमा,
- पछि त्यही गरीव भै निशुल्क हुन्छ क्लासमा ।।१५।।
- चिठी बरा कता गइन् † यहाँ त सौतिनी पसी,
- रजाइँ गर्दछे सदा सुटुक्क काखमा बसी ।
- न प्रेम पत्र लेखिने न ता कुनै घरायसी,
- सबै कुरा सिध्याउने रहुछ यो मुबायल ।।१६।।
- गएल हुन्छ टावर त्यसै सकिन्छ पावर,
- सधैँ छ व्यस्त सर्किट प्रतीक भो मुबायल ।
- धुरुक्क पार्छ ब्लफ्कल प्रसस्त हुन्छ मिस्कल ।
- कि भन्छ नित्य स्वीचफ व्यथा भयो मुबायल।।१७।।
आठौं आश्चर्य
सम्पादन गर्नुहोस्- धेरै सूरा हरतरहले छौँ सबै नै जुझारु ।
- बैला भैँसी सरह उपमा नाम हाम्रो दुधालु ।
- सीनो देख्ता झटपट गई खान हुन्छौं हुरुक्क ।
- लेख्नै पर्ला अब गिनिजमा नाम हाम्रो खुरुक्क ।। १।।
- आँखा हाम्रा अति चहकिला रक्तका हक्त हुन् कि !
- भाका हाम्रा अति गहकिला छल्नमा मस्त छन् ती ।
- हाम्रो भित्री हृदय बनिएको छ पाषाण युक्त ।
- लेख्नै पर्ला अब गिनिजमा नाम हाम्रो खुरुक्क ।।२।।
- बिहानीले प्रतिदिन नयाँ शब्द सञ्चार गर्छ ।
- नेपालीका घरघर डुली मृत्यु उद्घाष भर्छ ।
- काफल् पाक्ने शुभ खबर क्यै सुन्न पाइन्न झट्ट ।
- लेख्नै पर्ला अब गिनिजमा नाम हाम्रो खुरुक्क ।।३।।
- निद्रा मेरी पनि त अहिले माइतै घस्किएकी ।
- बूढो लोग्ने भनिकन उतै बस्न कम्मर कसेकी ।
- छोरा भन्छन् उठ अब हिडौं बृद्ध आश्रम् खुरुक्क .
- लेख्नै पर्ला अब गिनिजमा नाम हाम्रो खुरुक्क ।।४।।
- अर्ती दिन्छौं अरुअरु मरे ब्रह्मज्ञानी भएर, ।
- आफ्नो मर्दा सुधबुध कहाँ जान्छ हुन्छौं हुरुक्क,
- भन्छौं झुट्टो छ जगत स्वयं देह नासिन्छ हेर ! ।
- लेख्नै पर्ला अब गिनिजमा नाम हाम्रो खुरुक्क ।।५।।
- निस्वार्थी छौं कतिपय कुरा श्वानवत् चल्छ हाम्रो .
- भिक्षार्थी छौं तब त अहिले नाम चल्दैछ राम्रो ।
- अल्छी छैनौ तर प्रगतिको मार्ग छोड्यौं चटक्क, ।
- लेख्नै पर्ला अब गिनिजमा नाम हाम्रो खुरुक्क ।।६।।
- भन्ने गर्छौं अब दु्रत गतिमा देश बढ्नेछ नित्य, ।
- गर्नेगछौं हरतरहले ताण्डवी नग्न नृत्य ।
- ठूला रे’छौं मनुज जसले बन्धु पार्यौ भुतुक्क, ।
- लेख्नै पर्ला अब गिनिजमा नाम हाम्रो खुरुक्क ।।७।।
- त्यागी बन्दै कतिपय अहो ! पुग्दछौं माथि माथि, ।
- भोगी बन्दै नव महलमा भुल्दछौं आङ्खनु साथी ।
- हामी आ˚फैँ अधपतनमा जान हुन्छौं हुरुक्क ।
- लेख्नै पर्ला अब गिनिजमा नाम हाम्रो खुरुक्क ।।८।।
- तृष्णा हाम्रो भुवनभरमा रे’छ अत्यन्त कामी, ।
- आशा गर्छौं प्रतिपल यहाँ मात्र आङ्खनै सलामी ।
- यस्तैयस्ता कुटिल मनमा बास को बस्न सक्छ ।
- लेख्नै पर्ला अब गिनिजमा नाम हाम्रो खुरुक्क ।।९।।
- हुन्थे पुर्खा अघिअघि यहाँ शत्रुमारेर नामी, ।
- ऐले ओड्छौं अनुज जनका रक्तको रामनामी
- हाम्रा सारा गतिमति यहाँ अल्पिएछन् चटक्क ।
- लेख्नै पर्ला अब गिनिजमा नाम हाम्रो खुरुक्क।।१०।।
कवि बन्न खोज्दा
सम्पादन गर्नुहोस्- आजन्म घाँसी हुन घास काटियो
- चुरोटमा दैनिक नोट साटियो ।
- कपाल दाह्री लटरम्म पालियो,
- तथापि फुर्दैन कवित्व, हारियो ।।
- बनी भवानीपति भस्म लाइयो,
- उमा सती जीवित देख्न पाइयो ।
- त्यसो हुँदा भाव सर्ब गुमाइयो,
- तथापि फुर्दैन कवित्व, हारियो ।।
- उन्मुक्त बन्ने रहरै गरीकन,
- स्वच्छन्द आयामिक धार लीकन ।
- सुराग्निमा देह सबै पगालियो,
- तथापि फुर्दैन कवित्व, हारियो ।।
- विरागमा राग थपी अनेकन,
- शून्यत्वमा क्लिष्ट मुछी मनैमन ।
- पाण्डित्य शैली नव गाँस हालियो,
- तथापि फुर्दैन कवित्व, हारियो ।।
- बनी मपाईं कवि लेख्न थालियो,
- ‘वरिष्ट’ यो शब्द अगाडि हालियो ।
- गमक्क गम्की कविता सुनाइयो,
- तथापि फुर्दैन कवित्व, हारियो ।।
- चोरी कसैको कविता सुनाइयो,
- झन्डै पुरस्कार त्यसै पकाइयो ।
- स्रष्टा महान् बन्न जुँगा मुसारियो,
- तथापि फुर्दैन कवित्व, हारियो ।।
- पक्वान्न पारी रस छन्द खाइयो,
- तथा अलङ्कार अनेक लाइयो ।
- उपाधिका साथ अहं थुपारियो,
- तथापि फुर्दैन कवित्व, हारियो ।।
- प्रभातको शीतल स्वच्छ वातमा,
- उद्यानको सुनदर भाव साथमा ।
- पन्छीहरू साथ स्वयं कराइयो
- तथापि फुर्दैन कवित्व, हारियो ।।
- वसन्तमा कोकिल गीत गाइयो,
- हेमन्तको शीत यथेष्ट खाइयो ।
- अज्ञानको टिम्टिम दीप बालियो,
- तथापि फुर्दैन कवित्व, हारियो ।।
- यो राष्ट्रभाषा किन व्यर्थ सिक्नु छ,
- विदेशको आङ्गल भाव झिक्नु छ
- भनी स्वयं देश विदेश भ्याइयो,
- तथापि फुर्दैन कवित्व, हारियो ।।
- गरेर चिप्ला महतुल्य भाषण,
- ठगेर सोझा जनता जनार्दन ।
- जादू गरी मन्तर फू बनाइयो,
- तथापि फुर्दैन कवित्व, हारियो ।।
- लामो पँहेलो त लुगा स्वयं भिरी,
- रुद्राक्ष मालाहरू छन् गलाभरि ।
- निधार यो चन्दनले सिगारियो,
- तथापि फुर्दैन कवित्व, हारियो ।।
- गोष्ठीहरूमा दिनरात धाइयो,
- बिस्कुट् चिया मात्र प्रसस्त खाइयो ।
- अर्धाङ्गिनीको भकुराइ पाइयो,
- तथापि फुर्दैन कवित्व, हारियो ।।
- गुफा हिमाली अनि कन्दरातिरै,
- कतै लुकेको छ कि यो कवित्व नै ।
- भनेर खोज्दा अनुहार चाउरियो,
- तथापि फुर्दैन कवित्व, हारियो
म फर्केर आएँ युएस्से पुगेर
सम्पादन गर्नुहोस्
पृष्ठ भूमि
थियो भित्र राष्ट्रीयता नै बगेको
थिएँ मातृवात्सल्यले ओतिएको
तथापि स्वयं स्वप्नवत् पौडिएर
युएस्ए गएँ के न होला भनेर ।
कसैले भने त्यो त हो स्वर्ग लोक
जहाँ छैन बन्दै गरीवी र भोक
म फुर्कें फुरुक्कै कुरा यो सुनेर
युएस्ए गएँ के न होला भनेर ।
पुरी हो धुरी त्यो छटा माधुरीको
गृहश्वेत जादू छडी झैँ छ रे त्यो
भनी हेर्नलाई बडो तम्सिएर
युएस्ए गएँ के न होला भनेर ।
त्यहाँ चल्छ जादूगरी देवताको
गए ल्याप्प टाँसिन्छ मान्छे यताको
त्यताको प्रशंसैप्रशंसा सुनेर
युएस्ए गएँ के न होला भनेर ।
न पैसा हुनेले भिसा किन्न सक्छ
न नेता हुँ भन्ने त्यहाँ पुग्न सकछ
कता स्वर्ण मौका म छाडूँ भनेर
युएस्ए गएँ के न होला भनेर ।
यहाँ श्वेत आतङ्कमा बाँधिएको
म सिन्कीसरी झन्झनै खाँदिएको
हुनाले त्यहाँ हुन्छु फुक्का भनेर
युएस्ए गएँ के न होला भनेर ।
बगेको छ त्याहाँ डलर् उर्लिएर
सबै विश्व ढाक्दैछ झन् कुर्लिएर
भनी खेल्न पौडी त्यसैमा डुबेर
युएस्ए गएँ के न होला भनेर ।
महादेश सम्पन्नशाली छ जाहाँ
जुनै देशको होस् पुगूँ भन्छ त्याहाँ
म फुर्कें फुरुक्कै कुरा यो सुनेर
युएस्ए गएँ के न होला भनेर ।
अनुभूति एक
त्यहाँ देख्न पाइन्न मान्छे हिडेको
जथाभाबि संसाझ टाउको गिंडेको
यहाँझँ धुलो सुघ्न पाइन्न लेस
म फर्केर आएँ त्यसैले स्वदेश ।
कुहेको सडेको छुनै हुन्न जान
न पूर्वीय सप्र्याङ् गरी हुन्छ खान
भने के गरी खानु मैले भनेर
म फर्केर आएँ युएस्ए पुगेर ।
त्यहाँ पिउन पाइन्छ पाइन्न मात्न
जथाभावि पाइन्न स्वास्नी समात्न
त्यही लोकतन्त्रे खडेरी बुझेर
म फर्केर आएँ युएस्ए पुगेर ।
न नारा उरालेर सातो लगार्छन्
न गाडी डढाई त्यहाँ भस्म पार्छन्
भने क्रान्तिमा देश तन्नं रहेछ
भनी फर्किआएँ युएस्से पुगेर ।
त्यहाँ पढ्दछन् शास्त्रभित्रै डुबेर
त्यसैले ठगी चीट शून्यै रहेछ
यतै ज्ञान पाइन्छ पुस्तक सुँघेर
भनी फर्किआएँ म आफ्नै स्वदेश ।
त्यहाँ घूसलाई सबै भूस मान्छन्
सधैँ आफुलाई इमान्दार ठान्छन्
बरू देश खाने यतै छन् भनेर
म फर्केर आएँ युएस्ए पुगेर ।
उता भोटमा नोट साटिन्न कत्ति
जहाँ ढाँटको खेत रोपिन्न रत्ति
यतै यी कुरा गर्न मिल्ने भएर
म फर्केर आएँ युएस्ए पुगेर ।
मिसेको दुई नम्बरी वस्तु मिल्छ ?
भनी सोधियो खोजियो यत्रतत्र
नपाए पछि व्यग्र सारै भएर
म फर्केर आएँ युएस्ए पुगेर ।
न ता लड्न पाइन्छ त्यो देश भित्र
इराकै पुगी भिड्नु पर्ने विचित्र
घरैभित्र लड्ने र भिड्ने यतै छ
भनी फर्किआएँ युएस्से पुगेर ।
म ता भोकमा रोगमा रत्तिएको
विदेशी रिनैले सबै पोतिएको
बसूँ के गरी त्यो डलर्मा डुबेर
भनी फर्किआएँ युएस्से पुगेर ।
म चम्चे भरौटे भई लिम्छु दाम
भनी खोजिहेरेँ कतै छैन काम
त्यता चाकरी चाप्लुसी शून्य रे’छ
म फर्केर आएँ त्यसैले स्वदेश ।
लफङ्गा र झल्ला कतै भेटिदैनन्
जुवातास खेल्ने त झन् देखिदैनन्
भने के गरी दिन् बिताऊँ भनेर
म फर्केर आएँ युएस्ए पुगेर ।
छ बत्ती बलेको अहोरात्र नित्य
दिवा सूर्यझैं निभ्न जान्दैन सत्य
त्यहाँ लोडसेडिङ् सधैं जेलमा छ
म फर्केर आएँ त्यसैले स्वदेश ।
हुँदैहुन्न खाई अघाई डकार्न
न पाइन्छ इच्छानुसारै खकार्न
कता छाड्नु संस्कार आफ्नो भनेर
म फर्केर आएँ युएस्ए पुगेर ।
त्यहाँ छैन कानून नानी हकार्न
कडा रेछ बन्देज स्वास्नी भकुर्न
त्यसैले प्रजातन्त्र एतै रहेछ
भनी फर्किआएँ युएस्से पुगेर ।
कदाचित् त्यहाँ बन्धुको घात हुन्न
यहाझैं अनेकौ जहां जात हुन्न
यतै जातिको यद्ध बढ््रदैछ धेर
भनी फर्किआएँ युएस्से पुगेर ।
फुटानी लडाएर केही कथुर्ने
अरूको सबै भाग आफैँ हसुर्ने
प्रथाको खडेरी परेको बुझेर
म फर्केर आएँ युएस्ए पुगेर ।
त्यहाँ खान पाइन्न सिन्की र ढिंडो
न ता धानको भातले थाम्छ बींडो
पिजाले गिजा सुन्निएला भनेर
म फर्केर आएँ युएस्ए पुगेर ।
न जाँतो न ढिक्की न लिप्ने न पोत्ने
पटक्कै त्यहाँ गर्नु पर्दैन रे’छ
बुहारीहरू बिग्रलान् पो भनेर
म फर्केर आएँ युएस्ए पुगेर ।
अनुभूति दुई
अहा श्वान त्याहाँ बडो भाग्यमानी
सधैं गोरिनीसाथ बित्ने जवानी
दुधे बाल कोक्रो कठै रुङ्छ राती
सदा बोतलै मात्र उस्को छ साथी ।
बिछट्टै त्यहाँ श्वानको हुन्छ मान
यहाँ झैँ छि भन्ने हुदैहुन्न जान
डलर्तिर्नु पर्ला कि आच्चे भनेर
छिटै फर्किआएँ युएस्ए पुगेर ।
त्यहाँ एक लोग्ने प्रथा लागु छैन
चितायो बितायो कसैले छुदैन
मलाई त्यही रोग सर्ला भनेर
छिटै फर्किआएँ युएस्से पुगेर ।
म छक्कै परें, ओठ चुम्छन् चरीले
कटाक्षै गरी वाण हान्छन् परीले
बुढो व्यास आपूm नबन्ने भएर
छिटै फर्किआएँ युएस्से पुगेर ।
यता हेर्छु जोरै ढकुर् छन् घुमेका
उता हेर्छु त्यस्तै चखेबा चुमेका
म एक्लो परेबा बिजोडी भएर
नसक्ने भएँ बस्न, आएँ फिरेर ।
नयाँ माल हेरेर चाखेर किन्छन्
छिटै वाक्क मानेर मिल्काइदिन्छन्
पुरानै बरू टिक्छ धेरै भनेर
म फर्केर आएँ युएस्ए पुगेर ।
त्यता वस्तु पाल्ने कुरा रेछ गाह्रो
थलामा सधैं लाजमर्ने चटारो
सधैं कोरली उल्टिंदो मात्र रेछ
त्यसैले त फर्कें म आफ्नै स्वदेश ।
बतासे फुलैबाट निस्कन्छ चल्ला
त्यसैको त्यहाँ हुन्छ हल्ला र खल्ला
न ता पर्छ कोरल्न ओथ्रा बसेर
त्यसैले म फर्कें युएस्ए पुगेर ।
असाध्यै त्यहाँ वस्तु छाडा रहेछन्
खुलेआम बाली त खाँदा रहेछन्
यतै जोगिएला कि बाली भनेर
म फर्केर आएँ युएस्ए पुगेर ।
त्यहाँ कोरलीका छ मासे बहर्छन्
बिना रोक चर्ने सबैका रहर्छन्
म नामर्द चर्नै नसक्ने भएर
छिटै फर्किआएँ युएस्से पुगेर ।
डलर्मा पनि श्रीमती साट्न मिल्छ
जथाभाबि गाला त्यहाँ चाट्न मिल्छ
कतिन्जेल् बसूँ बन्द आँखा गरेर
भनी फर्किआएँ युुएस्से पुगेर ।
नपुग्ने सधैँ किन्न चोलो र साडी
त्यसैले त्यहाँ किन्नुपर्ने कवाडी
नयाँ किन्न सक्ने हुती शून्य रे’छ
म फर्केर आएँ त्यसैले स्वदेश ।
कतै देख्छु नारी लँगौटी कसेका
कतै कट्टू मात्रै लगाई बसेका
धनी देश भन्ने कुरै मात्र रे’छ
म फर्केर आएँ त्यसैले स्वदेश ।
उपसंहार
सबै नै त्यहाँ किन्न पाइन्छ जत्ति
फुलाई भुँडी खान पाइन्छ कत्ति
पटक्कै म पाउन्न आमा भनेर
घरै फर्कि आएँ युएस्ए पुगेर ।
के इलामे म हैन र ?
सम्पादन गर्नुहोस्- बर्बोटेभित्रको गाऊँ तोरिबारी प्रसिद्ध छ,
- त्यहीं नै जन्मिएँ हुर्कें के इलामे म हैन र ?
- रामकान्त त्यहीं जन्मे डिल्लिराम पनि त्यहीं,
- पिता राम त्यहींका हुन् के इलामे म हैन र ?
- मैले पढें चुरेघाँटी टीकाराम थिए गुरु,
- त्य जान्ने थोर छन् आज के इलामे म हैन र ?
- काशीनाथ र गायत्री जान्दथे गुरु नारद,
- परंधाम पुगेका छन् के इलामे म हैन र ?
- मलाई चिन्दछन् वृक्ष खोला नाला सबै तर,
- नचिन्दा व्यक्तिले आज के इलामे म हैन र ?
- सारा जङ्गल बक्नेथ्यो इलामे हो भनीकन,
- काटिए बेचिए देख्ने के इलामे म हैन र ?
- चिर्बिच्र्यार्र गरी बोल्ने गौंथली प्रस्ट चिन्दथे
- सन्तान मासियो तिन्को के इलामे म हैन र ?
- झुप्रामा जन्म भो मेरो त्यहीं नै म बढें पनि,
- ठुला महलका मात्र इलामे हुन् ? म हैन र ?
- थिएँ भर्खरको लक्का जवान मत्यहाँ छँदा,
- वसन्त सत्तरी काटें के इलामे म हैन र ?
- घ्वाँईं डन्डिबियो खेल्ने गोरेटा धुलितस्थल,
- पिचले थिचिएका छन् के इलामे म हैन र ?
- ऐंसेलू क्यामुनू चुथ्रो मेरा बाल्य सखा सब,
- कहाँ गए भेतिदैनन् के इलामे म हैन र ?
- बिहेमा बज्दथ्यो पन्चैबाजा रन्की यतस्तत,
- अहिले डर्रड्रं हुन्छ के इलामे म हैन र ?
- पूजाआजा हुँदा जम्थ्यो लोकगीत र बालुन,
- रिमिक्स् भा’छन् सबै आज के इलामे म हैन र ?
- श्रुतिस्मृति यही भन्छ वसुधैव कुटुम्बकम्
- झापामै वास मेरो छ के इलामे म हैन र ?
- इलामे लाममा नाम लेखिएन भने पनि
- आमा इलाम हुन् मेरी के इलामे म हैन र ?
०००
बोकाको दाइँ
सम्पादन गर्नुहोस्- दाईँ गर्नुछ गोरु छैन घरमा बोकाहरू मात्र छन्,
- उग्राएर बसी मुतेर सबले बर्बाद झन् पार्दछन् ।
- बोकाबाट गरेर आस यसरी बस्नै यहाँ सर्म भो,
- बाख्रीका पछि लाग्नु मात्र यसको सारै ठुलो धर्म हो ।।
- गाई दूध दिने बडा गजबको श्री कामधेनू थियो,
- दिन्थ्यो दूध सदैव एकगतिले मन्ले चिताए पुग्यो ।
- मीठो दूध र भातले कि किन हो खाने सबै मात्तिए,
- बोकाका मुखमा अटेन कि कसो खान्दानले पात्तिए ।।
- आफ्नै दाजु र भाइ खूब झगडा गाई कुटी गर्दछन्,
- हेर्चाहा छ कता कता त डुँडको घाँसै समेत् चोर्दछन् ।
- कल्चौँडो छ प्रयोजनै सब मिली बेजोडले तान्दछन्,
- गाई हान्न समर्थ छैन सिंगले भन्ने कुरा जान्दछन् ।।
- बाछो स्वस्थ शरीर सुन्दर थियो मारे यिनै दुष्टले,
- बाछो मैहुँ भनेर तान्न मुखले थाले यिनै दुष्टले ।
- हल्सारो बिचरा कटै पशु न हो के बोल्न सक्थ्यो बरा,
- खाली पेट लिएर आज कसरी फूँ गर्न सक्थ्यो बरा ।।
- भाले बास्छ कुयाममा प्रकृतिको निद्रा बिथोल्ने गरी,
- होसै गुम्दछ मध्य रात बिचमा भूकम्प आए सरी ।
- भाले यो घरको अजङ्ग कहिल्यै काटेर काटिन्न है,
- मापाको छ कतै लगेर पनि यो सछेर सातिन्न है ।।
- अको पीरछ साँधमा जखमले तल्लाघरे बस्दछ ,
- रातारात स्यं लुकेर उसले आली उँभो कस्दछ ।
- आफू मात्र गई भन्यो कि त त्यहाँ डाँका ठुला गर्दछ ,
- राखी पञ्च कुरा गर्यो यदि भने उल्टै झिक्दछ ।।
- पाखा खेत जहाँ छ सानु घरको बारी त्यहीं पर्दछ,
- बर्सेनी नपुगेर खान यतिले बेसाउनै पर्दछ ।
- साहूले पनि दिन्छ एकदिन ता घर्खेत मिल्ला भनी,
- भाका नाघ्छ जसै खुरुक्क त्यसले सम्पूर्ण लेला पनि ।।
- बस्नै यो घर भत्किएर अहिले सप्पै भताभुङ्ग भो,
- आफ्नो घर्ब्यवहार आज सहसा जम्मै लथालिङ्ग भो ।
- बाजेले कति दुःखले श्रम गरी आर्जे म बेचूँ भने,
- थामी खान बडा कठिन् हुनगयो साँच्चै नबेचूँ भने ।।
- साथी हो म त पीरमा छु अहिले घर्बार यो लान्छ कि !
- कोही छैन सघाउने हृदयले अस्तित्व नै जान्छ कि !
- केही गर्नुछ लौ यही समय हो आऊ बचाऊ घर,
- मेरा निम्ति तिमी सर्यौ अघि भने बच्नेछ तिम्रो घर ।।
२०६१।०८।२५
शव परिभाषण
सम्पादन गर्नुहोस्- म विश्वासमा श्वास छोडी हिंडेको,
- म विश्रान्तिमा शान्ति खोजी हिंडको ।
- लखेट्छौ तिमी शान्ति के हुन्छ राम्रो,
- म छक्कै परेँ चाल देखेर तिम्रो ।।
- सबै एक संझेर चिम्लन्छु आाखा,
- रक हुन्न केही तराई र पाखा ।
- म पञ्चत्वमा लीन बाँची रहन्छु,
- मरे झै तिमी प्रण साँची रहन्छौ ।।
- तिमी बोल्छौ भ्यगुता बोल्छ एस्तै,
- तिमी सास फेर्छौ खलाँती छ उस्तै ।
- म सासै न फेरी सदा ज्ञानमा छु,
- म योगीसरी राष्ट्रको ध्यानमा छु ।।
- म आफैं खरनी खुसीसाथ हुन्छु,
- कि माटो भई उर्वरा धेर बन्छु ।
- तिमी स्र्ण एक्ले पचाएर हिड्छौ,
- सधैँ दीनलाई ठटाएर हिड्छौ ।।
- तिमी औठले छौ सदा साम्यवादी,
- तथा आँतले छौ तिमी काम्यवादी ।
- मलाई त राजा र रैती समान,
- सही सत्य यो वाक्य झूठो नठान ।।
- कुनै दिन् तिमी गर्दथ्यौ वारिपारी,
- सुलुक्कै निल्यौ जङ्गलै सा˚ पारी ।
- म एकै घना बाँसमा मख्ख पर्छु,
- त्यही बाँसले घोच्दछौ छक्क पर्छु ।।
- तिमी हन्तकारी बनी धेर खान्छौ,
- करोडौं हुँदा अर्बमा चित्त लान्छौ ।
- भए एक मानो सँगै द्रव्य एक,
- मलाई भने पुग्छ जन्मौँ अनेक ।।
- कसैले कुनै दिन् गरे सानु गाली,
- तिमी गर्जनेछौ नि देशै उचाली ।
- लगाएर आगो जलाए पुरे वा,
- म हाँसी सही बस्छु घोचे थिचे वा ।।
- सधैँ मस्त निद्रा म भोग्दै रहन्छु,
- तथा शीत गर्मी खुसीले सहन्छु ।
- तिमी जाग्दछौ रातमा सत्रचोटि,
- सिरी सम्पती जान्छ लागेर हो कि !
०००
जोबन गयो बैँस त गएन लै लै
सम्पादन गर्नुहोस्
- म नेता जिती भोट, बस्दैछु माथि,
- म आनन्दले रम्छु नोटै समाति ।
- यता भोटदाता कुनै सम्झिएन,
- गयो जोबनै बैंस जाँदैगएन ।।
- कमी हुन्न याहाँ न ता हुन्छ खाँचो,
- सधैं झूटलाई बनाएर साँचो ।
- गरें चर्तिकाला अभैm धित् मरेन,
- गयो जोबनै बैंस जाँदैगएन ।।
- सधैं लोभ लाग्नेछ बानी बसेको,
- अहोरात्र देख्दैछु मान्छे खसेको ।
- तथापि स्वयं मर्छु भन्ने भएन,
- गयो जोबनै बैंस जाँदैगएन ।।
- म साँडे यता वा उता चर्न सक्ने,
- सबै नै मरून् जे गरून् भोग गर्ने ।
- त्यही रोग लागेछ जाती भएन,
- गयो जोबनै बैंस जाँदैगएन ।।
- म मन्त्री बनी हक् जमाएर बस्छु,
- किशोरी त्यहाँ एक भर्ती म गर्छु ।
- असत्ती छ यो मन् कसै थामिदैन,
- गयो जोबनै बैंस जाँदैगएन ।।
- म भेटेजति ख्वाप्प निल्दिन्छु आज,
- बसी मेचमा ठस्ठसी राजकाज
- गरें जोसमा होस केही रहेन,
- गयो जोबनै बैंस जाँदैगएन ।।
- म ता भोटमा ओठले गर्छु काम,
- नजित्ने भए नोटले गर्छु काम ।
- म झैं धूर्त नेता कतै भेटिएन,
- गयो जोबनै बैंस जाँदैगएन ।।
- म खाऊँ मलाऊँ गरूँ मोजमस्ती,
- लजाई बसून् काखमा म्यामजस्ती ।
- यही धङ्धङी आजसम्मै गएन,
- गयो जोबनै बैंस जाँदैगएन ।।
- म पाउन्नथें खान केरा कदाचित्,
- पर्यो स्वर्ण मौका र खाएँ भकाभक् ।
- कति भ्याइयो होस केही भएन,
- गयो जोबनै बैंस जाँदैगएन ।।
- पखाला चल्यो टुर्र झन् टुर्र फेरि,
- पस्यो अख्तियारी त्यहीं दाउ हेरी ।
- परें खोरमा चोरझैं क्यै चलेन,
- गयो जोबनै बैंस जाँदैगएन ।।
- कठै देश थारो छ लागेन बाली,
- बहर् गड्गडीमा छ खाएर छाली ।
- बुढो गोरु ढुक्दैछ, बन्दैन काम,
- गयो जोबनै बैंस जाँदैगएन ।।
- गयो हेर्न मेला त्यहाँ इस्क गर्छन्,
- स्वयं कोरली नै बहरसाथ चर्छन् ।
- कठै बृद्धको चित्त चोखो रहेन,
- गयो जोबनै बैंस जाँदैगएन ।।
- कसैले हजुर्बा भने चित्त दुख्छ,
- बिना काम बाजे भने रीस उठ्छ ।
- धरोधर्म बुढो छु भन्ने भएन,
- गयो जोबनै बैंस जाँदैगएन ।।
- कसैले भने भाइ उफ्रेर नाच्छु,
- मुसुक्कै गरी मन्दमुस्कान हाँस्छु ।
- हिऊँझैं भयो केश थाहै भएन,
- गयो जोबनै बैंस जाँदैगएन ।।
- जबानी छदा ऐसमा पात्तिएको,
- घमण्डीपनाले थिएँ मात्तिएको ।
- झरे दाँत बत्तीस यो मन् झरेन,
- गयो जोबनै बैंस जाँदैगएन ।।
- म सानो छँदा बा सधैँ भन्नुहुन्थ्यो,
- मजस्तो हुँदा चेत फिर्नेछ यस्को ।
- हजुर्बा भएँ चेत किञ्चित् फिरेन,
- गयो जोबनै बैंस जाँदैगएन ।।
- सहारा छ लाठी सधैँ एक साथी,
- चिठीपत्रद्वारा बोलाउँदैछ माथि ।
- अझै के गरूँ यौनतृष्णा गएन,
- गयो जोबनै बैंस जाँदैगएन ।।
मेरो राजिनामा
सम्पादन गर्नुहोस्- आँखा स्वस्थ र स्वच्छ छन् तर यहाँ देख्नै नसक्ने भएँ,
- हो यो सत्य भनेर तथ्य घटना लेख्नै नसक्ने भएँ ।
- नाङ्गो देश छ लाज आज सजिलै ढाक्नै नसक्ने भएँ,
- मीठो हैन सिधो पिठो पनि यहाँ चाख्नै नसक्ने भएँ ।।
- केही काम लिई कतै पनि म ता धाउनै नसक्ने भएँ,
- कुर्सी घुम्दछ आँ गरी फनफनी ख्वाउनै नसक्ने भएँ ।
- अर्कालाई तिरेर अन्न घरमा हुल्नै नसक्ने भएँ,
- गोजी शून्य छ साहुका नजिकमा डुल्नै नसक्ने भएँ ।।
- खाऊँ दिन्भरिको सिकार तर यो खानै नसक्ने भएँ,
- जाऊँ मन्दिर जान्छ देह मन ता लानै नसक्ने भएँ ।
- आशा बन्धनभित्र राख्नु कसरी थाम्नै नसक्ने भएँ,
- आफ्नै बान्धवको मुटू पनि यहाँ छाम्नै नसक्ने भएँ ।।
- को ज्ञानी शठ को भनी सहजले बुझ्नै नसक्ने भएँ,
- बाछो सानु म साँडका अघिसरी जुध्नै नसक्ने भएँ ।
- अन्धाका पछि दौडँदै म त्यहाँ पुग्नै नसक्ने भएँ,
- गोठालो हुँ तथापि गोठ कहिल्यै रुङ्नै नसक्ने भएँ ।।
- उत्तर्दक्षिण पूर्व पश्चिम कतै भिड्नै नसक्ने भएँ,
- माटाको महिमा बुझ्यो कि कसले चिन्नै नसक्ने भएँ ।
- निस्वार्थी अनि स्वच्छ छन् कि त कुनै, जान्नै नसक्ने भएँ,
- आफ्नै हार्दिक मित्रलाई पनि ता छान्नै नसक्ने भएँ ।।
- स्वप्नामा पनि कानले शुभ कुरा सुन्नै नसक्ने भएँ,
- आफ्नै रक्त गनाउदोछ अरुता सुँघ्नै नसक्ने भएँ ।
- उस्बेला बरु बोल्दथें अब त झन् बोल्नै नसक्ने भएँ,
- निस्फिक्री मनका व्यथा त कहिल्यै खोल्नै नसक्ने भएँ ।।
- सत्तामा अरु मित्र नै किन नहुन् हेर्नै नसक्ने भएँ,
- सत्ता चुम्बक नै रहेछ कि कसो छुट्नै नसक्ने भएँ ।
- अर्काका शिरको लिखा र त्यसको खुट्टा म देख्ने भएँ,
- आफूभित्र अजङ्गका जखमले भैंसी नदेख्ने भएँ ।।
- बोक्रे राष्ट्रियता सुगा रटनमा घोक्नै नसक्ने भएँ,
- मेरा आत्मविरोधका स्वरहरू रोक्नै नसक्ने भएँ ।
- मैले मात्र विदेशका ऋण सबै बोक्नै नसक्ने भएँ,
- देशै शून्य गरी विदेसिइसके छेक्नै नसक्ने भएँ ।।
- त्रासैत्रास भएर पीर मनको पोख्नै नसक्ने भएँ,
- आफ्नै रक्षकलाई भित्र मनले जोख्नै नसक्ने भएँ ।
- मेरा शैल हिमाल स्वच्छ कहिल्यै राख्नै नसक्ने भएँ,
- किं कर्तव्य छु गुप्त अङ्ग अब ता ढाक्नै नसक्ने भएँ ।।
- साँडे छन् अनगिन्ति, झन् गडगडी रोक्नै नसक्ने भएँ ,
- बाछी एक कठै ! बलात्कृत हुँदा छेक्नै नसक्ने भएँ ।
- आँखा हेर्नु सिबाय क्यै अरु कुरा गर्नै नसक्ने भएँ,
- यै चालासित तड्पिएर सजिलै मर्नै नसक्ने भएँ ।।
म र मेरो दैनिकी
सम्पादन गर्नुहोस्- अति भाग्य विहीन भएर पनि,
- जतिदुःख र कष्ट सहेर पनि ।
- किन कुन्नि सधैं अघि सर्दछु म,
- हुँ वरिष्ठ भनी भर पर्दछु म ।।
- कवि बन्न सधैं अघि सर्दछु म,
- सिगडा र चिया पनि धोक्दछु म ।
- न त दौलत केही कमाउछु म,
- न त औसर केही समाउँछु म ।।
- यदि आसनमा लगिएन भने,
- दिइएन उपाधि वरिष्ट भने ।
- तब झट्ट अरिष्ट बनेर स्वयम्,
- कविता स्थल नै पनि छाड्दछु म ।।
- पति वा गृहिणी न रिझाउँछु म,
- मनभित्र पसेर बिझाउँछु म ।
- कलिलो मन चोर्न सिपालु छु म,
- वचनामृतमा त कृपालु छु म ।।
- सृजना अरुका न त सुन्दछु म,
- कवि सर्जक छन् न त मान्दछु म ।
- कविता अघि वाचन गर्न तथा,
- घर छड्कन मात्र रुचाउँछु म ।।
- कहिं ता गजलामृत पढ्छु अनि,
- कहि शब्द दुरूह थुपार्छु पनि ।
- कहिं शब्द र अर्थ लडाउँछु म,
- तब वादविवाद बढाउँछु म ।।
- कहिं भर्खरकी युवती बनिदै,
- नवयौवन सिक्त गराउँछु म ।
- कहिं ता रतिको अवतार लिई,
- महभित्र झिंगा त डुबाउँछु म ।।
- कति खेत गरा बनिदै बनिदै,
- भरिएछ निधार तथापि अझै ।
- छु वयस्क भनेर कपालभरि,
- मल कृत्रिम नित्य लगाउँछु म ।।
- कहिले दलका पछि लाग्दछु म,
- कहिले बलका पछि लाग्दछु म ।
- जहिले सलका पछि लाग्छु अनि,
- तहिले भकुराइ त भेट्छु पनि ।।
- कवि आसनमा जब पुग्छु स्वयं,
- तब भ्यागुति हुन्छ र फुल्छ अहम् ।
- नजिकै जब देख्छु दलाधिपति,
- म त हुन्छु स्वतः परमाणु जति ।।
- सुरु हुन्छ जसै दलको कविता,
- कलको बलको छलको स्वकथा ।
- तब बुझ्छु स्वयं कवि हो बिचरा,
- घरतर्फ म फिर्छु सुटुक्क अहा !
०००
नेतालार्इ केही प्रश्न
सम्पादन गर्नुहोस्- कहाँ थियो बास अघी म को थिएँ,
- कसो हुँदा यो दरबारमा पुगें ।
- फिर्ने छु धेरै सुन साथ लीकन,
- तँलाइ मालुम् छ कि यो कुरा मन ?
- त्यहीं थियो वास बस्दथें जहाँ,
- अघाँउजी खान म पाउँथें कहाँ ।
- मन्त्री हुनासाथ कसोरि भो धन,
- तँलाइ मालुम् छ कि यो कुरा मन ?
- बुढो भएँ केश सबै झरी गए,
- बत्तीस उन्कै घरमा सरि गए ।
- तथापि यो बैंस बसीरनू किन,
- तँलाइ मालुम् छ कि यो कुरा मन ?
- अचार्य व्यासासनमा बसेका,
- ती ब्रह्मचारी सबले गनेका ।
- मान्छे लुकी प्रीत लगाउँछन् किन,
- तँलाइ मालुम् छ कि यो कुरा मन ?
- विद्वान् धनी प्राज्ञ र वर्दिधारी,
- भिरेर प्राध्पापकको उपाधि ।
- कनीकनी गेस पढाउँछन् किन,
- तँलाइ मालुम् छ कि यो कुरा मन ?
- जस्को छ सत्ता त्यसकै छ भत्ता,
- चम्चे भरौटे उसका प्रयोक्ता ।
- तथापि आहारिस गर्दछन् किन,
- तँलाइ मालुम् छ कि यो कुरा मन ?
- उही कुलो खेत बिउ सबे उही,
- उसै गरी रोपिदिए कतै कहीं ।
- उम्रन्न बीजादिक गर्भमा किन,
- तँलाइ मालुम् छ कि यो कुरा मन ?
- पत्नी घरै छ विदेशमा पति,
- पठाउँछ प्राप्त कमाइ जे जति ।
- तथापि दिउसै लज धाउँने किन,
- तँलाइ मालुम् छ कि यो कुरा मन ?
- पत्नी सुशीला र मनोरमा अनि,
- पतिव्रता झन् नवयौवना पनि ।
- छँदा छँदै पर्तिर धाउँछन् किन,
- तँलाइ मालुम् छ कि यो कुरा मन ?
- बोकाहरू मात्र सयौं हजारन,
- छानेर लाए पनि धान झारन ।
- सकिन्न गोरु द्वय चाहियो किन,
- तँलाइ मालुम् छ कि यो कुरा मन ?
- मातापिता बृद्ध अशक्त भा’छन्,
- सुपुत्र बृद्धाश्रम खोजिरा’छन् ।
- छोरा भएमा अब फुर्कने किन,
- तँलाइ मालुम् छ कि यो कुरा मन ?
- जोडी कुनै ढुक्कुरको अति प्रिय,
- एकात्ममा रम्छ सधैं सधैं तर ।
- पत्नी बितेकै क्षण ल्याउनू किन,
- तँलाइ मालुम् छ कि यो कुरा मन ?
- बं बं गरी बंबुटिमा रमीकन,
- लुगा पँहेला सबले भिरीकन ।
- ठिटाठिटी बोल्बम धाउँछन् किन,
- तँलाइ मालुम् छ कि यो कुरा मन ?